आन्ध्रमा किसानका आफ्नै कम्पनी
साउन २, हैदराबाद (भारत) । भारतको आन्ध्र प्रदेश राज्यका किसानहरूले कृषिउपज कम्पनीहरूको स्थापना गर्दै छन् । यी कम्पनीहरूले कृषिजन्य वस्तुहरूको उत्पादन र प्रत्यक्षरूपमा विक्री गर्न कृषकलाई बजार उपलब्ध गराउनेछन् । कम्पनीहरूले कृषकहरूलाई बिचौलिया र मण्डीका व्यापारीको शोषणबाट मुक्त गराई उनीहरूका उत्पादनलाई बजारमा सहज ढङ्गले आपूर्ति गराउन भूमिका खेल्ने बताइएको छ ।बिचौलिया र मण्डीका व्यापारीलाई आफ्ना उत्पादनहरू न्यून मूल्यमा बेच्न बाध्य किसान र बढी मूल्यमा किन्न बाध्य उपभोक्तालाई यसबाट फाइदा पुग्नेछ । साथै यसले कमोडिटिज एक्सचेञ्जको स्वरूप लिने सम्भावना पनि छ । उत्पादनहरूको विनिमय बजारलाई नियमन गर्न एउटा कार्ययोजना पनि तयार गरिनेछ । आन्ध्र प्रदेशका कृषक समूहहरूले ६ ओटा कृषि कम्पनीहरू कम्पनी रजिष्ट्रारको कार्यालयमा दर्ता गरिसकेका छन् ।
कृषकहरूलाई कम्पनी स्थापना गर्न आन्ध्र प्रदेशमा रहेको 'कृषि र ग्रामीण विकास राष्ट्रिय बैङ्क'ले सहायता प्रदान गरेको थियो । बैङ्कका अनुसार कम्पनीहरूको स्थापनाबाट कृषकहरूले कृषिबजारमा प्रत्यक्ष प्रवेश पाउनुका साथै उनीहरूको उत्पादन क्षमता अभिवृद्धिमा सकारात्मक प्रभाव पर्नेछ । यसले गर्दा कृषकहरूलाई सहुलियत दरमा ऋण प्रदान गर्नसमेत सजिलो हुने विश्वास बैङ्कले गरेको छ । बैङ्कले दिएको जानकारीअनुसार आन्ध्र प्रदेशका निजामाबाद र वाराङ्गल जिल्लामा स्थापना गरिएका दुग्ध र कपाससम्बद्ध किसानका कम्पनीहरूले आफ्नो काम शुरू गरिसकेका छन् । बैङ्कले राष्ट्रियस्तरमा 'पाइलट प्रोजेक्ट' शुरू गर्न १ खर्ब ९२ अर्ब रुपैयाँको कोष खडा गर्न लागेको जानकारी दिएको छ । 'पाइलट प्रोजेक्ट'अन्तर्गत भारतका महाराष्ट्र, कर्णाटक, पश्चिम बङ्गाललगायत आन्ध्र प्रदेशभरि यस्तै कार्यक्रम सञ्चालन गरिने बताइएको छ ।
त्यसैगरी बैङ्कले कृषकहरूका विभिन्न बैङ्कमा रहेका खाताहरूमा सहज पहुँच पुर्याउन १० कारोड थान 'स्मार्ट कार्ड' वितरण गर्न लागेको जानकारी दिएको छ । यसले किसानहरूले चाहेको समयमा रकम निकाल्न सक्ने र उनीहरूको समय बचत हुने उसले बताएको छ । साथै 'स्मार्ट कार्ड' अँधियामा काम गर्ने किसानहरूलाई समेत प्रदान गरिने जानकारी बैङ्कले दिएको छ । बैङ्कले रिलायन्स, आईटीसी र हेरिटेजजस्ता कर्पोरेट रिटेलरहरूलाई समेत कृषि कारोबारको दायराभित्र राखेको छ ।
बिजनेस लाइन/द हिन्दु, जुलाई १३, २०११
मुडिजद्वारा ऋणसीमासम्बन्धी प्रस्ताव फिर्ता लिन सुझाव
साउन २, न्यूयोर्क (अमेरिका) । क्रेडिट रेटिङ एजेन्सी 'मुडिज'ले अमेरिकी संसद्मा ल्याइएको ऋणसीमासम्बन्धी प्रस्ताव फिर्ता लिन सरकारलाई सुझाव दिएको छ । सोमवार सार्वजनिक गरिएको एक रिपोटमा मुडिजले ऋणसीमासम्बन्धी प्रताव पारित भएमा त्यसले बण्ड कारोबारमा अनिश्चितता ल्याउने बताउँदै प्रस्ताव फिर्ता लिन सरकारलाई आग्रह गरेको हो ।सरकारले ऋणसीमा घटाउन संरचनात्मक परिवर्तन गर्दा आउने अवस्थाको पनि संयमतापूर्वक मूल्याङ्कन गरिनुपर्ने रिपोटमा बताइएको छ । मुडिजले अमेरिकी सरकार ऋणको कारणले टाट पल्टने सम्भावना धेरै कम भएको पनि बताएको छ । यसअघिका सरकारहरूले अघिल्ला दशकका विभिन्न अवधिमा विनाविवाद ऋणसीमा बढाइसकेकाले त्यस्तो अवस्था नआउने प्रतिवेदनमा उल्लेख छ ।
तर, बजेटघाटा कम गर्न र ऋणसीमा घटाउन राजनीतिक सहमति जुट्न नसक्दा भने अनिश्चितता बढ्दै गएको मुडिजले बताएको छ । ऋण समस्या समाधान गर्न अमरिकी सरकारले सीमा निर्धारण गर्नेभन्दा अन्य विकल्प खोज्नुपर्ने उसको सुझाव छ । चिलीमा प्रयोग भएको उदाहरण प्रस्तुत गर्दै प्रतिवेदनमा ऋणको मात्रा प्राविधिक रूपमा सीमित नभए तापनि आर्थिक नियमहरूबाट घटाउन सकिने बताइएको छ । साथै यूरोपको 'मासमेट्रिच्ट क्राइटेरिया'लाई उद्धृत गर्दै कुल गार्हस्थ्य उत्पादनमा ऋणको अनुपात ६० प्रतिशतभन्दा बढ्न दिन नहुने पनि बताइएको छ । मुडिजले अघिल्लो हप्ता सरकारले ऋण भुक्तानी समयमै नगरेमा र संसद्को गतिरोध कायमै रहेमा अमेरिकाको 'ट्रिपल ए' रेटिङ हटाउने चेतावनी दिएको थियो । एजेन्सी
न्यूजिल्याण्डको महँगी २१ वर्षकै उच्च
साउन २, हङकङ (चीन) । न्यूजिल्याण्डको महँगीदर २१ वर्षकै उच्च ५ दशमलव ३ प्रतिशत पुगेको छ । सरकारी तथ्याङ्क निकायले निकालेको दोस्रो त्रैमासको प्रतिवेदनअनुसार खाद्यवस्तु, हवाई भाडा, घरजग्गालगायत सबै क्षेत्रमा मूल्य बढेको छ । अष्ट्रेलियाको क्विन्सल्याण्डमा आएको बाढीले गर्दा तरकारीको भाउ पनि ३ महीनाभित्र ७ प्रतिशतले बढेको छ ।न्यूजिल्याण्ड सरकारले गतवर्षवस्तु र सेवामा लागू गरेको २ दशमलव ५ प्रतिशतको करले पनि केही मात्रामा महँगी बढाएको भनिएको छ । महँगी नियन्त्रण गर्न केन्द्रीय बैङ्कले हाल २ दशमलव ५ प्रतिशतमा रहेको कर्जा दरलाई बढाउन सक्ने लगानीकर्ताहरूले अनुमान गरेका छन् । एपी/रासस
विश्व अर्थतन्त्र सुधारोन्मुख, जोखिम यथावत्
साउन २, लण्डन (बेलायत) । विश्व अर्थतन्त्रमा यस वर्षपनि सुधार जारी नै रहने देखिएको छ । खासगरी उदीयमान देशहरूको तीव्र आर्थिक वृद्धिले विश्व अर्थतन्त्रलाई नै डोर्याइरहेको देखिन्छ । तर, यूरोपको वित्तीय समस्या जारी नै रहँदा र अमेरिकामा पनि समस्याको सम्भावना रहेकाले विश्व अर्थतन्त्रको जोखिम भने यथावत् नै रहेको छ । खासगरी जी-७ भनेर चिनिने धनी देशहरूका अर्थतन्त्रमा अझै पनि सुस्ती नै रहेको छ ।
प्रमुख विकसित अर्थतन्त्रमध्ये जर्मनीले मात्र औसत ३ प्रतिशतको वृद्धिदरलाई नाघ्ने अनुमान छ । यूरोपका अन्य क्षेत्रमा भने वित्तीय कठोरता र बढ्दो ऋणबारेको अर्थतन्त्रमा अझै समस्या रहेको विश्लेषकको अनुमान छ । अर्कातर्फ चीनजस्ता उदीयमान देशहरूले मन्दीपछिको समयमा झण्डै दोहोरो अङ्कको वार्षिक वृद्धि हासिल गरिरहेका छन् । तर, उनीहरूले पनि तीव्र वृद्धिसँगै आएको चर्को महँगीको समस्या भोग्नुपरेको छ । आगामी महीनाहरूमा खासगरी यूरो जोन र अमेरिकाले समयमै सरकारी ऋण तिर्न नसकेमा त्यसबाट उत्पन्न समस्याले विश्व्यापी वृद्धिलाई नै नकारात्मक असर पार्ने विश्लेषकहरूको मूल्याङ्कन छ । एजेन्सी
फिलिप्सको दोस्रो त्रैमासिक घाटा १ दशमलव ३ अर्ब यूरो
साउन २, आमष्टडाम (नेदरल्याण्डस्) । यूरोपको सबैभन्दा ठूलो कञ्जुमर इलेक्ट्रोनिक्स उत्पादक फिलिप्सले दोस्रो त्रैमासिकमा १ दशमलव ३ अर्ब यूरो घाटा बेहोरेको छ । कम्पनीले सोमवार सार्वजनिक गरेको दोस्रो त्रैमासिक हिसाब प्रतिवेदनमा आश्चर्यजनक ढङ्गले नाफा गुमाएको उल्लेख छ । फिलिप्सले स्वास्थ्य र घरेलु विद्युतीय उपकरणको कारोबारमा उक्त रकम गुमाएको बताइएको छ । प्रतिवेदनमा कच्चा सामग्रीहरूको बढ्दो मूल्य, उपभोक्ताहरूको घटेको क्रयशक्ति, निर्माण क्षेत्रमा छाएको सुस्तता र सरकारहरूले स्वास्थ्य क्षेत्रमा दिने अनुदान घटेकोजस्ता समस्या घाटा बेहोर्न प्रमुख कारण भएको उल्लेख छ । यसका साथै कम्पनीले सन् २०११ का लागि गरेको आम्दानीको पूर्वानुमान घटाउने र ५० करोड यूरोसम्म बचत गर्ने योजना ल्याउने जानकारी पनि दिएको छ । विश्लेषकहरूले भने यूरोपेली र अमेरिकीबजारमै बढी निर्भर फिलिप्सले द्रुतगतिमा आर्थिक वृद्धि गरिरहेका एशियाली र अन्य उदीयमान देशहरूमा बजारविस्तार गर्नुपर्ने प्रतिक्रिया दिएका छन् । एजेन्सी
सुनको मूल्य प्रतिऔंस १ हजार ६ सय डलर
साउन २, लण्डन (बेलायत) । यूरोजोनको ऋणसङ्कट र अमेरिका टाट पल्टिन लागेका चिन्ताहरूबीच सुनको मूल्यमा सोमवार वृद्धि भएको छ । सोमवारको कारोबारमा सुनको अन्तरराष्ट्रिय बजार मूल्य प्रतिऔंस १ हजार ६ सय अमेरिकी डलर पुगेको थियो । दोस्रो हप्ताको लगातार वृद्धिपछि सुनको मूल्य गत शुक्रवारसम्म ३ प्रतिशतले बढेको थियो । सन् २००९ पछिको यो वृद्धि अहिलेसम्मकै बढी भएको बताइएको छ ।सन् २०११ को ७ महीनासम्म सुनको अन्तरराष्ट्रिय बजार मूल्य १२ दशमलव ५ प्रतिशतले बढिसकेको छ । शेयर र घरजग्गा कारोबारमा छाएको सुस्ती, अमेरिकी डलर र यूरो निरन्तर कमजोर हुँदै जानु र पछिल्लो अवस्थामा यूरोप र अमेरिकाका आर्थिक समस्या झनै जटिल बन्दै जानु सुनको मूल्य वृद्धिमा प्रमुख कारक तत्त्व मानिएका छन् । एजेन्सी
सीबीआईद्वारा पूर्वमन्त्री राजासँग पुन: सोधपुछ
साउन २, नयाँ दिल्ली (भारत) । भारतको केन्द्रीय अनुसन्धान विभाग सीबीआईले पूर्व दूरसञ्चारमन्त्री अण्डीमुथु राजा र अन्य दुई आरोपीलाई फेरि सोधपुछ गर्न अदालतबाट अनुमति पाएको छ । तिहाड जेलमा रहेका ती तीनजना आरोपीलाई पुन: सोधपुछ गर्न अनुमतिका लागि सीबीआईले शनिवार विशेष अदालतसँग अनुमति मागेको थियो ।टु जी मोबाइलको अनुमतिपत्रसम्बन्धी काण्डमा भ्रष्टाचार गरेको आरोपमा उनीहरूमाथि छानबिन भइरहेको छ । राजासँगै सोधपुछ गरिने दुई अन्य आरोपीमा पूर्वदूरसञ्चार सचिव सिध्दार्थ बेहुरा र एक निजी दूरसञ्चार कम्पनीका कार्यकारी गौतम दोषी छन् ।आरोपीहरूलाई पुन: छानबिन गर्नुका पछाडि कुनै स्पष्ट कारण नरहेको भन्ने उनीहरूका वकिलहरूले गरेको तर्कलाई सीबीआई न्यायाधीश ओपी सैनीले अस्वीकार गरिदिए । आगामी आरोपपत्र तयार गर्नुअघि सीबीआईले ती तीनजनालाई फेरि सोधपुछ गर्न चाहेको स्रोतले बताएको छ । एजेन्सी
चिनियाँ कम्पनीहरूमा धोखाधडी बढ्दो : फिच
साउन २, हङकङ (चीन) । चीनका कम्पनीहरूमा धोखाधडीको आरोप र छानबिनका घटना अझै बढ्ने क्रेडिट रेटिङ एजेन्सी फिच रेटिङले सोमवार बताएको छ । चीन सरकारले कर्पोरेट सुशासनस्तरमा सुधार गर्ने प्रयास गरिरहेको छ । फिचका अनुसार, चिनियाँ कम्पनीहरूले धोखाधडीको आरोप सामना गर्नुपर्ने जोखिम औसतभन्दा माथि छ, यद्यपि ती सबै कानूनसम्मत भने हुने छैनन् । अमेरिकामा सूचीकृत भएका कतिपय चिनियाँ कम्पनीका खातामा समेत अनियमतिता देखिएको भन्ने चिन्तालाई फिचको प्रतिवेदनले औंल्याएको छ । अमेरिकामा सूचीकृत चिनियाँ कम्पनीहरूको लेखापरीक्षणबारे रहेको मतभिन्नता सुल्झाउन अमेरिकी र चिनियाँ वित्त अधिकारीहरूबीच गत हप्ता पनि बैठक बसेको थियो । गत हप्ता नै अर्को रेटिङ एजेन्सी मुडिजले पनि चिनियाँ कम्पनीहरूका सुशासन र लेखापालनसम्बन्धी जोखिमबारे 'रातो झण्डा’ देखाएको थियो । एपी/रासस
दोहा राउण्डमा अमेरिकी भूमिकाको विश्व बैङ्क प्रमुखद्वारा आलोचना
साउन २, जेनेभा (स्वीट्जरल्याण्ड) । विश्व बैङ्कका प्रेजिडेण्ट रोबट जोल्लिकले नयाँ विश्वव्यापी व्यापार सम्झौताका लागि नेतृत्व गर्न नसकेको भन्दै अमेरिकाको आलोचना गरेका छन् । त्यस्तो नयाँ विश्वव्यापी व्यापार सम्झौताले आर्थिक वृद्धिलाई प्रवर्द्धन गर्ने जोल्लिकले तर्क गर्दै आएका छन् । जोल्लिक पूर्वअमेरिकी राष्ट्रपति जर्ज डब्ल्यू बुशका पालामा अमेरिकाका व्यापार पहलकर्ता थिए । विश्वव्यापी व्यापारबारेको दोहा राउण्ड वार्ता संरचनागत रूपमै त्रुटिपूर्ण रहेको भन्ने ओबामा प्रशासनको गुनासोलाई जोल्लिकले बहानामात्र भएको आरोप लगाएका छन् ।नयाँखालको स्वतन्त्र व्यापार सम्झौताका लागि अमेरिकी नेतृत्व आवश्यक रहेको जोल्लिकको तर्क छ । सन् २००१ मा कतारको दोहाबाट विश्वव्यापी रूपमै कर घटाउनेबारे दोहा राउण्ड शुरू गरिएको थियो । त्यस्तो कदमबाट विश्व अर्थतन्त्रमा कैयौं डलर थपिने धेरैले अनुमान गरेका थिए । तर, अमेरिका र प्रमुख विकासशील देशबीचको मतभिन्नताले दोहा राउण्ड सङ्कटमा परेको वार्ताकारहरूले बताएका छन् । एपी/रासस
डारेन क्लार्कलाई 'क्लारेट जग’
साउन २, स्याण्डविच (बेलायत) । बेलायतको स्याण्डविचस्थित रोयल सेण्ट जर्ज गोल्फ लिङ्क्समा भएको ब्रिटिश ओपन च्याम्पियनशीप प्रतियोगिताको फाइनलमा डारेन क्लार्क विजयी भएका छन् । उत्तरी आयरल्याण्डका क्लार्कले सोमवार भएको फाइनलमा उत्कृष्ट प्रदर्शन गर्दै 'क्लारेट जग' हात पारेका हुन् । विजयी भएपछि क्लार्कले आफू एउटैमात्र उपाधिबाट सन्तुष्ट नहुने बताए । उनले ५ अण्डर २ सय ७५ अङ्क बनाएका थिए । यो विजयसँगै क्लार्क गोल्फ विश्व वरीयतामा १ सय ११औं स्थानबाट ३०औं स्थानमा आइपुगेका छन् । ब्रिटिश ओपनको दोस्रो स्थानमा दुई अमेरिकी खेलाडीहरू फिल मिकेल्सन र डष्टिन जोन्सन रहेका छन् । मिकेल्सन र जोन्सनले २ अण्डर २ सय ७८ अङ्क बनाएका थिए । डेनमार्कका थमस ब्योर्न १ अण्डर २ सय ७९ अङ्क बनाउँदै तेस्रो स्थानमा रहेका छन् । एमेच्योरतर्फ उत्कृष्ट प्रदर्शन गर्दै २० वर्षीय बेलायती खेलाडी टम लेविसले सिल्भर मेडल पाएका छन् । एजेन्सी
Admin 2011-07-19