युआनलाई लचिलो बनाउने पुनः प्रतिबद्धता
वैशाख ३, बेइजिङ (चीन) । चीनको केन्द्रीय बैङ्कका गभर्नर झोउ जिआओयुआनले विनिमय दरलाई खुकुलो बनाउने प्रतिबद्धता दोहोर्याएका छन् । तर, त्यस्तो व्यवस्था क्रमबद्ध रूपले लागू गर्दै जानेमा पनि उनले जोड दिएका छन् । वासिङ्गटन र अन्य सरकारहरूले चीनले युआनलाई कृत्रिम रूपले न्यून मूल्यमा राखिरहेको गुनासो गर्दै आएका छन् । त्यसले व्यापारमा असन्तुलन ल्याउनुका साथै विश्वव्यापी अर्थतन्त्रको पुनर्बहालीमै नोक्सान पुर्याएको उनीहरूको दाबी छ ।शुक्रवार पनि जी२० का प्रमुख अर्थतन्त्रहरूले वासिङ्गटनमा बैठक गरी 'मुद्राको मिल्दोपना’बारे छलफल गर्न सहमत भएका छन् । गएको जुनमा बेइजिङले युआनलाई अझ लचिलो बनाउने प्रतिबद्धता व्यक्त गरेको थियो । तर, त्यसपछि हालसम्म डलरको तुलनामा ४ दशमलव ५ प्रतिशतले मात्र युआन बलियो भएकाले त्यो अति सुस्त भएको अमेरिकी अर्थ मन्त्रालयले भनेको छ ।
'चीनले वित्तीय क्षेत्रको सुधारलाई जारी नै राख्नेछ । त्यसमा मुद्राको सुधार, 'परिवर्तनीय रेन्मिन्बी’तर्फो अग्रसरता र रेन्मिन्बी विनिमय प्रक्रियामा लचिलोपनालगायत छन्,’ झोउले दक्षिणी चीन स्थित बोआओ शहरमा भइरहेको एक सम्मेलनमा भने । युआनको वृद्धिलाई रोक्न बेइजिङले डलरलगायत अन्य विदेशी मुद्रा खरीद गर्नेजस्ता नियन्त्रणात्मक उपाय अवलम्बन गर्दछ ।मार्चमा चीनको विदेशी मुद्रा सञ्चिति ३० खर्ब डलर नाघेको छ । त्यसबाट चीनको केन्द्रीय बैङ्कले मुद्रा बजारमा अझै हस्तक्षेप गरिरहेको पुष्टि भएको छ । अन्तरराष्ट्रिय मुद्रा कोषको हालैको एक प्रतिवेदनले विश्वव्यापी आर्थिक पुनर्बहालीलाई नै कमजोर बनाउने कारणमध्ये बेइजिङको मुद्रामाथिको नियन्त्रण पनि बन्न सक्ने चेतावनी दिएको छ । एपी/रासस
भारतमा तेलको मूल्यवृद्धि दर झण्डै १३ प्रतिशत
वैशाख ३, नयाँदिल्ली (भारत) । भारतमा अप्रिल २ सम्मको १ वर्षमा खाद्यवस्तुको मूल्य परिसूचक ८ दशमलव २८ प्रतिशतले र तेलको मूल्य परिसूचक १२ दशमलव ९७ प्रतिशतले बढेको छ । भारत सरकारले शुक्रवार प्रकाशित गरेको तथ्याङ्कले त्यस्तो मूल्यवृद्धि दर देखाएको छ । भारतमा चासोका साथ हेरिने थोकविक्री परिसूचकको मूल्यवृद्धि दर मार्चमा गतवर्षको भन्दा ८ दशमलव ९८ प्रतिशतले बढेको छ । रोयर्टस
जी२० का सात ठूला अर्थतन्त्रमाथि निगरानी
वैशाख ३, वासिङ्गटन (अमेरिका) । अन्तरराष्ट्रिय अर्थतन्त्रलाई असन्तुलित बनाउन अमेरिका र चीनलगायत विश्वका सात प्रमुख अर्थतन्त्रको भूमिकाबारे निगरानी गरिने भएको छ । त्यसका लागि अन्तरराष्ट्रिय अर्थतन्त्रका सम्भावित जोखिम मूल्याङ्कनबारे नयाँ संरचना निर्माण गर्न जी२० समूह शनिवार सहमतिमा पुगेको छ । नयाँ संरचनाले ती देशहरूले अन्तरराष्ट्रिय वित्तीय र आर्थिक असन्तुलनमा खेलेको भूमिकाको अध्ययन गर्नेछ ।नयाँ संरचनाले जी२० का प्रमुख पाँच अमेरिका, फ्रान्स, ब्रिटेन, जापान र जर्मनीलगायत दुई प्रमुख उदीयमान देशहरू चीन र भारतको भूमिकाबारे छानबिन गर्नेछ । २००८/२००९ को आर्थिक सङ्कटजस्तै एउटा ठूलो अर्थतन्त्रको संरचनागत समस्या अन्य अर्थतन्त्रमा समेत विस्तार हुने भएकाले नयाँ संरचनाले आपसी निगरानीमा मद्दत पुर्याउनेछ ।
जी२० ले विश्वव्यापी अर्थतन्त्रको ८५ प्रतिशत हिस्सा ओगटेको छ । उक्त समूहमा ब्रिटेन, क्यानडा, फ्रान्स, जर्मनी, अमेरिका, इटली, जापान, दक्षिण अफ्रिका, सउदी अरेबिया, अर्जेण्टिना, अष्ट्रेलिया, ब्राजिल, चीन, दक्षिण कोरिया, भारत, इण्डोनेशिया, मेक्सिको, रूस, टर्की, र यूरोपियन युनियनलगायतका २० देश छन् ।निगरानीमा परेका सात देशमध्ये प्रत्येकका अर्थतन्त्रले विश्वव्यापी अर्थतन्त्रको चार प्रतिशत वा त्यसभन्दा पनि बढी हिस्सा ओगटेका छन् । ती सात देशका भूमिका निगरानीपछि आउँदो नोभेम्बरमा फ्रान्सको क्यान्समा हुने जी२०को शिखर बैठकका बेला सदस्य देशहरूले नीतिगत सुझाव प्रस्तुत गर्नेछन् । एपी/रासस
अफगानिस्तानमा खाद्यसङ्कटको चेतावनी
वैशाख ३, काबुल (अफगानिस्तान) । संयुक्त राष्ट्र सङ्घले अफगानिस्तानमा खाद्यसङ्कट उत्पन्न हुन सक्नेबारे चेतावनी दिएको छ । खाद्यवस्तु खरिदका लागि तत्काल २५ करोड डलर सहयोग नगरे त्यहाँका ७० लाखभन्दा बढी जनता भोकमरीमा पर्ने सङ्घको चेतावनी छ ।भोकमरीको चपेटामा पर्ने धेरैजसो महिला र केटाकेटी हुनेछन् । तर, झण्डै ३ करोड जनसङ्ख्यामध्येका एक तिहाइजति जोखिममा पर्ने विश्व खाद्य कार्यक्रम (डब्लूएफपी)ले बताएको छ । त्यहाँका तीनमध्ये दुई जनाले पर्याप्त पोषणयुक्त खानाविना नै जीवन गुजारा गर्छन् ।
डब्लूएफपीका अनुसार, यस वर्षका लागि आवश्यक खाद्यान्नमध्ये हालसम्म आधामात्र सुनिश्चित भएको छ । अफगानिस्तानका जनताको प्रमुख अन्न गहुँ हो । तर, गर्मीयाम बढ्दै जाँदा गहुँको आपूर्ति घट्दै जाने डब्लूएफपीले जानकारी दिएको छ ।त्यसैगरी, थप आपूर्ति नभएमा खानेतेल र दाललगायत अन्य खाद्यवस्तुको भण्डार पनि अगस्तसम्ममा सकिनेछ । संयुक्त राष्ट्रसङ्घीय कार्यक्रमअन्तर्गत १० लाखभन्दा बढी बालबालिकाले तिनका स्कूलमा पोषणयुक्त खाना खान्छन् । तर, थप रकम उपलब्ध नभएमा उक्त कार्यक्रम पनि जुनको मध्यबाटै स्थगित गर्न बाध्य हुने डब्लूएफपीले चेतावनी दिएको छ । रोयटर्स
बीपीको वार्षिक साधारणसभामा विरोध प्रदर्शन
वैशाख ३, लण्डन (बेलायत) । ब्रिटिश पेट्रोलियम (बीपी)का शेयर होल्डरहरूको वार्षिक साधारणसभा विरोध प्रदर्शनका कारण बिथोलिएको छ । मेक्सिको खाडीमा भएको तेल चुहावटमा उक्त कम्पनीको भूमिकाविरुद्ध अभियन्ताहरूले प्रदर्शन गरेका थिए ।उता ठूलो सङ्ख्यामा लगानीकर्ताहरूले कम्पनीका निर्देशकहरूको विपक्षमा मतदान गरेका छन् । बिहीवार खाडीबाट आएका पाँच प्रदर्शनकारी समूहमध्ये एउटा समूहका प्रदर्शनकारीहरूले आफ्नो शरीरमा तेलजस्तो कालो पदार्थ दलेर बैठकस्थल भित्र प्रवेश गर्न खोजेका थिए । तर, उनीहरूलाई सुरक्षा गार्ड र प्रहरीले भित्र प्रवेश गर्नबाट रोकेका थिए ।
बीपीकै कामदारहरू सम्मिलित अर्को एउटा समूहले भने ब्याण्ड बाजा बजाएर विरोध गरेका थिए । बीपीको शेयर खरीद गरेका कतिपय प्रदर्शनकारी भने वार्षिक साधारणसभा स्थलमै प्रवेश गर्न सफल भएका थिए ।लगानीकर्तामध्येका २५ प्रतिशतले यसअघि नै बीपीको सुरक्षा समिति प्रमुख बिल काष्टेलको पुनर्निर्वाचनविरुद्ध मतदान गरेका छन् । त्यसरी मतदान गर्नेहरू बीपीको शेयरको ६० प्रतिशत हुन आउँछन् । तर, बीपीको वर्तमान अध्यक्षको पुनर्निर्वाचनमा ७ प्रतिशत मतमात्र विपक्षमा खसेको छ । रोयटर्स
Admin 2011-04-17