शान्ति र संविधानले निर्धारित समयमा नै पूर्णता पाउला ?
  

नयाँ आर्थिक मन्दी शुरू हुन सक्ने अर्थशास्त्रीहरूको भनाइ
भदौ ३, वाशिङगटन (अमेरिका) । विश्वभरबाट आइरहेका निराशाजनक आर्थिक तथ्याङ्कहरूले आर्थिक मन्दीको अर्को चरण शुरू हुन सक्ने अर्थशास्त्रीहरूले बताएका छन् । अमेरिकामा घरजग्गा कारोबार र म्यानुफ्याक्चरिङ क्षेत्र कमजोर भइरहेको हालै सार्वजनिक तथ्याङ्कहरूले देखाएका थिए । त्यसैगरी यूरोजोनमा ऋणसङ्कट गहिरिँदै जाँदा बैङ्किङ र वित्तीय क्षेत्रमा सङ्कट आउन सक्ने पूर्वानुमानहरू गरिएका छन् । अन्यौलका कारण विभिन्नखाले अड्कलबाजी र त्रासहरूले गर्दा लगानीकर्ताहरू सुनलगायत अन्य सुरक्षित लगानीतर्फ आकर्षित भइरहेका छन् ।

अमेरिकाको फिलाडेल्फिया रिजर्भ बैङ्कले गरेको एक सर्वेक्षणमा मध्य-एट्लाण्टिक क्षेत्रको म्यानुफ्याक्चरिङ सन् २०११ को अगष्टमा विगत २ वर्षको अवधिमै सबैभन्दा कमजोर हुने बताइएको थियो । त्यस्तै, न्यूयोर्कको फेडरल रिजर्भले पनि गत हप्ता समग्र अमेरिकाको उत्पादनमूलक क्षेत्रमा सङ्कुचन आउने जानकारी दिएको थियो । उत्पादनमूलक क्षेत्रमा आउने अनुमान गरिएको यो सङ्कुचन सन् २००९ पछिको सबैभन्दा ठूलो हुने बताइएको छ । सन् २००८ मा आर्थिक मन्दी शुरू भएपछि उत्पादनमूलक क्षेत्र अमेरिकाको आर्थिक वृद्धिको प्रमुख आधार रहेको छ । अमेरिकामा घरजग्गा कारोबारमा आएको सुस्तता चिन्ताको अर्को विषय भएको विश्लेषकहरूले बताएका छन् । सन् २०११ जुलाईमा विगत ४ महीनाकै सबैभन्दा न्यून बिन्दुमा पुगेको हालै सार्वजनिक तथ्याङ्कहरूले देखाएका छन् । जुलाई महीनामा घरजग्गाको विक्री ३ दशमलव ५ प्रतिशतले घटेको 'नेशनल एशोसिएशन अफ रिलेटर्स'ले बताएको छ । एशोसिएशनले जारी गरेको प्रतिवेदनमा घरजग्गा विक्रीदर यही रहे ४० लाख ६७ हजार घरमात्र विक्री हुने बताइएको छ । विश्लेषकहरूले घरजग्गा बजारको स्थायित्वका लागि अमेरिकामा कम्तीमा पनि वार्षिक ६० लाख घर विक्री हुनुपर्ने बताएका छन् । न्यूयोर्कका एक घरजग्गा व्यापारविज्ञ एण्ड्रयू डेभिडशन घरजग्गाको मूल्य र शेयर बजारको सह-सम्बन्धका कारण यस्तो भएको हुन सक्ने बताउँछन् । सन् २००८ मा आर्थिक मन्दीले सबैभन्दा प्रभावित गरेको घरजग्गा कारोबारमा सन् २००९ को अन्त्यदेखि सुधार हुँदै आएको थियो ।

त्यस्तै, अमेरिकामा दैनिक उपभोग्य वस्तुहरूको मूल्य बढ्नु अर्को चिन्ताको विषय भएको छ । सन् २०११ को जुलाईमा उपभोग्य वस्तुहरूको मूल्य शून्य दशमलव ५ प्रतिशतले वृद्धि भएको थियो । परिस्थितिलाई थप जटिल बनाउँदै खाद्यान्न र इन्धनको मूल्य शून्य दशमलव २ प्रतिशतले बढेका छन् । यसले गर्दा आय-आम्दानीको कमी भोगिरहेका अमेरिकीहरूको जीवन कष्टकर बन्दै गइरहेको छ । सन् २०११ जुलाईमा आम अमेरिकी उपभोक्ताहरूबीच गरिएको एक सर्वेक्षणले उनीहरूको अर्थतन्त्रप्रतिको आत्मविश्वास विगत ३१ वर्षकै सबैभन्दा न्यून विन्दुमा झरेको देखाएको थियो ।   

लगानीकर्ताहरू यूरोजोनमा जारी ऋणसङ्कटप्रति पनि अत्यन्त संवेदनशील देखिएका छन् । गत हप्तामात्रै पेरिसमा भएको सार्कोजी-मर्केल शिखर वार्ताबाट कुनै ठोस निर्णयनआएपछि शेयर सूचकाङ्कहरू घट्ने क्रम जारी छ । लण्डनस्थित 'भीटीबी क्यापिटल'का निल म्याकिनन शिखर वार्ताबाट थप कर र सार्वजनिक खर्चमा थप कटौतीबाहेक अरू केही हासिल नभएको बताउँछन् । ग्रीसको विकराल स्थिति देखेका लगानीकर्ताहरू इटाली र स्पेनमा पनि त्यस्तै परिस्थिति दोहोरिनेमा त्रसित बनेका छन् । ऋणसङ्कटले ग्रस्त राष्ट्रहरूमा कारोबार भएका यूरोपेली बैङ्कहरू अहिले आफ्ना दैनिक कार्यसञ्चालनका लागि लिएको अल्पकालीन कर्जाहरूको ब्याज धेरै तिर्न बाध्य भएका छन् । ग्रीस, पोर्चुगल, इटाली र स्पेनलगायत राष्ट्रमा कारोबार गर्ने बैङ्कहरूलाई अन्य बैङ्हरूले ऋण नदिएपछि उनीहरू 'ईसीबी'मा आश्रति छन् । यसैक्रममा बिहीवार नाम नखुलाइएको एक त्यस्तै यूरोपेली बैङ्कले 'ईसीबी'को 'डलर ऋण कार्यक्रम'बाट ५० करोड अमेरिकी डलर कर्जा लिएको बताइएको छ । सन् २०११ को फ्रेबुअरीपछि 'ईसीबी'को उक्त कार्यक्रमको प्रयोग पहिलोपटक भएको बताइन्छ ।

जापानमा गत मार्च महीनाको प्राकृतिक र आणविक दुर्घटनापछिको परिस्थितिले पनि विश्वव्यापी आर्थिक मन्दीका आशङ्काहरूलाई बल पुर्याइरहेका छन् । विश्वको तेस्रो ठूलो अर्थतन्त्र जापानको निर्यात भूकम्प र सुनामीपछि लगातार घट्दै गएको छ ।

विश्व अर्थतन्त्रमा देखिएका यी नकारात्मक परिदृष्यहरूले कुनै पनि बेला विस्फोटक परिणाम सृजना गर्नेमा अर्थशास्त्रीहरू चिन्तित बनेका छन् । उनीहरू शेयर कारोबारमा निरन्तर कमी आउनुले आम उपभोक्ताहरू र व्यापारीहरूको आत्मविश्वास घट्दै गएको बताउँछन् । आम उपभोक्ताहरूको आत्मविश्वास कमजोर हुन थालेपछि कम खर्च गर्ने र त्यसले व्यापार प्रभावित हुने र शेयर बजार झनै कमजोर बन्ने उनीहरूको बुझाइ छ । आर्थिक विश्लेषण संस्था मोर्गन स्टान्लीले गत बिहीवार सार्वजनिक गरेको प्रतिवेदनमा अर्थशास्त्रीद्वय जोएचिम फेल्स र मनोज प्रधानले अमेरिका र यूरोपमा देखिएका सङ्कटप्रति नकारात्मक 'फिडब्याक' आउन थालेको बताएका छन् । यसले गर्दा यूरोजोन र अमेरिकामा अर्को आर्थिक मन्दी आउन सक्ने खतरा रहेको अर्थशास्त्रीद्वयले प्रतिवेदनमा उल्लेख गरेका छन् । केहीअघि मात्र मोर्गन स्टान्ली र मेरिल लिञ्चले नयाँ मन्दीको खतरा तीनमा एक रहेको बताएका थिए ।              एपी/रासस

फक्सवागनको नाफामा  तीव्र वृद्धि
भदौ ३, फ्रान्कर्फट र्(जर्मनी) । जर्मन कार निर्माता फक्सवागनको नाफामा तीव्र वृद्धि भएको छ । कम्पनीले शुक्रवार जारी गरेको दोस्रो त्रैमासिक प्रतिवेदनमा कम्पनीको सो अवधिको नाफा ५ दशमलव ५ प्रतिशतले बढेको उल्लेख छ । फक्सवागनको नाफामा आएको वृद्धि कारहरूको विश्वव्यापी विक्रीमा आएको १६ दशमलव ६ प्रतिशतको वृद्धिले गर्दा भएको प्रतिवेदनमा बताइएको छ । यसअघि कम्पनीले विक्रीमा १४ दशमलव ४ प्रतिशतको वृद्धि हुने अनुमान गरेको थियो । अमेरिकामा अप्रिल-जुन अवधिमा विक्री २१ दशमलव ४ प्रतिशतले बढेको थियो । त्यसैगरी चीन र मध्य-यूरोपमा क्रमश: १६ दशमलव ४ र २८ दशमलव ७ प्रतिशतका दरले विक्रीमा वृद्धि भएको थियो । प्रतिवेदन सार्वजनिक भएपछि फक्सवागनका विक्रीवितरण शाखाका प्रमुख क्रिश्चियन केलिङग्लरले एक विज्ञप्ति जारी गर्दै आगामी दिनमा वृद्धिलाई कायम राख्दै नयाँ मोडलका गाडी बजारमा ल्याउने बताएका छन् ।                    एजेन्सी

हजारेद्वारा हडताल जारी राख्ने दृढता
भदौ ३, नयाँ दिल्ली (भारत) । भ्रष्टाचार विरुद्ध भोक हडताल गरिरहेका अन्ना हजारेले आफूले शारीरिक कमजोरी महसूस गरे तापनि हडताल जारी नै राख्ने दृढता व्यक्त गरेका छन् । हजारेले गत मङ्गलवारदेखि आफूलाई राखिएको जेलबाटै हडताल शुरू गरेका थिए । हडताल शुरू गरेको केही घण्टाभित्रै उनलाई जेलमुक्त गरिएको थियो, तर उनले जेल छाड्न अस्वीकार गरेका थिए । त्यसपछि हजारेलाई उनको १५ दिने भोक हडतालका लागि सरकारले अनुमति दिएको थियो ।

हजारेले भ्रष्टाचार विरोधी आयोग स्थापनाका लागि आफूले गरिरहेको हडताललाई 'क्रान्ति’ र 'नयाँ स्वतन्त्रता संघर्ष’ भनेका छन् । 'सरकारी कोषमा भएको सम्पत्ति हाम्रो हो, र त्यो सम्पत्तिमाथि चोरबाट नभई रक्षकबाटै खतरा छ,’ शनिवारको भाषणमा हजारेले भने । हजारेले महात्मा गान्धीकै शैलीको पहिरन र विरोध शैली अपनाएका छन् । एपी/रासस  

 ऋण सङ्कट २००८ जत्तिकै खराब : रेण्डर्स
भदौ ३, ब्रसेल्स (बेल्जियम) । यूरोपको वर्तमान ऋण सङ्कट कम्तीमा पनि २००८ को बैङकिङ क्षेत्र सङ्कटकै हाराहारीमा रहेको बेल्जियमका अर्थमन्त्री डिडिएर रेर्ण्र्डसले बताएका छन् । हालको सङ्कटले शुरूमा सोचिएको जस्तो केहीलाई मात्र नभई अमेरिकी क्रेडिट रेटिङ घटेपछि विश्वभरि नै प्रभाव पार्ने रेर्ण्र्डसको भनाइ छ । त्यसैले यूरोपेली आर्थिक एकीकरण बलियो बनाउने दिशामा अवसरको रूपमा यूरोजोनले हालको सङ्कटलाई लिनुपर्ने उनको सुझाव छ ।

बेल्जियमले आफ्नो बैङ्किङ क्षेत्रमा सुधारका लागि धेरै कार्य गरिसकेको र देशका दुई ठूला बैङ्कहरू केबीसी र डेक्सियामा पुन:संरचना गरिसकिएको उनले दाबी गरे । त्यसैगरी, साझारूपमा जारी गरिने यूरोजोन बण्डको स्थापना गर्ने योजनाबारे जर्मनी र नेदरल्याण्डले पुनर्विचार गर्नुपर्ने रेर्ण्र्डसको धारण छ । पेरिसमा भएको एउटा बैठकमा ती दुई देशले उक्त योजनालाई अस्वीकार गरेका थिए ।          एजेन्सी

जापानको मुद्रा बजारमा  फेरि हस्तक्षेपको सम्भावना
भदौ ३, टोकियो (जापान) । जापानी मुद्रा येनले डलरको तुलनामा एकैरातमा नयाँ कीर्तिमान कायम गरेपछि जापान सरकारले फेरि मुद्रा बजारमा हस्तक्षेप गर्ने विचार गरिररहेको छ । येनको मूल्य अझै बढे अधिकारीहरूले मुद्रा कमजोर बनाउन बजारमा हस्तक्षेप गर्ने निक्केइ समाचारपत्रिकाले शनिवार बताएको छ । साथै, आफूले एकपक्षीय रूपमा चालेको त्यस्तो कदमबारे ग्रूप अफ सेभेन अर्थात् जी-७ का अन्य देशसँग समझदारी खोजिने स्रोत उल्लेख नगरी पत्रिकाले बताएको छ ।

विश्व बजारमा बढ्दो अस्थिरताले गर्दा लगानीकर्ताहरूको आकर्षण येनजस्ता सुरक्षित मुद्रातर्फबढेको छ । परिणामस्वरूप, शुक्रवार जापानी येनको तुलनामा डलर हालसम्मकै न्यून बिन्दुमा पुगेको थियो ।

येनको मूल्य बढी नै रहेमा बैङ्क अफ जापानले मौद्रिक नीतिलाई पनि खुकुलो बनाउनेछ । अगष्टको शुरूतिरै जापान सरकारले मुद्रा विनिमय बजारमा हस्तक्षेप गरेको थियो । त्यसपछि पनि लगानीकर्ताहरूको येनमाथिको आकर्षणले येनको मूल्यमा नियन्त्रण आउन सकेको छैन । येनको बढ्दो मूल्य नियन्त्रणका लागि हस्तक्षेप गरिनेबारे नीतिनिर्माताहरूले मौखिक चेतावनी दिँदै आएका छन् भने बैङ्क अफ जापानले पनि त्यसका लागि आफू तयार रहेको सङ्केत दिएको छ । एजेन्सी   

भारतद्वारा ९ प्रतिशतको आर्थिक वृद्धि लक्ष्य
भदौ ३ । भारतले २०१२ को अप्रिलबाट शुरू हुने पञ्चवर्षीय योजनामा गरीबी निवारणका लागि ९ प्रतिशतको वृद्धिदर लक्ष्य राखेको प्रधानमन्त्री मनमोहन सिंहले बताएका छन् । सरकारले ९ दशमलव ५ प्रतिशसम्मको वृद्धिदर लक्ष्य राख्न योजना आयोगलाई आग्रह गरेको थियो ।

तर, विश्व अर्थतन्त्रमा देखिएको अनिश्चितता र घरेलु अर्थतन्त्रको चुनौतीका कारण केही कठिन निर्णय लिन सकेमात्र ९ प्रतिशतसम्मको वृद्धिदर हासिल गर्न सकिने योजना आयोगले बताएको सिंहले जानकारी दिए । उता, केन्द्रीय बैङ्क रिजर्भ बैङ्क अफ इण्डियाले भने ८ प्रतिशतभन्दा माथिको वृद्धिदरले महँगी बढाउने चेतावनी दिएको छ ।

भारतका १ अर्ब २० करोड जनसङ्ख्यामध्ये ७६ प्रतिशतले प्रतिदिन २ डलरभन्दा पनि मुनिले जीवन निर्वाह गरिरहेको विश्व बैङ्कको अनुमान छ । त्यसैले महँगी र आर्थिक वृद्धिको सन्तुलन मिलाउनु भारतीय नीतिनिर्माताहरूलाई हम्मेहम्मे पर्छ ।

सरकारले आगामी ५ वर्षमा कृषि क्षेत्रमा ४ प्रतिशतको वृद्धि लक्ष्य राखेको सिंहले बताए । घरेलु उत्पादन नबढाई उच्च आर्थिक वृद्धिको लक्ष्य लिँदा महँगी बढ्ने भएकोले कृषि क्षेत्रमा त्यस्तो निर्णय गरिएको सिंहको भनाइ छ । केन्द्रीय बैङ्कले पनि आपूर्ति बढाउन कृषि र कारखानामा अझ बढी लगानी गर्न सुझाव दिएको छ ।      एजेन्सी

म्यानचेष्टर युनाइटेड एशियाली शेयर बजारमा सूचीकृत हुँदै
भदौ ३, सिङ्गापुर । प्रख्यात बेलायती फुटबल क्लब 'म्यानचेष्टर युनाइटेड' (म्यान यू) एशियाली शेयर बजारमा सूचीकृत हुने भएको छ । प्राप्त समाचारअनुसार सिङ्गापुरको 'एसएफ एक्स'ले म्यान यूलाई सूचीकृत गर्न लागेको हो । यसबाट 'म्यान यू' अब एशियाली बजारमा प्रविष्ट हुनेछ । शेयर सूचकाङ्कमा सूचीकृत हुन म्यान यूले 'इनिशियल पब्लिक अफरिङ' (आईपीओ) मार्फत एक अर्ब अमेरिकी डलरबराबरको शेयर जारी गर्ने बताइएको छ । यो विषयसँग परिचित केही विज्ञका अनुसार म्यान यूले सन् २०११ को अन्तसम्म शेयर जारी गरिसक्नेछ ।

विश्लेषकहरूले चीनलगायत उदीयमान  एशियाली अर्थतन्त्रहरूमा प्रवेश गर्ने रणनीतिस्वरूप म्यान यूले उक्त कदम उठाउन लागेको बताएका छन् । तर, हङकङ जस्तो ठूलो बजारको सट्टा सिङ्गापुरको सानो शेयर बजारमा  सूचीकृत हुने उसको निर्णय्रति भने आश्चर्य व्यक्त गरिएको छ  । सन् २००५ मा विक्री भएको म्यान यूमा हाल ग्लेजर परिवारको स्वामित्व रहेको छ । 'फोर्ब्स' पत्रिकाका अनुसार म्यान यू विश्वको सबैभन्दा मूल्यवान् खेल क्लब हो । पत्रिकाले दिएको जानकारीअनुसार म्यान यूको हालको मूल्य १ खर्ब ८६ अर्ब अमेरिकी डलर रहेको छ । एजेन्सी

इजरायलद्वारा नेपालीलाई रोजगार अवसर
भदौ ३, काठमाडौं । इजरायलले नेपाली कामदारलाई पुन: रोजगारीको अवसर प्रदान गर्ने भएको छ । सुसारे र कृषि मजदूरका निम्ति आकर्षक गन्तव्यका रूपमा रहेको इजरायल वैदेशिक रोजगार व्यवसायीहरूको अनियमितताका कारण २वर्षअघि बन्द भएको थियो । केही व्यवसायीले इजरायल जान चाहनेहरूसँग वास्तविक खर्चभन्दा ज्यादै धेरै रकम असुलेकाले त्यहाँको सरकारले नेपाली कामदार लिन बन्द गरेको हो । इजरायलमा रोजगारीमा जाने अवसर खुलाउन सरकारी स्तरमा पटकपटक भएका छलफल अन्तत: परिणाममुखी बनेको परराष्ट्र मन्त्रालयका एक वरिष्ठ अधिकृतले बताए ।

यसैबीच, परराष्ट्र मन्त्रालयका प्रवक्ता दुर्गाप्रसाद भट्टराईले नेपाली कामदारलाई पुन: कामको अवसर दिने इजरायली सरकारको निर्णयो पुष्टि गर्दै शीघ्र कार्यारम्भ हुने बताए । यसअघि वार्षिक रूपमा ४ हजारको हाराहारीमा नेपाली इजरायल जाने गरेका थिए । घरेलु कामदार र सुसारेका रूपमा त्यहाँ जानेमा महिलाको बाहुल्य थियो । रासस

Admin 2011-08-21