शान्ति र संविधानले निर्धारित समयमा नै पूर्णता पाउला ?
  

भारतद्वारा ब्याजदर पुन: वृद्धि

चैत ३, मुम्बई (भारत) । भारतीय केन्द्रीय बैङ्कले बिहीवार एक चौथाइ प्रतिशत आधार बिन्दुले प्रमुख ब्याजदरहरू बढाएको छ । योसमेत गरी बैङ्कले १ वर्षभित्रमा आठौंपटक वृद्धि गरेको छ । तेलको बढ्दो मूल्यले पहिलेदेखि नै उच्च रहेको मूल्यस्फीति झनै बढ्ने आशङ्काले ब्याजदर बढाइएको हो । कच्चा तेलको र म्यानुफयाक्चरिङ खर्चमा वृद्धि भएकाले यस वर्षको मूल्यस्फीति पूर्वानुमानलाई पनि केन्द्रीय बैङ्कले ७ प्रतिशतबाट ८ प्रतिशतमा पुर्‍याएको छ । त्यसका साथै हालको मूल्यस्फीति विरुद्धको अभियान जारी नै रहने पनि उसले बताएको छ ।'आर्थिक वृद्धिप्रति जोखिम बढे पनि मूल्यस्फीतिका अन्तर्निहित दबाब बढेका छन्,’ बैङ्कले भनेको छ । त्यसैगरी अपेक्षा अनुरूप नै केन्द्रीय बैङ्कले रिपोदरलाई पनि ६ दशमलव ५ प्रतिशतबाट बढाएर ६ दशमलव ७५ प्रतिशतमा पुर्‍याएको छ । साथै रिभस रिपोदरलाई भने ५ दशमलव ५ प्रतिशतबाट बढाएर ५ दशमलव ७५ प्रतिशतमा पुर्‍याएको छ ।एशियाभरि कै केन्द्रीय बैङ्कहरूले मूल्यवृद्धि विरुद्ध अभियान छेडे पनि भारत सबैभन्दा आक्रामक देखिएको छ । मध्यपूर्वमा हालै भइरहेका राजनीतिक परिवर्तन र गत हप्ता जापानमा आएको विनाशकारी भूकम्प र सुनामीले विश्वव्यापी वृद्धिलाई नै असर पुर्‍याउन सक्छ । मूलत: घरेलु बजारबाट सञ्चालित अर्थतन्त्र भए पनि तेलको आयात र विदेशी लगानीमाथिको निर्भरताले भारतको अर्थतन्त्रलाई पनि विश्वव्यापी सङ्कटले प्रभावित गर्नसक्छ । एपी/रासस  

चीनमा फेरि मिसावट काण्ड, यसपालि मासुका परिकारमा

चैत ३, साङ्र्घाई (चीन) । चीनमा फेरि खाद्यवस्तु काण्ड चर्किएको छ । सुँगुरको मासुका उत्पादनमा अवैध पदार्थ मिसावट गरिएको पाइएपछि त्यहाँको सबैभन्दा ठूलो मासु प्रशोधन केन्द्रलाई क्षमा माग्न लगाइएको छ ।हेनान शुआङघुई इण्भेष्टमेण्ट एण्ड डेभलेपमेण्ट कम्पनीले घटनाबारे अनुसन्धान गरुन्जेल आफ्नो एक सहायक कम्पनीको सञ्चालन बन्द गरिएको बताएको छ । मातृ कम्पनी शुआङघुई ग्रूपले एउटा छुट्टै विज्ञप्ति जारी गर्दै घटनाबाट उपभोक्तालाई पर्न गएको अप्ठयारोप्रति गहिरो खेद व्यक्त गरेको छ ।यसअघि २००८ मा रसायन मिश्रति दूधको सेवनपछि धेरै केटाकेटीको मृत्यु हुनुका साथै हजारौं बिरामी परेका थिए । सुँगुरको मासुबाट बनेका ती उत्पादनहरू शुआङघुई ग्रूपको शाइनवे ब्राण्डको नामबाट वितरण गरिएका हुन् । ती सुँगुरलाई क्लेनब्युटेरोल भनिने औषधि सेवन गराइएको थियो । चीनमा उक्त औषधिलाई प्रतिबन्ध लगाइएको छ । किनभने सो औषधिको सेवनबाट मानिसमा रिँगटा लाग्ने, मुटुको चाल अस्थिर हुने र खल्खली पसिना आउनेलगायत समस्या उत्पन्न हुन्छन् । एपी/रासस       

अमेरिकी कार्यकारी भारतमा पक्राउ

चैत ३, न्यूयोर्क (अमेरिका) । चिकित्सकीय सामग्री उत्पादन गर्ने अमेरिकी कम्पनी सेण्ट ज्युड मेडिकलका प्रमुख कार्यकारी डेनियल स्टार्क्सलाई बुधवार नयाँ दिल्लीमा पक्राउ गरिएको छ ।हातहतियार राखेको अभियोगमा डेनियललाई पक्राउ गरिएको हो । प्रहरीले डेनियलको लुगाफाटो जाँच गर्दा गोलीको एउटा खोका भेटेको थियो । गोलीको सो खोका झुक्किएर छुट्न पुगेको कम्पनीकी प्रवक्ताले बताएकी छिन् । साथै डेनियलले अनुसन्धानमा स्थानीय अधिकारीलाई सघाइरहेको पनि उनले जानकारी दिएकी छिन् । २००४ को मेदेखि स्टार्क्स सेण्ट ज्युडको प्रमुख कार्यकारी अधिकृत नियुक्त भएका हुन् । तर, स्टार्क्सलाई कहिले रिहा गरिनेछ भन्नेबारे कम्पनीले कुनै जानकारी दिएको छैन । रोयटर्स    

जापानमा भूकम्पपछि विद्युत् कटौती

चैत ३, टोकियो (जापान) । घनाबस्ती रहेको टोकियो शहरमा बिहीवार झनै बढी विद्युत् कटौती गरिएको छ । त्यसका साथै, हालको विद्युत् कटौती आगामी ६ महीनासम्म कायमै रहने पनि देखिएको छ । भूकम्पले आणविक केन्द्रहरूमा क्षति पुर्‍याएपछि त्यहाँका कारखानाहरू पनि प्रभावित भएका छन् । यसबाट अन्तरराष्ट्रिय बजारमा समेत प्रभाव पर्ने देखिएको छ ।जापानको उत्तरपूर्वी क्षेत्रमा शुक्रवार आएको ९ रेक्टरको भूकम्प र त्यसपछिको सुनामीले टोकियो शहरका सेवाहरूमा पनि ठूलो धक्का पुगेको छ । विपत्तिबाट २ खर्ब डलरसम्मको क्षति भएको हुनसक्ने अनुमान गरिएको छ । टोयोटा र सोनीजस्ता अन्तरराष्ट्रिय कम्पनी रहेको टोकियो शहरमा एक चौथाइले विद्युत् कटौती गर्नुपरेको छ । विद्युत्बाट चल्ने ट्रेन र ट्राफिक लाइटसमेत बन्द भएका छन् । भूकम्पपछि ५४ मध्ये ११ ओटा आणविक ऊर्जा केन्द्र बन्द गरिएका छन् । त्यसबाट अर्थतन्त्रमा ठूलो प्रभाव पर्नेछ, किनभने जापानको ३० प्रतिशत ऊर्जा आणविक केन्द्रबाट प्राप्त हुने गर्छ । एपी/रासस  

भारतमा महँगी केही घट्ने

चैत ३, नयाँदिल्ली (भारत) । भारतमा मार्चको मूल्यवृद्धि केही कम भएर ७ देखि ७ दशमलव ५ प्रतिशतमा रहने अर्थमन्त्री प्रणव मुखर्जीले बताएका छन् । केन्द्रीय बैङ्कले पछिल्लोपटक बढाएको ब्याजदरले पनि मूल्यवृद्धिजन्य दबाबलाई प्रभावित गर्ने मुखर्जीले बिहीवार दाबी गरेका छन् । 'ब्याजदर बढाएको राम्रो हो, यसले मुद्रास्फीतिजन्य दबाबलाई प्रभावित गर्नेछ,’ मुखर्जीले संवादाताहरूलाई बताए । केन्द्रीय बैङ्कले उसको प्रमुख ब्याजदरमा  वृद्धि गरेपछि मुखर्जीको त्यस्तो प्रतिक्रिया आएको हो ।भारतमा चासोका साथ हेरिने थोक मूल्य परिसूचकमा आधारित मूल्यवृद्धि फेब्रुअरीमा वार्षिक ८ दशमलव ३१ प्रतिशत पुगेको छ । तेल र कारखानामा उत्पादित वस्तुको मूल्य बढेकाले मूल्यवृद्धिजन्य दबाब बढेको हो । जनवरीको मूल्यवृद्धि भने ८ दशमलव २३ प्रतिशतमा रहेको थियो ।मार्चको शुरूमा वार्षिक खाद्य मूल्यवृद्धि झरेर ९ दशमलव ४२ प्रतिशत पुगेको छ । प्याज र दूधको मूल्य ओर्लेपछि मूल्यवृद्धिमा केही कमी आएको हो । तर, तेल र कोइलाको मूल्य भने बढेको छ । रोयटर्स

विकासशील देशका केटाकेटीमा मोटोपनाको समस्या

चैत ३, जेनेभा (स्वीट्जरल्याण्ड) । विकासशील देशमा केटाकेटीको मोटोपना बढिरहेको छ ।   अफ्रिकामा ५ वर्षमुनिका मोटा केटाकेटीको सङ्ख्या गत २० वर्षा तीन गुणाले बढेको छ । यसरी केटाकेटीको मोटोपना विकासशील देशहरूमा पनि समस्याका रूपमा देखिएको  संयुक्त राष्ट्रसङ्घीय स्वास्थ्य निकायले बुधवार बताएको छ । पोषणविहीन खाना, स्तनपान गराउने प्रचलनमा कमी र व्यायामको कमीले केटाकेटीको मोटोपना बढेको हो । अफ्रिकामा ५ वर्षुनिका  मोटा केटाकेटीको जनसङ्ख्या १९९० को ४ प्रतिशतबाट २०१० मा ८ दशमलव ५ प्रतिशत पुगेको छ । त्यसैगरी एशियामा पनि मोटा केटाकेटीको सङ्ख्या जनसङ्ख्याको ३ दशमलव २ प्रतिशतबाट बढेर ४ दशमलव ९ प्रतिशत पुगेको छ ।  'केटाकेटीहरू बढी मोटो हुनुको कारण उनीहरूको निष्क्रीय जीवनशैली र आवश्यकताभन्दा बढी खाना खानु हो,’ डब्ल्यूएचओको पोषण निर्देशक फ्रान्सेस्को ब्राङ्काले भने । बच्चाहरूलाई चिनी र चिल्लो धेरै भएको तर आवश्यक भिटामिन र मिनरलको कमी भएको खाना दिने गरिएकाले पनि मोटोपना बढेको हो । त्यसैगरी आमाले बच्चालाई स्तनपान नगराउँदा पनि पोषणको अभाव हुनगई पछि मोटोपना बढ्ने सम्भावना हुन्छ । एएफपी/रासस

बैङ्क अफ अमेरिकामा अम्बानी

चैत ३, शार्लट (अमेरिका) । बैङ्क अफ अमेरिकाले आफ्नो सञ्चालक समिति सदस्यमा मुकेश अम्बानीलाई बुधवार मनोनीत गरेको छ । त्यसरी उक्त बैङ्कको सञ्चालक समितिमा मनोनीत हुने अम्बानी पहिलो गैरअमेरिकी हुन् । अम्बानी अब उक्त बैङ्कको निर्देशक पदमा रहनेछन् । बैङ्क अफ अमेरिका सम्पत्तिको आधारमा अमेरिकाको सबैभन्दा ठूलो बैङ्क हो । ५३ वर्षीय अम्बानीले भारतको सबैभन्दा ठूलो निजी कम्पनी रिलायन्स इण्डष्ट्रिजको प्रमुख रहिसकेका छन् । अम्बानी उक्त बैङ्कको १४ औं निर्देशक हुनेछन्, आगामी मेमा बैङ्कको वार्षिक चुनावको बेला भाग लिनेछन् । बैङ्क अफ अमेरिकाले आफूलाई अझ बढी अन्तरराष्ट्रिय कम्पनी बनाउने क्रममा अम्बानीको नियुक्ति भएको छ । २००८ मा उसले लगानी बैङ्क मेरिल एण्ड कम्पनीलाई आफूमा गाभेको थियो । रोयटर्स

जापानी येन हालसम्मकै बलियो

चैत ३, बैङ्कक (थाइल्याण्ड) । जापानी येन अमेरिकी डलरको तुलनामा हालसम्मकै बलियो हुन पुगेको छ । त्यसैगरी जापानी शेयरहरू शुरूमा केही ओर्ले तापनि पछि सुधार आएको छ । त्यसबाट यूरोपका शेयर बजारमा पनि सुधार आउनुका साथै अमेरिकी फयुचसको मूल्य बढेको छ जापानको शेयरबजार परिसूचक निक्केइ २ सय २५ बजार बन्द हुने बेलामा १ दशमलव ४ प्रतिशतले घटेर ८ हजार ९ सय ६२ दशमलव ६७ पुगेको छ । तर, बजार खुल्ने बेलामा ३ दशमलव ६ प्रतिशतले परिसूचक ओर्लेकोले बन्द हुँदा केही सुधार आएको मानिएको छ । एशियामा तेलको मूल्य प्रतिब्यारेल ९९ डलरभन्दा माथि पुगेको छ । जापानको आणविक केन्द्रमा क्षति पुगेपछि उसको कच्चा तेलको माग बढ्ने अपेक्षाले तेलको  मूल्य पनि बढेको हो । एशियामा १ डलरबराबर ७९ येनभन्दा केही माथि मात्र रहेको छ । एपी/रासस 

Admin 2011-03-18