शान्ति र संविधानले निर्धारित समयमा नै पूर्णता पाउला ?
  

बैङ्क अफ जापान आशावादी

फागुन ३, टोकियो (जापान) । बैङ्क अफ जापानले नौ महीनापछि पहिलोपटक विश्व अर्थतन्त्रप्रति आशावादी धारणा मङ्गलवार व्यक्त गरेको छ । तर, मूल्यमा आइरहेको लगातारको कमी अर्थात् विस्फीतिका कारण ब्याजदरलाई भने बैङ्कले यथावत् नै राख्ने भएको छ । बैङ्कको दुइ दिने बोर्ड बैठकको अन्त्यमा शून्यदेखि शून्य दशमलव १ प्रतिशतमा रहेका प्रमुख ब्याजदरहरूलाई यथावत् राख्ने निर्णय गरिएको हो ।बैङ्कले मौद्रिक खुकुलोपना कार्यक्रमको प्रभावबारे मूल्याङ्कन गरिरहेकै बेला यस्तो निर्णय आएको छ । अर्थतन्त्रमा तरलता बढाउन बैङ्कले ६० अर्ब डलरबराबरको सम्पत्ति खरीद गर्ने योजना ल्याएको थियो । 'हालैको सुस्तीबाट जापानको अर्थतन्त्रमा विस्तारै सुधार भइरहेको देखिन्छ,’ बैङ्कले एक विज्ञप्तिमा भनेको छ । उदीयमान बजारको नेतृत्वमा भइरहेको विश्वव्यापी वृद्धिबाट जापानको निर्यात र उत्पादनमा पनि सकारात्मक प्रभाव परेको बैङ्कले बताएको छ । यसअघि मे महीनामा बैङ्कले गरेको जापानी अर्थतन्त्रको समीक्षाभन्दा हालको समीक्षा उत्साहप्रद छ । जापानी अर्थतन्त्रको वैदैशिक व्यापारमा रहेको निर्भरताले उसलाई बलियो येनबाट उत्पन्न जोखिममा पार्ने गरेको केही विश्लेषकले चेतावनी दिएका छन् । बलियो येनका कारण निर्यात महँगिने र आयात सस्तिने गरेको उनीहरूको राय छ । एफपी/रासस

भारतमा ब्याजदर र भ्रष्टाचारबारे चिन्ता

फागुन ३, नयाँ दिल्ली (भारत) । भारतमा यो वर्षतीव्र आर्थिक वृद्धिको अपेक्षा गरिएको छ । तर, त्यसका साथै दीर्घकालीन आर्थिक परिदृश्य बारे चिन्ता पनि बढेका छन् । एकातिर केन्द्रीय बैङ्कले ब्याजदरलाई झनै बढाएको छ भने अर्कोतिर भ्रष्टाचारका काण्डहरूले लगानीकर्तालाई चिन्तित बनाएको छ । यस वर्ष नै शेयरबजार १७ प्रतिशतले तल ओर्लिसकेको छ । ब्याजदरमा वृद्धि र भ्रष्टाचारबारे विदेशी लगानीकर्ताहरूको संशय बढेकाले आर्थिक वृद्धि सुस्तिने आशङ्काले शेयरबजार ओर्लेको हो । जनवरीमा गत आठ महीनामा पहिलोपटक संस्थागत विदेशी लगानीकर्ताले खरीद गरेको भन्दा विक्री गरेको शेयर रकम बढी छ । त्यसबाट भारतीय बजारमा १ अर्ब ४० करोड डलरबराबरको शेयर थुप्रिएको सम्बन्धित तथ्याङ्कले देखाएका छन् ।  'विदेशी लगानीकर्ताका लागि भ्रष्टाचार र त्यससँगै उत्पन्न राजनीतिक जोखिम निश्चय पनि प्रमुख चिन्ताको विषय भएको छ,’ मुम्बईस्थित एक ब्रोकरेज संस्था एस्पिरितो सान्तो सेक्युरिटिजले टिप्पणी गरेको छ । भारत सरकारले मार्चमा अन्त्य हुने आर्थिक वर्षमा ८ दशमलव ६ प्रतिशतले अर्थतन्त्र विस्तार हुने विश्वास व्यक्त गरेको छ । तर, तेलको मूल्य र ब्याजदरमा वृद्धि भइरहेकाले आगामी वर्षभने ७ दशमलव ७ प्रतिशतमा झर्ने एक अर्थशास्त्रीले चेतावनी दिएका छन् । एएफपी/रासस

भारत र चीनको तुलना 'मूर्खतापूर्ण’ :अमर्त्य सेन

फागुन ३, नयाँ दिल्ली (भारत) । भारतका एक प्रसिद्ध अर्थशास्त्री तथा नोबेल पुरस्कार विजेता अमर्त्य सेनले सोमवार चीन र भारतको आर्थिक वृद्धिदरलाई तुलना गर्ने प्रवृत्तिलाई 'मूर्खतापूर्ण ’ भनेका छन् । सेनका अनुसार, आर्थिक वृद्धिको दौडमा बेइजिङभन्दा नयाँ दिल्ली धेरै पछाडि छ । त्यसैगरी जीवनस्तरका थुप्रै अन्य मापदण्डहरूमा भारत चीनभन्दा निकै तल रहेको सेनको धारणा छ ।'भारतको र चीनको वृद्धिदर तुलना गर्ने कार्यमा गहिरो अभिरुचि देखिएको छ, तर त्यो मूर्खतापूर्ण छ,’ सेनले द हिन्दुमा लेखेका छन् । खुद गार्हस्थ्य उत्पादन (जीएनपी) लाई आधार मानेर गरिने आर्थिक वृद्धिको मापन आफूखुशी भएको उनले बताए । साथै आर्थिक वृद्धिले  धेरैजसो जनताको जीवनस्तरमा अप्रत्यक्ष र आंशिक प्रभाव मात्र पार्ने उनको विचार छ । विश्व बैङ्कको विश्व विकास प्रतिवेदन र संयुक्त राष्ट्रसङ्घको मानव विकास प्रतिवेदनलाई आधार मानेर सेनले आफ्नो विचार प्रस्तुत गरेका हुन् । त्यस अनुसार, धेरैजसो मापदण्डमा  चीन भारतभन्दा निकै अगाडि रहेको सेनले दाबी गरेका छन् ।जन्मको बेला चीनको अपेक्षित आयु ७३ दशमलव ५ वर्ष छ भने भारतको ६४ दशमलव ४ प्रतिशत मात्र छ । भारतको शिशु मृत्युदर ५० प्रतिहजार छ भने चीनको मात्र १७ छ । त्यसैगरी ५ वर्षमुनिको मृत्युदर भारतीयहरूको लागि ६६ छ भने चिनियाँहरूका लागि १९ मात्र छ । चीनको वयस्क साक्षरता दर ९४ प्रतिशत छ भने भारतको ६५ प्रतिशत मात्र छ । चिनियाँहरूको औसत अध्ययन वर्ष७ दशमलव ५ वर्ष छ भने भारतको ४ दशमलव ४ प्रतिशत मात्र छ । त्यसैगरी भारतका बच्चाहरूको झण्डै आधा जनसङ्ख्या कुपोषणग्रस्त छन् भने  धेरै कम चीनमा त्यस्तो अवस्था धेरै कम रहेको सेनले बताए ।  सेनका अनुसार, भारत र चीनबीचको तुलना गर्दा माथि उल्लिखितजस्ता मापदण्डमा केन्द्रित रहेमा वास्तविक चित्र प्रस्ट हुन्छ । त्यसपछि मात्र के गर्ने र के नगर्ने भन्नेबारे स्पष्ट हुने सेनको सुझाव छ । भारतीय प्रधानमन्त्री र अर्थमन्त्रीले दोहोरो अङ्कको आर्थिक वृद्धिदर प्राप्त गर्ने तर्फ आफूहरू केन्द्रित रहेको बताउँदै आएका छन् । तर, कुल गार्हस्थ्य उत्पादनको वृद्धिमा केन्द्रित व्याख्याले भारतको मध्यवर्गीय नवधनाढयको मात्र प्रतिनिधित्व गर्ने तर अधिकांश भारतीय त्यसमा नसमेटिएका सेनको जिकीर छ । एएफपी/रासस

चीनमा खाद्यवस्तुको भाउसँगै बढयो मुद्रास्फीति

फागुन ३, बेइजिङ (चीन) । खाद्यवस्तुको मूल्यमा भएको दोहोरो अङ्कको वृद्धिले जनवरीमा चीनको मुद्रास्फीति बढेको छ । त्यसबाट ब्याजदरमा वृद्धिलगायत अन्य उपायमार्फत जीवन निर्वाह खर्च घटाउन बेइजिङमाथि झनै दबाब परेको छ । खाद्यवस्तुमा भएको १० दशमलव ३ प्रतिशतको वृद्धिबाट जनवरीको उपभोक्ता मूल्य ४ दशमलव ९ प्रतिशतले बढेको छ । डिसेम्बरको उपभोक्ता मूल्यमा ४ दशमलव ६ प्रतिशत र नोभेम्बरमा भने ५ दशमलव १ प्रतिशतले बढेको थियो । बेइजिङले तीव्र आर्थिक वृद्धिलाई केही सुस्त बनाएर मुद्रास्फीति घटाउने उद्देश्यले अक्टोबरदेखि तीनपटक ब्याजदर बढाइसकेको छ । तर, बैङ्कहरूको ऋण दिने बढ्दो प्रवृत्तिलाई नियन्त्रण गर्न थप कदम चाल्नुपर्ने विश्लेषकहरूले बताएका छन् । खाद्यवस्तुको महँगी घटाउन बेइजिङले खाद्यवस्तुको आपूर्ति पनि बढाउने प्रयास गर्दै छ ।

'हरेकतर्फबाट आइरहेका सबै किसिमका समस्यासँग जुझ्न सरकारले प्रयास गरिरहेको छ । तर, मुद्रास्फीतिको उच्च अवस्था अझै आउन बाँकी नै छ,’ स्टयार्ण्र्डड चार्टर्डका अर्थशास्त्री जिन्नी यानले भने । बेइजिङको लागि महँगी राजनीतिक रूपले खतरनाक छ । किनभने त्यसले चिनियाँ जनताको आर्थिक उपलब्धिलाई कमजोर तुल्याउँछ । फलस्वरूप त्यहाँको कम्युनिष्ट शासनप्रतिकै जनविश्वास घट्न सक्छ । चीनका गरीब परिवारहरूले तिनका आम्दानीको झण्डै आधा हिस्सासम्म खानेकुराको जोहो गर्न खर्च गर्नुपर्छ । त्यसैले खाद्यवस्तुको महँगी बढ्दा ती गरीब परिवारलाई सबैभन्दा धेरै समस्या पर्छ । चीन सरकारले यस वर्षका लागि ४ प्रतिशत मुद्रास्फीतिको लक्ष्य राखेको छ । तर, निजीक्षेत्रका विश्लेषकहरूले त्यस्तो मुद्रास्फीति ६ प्रतिशतसम्म हुन सक्ने अनुमान गरेका छन् । त्यसमा खाद्यवस्तुमा भइरहेको चर्को मूल्यवृद्धिको भूमिका बढी रहने देखिएको छ ।  एपी/रासस

Admin 2011-02-16