भारतको विण्ड टर्बाइन ठेक्का स्पेनी कम्पनीलाई
जेठ ३, म्याडरिड (स्पेन) । स्पेनको विण्ड टर्बाइन निर्माता गमेसाले आफूले विश्वकै ठूलो मध्येको एउटा ठेक्का भारतबाट प्राप्त गरेको मङ्गलवार बताएको छ ।गमेसाले आगामी ५ वर्षभित्र कुल २ हजार मेगावाट क्षमताको विण्ड टर्बाइन भारतलाई आपूर्ति गर्नेछ । त्यसबारे गमेसाले ऊर्जा कम्पनी कपारो इनर्जी इण्डिया लिमिटेडसँग सहमतिमा हस्ताक्षर गरेको विज्ञप्तिमार्फत बताएको छ । उक्त सम्झौता वण्ड टर्बाइन आपूर्तिका लागि भारतमा हस्ताक्षर गरिएको हालसम्मकै ठूलो ठेक्का हो । त्यसका साथै, विश्वकै ठूलो विण्ड टर्बाइन आपूर्ति ठेक्कामध्ये पनि एक हो ।उक्त सम्झौता भारतको वायु ऊर्जाक्षेत्रकै कोसेढुङ्गा हुनुका साथै भारतमा त्यस क्षेत्रको थप विस्तारको शुरुआत भएको कम्पनीले भनेको छ । भारतमा २०१० मा पनि कुल २ हजार ५ सय मेगावाटबराबरको विण्ड टर्बाइन स्थापना गरिएको थियो । त्यसैगरी, २०१५ सम्म प्रतिवर्ष५ हजार मेगावाटको दरले विण्ड टर्बाइन स्थापना गर्ने लक्ष्य रहेको कम्पनीले बताएको छ । विगत ५ वर्षमा भारतको वायु ऊर्जाक्षेत्रमा प्रतिवर्ष३० देखि ४० प्रतिशतले विस्तार भएको छ ।
एएफपी/रासस
चीनमा तरबुजा पड्किन थाले
जेठ ३, बेइजिङ (चीन) । पूर्वी चीनमा यस वर्षउत्पादन भएका तरबुजा फुट्न थालेका छन् । वर्षायाममा ती तरबूजा बालीमा आवश्यकताभन्दा बढी वृद्धिकारक रसायन किसानहरूले प्रयोग गरेकाले तरबूजा फुटन थालेको हो । त्यसरी तरबूजा फुटनथाले पछि त्यस घटनालाई चीनको सञ्चारमाध्यमले 'बारुदी सुरुङ’ पड्केको भन्न थालेका छन् । मे ७ को बिहान आफूले ८० ओटा तरबूजा फुटेको पाएको र दिउँसोसम्ममा भने १ सयओटा पुगेको कृषिका एक प्राध्यापकले बताए । त्यसको दुई दिनसम्ममा यति धेरै तरबूजा फुटिसकेका थिए कि आफूले गन्नै छाडिदिएको ती प्राध्यापकको भनाइ छ ।
हालसम्म २० किसान परिवारले ४५ एकडमा लगाएको तरबूजा खेर गइसकेको छ । गतवर्ष तरबूजाको भाउ बढेकाले धेरै किसान तरबूजा खेतीतर्फ आकर्षित भएका थिए । ती तरबूजामा पहिलोपटक फोरक्लोरफेन्युरोन भनिने वृद्धिकारक रसायन पनि हालिएको थियो । चीनमा उक्त वृद्धिकारक रसायन प्रतिबन्धित छैन । अमेरिकामा पनि किवी र अङ्गुरजस्ता फलमा उक्त रसायन प्रयोग गरिन्छ । तर, हालको घटना र प्रतिवेदनले किसानहरूले वैध र अवैध दुवै किसिमका कीटनाशक र मलखादको दुरुपयोग गरिरहेको देखिन्छ । एएफपी/रासस
हकिङद्वारा ईश्वर र स्वर्गको अस्तित्व अस्वीकार
जेठ ३ । प्रख्यात भौतिकशास्त्री स्टिफेन हकिङले ईश्वरको अस्तित्व नरहेको भन्ने आफ्नो भनाइको व्याख्या गरेका छन् । ईश्वरको अस्तिव नै नरहेकाले मानिसहरूले यस पृथ्वीमा नै सक्दो राम्रो जीवन बाँच्ने प्रयास गर्नुपर्ने हकिङको सुझाव छ । मृत्युसँग डर लाग्छ कि लाग्दैन भन्ने प्रश्नको उत्तरमा आफू विगत ४९ वर्षदेखि नै मृत्युको नजिक रहेकाले कुनै डर नलाग्ने बताए ।त्यसैगरी मृत्युसँग डराउनेहरूले नै स्वर्ग र मृत्युपछिको जीवनको धारणा बनाएका हकिङले बताए । हकिङले १९८८ मा लेखेको पुस्तक 'ए ब्रिफ हिष्टरी अफ टाइम’को ९० लाख प्रति विक्री भइसकेको छ । उक्त पुस्तकमा भने हकिङले ब्रह्माण्डको पूर्ण व्याख्या गर्ने शक्तिका रूपमा ईश्वरलाई एक उपमाका रूपमा प्रस्तुत गरेका थिए । तर, २०१० मा आएर भने विज्ञान र धर्मबीचको द्वन्द्वमा अन्तत: विज्ञानले नै जित्ने हकिङले दाबी गरेका थिए । मानिसको दिमाग कम्प्युटरजस्तै भएकाले पार्टपुर्जाले काम गर्न छोडेपछि कम्प्युटरजस्तै मानिसको दिमागको अस्तित्व पनि सकिने हकिङको भनाइ छ ।
'प्रकृतिको नियमलाई ईश्वरीय शक्तिको रूपमा बुझ्न सकिन्छ । तर, मानिसहरूले भन्ने गरेको ईश्वर त्यस्तो होइन,’ हकिङले भने । मानिसहरूले व्यक्तिगत सम्बन्ध राख्न सकिने एक व्यक्तिका रूपमा ईश्वरलाई हेर्ने गर्छन् । ब्रह्माण्डको व्यापकता र मानव जीवनको क्षणभङ्गुर र आकस्मिकतालाई हेर्दा त्यस्तो व्यक्तिगत ईश्वरको कल्पना असम्भव रहेको हकिङको दाबी छ ।आफ्नो पछिल्लो पुस्तक 'द ग्राण्ड डिजाइन’ मा हकिङले न्यूटनलाई चुनौती दिएका छन् । ईश्वरविना यस्तो सौर्य प्रणालीको निर्माण हुनै नसक्ने न्यूटनको दाबी थियो । तर, गुरुत्वाकर्षण शक्तिमार्फत शून्यबाट पनि ब्रह्माण्डको निर्माण हुन सक्ने भएकाले ईश्वर नरहेको हकिङ दाबी गर्छन् । त्यसैगरी, ब्रह्माण्ड कसरी चल्छ भन्ने बुझ्नईश्वरको मान्यता स्थापित गरिराख्नु नपर्ने हकिङले आफ्नो पुस्तकमा लेखेका छन् ।
२१ वर्षको उमेरमै हकिङ लोउ गेहरिग भनिने एक साङ्घातिक रोगबाट पीडित रहेको पत्ता लागेको थियो । रोगका कारण उनले आफ्नो बोल्ने शक्ति पनि गुमाएका थिए । उनी हिँडडुल गर्न पनि सक्दैनन् । ह्वील चेयरमा बसेर एउटा इलेक्ट्रोनिक यन्त्रको माध्यमबाट उनी आफ्नो भनाइ सङ्केत गर्छन् । सोही उपकरणबाटै उनी क्याम्ब्रिज विश्वविद्यालयमा अनुसन्धान पनि गर्छन् । हकिङ उक्त विश्वविद्यालयका एक उच्च अनुसन्धानकर्ता पनि हुन् । उनी हाल रहेकै पदमा कुनै समय न्यूटन पनि रहेका थिए । हकिङको प्रख्यात सिद्धान्तमध्ये एक ब्ल्याक होलले कसरी विकिरण उर्त्सजन गर्छ भन्ने पनि हो ।त्यसो भए, मानिसको दिमाग पनि कम्प्युटरजस्तै एक दिन समाप्त हुने भए मानिसले आफ्नो जीवनलाई कसरी अर्थपूर्ण बनाउन सक्छ त ? उत्तरमा हकिङ भन्छन्, 'हामीले आफ्ना कार्यहरूद्वारा जीवनलाई अर्थपूर्ण बनाउनुपर्छ ।' एजेन्सी
कानको जमानत प्रस्ताव अस्वीकार
जेठ ३, न्यूयोर्क (अमेरिका) । अन्तरराष्ट्रिय मुद्राकोषका प्रमुख डोमिनिक स्ट्रस कानलाई जमानतमा छाड्न अस्वीकार गरिएको छ । ६२ वर्षीय कान एउटी होटेल कर्मचारीमाथि यौन दुर्व्यवहार गरेको आरोपमा हाल अमेरिकी प्रहरीको हिरासतमा छन् । बाथरूमबाट नाङ्गै बाहिर निस्किएर होटेलको कोरिडोरमा रहेकी एक महिला कर्मचारीलाई घिसार्दै लगेर बलात्कार गर्न खोजेको आरोप कानमाथि लागेको छ ।न्यूयोर्कबाट फ्रान्सतर्फ उड्न लागेका कानलाई जेएफ केनडी विमानस्थलमा पक्राउ गरिएको थियो । कानले आफ्नो मोबाइल फोन होटेलमै छुटेको जानकारी गराएपछि उनी विमानस्थलमा रहेको प्रहरीले पत्ता लगाएको थियो । विमान उड्न केही मिनेटमात्र बाँकी रहेका बेला कानलाई प्रहरीले विमानबाट बाहिर निकालेको थियो ।
तर, कानका कानूनी सल्लाहकारहरूले कान निर्दोष रहेको दाबी गरेका छन् । साथै, १० लाख डलरको जमानत र कानको गतिविधि पहिचान गर्न एउटा इलेक्ट्रोनिक टयाग लगाएर कानलाई हिरासतबाट मुक्त गर्न उनका वकिलहरूले आग्रह गरेका थिए । तर, म्यान ह्याटन फौज्दारी अदालतका न्यायाधीश मेलिसा ज्याक्सनले कान फ्रान्स भाग्नसक्ने तर्क गर्दै जमानत अस्वीकार गरेकी छन् । एजेन्सी
फोर्डद्वारा भारतमा थप लगानी
जेठ ३, डियरबोर्न (अमेरिका) । अमेरिकाको फोर्ड मोटर कम्पनीले भारतमा रहेको इञ्जिन कारखाना विस्तारका लागि ७ करोड २० लाख डलरको लगानी गर्ने भएको छ । भारतको चेर्न्नइमा रहेको उक्त कारखानाको विक्री र निर्यातलाई टेवा दिने उद्देश्यले विस्तार गर्न लागिएको कम्पनीले मङ्गलवार बताएको छ । प्रत्येक दिन तीन सिफ्टमा चलाइने उक्त कारखानामा ३ सयभन्दा बढीले रोजगार पाउने अपेक्षा गरिएको छ ।२०१२ को मध्यसम्ममा कारखानाको पूर्ण विस्तार भएपछि डिजेल इञ्जिनको उत्पादन प्रतिवर्षहालको भन्दा ८० हजारले बढ्नेछ । हाल उक्त कारखानामा प्रतिवर्ष२ लाख ५० हजार पेट्रोल र डिजेल इञ्जिनको निर्माण हुन्छ । कारखाना विस्तारपछि भारत र अन्य बजारमा अझ उच्च गुणस्तरको इञ्जिन आपूर्ति गर्न सकिने फोर्ड इण्डियाका प्रेजिडेण्ट माइकल बोनेहामले बताए । एएफपी/रासस
Admin 2011-05-18