एयरबसले बोइङलाई उछिन्यो
माघ ३, टुलुज (फ्रान्स) । एयरबसले गतवर्ष५ सय ७४ ओटा विमानको नयाँ अर्डर पाएको सोमवार बताएको छ । यसको अर्थ एयरबसले आफ्नो प्रतिद्वन्द्वी बोइङ कम्पनीलाई लगातार तेस्रो वर्षमा पनि विमानको अर्डर सङ्ख्यामा उछिनेको छ । सन् २००९ मा अन्तरराष्ट्रिय हवाईबजार हालसम्मकै तल्लो विन्दुमा पुगेको थियो । तर, २०१० मा भने हवाईबजारमा अपेक्षा गरेभन्दा राम्रो सुधार आएको थियो । २०१० मा ७४ अर्ब डलरबराबरको अर्डर पाएको तथा सोही वर्ष हालसम्मकै धेरै ५ सय १० ओटा विमान आपूर्ति गरेको पनि एयरबसले बताएको छ । २०११ मा पनि गतवर्षभन्दा बढी विमान आपूर्ति गर्ने एयरबसको अपेक्षा छ । २००९ मा भने एयरबसले २ सय ७१ ओटा मात्रै नयाँ अर्डर पाएको थियो । सो वर्षविश्व अर्थतन्त्रमा सुस्ती आएपछि विमानसेवाहरूले पहिले दिएका अर्डर रद्द गरेका थिए । बोइङले भने २०१० मा ५ सय ३० ओटा नयाँ अर्डर पाएको तथा ४ सय ६२ ओटा विमान आपूर्ति गरेको यसै महीना बताएको थियो । एपी/रासस
फेसबूकमाथिको फिल्मलाई पुरस्कार
माघ ३, वेभर्ली हिल्स (क्यालिफोर्निया) । सामाजिक सञ्जाल फेसबूकका बारेमा बनेको फिल्म 'द सोसल नेटवर्क’ले आइतवार सर्वोत्कृष्ट नाटकसहित चारओटा विधामा 'गोल्डेन ग्लोब' पुरस्कार जितेको छ । हालैका हप्ताहरूमा फिल्म समालोचक तथा फिल्म उद्योग समूहबाट थुप्रै सकारात्मक समीक्षा पाइसकेको उक्त फिल्म अब 'ओस्कार’का लागि समेत प्रमुख दाबेदार भएको छ । 'सोसल नेटवर्क’ले जितेको अन्य विधामा डेभिड फिञ्चर उत्कृष्ट निर्देशक तथा आरोन सोर्किन सोही फिल्ममा उत्कृष्ट पटकथा लेखक घोषित भएका छन् । त्यसैगरी ट्रेण्ट रेज्नर तथा अटिकस रोसले उत्कृष्ट सङ्गीतको पुरस्कार हात पारेका छन् । फेसबूकका संस्थापक मार्क जुकरबर्गले कसरी उक्त सञ्जाल स्थापना गरे भन्ने कथा उक्त फिल्ममा देखाइएको छ । तर, जुकरबर्गको सहभागिता नरहेको उक्त चलचित्र मूलतः काल्पनिक कथा नै हो । रोयटर्स
अष्ट्रेलियाको बाढीका कारण कोइलाको मूल्यवृद्धि
माघ ३, क्यानबेरा (अष्ट्रेलिया) । अष्ट्रेलियाको पूर्वी समुद्रीक्षेत्रमा हालै आएको बाढी हालसम्मकै ठूलो प्राकृतिक विपती भएको अर्थमन्त्री वेन स्वानले सोमवार बताएका छन् । पुनर्निर्माण तथा सरसफाइमा लाग्ने खर्च ठूलो हुने भएकाले अन्य खर्चमा कटौती गर्नुपर्ने अवस्था आउन सक्छ । सबैभन्दा क्षत्रि्रस्त राज्य क्विन्सल्याण्डको अनुमानित पुनर्निर्माण खर्च मात्र पनि ९ अर्ब ८० करोड अमेरिकी डलर पुग्नेछ । त्यसैगरी भिक्टोरिया राज्यमा पनि बाढीको क्षति बढिरहेको अष्ट्रेलियाका समाचारपत्रले सोमवार बताएका छन् । त्यसैगरी स्टील निर्माणमा प्रयोग गरिने कोइलाको मूल्य ५ सय डलर प्रतिटनसम्म पुग्न सक्ने विश्लेषकहरूले बताएका छन् । बाढीका कारण कोइलाको ९० प्रतिशत निर्यातमा असर पुग्ने भएकाले कोइलाको मूल्य बढ्ने भएको हो । बाढीले खानीहरू पर्नुका साथै खानीबाट कोइला ओसार्ने रेलमार्ग पनि बगाएको ऊर्जा विशेषज्ञहरूले बताएका छन् । संसारभरि आपूर्ति हुने पत्थर कोइलाको दुइ तिहाइ हिस्सा अष्ट्रेलियाले निर्यात गर्छ । एएफपी/रासस
मुद्रा प्रणालीबारे हु जिन्ताओको गुनासो
माघ ३, वासिङटन (अमेरिका) । चीनका राष्ट्रपति हु जिन्ताओले वर्तमान अन्तरराष्ट्रिय मुद्रा प्रणालीलाई 'अतीतको उत्पादन' भएको आइतवार बताएका छन् । तर, चिनियाँ मुद्रा युआनलाई अन्तरराष्ट्रिय मुद्राका रूपमा स्वीकार गरिन अझै केही समय लाग्ने पनि हुको विचार छ । आउँदो बुधवार हु अमेरिकाको राजकीय भ्रमणमा यहाँ आइपुग्ने छन् । हुको धारणाबाट २००८ को अमेरिकी आर्थिक सङ्कटपछि प्रमुख सञ्चिति मुद्राका रूपमा डलरको भूमिकाबारे जारी तनाव प्रतिविम्बित भएको छ । 'वर्तमान अन्तरराष्ट्रिय मुद्रा प्रणाली अतीतको उत्पादन हो,’ द वाल स्ट्रीट तथा वासिङटन पोष्टले सोधेका प्रश्नको लिखित जवाफ दिँदै हुले बताए । अन्तरराष्ट्रिय व्यापारमा डलरको भूमिकामा प्रकाश पार्दै हुले अमेरिकी केन्द्रीय बैङ्क फेडरल रिजर्भले हालै लिएको निर्णयको उनले घुमाउरो शैलीमा आलोचना गरे । फेडरलले अमेरिकी अर्थतन्त्रमा ६ खर्ब डलर प्रवाह गर्ने निर्णय गरेको थियो । बैङ्कको त्यस्तो निर्णयले डलरलाई कमजोर बनाएर अन्य देशका निर्यातलाई जोखिममा पारेको भन्ने आलोचना हुँदै आएको छ ।'अमेरिकाको मौद्रिक नीतिले विश्वकै मौद्रिक तरलता तथा पूँजी प्रवाहमा ठूलो असर पार्दछ । त्यसैले अमेरिकी डलरको तरलतालाई न्यायोचित तथा स्थिर तहमा राख्नुपर्दछ,’ हुले बताए । त्यसैगरी चीनले निर्यात प्रवर्द्धन गर्न आफ्नो मुद्रा युआनलाई कृत्रिम रूपले उच्चमूल्यमा राखेको भन्ने अमेरिकी गुनासोबारे पनि हु र ओबामाबीच छलफल हुने अपेक्षा गरिएको छ । एएफपी/रासस
सङ्कट कोष विवादमा यूरोप विभाजित
माघ ३, ब्रसेल्स (बेल्जियम) । समस्याग्रस्त यूरोक्षेत्रका लागि स्थापना गरिएको ऋण उद्धार कोषमा रकम बढाउने विषयमा सोमवार विवाद चर्किएको छ । यूरोक्षेत्रका अर्थमन्त्रीहरूको बैठकअघि जर्मनी र ब्रसेल्सबीच विवाद चर्किएको हो । यूरोपेली आयोगका अध्यक्ष होसे मान्युएल बारोसोले यूरोपेली नेताहरूलाई कोषमा थप रकम जम्मा गर्ने निर्णय दुइ हप्ताभित्रै गर्न दबाब दिएका छन् । तर, यूरोक्षेत्रको प्रभावशाली सदस्य जर्मनीले भने हतार गर्न नहुने तर्क राखेको छ । जर्मनीका अर्थमन्त्री वोल्फग्याङ श्याब्लले यूरोपियन फाइनान्सियल स्टेबिलिटी फ्यासिलिटी भनिने उक्त कोषमा रकम बढाउनेबारे बैठकको छोटो समयमा बहस गर्नु उपयुक्त नहुने धारणा राखेका छन् । उता बारोसोले भने यूरोपियन आयोगको भूमिकालाई जर्मन राजनीतिकर्मीहरूले सम्मान गर्नुपर्ने भनेका छन् । यूरोपका जनतालाई सही कुरा भन्नु आयोगका सदस्यको नाताले आफूहरूको अधिकार मात्र नभई कर्तव्यसमेत रहेको बारोसोको धारणा छ ।हालको ऋण उद्धार कोषलाई दुइ गुणा बढाएर १५ खर्ब यूरो (२० खर्ब डलर) मा पुर्याउनुपर्ने विषयमा विवाद रहेको छ । त्यसैगरी संघर्षरत यूरोक्षेत्रका देशहरूको ऋण खरीद गरेर उनीहरूको ऋण लिँदा हुने खर्च घटाउने विषयमा पनि विवाद छ । हाल ७ अर्ब ५० करोड यूरो रहेको उक्त कोषको दशांश मात्र आयरल्याण्डको ऋण उद्धारमा खर्च भएकाले त्यति रकम नै पर्याप्त भएको जर्मनीले जिकीर गर्दै आएको छ । एएफपी/रासस
एशियाली बैङ्किङ क्षेत्रमा प्रतिभाको खोजी
माघ ३, हङकङ (चीन) । द्रुतगतिमा वृद्धि भइरहेको एशियाली इन्भेष्टमेण्ट बैङ्किङ उद्योगमा नयाँ आर्थिक संस्थाहरूले पकड जमाउँदै गएका छन् । त्यसका साथै यस्तो बैङ्किङ क्षेत्रमा प्रतिभाली व्यक्तिहरूको खोजी पनि बढेको छ । एशियास्थित कार्यकारी, भर्नाकर्ता तथा विश्लेषकका अनुसार प्रतिभाशाली व्यक्तिलाई आफ्नो संस्थामा तान्ने प्रवृत्ति तीव्ररूपले बढेको छ । गएको शरदयामदेखि अर्थतन्त्रसँगै बैङ्किङ क्षेत्रमा पनि सुधार भइरहेको छ । एशियाली अर्थतन्त्रमा व्यापक आर्थिक वृद्धिको सम्भावनाले पनि प्रतिभाशाली व्यक्तिको लागि इन्भेष्टमेण्ट बैङ्किङ क्षेत्रमा अवसर बढेको छ । नयाँ वित्तीय संस्थाहरूले हङकङ र सिङ्गापुरजस्ता ठाउँका स्थापित बैङ्कका कर्मचारीहरूलाई पदोन्नति तथा धेरै तलबको लोभ देखाएर आकर्षित गरिरहेका छन् । गतवर्ष देखिएको त्यस्तो प्रवृत्ति यस वर्ष झनै बढेको बैङ्किङ उद्योगसँग सम्बन्धित व्यक्तिहरूको अनुभव छ । स्टयार्ण्र्डड चार्टर्ड तथा बारक्लेजजस्ता बैङ्क तथा जेफरिज, बीटीआईजी तथा एफ एफ ग्लोबलजस्ता ब्रोकरेज संस्थाहरू एशियाभरि विस्तारित भइरहेका छन् । त्यसबाट वाल स्ट्रीट तथा ठूला यूरोपेली कम्पनीसमेत अप्ठेरोमा परेका छन् । रोयटर्स