आईबीएमको नाफा बढ्दा शेयर मूल्यमा वृद्धि
साउन ३, बोष्टन (अमेरिका) । कम्प्युटर निर्माता कम्पनी 'आईबीएम’को दोस्रो चौमासिकको नाफामा वृद्धि भएको छ । कम्पनीले आफ्ना 'सर्भिस डिभिजन’हरूमा गरेको लगानी र नयाँ कार्यक्रमका कारण सन् २०११ को दोस्रो चौमासिकमा १६ प्रतिशतले नाफा बढेको बताइएको छ ।सोमवार प्रकाशित चौमासिक प्रतिवेदनमा आईबीएमले आफ्ना सेवा क्षेत्रहरूबाट १४ दशमलव ३ अर्ब अमेरिकी डलर आर्जन गरेको बताएको थियो । विश्लेषकहरूले चाहिँ यसभन्दा अघि कम्पनीको नाफा १२ देखि १३ अर्ब डलरको बीचमा रहने अनुमान गरेका थिए । कम्पनीका अनुसार यसबाट दोस्रो चौमासिकसम्म कम्पनीको कुल नाफा बढेर १ सय ४४ अर्ब डलर पुगेको छ । सर्भिस डिभिजनहरूबाट आर्जित १५ अर्ब डलरमध्ये ८ अर्ब डलर विश्वका उदीयमान अर्थतन्त्रहरूबाट आएको बताइएको छ ।
नाफामा वृद्धि भएको खबरसँगै कम्पनीको शेयर मूल्य २ प्रतिशतले बढेको छ । सोमवार न्यूयोर्क स्टक एक्सचेञ्जमा 'आईबीएम’को शेयर मूल्यमा ३ दशमलव शून्य ९ डलरले वृद्धि भई १ सय ७५ दशमलव २८ डलर पुगेको थियो । शेयरबजारका विश्लेषकहरूले कम्पनीले आफ्नो नाफा कायमै राख्न सकेमा यस वर्षशेयर मूल्यमा २० प्रतिशतसम्मले वृद्धि हुने बताएका छन् ।आईबीएम युनिक्स सभर कम्प्युटर अघिल्लो वर्षको तुलनामा १२ प्रतिशतले बढेको बताइएको छ । युनिक्स सभर कम्प्युटरको विक्रीबाट मात्रै कम्पनीले ३० करोड डलर कमाएको बताइएको छ । 'आईबीएम’ले हासिल गरेको आर्थिक सफलताबाट उत्साहित विश्लेषकहरूले सन् २०११ मा प्रविधिक्षेत्रले राम्रो नाफा आर्जन गर्नसक्ने बताएका छन् । दोस्रो चौमासिकमा सूचनाप्रविधि बजारमा सुस्ती छाउने पूर्वानुमानहरूलाई गलत सार्वित गर्दै आईबीएमले चीन, ब्राजिललगायतका उदीयमान देशहरूमा आफूलाई तीव्र विक्रेता कायम गरेको थियो ।प्रविधि बजारमा देखिएको यस्तो वृद्धिलाई एप्पल इङ्क, इण्टेल कर्प र माइक्रोसफ्ट कर्पोरेशनलगायतका ठूला सूचनाप्रविधि कम्पनीहरूले केही दिनभित्र प्रकाशित गर्ने चौमासिक रिपोटले अझ दरिलो बनाउने विश्वास गरिएको छ । एजेन्सी
फ्रान्सेली अधिकारीहरूद्वारा स्ट्राउस काहनकी छोरीसँग सोधपुछ
साउन ३, पेरिस (फ्रान्स) । यौन दुराचारको अभियोगमा अमेरिकामा मुद्दा खेपिरहेका आईएमएफ पूर्वप्रमुख डोमिनिक स्ट्राउस काहनकी छोरीसँग फ्रान्सेली अधिकारीहरूले सोधपुछ गरेका छन् । पेरिस प्रहरीमा केही समयअघि एक फ्रान्सेली लेखिकाले आफूलाई काहनले बलात्कार गर्न खोजेको आरोप लगाएर बयान दिएपछि अधिकारीहरूले काहनकी छोरीसँग सोधपुछ गरेका हुन् ।
काहनलाई बलात्कार प्रयास गरेको आरोप लगाउने लेखिका टि्रष्टेन बानोन र काहनकी छोरी क्यामिली स्ट्राउस काहन साथी भएकाले सोधपुछ गरेको अधिकारीहरूले बताएका छन् । मङ्गलवार नाम नखुलाउने शर्तमा एक अधिकारीले क्यामिली स्ट्राउस काहनसँग गत सोमवार सोधपुछ गरेको बताएका थिए । यसबारे क्यामिलीको भने कुनै प्रतिक्रिया आएको छैन । न्यूयोर्कमा मुद्दा खेपिरहेका काहनले भने यी दुवै घटनामा आफूले कुनै गल्ती नगरेको जिकिर गरेका छन् । यसैबीच घटनाक्रममा भएको अर्को विकासमा लेखिका बानोनकी आमा एनी मान्सौरेटले डोमिनिक स्ट्राउस काहनले सन् २००० मा आफूलाई बलात्कार गरेको आरोप लगाएकी छन् । 'द टेलिग्राफ' पत्रिकासँग कुरा गर्दै ६५ वर्षीया मासौरेटले आफू 'द डेली मेल' पत्रिकाको संवाददाता हुँदाको समयमा कहानले 'अत्यन्त क्रूरतापूर्वक' बलात्कार गरेको बताएकी छन् । एपी/रासस
अमेरिकाद्वारा भारतलाई आणविक व्यापारको दबाब
साउन ३ । अमेरिकी विदेशमन्त्री हिलारी क्लिण्टनले अमेरिकी आणविक ऊर्जा कम्पनीहरूलाई भारतीय बजारमा सहज पहुँच दिन आग्रह गरेकी छन् । भारतको आणविक ऊर्जा बजारमा पहुँचका लागि फ्रान्सेली र रूसी कम्पनीसँगै अमेरिकी कम्पनीहरूले पनि प्रतिस्पर्धा गरिरहेका छन् । अमेरिकाका पूर्वराष्ट्रपति जर्ज डब्ल्यू बुशले सन् २००८ मै भारतसँग एउटा महत्त्वपूर्ण ऊर्जा सम्झौता गरेका थिए ।भारतले १९७४ मा पहिलो आणविक परीक्षण गरेपछि नयाँ दिल्लीलाई आणविक प्रविधि विक्री गर्न अमेरिकाले प्रतिबन्ध लगाएको थियो । सोही प्रतिबन्धलाई बुशले ऊर्जा सम्झौतामार्फत हटाएका थिए । त्यसपछि भारतसँग आणविक ऊर्जाको व्यापार गर्न अमेरिकी कम्पनीहरूका लागि बाटो खुला भएको हो ।
तर, वाशिङटनको कूटनीतिक प्रयास रहँदारहँदै पनि वेष्टिङहाउस र जीइ-हिटाचीजस्ता निजीक्षेत्रका अमेरिकी कम्पनीहरूले नयाँ ठेक्का अझै पाउन सकेका छैनन् । भारतको आणविक ऊर्जा क्षेत्रमा पहिलेदेखि नै पहुँच राख्ने फ्रान्सेली र रूसी सरकार र तिनका राज्यनियन्त्रित आणविक कम्पनीहरूले भारतमा आफ्नो दबदबा कायमै राखेका छन् ।आणविक भट्टीमा ८० वर्षसम्म कुनै दुर्घटना भएमा त्यसको जिम्मेवारी आपूर्तिकर्ताले लिनुपर्ने भन्ने भारतको नयाँ आणविक प्रावधानले आफूहरूलाई अप्ठयारो पारेको भन्ने अमेरिकी आणविक कम्पनीहरूको भनाइ छ । त्यस्तो प्रावधानलाई राजनियन्त्रित कम्पनीहरूले सजिलै स्वीकार गरे पनि निजी कम्पनीहरू बीमा र क्षतिपूर्तिको भार बोक्न चाहँदैनन् । भारतले हाल कुल ऊर्जा आपूर्तिमध्ये ३ प्रतिशतमात्र आणविक ऊर्जाबाट प्राप्त गरिरहेको छ । उसले २०५० सम्ममा २५ प्रतिशत पुर्याउने लक्ष्य लिएको छ । एफपी/रासस
चामलको उत्पादन बढाउन आनुवंशिक सुधार
साउन ३ । वैज्ञानिकहरूले धानको आनुवंशिक अर्थात् जीनमै सुधार गरेर विश्वव्यापी रूपमै नाटकीय रूपले उत्पादन बढाउने प्रयास गरेका छन् । त्यसबाट चामल चूनजस्तै टुक्रिने अवस्थामा सुधार भएर उत्पादनमा व्यापक वृद्धि हुने अन्तरराष्ट्रिय धानचामल अनुसन्धान संस्थाले बताएको छ । प्राय: धान कुट्दा चामलको चूनजस्तो भाग टुक्रिएर झण्डै एक चौथाई हिस्सा खेर जाने गर्छ । तर, १५ वर्षसम्मको अनुसन्धानपछि चामललाई त्यसरी टुक्रिएर खेर जानबाट कसरी रोक्न सकिन्छ भन्ने पत्ता लगाएको संस्थाको दाबी छ ।
खासगरी एशियाली क्षेत्रमा प्रमुख खाद्यान्न रहेको चामलको माग बढ्दै गइरहेको छ । २००८ को वित्तीय सङ्कटका बेला चामलको भाउमा तीन गुणाले वृद्धि भएपछि झण्डै १० करोड मानिस गरीबीतर्फ धकेलिएका थिए । उच्च माग र खराब मौसमले गहुँ, मकै, चिनीलगायत अन्य कृषि उब्जनीको भाउ बढिरहेकाले विश्वव्यापी खाद्यसङ्कट फेरि दोहोरिन सक्नेतर्फ पनि संस्थाले औंल्याएको छ । एएफपी/रासस