अमेरिकाका राष्ट्रपति र सभामुखबीच गोल्फ प्रतियोगिता
असार ४, वाशिङटन (अमेरिका) । शनिवारदेखि अमेरिकाका दुई सबैभन्दा शक्तिशाली व्यक्तिबीच गोल्फ खेल शुरू भएको छ । राष्ट्रपति बाराक ओबामा र सभामुख जोन बोएनरबीच एउटा सैनिक अखाडामा सो प्रतियोगिता शुरू गरिएको हो । व्यापक सुरक्षाबीच रहेको प्रतियोगितास्थल शनिवारको टी टाइमसम्म पनि गोप्य नै राखिएको थियो ।तर, दुई जनामध्ये कसले जित्छ भन्ने कुरा त्यति महत्त्वपूर्ण भने थिएन । वास्तवमा १८ होलको उक्त खेल ओबामा र बोएनरबीचको मतान्तर कम गर्ने उद्देश्यले आयोजना गरिएको थियो । अमेरिकाका यी दुई सर्वाधिक शक्तिशाली व्यक्तिबीच ऋण समस्यादेखि लिबियामा अमेरिकाको संलग्नतासम्मको विषयमा व्यापक मतभेद रहेको छ ।
तर, दुवैका सहयोगीले बताएअनुसार, गोल्फ खेलले दुईबीचको सम्बन्धमा केही सुधार ल्याए तापनि त्यसले धेरै निकटता भने ल्याउने छैन । केही घण्टासँगै खेलेर बिताउँदा यी दुई भिन्नाभिन्नै पार्टीबाट आएका नेताबीच आपसी सहयोगको सम्भावना भने बढ्न सक्ने ह्वाइट हाउसका प्रवक्ता जे कार्निले बताए ।'दुईमध्ये कुनै एकले भारीअन्तरले नजितेसम्म खेल प्रतियोगिताले नोक्सान भने निश्चित रूपमा गर्नेछैन,’ कार्नीले ठट्टा गर्दै भने । बोएनर वासिङ्टनका उत्कृष्ट गोल्फ खेलाडीमा गनिन्छन् । तर, ओबामा भने गोल्फमा त्यति कुशल छैनन् । ह्वाइट हाउस र अमेरिकी सदन काङ्ग्रेसबीच दीर्घकालीन बजेट घाटाको विषयमा रहेको मतभिन्नता हटाउनेतर्फउक्त गोल्फ खेलले मद्दत गर्ने अपेक्षा गरिएको छ । 'बोएनर म भन्दा धेरै राम्रा गोल्फ खेलाडी हुन् । त्यसैले उनले मलाई पनि केही स्ट्रोक हान्न दिनेछन् भन्ने आशा गरेको छु, हालसालैको एक टेलिभिजन अन्तरवार्तामा ओबामाले ठट्टा गर्दै भनेका थिए । एपी/रासस
ग्रीसको ऋणोद्धारका लागि निजीक्षेत्रको सहभागितामा जोड
असार ४, बर्लिन (जर्मनी) । ग्रीसको ऋण उद्धारबारे छलफल गरिरहेका सबै सम्बद्ध पक्षहरू निजी ऋणदातालाई पनि संलग्न गराइनुपर्नेमा सहमत भएका छन् । तर, कसरी निजीक्षेत्रलाई समावेश गराउने भन्नेबारे अझै छलफल हुन बाँकी रहेको जर्मनीका अर्थमन्त्री वोल्फग्याङ स्केउबलले बताएका छन् । जर्मनीको आर्थिक दैनिक ब्रोएसन जेइटुङको शनिवारको अङ्कमा अन्तरवार्ता दिँदै स्केउबलले त्यस्तो जानकारी दिएका हुन् । अन्तरवार्ताको क्रममा ग्रीसको ऋणोद्धार कार्यक्रम सरकारहरूको जिम्मामा मात्र छाड्न नमिल्नेमा स्केउबलले जोड दिएका छन् ।
त्यसका लागि निजी ऋणदाताले स्वेच्छिक रूपमै सहभागी हुनुपर्ने स्केउबलको सुझाव छ । ग्रीक बण्डका निजी होल्डरहरूलाई नयाँ उद्धार कार्यक्रममा कसरी संलग्न गराउने भन्नेबारे जर्मनी र फ्रान्सबीच लामो समयदेखि विवाद रहँदै आएको छ । तर, शुक्रवार भने आफूहरूबीच एउटा मध्यमखालको समाधानमा सहमति भएको ती दुवै देशले बताएका छन् । बैङ्कहरूबीच २००९ मा भएको सहमतिमा आधारित हालको सहमतिले ग्रीक मुद्दाको राम्रो आधार तयार गरेको जर्मनीकी चान्सलर एञ्जेला मर्केलले बताइन् । एजेन्सी
आईएमएफ प्रमुखमा भारतको निर्णयउपयुक्त समयमा: मुखर्जी
असार ४, नयाँ दिल्ली (भारत) । आईएमएफ प्रमुखमा भारतले कुन उम्मेदवारलाई समर्थन गर्नेछ भन्नेबारे उपयुक्त समयमा निर्णयगरिने भारतका अर्थमन्त्री प्रणव मुखर्जीले बताएका छन् । त्यसबारे विभिन्न देशका अर्थमन्त्रीसँग आफूले छलफल गरिरहेको मुखर्जीको भनाइ छ ।इजरायलका स्टान्ली फिशर उमेरका कारण आईएमएफ प्रमुखको दौडबाट बाहिरिएपछि फ्रान्सकी क्रिष्टिन लागार्द र मेक्सिकोका अगष्टिन कासर्टेन्स अन्तिम प्रतिस्पर्धीका रूपमा देखा परेका छन् । लागार्दलाई यूरोपियन युनियनले औपचारिक समर्थन गरिसकेको छ भने चीनको पनि समर्थन रहेको फ्रान्सका अधिकारीहरूले दाबी गरेका छन् । एजेन्सी
यूएस ओपनमा म्याकइल्रोयद्वारा अभूतपूर्व कीर्तिमान
असार ४, बेथेस्दा (अमेरिका) । कङ्ग्रेशनलमा भइरहेको यूएस ओपनको तेस्रो राउण्डमा ६शटले अग्रता कायम गरुन्जेलसम्ममा रोरी म्याकइल्रोयले थुप्रै कीर्तिमान भङ्ग गरिसकेका छन् । उत्तरी आयरल्याण्डका २२ वर्षीय म्याकइल्रोयले यूएस ओपनकै इतिहासमा प्रतियोगिताको मध्यसम्ममा सबैभन्दा ठूलो अन्तरले अग्रता कायम गर्ने खेलाडी हुन पुगेका छन् । त्यसका साथै यूएस ओपनमा १३ अण्डर हासिल गर्ने उनी पहिला खेलाडी हुन पुगेका छन् । उनका सबैभन्दा नजिकका प्रतिद्वन्द्वी वाईई याङ पनि उनीभन्दा ६ स्ट्रोकले पछाडि छन् ।यूएस ओपनको इतिहासमा टाइगर उड्सले मात्र २००० मा ६ शटको अग्रता लिएका थिए । टाइगर उड्सलगायतका खेलाडीले म्याकइल्रोयलाई भविष्यको नम्बर १ खेलाडी हुने पूर्वानुमान गरेका छन् । एपी/रासस
पिताको भूमिका एक कठिन कार्य : ओबामा
असार ४, वाशिङटन (अमेरिका) । अमेरिकी राष्ट्रपति बाराक ओबामाले पिताको भूमिका निर्वाह गर्नु आफ्ना लागि कहिलेकाहीँ सबैभन्दा कठिन काम हुने गरेको बताएका छन् । तर, त्यसका साथै पिताको भूमिका निर्वाह गर्दा आफूलाई निकै आनन्द आउने पनि ओबामाले बताए । फादस डे अर्थात् बुबाको मुख हेर्ने एक दिनअघि ओबामाले रेडियो र इण्टरनेटबाट सम्बोधन गर्दै त्यस्तो विचार राखेका हुन् । सम्बोधनमा ओबामाले आफूले पिता विना नै हुर्किनुपरेको स्मरण गर्दै आफ्ना दुई छोरीहरू मालिया र साशालाई असल शिक्षा दिने प्रण गरेका छन् । १२ वर्षीया मालिया र १० वर्षीय साशा गरी ओबामा दुई छोरीका पिता हुन् ।साथै, प्रत्येक पिताले निर्वाह गर्नुपर्ने जिम्मेवारीका बारेमा पनि ओबामाले आफ्नो सम्बोधनमा वर्णनगरेका छन् । त्यसै क्रममा आफ्नो प्रशासनले कठिन आर्थिक समय र लामो समयसम्म विदेशमा काम गरिरहेका अमेरिकी सैनिकहरूको अवस्थामा सुधार ल्याउन खोजिरहेको बताए । रिपब्लिकनहरूले भने आफ्नो साप्ताहिक सम्बोधनमा दक्षिण कोरिया, पनामा र कोलम्बियासँगको व्यापारलाई विस्तार गर्न आग्रह गरेका छन् । एपी/रासस
साई बाबाको निवासमा ११ करोडभन्दा बढी नगद फेला
असार ४, नयाँ दिल्ली (भारत) । साई बाबाको व्यक्तिगत निवासबाट ठूलो मात्रामा सुन, चाँदीलगायत करोडौं रुपैयाँ नगद फेलापरेको छ । श्री सत्यसाई सेण्ट्रल ट्रष्टका अनुसार, उसले ९८ किलोग्राम सुन र गहना, ३ सय ७ किलो चाँदीका वस्तुका साथै ११ करोड ५ लाख ६० हजार भारू भेटिएको छ । ती सबै मूल्यवान वस्तु र पैसा साई बाबाको व्यक्तिगत निवास यजुर मन्दिरमा भेटिएको हो ।साई बाबाका भतिजा र ट्रष्टका सदस्य आरजे रत्नाकरका अनुसार, यजुर मन्दिरभित्र रहेको मूल्यवान वस्तुको लगत तयार गर्ने उद्देश्यले खोलिँदा ती वस्तुलगायत परिमाण भेटिएका हुन् । लगत प्रक्रियालाई पारदर्शी बनाउन आयकर विभागद्वारा स्वीकृत मूल्याङ्कनकर्ता पनि उपस्थित गराइएको थियो । एजेन्सी
Admin 2011-06-19