ओर्याकलको आम्दानी बढयो, फेसबुकको दोब्बर हुने पूर्वानुमान
असोज ४, सान फ्रान्सिस्को (अमेरिका) । अमेरिकी डाटाबेस तथा इण्टरप्राइज सफ्टवेयर निर्माता ओर्याकल कर्पोरेशनको सन् २०११ को दोस्रो त्रैमासिक आम्दानी ३६ प्रतिशतले वृद्धि भएको छ । कम्पनीले मङ्गलवार जारी गरेको विज्ञप्तिमा अगष्ट ३१ सम्म कम्पनीको नाफा १ अर्ब ८४ करोड डलरले वृद्धि भएको उल्लेख छ । गतवर्षको यही अवधिमा ओर्याकलको आम्दानी १ अर्ब ३५ करोड डलर रहेको थियो ।
त्यसैगरी, कम्पनीको दोस्रो त्रैमासमा कुल आम्दानी १२ प्रतिशतले वृद्धि भएर ८ अर्ब ३७ करोड डलर पुगेको जानकारी दिएको छ । यसअघि विश्लेषकहरूले दोस्रो त्रैमासमा कम्पनीले ८ अर्ब ३६ करोड डलर आम्दानी गर्ने पूर्वानुमान गरेका थिए । विज्ञप्तिमा नयाँ सफ्टवेयरका लाइसेन्स विक्रीबाट हुने आम्दानी यो अवधिमा १२ प्रतिशतले बढेर १ अर्ब ५० करोड डलर पुगेको उल्लेख छ । यसबाट उत्साहित हुँदै ओर्याकलले सन् २०११ को तेस्रो त्रैमासमा आम्दानी ४ देखि ८ प्रतिशतले बढेर ९ अर्ब डलरदेखि ९ अर्ब ३६ करोड डलरसम्म पुग्ने पनि अनुमान गरेको छ । तर, विज्ञप्तिमा कम्पनीले उत्पादन गर्ने सभरको विक्रीमा भने केही कमी आएको उल्लेख छ । दोस्रो त्रैमासमा सभरको आम्दानी १ प्रतिशतले घटेर १ दशमलव ६७ अर्ब डलर भएको बताइएको छ । गतवर्षसन माइक्रोसिष्टम्सको खरीद गरेपछि ओर्याकलले सभरको कारोबार गर्दै आएको छ ।
त्यसैगरी, विश्वको सर्वाधिक लोकप्रिय सामाजिक सञ्जाल साइट फेसबुकको आम्दानी सन् २०११ मा दोब्बरले बढेर ४ अर्ब २७ करोड डलर पुग्ने पूर्वानुमान गरिएको छ । सूचनाप्रविधि बजार अध्ययन गर्ने संस्था 'ई-मार्केटर'ले गरेको अनुमानअनुसार सन् २०११ मा फेसबुकले विज्ञापनबाटै ३ अर्ब ८ करोड डलर कमाउनेछ । यो गतवर्षभन्दा १ सय ४ प्रतिशतले बढी हुने पनि 'ई-मार्केटर'ले बताएको छ । सन् २०१० मा फेसबुकले विज्ञापनबाट १ दशमलव ८६ अर्ब डलर आम्दानी गरेको थियो । त्यसैगरी फेसबुक साइटमा प्रयोग हुने भर्चुअल क्रेडिट र मुद्राबाट ४७ करोड डलर उठ्ने पनि 'ई-मार्केटर'को विज्ञप्तिमा उल्लेख छ । त्यस्तै, सन् २०१२ मा फेसबुकको आम्दानी ५ अर्ब ७८ करोड डलर पुग्ने पनि विज्ञप्तिमा उल्लेख छ । एजेन्सी
बैङ्क अफ इङल्याण्डद्वारा थप रकम प्रवाहको सम्भावना
असोज ४, लण्डन (बेलायत) । बैङ्क अफ इङल्याण्डले अर्थतन्त्रमा अर्बौं डलर रकम प्रवाह प्रवाह गर्ने सम्भावना देखिएको छ । त्यसैगरी, मौद्रिक नीति समितिको सेप्टेम्बरको बैठकका बेला हालको कीर्तिमानी न्यून ब्याजदरलाई समेत यथावत् नै राख्ने पक्षमा मतदान भएको छ । आउँदा महीनाहरूमा थप मौद्रिक उत्प्रेरणा आउन सक्ने बजारको अपेक्षाका कारण स्र्टर्लिङ पाउण्ड बुधवार ८ महीनाकै न्यून अर्थात् प्रतिस्र्टर्लिङ पाउण्ड बराबर १ दशमलव ५६११ डलरमा ओर्लेको थियो । यद्यपि त्यसमा पछि केही सुधार भएर १ दशमलव ५६६५ डलर पुगेको छ । बैङ्कहरूबाट ३ खर्ब २० अर्ब डलरको वित्तीय सम्पत्ति खरीद गरेपछि परिमाणात्मक खुकुलोपना भनिने उक्त कार्यक्रम २००९ को डिसेम्बरमा स्थगित गरिएको थियो ।
बैङ्कले उसको तेस्रो त्रैमासको आर्थिक वृद्धि र त्रैमासिक आर्थिक प्रक्षेपणसम्म त्यस्तो कार्यक्रम हाललाई नल्याउने धेरैजसो विश्लेषकहरूको अनुमान छ । अर्थात् नोभेम्बरसम्म थप उत्प्रेरणा नआउने देखिन्छ । बेलायतको प्रमुख आर्थिक समस्या भनेको निजीक्षेत्रमा 'रचनात्मक जोखिम’का लागि लगानीको अभाव रहेको बैङ्कका अधिकारी एडम पोजेनको तर्क छ । घर परिवारहरू ऋण तिर्न, बैङ्कहरू सञ्चिति जम्मा गर्न र गैरवित्तीय कम्पनीहरू रकम थुपार्न केन्द्रित भएकाले त्यस्तो अवस्था आएको पोजेनको भनाइ छ । अमेरिकी केन्द्रीय बैङ्क फेडरल रिजर्भले पनि अमेरिकी आर्थिक वृद्धिलाई उकास्न थप कदम चाल्ने अपेक्षा गरिएकै बेला बैङ्क अफ इङल्याण्डले पनि थप कदम कदम चाल्ने चर्चा बढेको छ । अन्तरराष्ट्रिय मुद्रा कोषले बेलायती अर्थतन्त्रको वृद्धिदर प्रक्षेपणलाई अप्रिलको १ दशमलव ७ प्रतिशतबाट घटाएर १ दशमलव १ मा झारेको भोलिपल्टै बैङ्कले अर्थतन्त्रमा थप रकम प्रवाह गर्ने सङ्केत गरेको छ । एपी/राससर्विश्व अर्थतन्त्र जोखिमपूर्ण नयाँ चरणमा : आईएमएफ असोज ४, वाशिङटन (अमेरिका) । ऋणसङ्कटले अमेरिका र यूरोजोनको आर्थिक वृद्धिदर लगातार घटिरहँदा अन्तरराष्ट्रिय मुद्रा कोष (आईएमएफ)ले विश्व अर्थतन्त्र जोखिमपूर्ण नयाँ चरणमा प्रवेश गरेको बताएको छ । आईएमएफका प्रमुख अर्थशास्त्री ओलिभर ब्लान्कार्डले मङ्गलवार जारी गरेको एक विज्ञप्तिमा विश्व अर्थतन्त्र जोखिमपूर्ण चरणमा प्रवेश भएकाले आर्थिक सुधार र पुनरुत्थान धेरै कमजोर भएको उल्लेख छ । विज्ञप्तिमा ब्लान्कार्डले आर्थिक वृद्धि हासिल गर्न र जोखिम न्यूनीकरण गर्न ठोस नीतिको आवश्यकता रहेको औंल्याएका छन् ।
ब्लान्कार्डको विज्ञप्तिमा विश्वभरका शेयरबजारमा सार्वजनिक ऋण अत्यधिक भएको तथा ती देशको क्षमताप्रति शङ्का बढ्दै गएकाले अनिश्चितता अझ बढेको बताइएको छ । विज्ञप्तिमा आईएमएफले यसअघि अमेरिका र यूरोजोनका १७ राष्ट्रको आर्थिक वृद्धिको पूर्वानुमान पुनरावलोकन गरेको पनि जानकारी दिइएको छ । सन् २०११ मा यूरोजोनको समग्र वृद्धिदर १ दशमलव ६ प्रतिशत मात्रै रहने पूर्वानुमान गरिएको विज्ञप्तिमा उल्लेख छ । त्यसैगरी सन् २०१२ मा वृद्धिदर अझ घट्दै १ दशमालव १ प्रतिशतमा झर्ने ब्लान्कार्डको विज्ञप्तिमा बताइएको छ । यसअघि जुनमा आईएमएफले सन् २०११ र २०१२ मा यूरोजोनको आर्थिक वृद्धि क्रमश: २ प्रतिशत र १ दशमलव ७ प्रतिशत रहने बताएको थियो ।
त्यसैगरी संयुक्त राज्य अमेरिकाको वृद्धिदर यो वर्ष१ दशमलव ५ र सन् २०१२ मा १ दशमलव ८ प्रतिशत मात्रै रहने पनि विज्ञप्तिमा बताइएको छ । यसअघि उक्त पूर्वानुमान २ दशमलव ५ र २ दशमलव ७ प्रतिशत रहने आईएमएफले बताएको थियो । यूरोजोनको ऋणसङ्कट छिटो समाधान नभए सम्पूर्ण यूरोप नै अस्थिरताको भूमरीमा पर्न सक्ने चेतावनी पनि विज्ञप्तिमा दिइएको छ ।
विज्ञप्तिमा सन् २०११ र २०१२ मा विश्वको कुल आर्थिक वृद्धि ४ प्रतिशत हुने उल्लेख छ । चीन, भारत, ब्राजिलजस्ता उदीयमान अर्थतन्त्रमा उत्पादकत्व बढ्दा त्यसबाट अमेरिका र यूरोपको भने उत्पादनशीलतामा ह्रास आउने विज्ञप्तिमा उल्लेख छ । खर्च कटौती मात्रै समस्या समाधानको विकल्प नभएको र अन्य उपायतर्फपनि ध्यान दिन ब्लान्कार्डले आग्रह गरेका छन् । खर्च कटौती धेरै छिटो हुँदा त्यसले आर्थिक वृद्धिमा नकारात्मक प्रभाव पर्ने र ढिलो हुँदा विश्वसनीयतामा असर पर्ने उनले बताए ।
यूरोजोनमा फैलिँदै गइरहेको ऋणसङ्कटको सङ्क्रमण डरलाग्दो भएको र चिन्ताको प्रमुख स्रोत बनेको ब्लान्कार्डले बताएका छन् । ऋणसङ्कट समाधान गर्ने उपायहरूबारे यूरोजोनमा बढ्दै गइरहेको मतभिन्नतातर्फसङ्केत गर्दै उनले यूरोपेलीहरूलाई एक हुन आह्वान गरे । एपी/रासस
बैङ्क अफ अमेरिकाद्वारा १३ बैङ्कर निलम्बन
असोज ४, बैङ्गलोर (भारत) । बैङ्क अफ अमेरिका कर्पोरेशनले उसको औद्योगिक समूहका १३ ओटा इण्भेष्टमेण्ट बैङ्करलाई निलम्बन गरेको छ । साथै, बैङ्कले अझै थप कटौती गर्नसक्ने सम्बद्ध स्रोतले बताएको छ । उक्त औद्योगिक समूहले हवाई क्षेत्रदेखि खानी र पत्रिकासम्मका उद्योगलाई सल्लाह र कोष उपलब्ध गराउने गर्छ । तर, हालको कटौती गतहप्ता घोषणा गरिएको बृहत् खर्च कटौती कार्यक्रमसँग सम्बन्धित नरहेको बताइएको छ ।
बैङ्कले सेप्टेम्बरको शुरूतिरै ३ हजार ५ सयओटा रोजगार कटौती गरेको थियो । त्यसैगरी, ३० हजार रोजगार कटौती गरेर वार्षिक खर्च ५ अर्ब डलर घटाउने बैङ्कले गतहप्ता बताएको थियो । सन् २००८ मा कण्ट्रीवाइड फाइनान्सल कर्पोरेशन आफूमा विलय गराएपछि बैङ्कको खर्च बढेको थियो । त्यसैगरी, यस वर्षशेयर मूल्य पनि झन्डै ५० प्रतिशतले ओर्लिएपछि बैङ्कले आर्थिक समस्या भोगिरहेको छ । एजेन्सी
गार्मेण्ट सम्झौताबाट व्यवसायी उत्साहित
असोज ४, ढाका (बङ्गलादेश) । भारतले बङ्गलादेशबाट आयात गरिने तयारी पोशाकमा लाग्दै आएको कर खुकुलो बनाएपछि बङ्गलादेशका गार्मेण्ट उद्यमीहरू उत्साहित भएका छन् । हालै भारतले बङ्गलादेशबाट आयात गरिने ४६ ओटा गार्मेण्टका प्रकारमा कर छूट गरेको थियो । त्यसपछि भारतीय खुद्रा व्यापारीहरूबाट थुप्रै माग आइरहेको १८ हजार कामदार रहेको इन्भोय ग्रूपका अब्दुस सलाम मुर्शिदेले बताए ।
यसअघि भारतले बङ्गलादेशी गार्मेण्टमा कोटा लगाएको थियो, जसअन्तर्गत वार्षिक १ करोड थान तयारी पोशाकमा मात्र कर छूट गरिएको थियो । उदारहणका लागि, त्यतिखेर मुर्शिदेले वार्षिक ३ लाख थान तयारी पोशाकको मात्र अर्डर लिन पाउँथे । बङ्गलादेश विश्वकै तेस्रो ठूलो तयारी पोशाक उत्पादक हो । २०११ को जुन महीनासम्ममा उसले १९ अर्ब डलरबराबरको तयारी पोशाक निर्यात गरेको थियो । त्यसको सानो हिस्सा मात्र भारतबाट आएको अर्डरले ओगटेको थियो । बङ्गलादेशको कुल निर्यातको ८० प्रतिशत हिस्सा गार्मेण्टले ओगटेको छ । हालसम्म निर्यातको ठूलो हिस्सा यूरोपेली र अमेरिकी कम्पनीहरूबाट आएको मागले ओगटेको छ । तर, पछिल्ला समयमा मन्दीको आशङ्काले यूरोपेली र अमेरिकी मागमा कमी आइरहेको मुर्शिदेको चिन्ता छ । त्यसैले भारतका प्रधानमन्त्री मनमोहन सिंहको हालै ऐतिहासिक ढाका भ्रमणका बेला भएको गार्मेण्ट सम्झौताबाट उद्यमीहरू उत्साहित भएका हुन् ।
हालको सम्झौताले भारतसँग चार दशकदेखि रहेको ठूलो मात्राको व्यापारघाटामा उल्लेखनीय सुधार आउने बङ्गलादेश निटवेयर म्यानुफयाक्चरस एण्ड एक्स्पोर्टस एशोसिएशनका प्रमुख सलिम ओस्मनको अपेक्षा छ ।
त्यसैगरी, बङ्गलादेशका कारखानाले भारतबाट ठूलो मात्रामा कपास र धागो आयात गर्ने भएकाले हालको सम्झौताबाट भारतीय कम्पनीहरू त्रसित हुनु नपर्ने बङ्गलादेश गार्मेण्ट म्यानुफयाक्चरस एण्ड एक्स्पोर्टस एशोसिएशनका प्रमुख शफिउल इस्लाम मोहिउद्दिनको सुझाव छ । एएफपी/रासस
जापानको व्यापार घाटामा ठूलो वृद्धि, ताइवानको निर्यात वृद्धिदर घटयो
असोज ४, टोकियो (जापान) । सन् २०११ मार्चमा भएका प्राकृतिक र आणविक दुर्घटनाले क्षतिग्रस्त भएको जापानको व्यापारघाटामा ठूलो वृद्धि भएको छ । जापानको अर्थ मन्त्रालयले बुधवार सार्वजनिक गरेको तथ्याङ्कले त्यहाँको व्यापारघाटा अगष्टसम्म १० अर्ब अमेरिकी डलर पुगेको उल्लेख छ । सन् १९७९ मा अर्थ मन्त्रालयले यससम्बन्धी तथ्याङ्क सङ्कलन गर्न शुरू गरेपछि भएको यो वृद्धि अहिलेसम्मकै बढी भएको बताइएको छ । गतवर्षजापानको व्यापारघाटा औसतमा ८३ करोड ५३ लाख डलर रहेको थियो । विश्लेषकहरूले सन् २०११ अगष्टसम्म व्यापारघाटा ३ अर्ब ९२ करोड डलर पुग्ने अनुमान गरेका थिए । त्यसैगरी, जापानमा हुने आयात पनि यो अवधिमा १९ दशमलव २ करोड डलरले बढ्दै ८० अर्ब २६ करोड डलर पुगेको बताइएको छ । फुकुसिमा आणविक दुर्घटनापछि ऊर्जा कमी हुँदा महँगा कच्चा तेल र प्राकृतिक ग्यासको आयात बढेकाले आयातमा वृद्धि देखिएको अर्थ मन्त्रालयले बताएको छ । तर, सन् २०११ अगष्टसम्मका तथ्याङ्कहरूले जापानको निर्यात विगत ६ महीनायता नै सुधारात्मक रहेको देखाएका छन् । यो अवधिमा जापानको निर्यात व्यापार २ दशमलव ८ प्रतिशतले वृद्धि भएर ७० दशमलव १८ अर्ब डलर पुगेको छ । जापानबाट अटोमोबाइल्स, मेशिनरी र पानीजहाजको निर्यात बढेपछि यो आम्दानी हासिल भएको हो ।
यसैबीच एशियाको एक अर्को प्रमुख औद्योगिक राष्ट्र ताइवानको निर्यात व्यापार वृद्धिदर अगष्टमा विगत २२ महीनायताकै सबैभन्दा न्यून बिन्दुमा पुगेको छ । ताइवानको अर्थ मन्त्रालयले मङ्गलवार जारी गरेको विज्ञप्तिमा निर्यात अगष्टमा ३६ दशमलव ७१ अर्ब डलरले बढेको बताइएको छ । यो वृद्धि वार्षिक औसतमा ५ दशमलव २६ प्रतिशत भए पनि सन् २००९ नोभेम्बरयताकै सबैभन्दा कम रहेको विज्ञप्तिमा उल्लेख छ । अमेरिका र यूरोजोनको ऋणसङ्कटले गर्दा ती क्षेत्रबाट हुने माग घटेपछि ताइवानको निर्यात व्यापार वृद्धिदर घटेको हो । त्यसैगरी, चीनतर्फ हुने निर्यात वृद्धिदर पनि केही घटेको छ । निर्यात व्यापारमा कमी आएपछि अर्थ मन्त्रालयले सन् २०११ का लागि आर्थिक वृद्धिदर ४ दशमलव ८१ प्रतिशत हुने पूर्वानुमान गरेको छ । यसअघि ताइवानको आर्थिक वृद्धिदर ५ दशमलव शून्य १ प्रतिशत रहने अनुमान गरिएको थियो । एएफपी/रासस
भारतमा बर्ड फ्लू फेला पर्यो
असोज ४, नयाँदिल्ली (भारत) । भारतले पश्चिम बङ्गालका दुई गाउँमा बर्ड फ्लू सड्क्रमित कुखुरा तुरून्त नष्ट गर्न आदेश दिएको छ । गतवर्षपनि ती गाउँ बर्ड प\mलुबाट आक्रान्त भएका थिए । सङ्क्रमण प्रभावित गाउँवरिपरि ३ किलोमिटरभित्र रहेका सबै कुखुरा नष्ट गर्न आदेश दिइएको छ । त्यसैगरी, रोग नफैलियोस् भनेर अण्डा र कुखुराको आहारा पनि नष्ट गरिने भएको छ ।
संयुक्त राष्ट्रसङ्घीय खाद्य तथा कृषि सङ्गठन (एफएओ)ले तीन हप्ताअघि बर्ड फ्लू भाइरस फेरि विश्वभरि बढिरहेको चेतावनी दिएको थियो । एफएओका अनुसार एशियालगायत अन्य क्षेत्रमा एच-फाइभ-एन-वान भाइरसको नयाँ प्रजाति फैलिरहेको छ । तर, चीन र भियतनाममा फेला परेका बर्ड फ्लू भाइरसको नयाँ प्रजाति र हाल भारतमा देखा परेको प्रजाति एउटै हो वा होइन भन्नेबारे तत्काल थाहा हुन सकेको छैन । बर्ड फ्लू मानिसमा पनि सनसक्ने हुनाले त्यसप्रति विशेष सतर्कता कायम गरिएको हो । एएफपी/रासस
एशियाली 'हेज फण्ड’ ३२ महिनायताकै उच्च
असोज ४, हङकङ (चीन) । एशियाकेन्द्रित 'हेज फण्ड'तर्फसन् २०११ अगष्टमा ५० करोड अमेरिकी डलर आकर्षित भएको छ । सिङ्गापुरस्थित 'युरेकाहेज'ले बुधवार सार्वजनिक गरेको प्रतिवेदनमा यही दरले रकम आप्रवाह भइरहे सन् २०११ मा एशियाली 'हेज फण्ड'मा ७ अर्ब अमेरिकी डलर जम्मा हुने बताइएको छ । प्रतिवेदनमा अमेरिका र यूरोपमा जारी सङ्कटले यो क्षेत्रमा लगानीकर्ताहरू आकर्षित भएको उल्लेख छ । अगष्टमा यूरोपेली 'हेज फण्ड'बाट २ दशमलव ८ अर्ब डलर बाहिरिएको प्रतिवेदनले देखाएको छ । तर, यो अवधिमा उत्तरी अमेरिकी 'हेज फण्ड'हरूमा भने ४ दशमलव ८ अर्ब डलर रकम आएको बताइएको छ ।
सन् २०१० मा सुरक्षित वातावरण खोज्दै लगानीकर्ताहरूले एशियाली 'हेज फण्ड'हरूमा ४ अर्ब डलर लगानी गरेपछि रकम आप्रवाह बढेको प्रतिवेदनमा उल्लेख छ । यसबाट एशियाली 'हेज फण्ड'मा अगष्टसम्म कुल १ सय ३६ दशमलव १ अर्ब अमेरिकी डलर जम्मा भइसकेको जानकारी पनि 'युरेकाहेज'ले दिएको छ । यो वृद्धि सन् २००८ डिसेम्बरयताकै सबैभन्दा ठूलो हो । अजेण्टस, हाइब्रिज क्यापिटल र सेथ फिष्चरलगायत ठूला हेज फण्डहरूले यो क्षेत्रकै आर्थिक विकासमा योगदान गरिरहेको पनि 'युरेकाहेज'ले बताएको छ । एजेन्सी
Admin 2011-09-22