समुद्री डाँकूको आक्रमणबाट भारतको कोइला आयात प्रभावित
वैशाख ४, लण्डन (ब्रिटेन) । दक्षिण अफ्रिकाबाट कोइला खरीद गर्ने भारतीय व्यापारीहरू सोमाली समुद्री डाँकूको आक्रमणबाट आजित भएका छन् । आक्रमणबाट जोगिन घुमाउरो बाटो प्रयोगगर्दा ढुवानी समय र खर्च दुवै बढ्ने भएकाले त्यो पनि त्यति प्रभावकारी हुन नसकेको उनीहरूको अनुभव छ ।त्यसैले उनीहरू अब भारत र अप्रिmकाबीचको भारतीय महासागरको साटो अष्ट्रेलिया र रूसबाट कोइला आयात गर्न थालेका छन् । तेलको ट्याङ्कर, कार्गो जहाज र माछा मार्ने डुङ्गाको अपहरण गर्ने सोमाली डाँकूहरू पछिल्ला दिनमा झनै निडर हुँदै आएका छन् । उनीहरूको आक्रमणबाट वार्षिक रूपमा अर्बौं डलरको नोक्सान हुने गर्दछ ।
'हालका दिनमा तिनले ठूलो मात्रामा पैसा कमाइसकेकाले उनीहरू अझै सस्त्रास्त्र सुसज्जित हुनुका साथै तालीमप्राप्त हुनेछन्,’ एक अमेरिकी विद्वत परिषद् एटलाण्टिक काउन्सिलका अफ्रिका निर्देशक जे पिटर फामले भने । भारतमा आयातित कोइलाको माग बढ्दै गइरहेको छ । खासगरी बिजुली उत्पादनका लागि भारतले आयातित कोइलाको प्रयोग गर्दछ । २०११/१२ मा भारतको कोइला आयात ७० प्रतिशतले बढेर १४ करोड २० लाख टन पुग्ने कोइलामन्त्रीले बताएका छन् । गतवर्ष जम्मा कोइला आयातमध्ये ३० प्रतिशत दक्षिण अफ्रिकाबाट आयात गरिएको थियो । रोयटर्स
विश्व बैङ्क र आईएमएफद्वारा पुनः चेतावनी
वैशाख ४, वाशिङटन (अमेरिका) । खाद्यपदार्थको बढ्दो मूल्यवृद्धि, यथावत् बेरोजगारी समस्या, मध्यपूवको अस्थिरता र विकसित देशको कमजोर वित्तीय अवस्थाले आर्थिक पुनर्बहालीलाई नै जोखिममा पार्ने सम्बन्धित विज्ञहरूले चेतावनी दिएका छन् । 'हामी पूर्णस्तरको सङ्कट नजिक नजिक पुगेका छौं,’ आधारभूत खाद्यवस्तुको मूल्यवृद्धिबारे विश्व बैङ्कका प्रेजिडेण्ट रोबर्ट जोएल्लिकले शनिवार भने ।
'वित्तीय सङ्कटले उपचारभन्दा रोकथाम वेश हुन्छ भन्ने सिकाएको छ । त्यो कुरा हामीले कदापि बिसन्न हुन्न,’ विश्व बैङ्क र अन्तरराष्ट्रिय मुद्रा कोषको वार्षिक वसन्तकालीन बैठकको समापनका बेला जोल्लिकले सुझाए । त्यसैगरी, मध्यपूव र उत्तर अफ्रिकाको अवस्था अझै खराब भएमा विश्वव्यापी वृद्धिलाई नै जोखिममा पार्ने पनि बैङ्कको चेतावनी छ । 'तेलको मूल्य बढि नै रहेमा र लामो समयसम्म बढेको मूल्य कायमै रहेमा २०११ र २०१२ को विश्वव्यापी वृद्धिमा शून्य दशमलव ३ देखि १ दशमलव २ प्रतिशतले सुस्तिनेछ,’ बैङ्कको विज्ञप्तिमा भनिएको छ ।
त्यसका लागि मध्यपूवको अवस्था सुधार र नयाँ सामाजिक व्यवस्था कायम गराउन कदम चालिनुपर्नेमा जोएल्लिकले जोड दिएका छन् । 'अवस्था सुधारिने आशा राखेर पर्खिनाले अवसर गुम्न सक्छ । आमूल परिवरिर्तनकारी समयमा यथास्थितिमा रहनाले फाइदा गर्दैन,’ जोल्लिकको सुझाव छ । अमेरिकामा २००८/२००९ मा घरजग्गा र बैङ्किङ क्षेत्रको सङ्कटले विश्वव्यापी वित्तीय सङ्कट निम्त्याएको २ वर्षपछि बल्ल केही सुधार देखिएको छ । तर, अन्तरराष्ट्रिय अर्थतन्त्रमा सुधार देखिए तापनि ढुक्क भइहाल्ने अवस्था भने नरहेको विश्व बैङ्क र आईएमएफले लगातार सचेत गराइरहेका छन् । एएफपी/रासस
चीनमा बैङ्क मौज्दात अनुपात पुनः वृद्धि
वैशाख ४, बेइजिङ (चीन) । चीनको केन्द्रीय बैङ्क पिपल्स बैङ्क अफ चाइनाले बैङ्क मौज्दात अनुपात फेरि बढाउने आइतवार जानकारी दिएको छ । मूल्यस्फीतिका साथै ऋण दिने कार्यमा तीव्रता आएकाले बैङ्कमा राख्नुपर्ने मौज्दात बढाउन लागिएको हो । आउँदो बिहीवारदेखि मौज्दात अनुपात शून्य दशमलव ५० प्रतिशतले बढाइने बैङ्कले जानकारी दिएको छ । योसँगै यस आर्थिक वर्षभित्रै चौथौपटक मौज्दात अनुपात बढाउन लागिएको छ । शुक्रवार सरकारले प्रकाशित गरेको तथ्याङ्कबाट मार्चको उपभोक्ता मूल्य परिसूचक झण्डै ३ वर्षकै उच्च ५ दशमलव ४ प्रतिशत पुगेको छ । उच्च मूल्यस्फीति नियन्त्रणका लागि विभिन्न उपाय अवलम्बन गरिने गभर्नर झोउ जिआओचुआनले शनिवार बताएका छन् ।तर, ब्याजदरलाई छिटोछिटो परिवर्तन गरिरहँदा सट्टेबाजीका लागि पैसा आकर्षित हुन सक्नेतर्फपनि गभर्नरले चेतावनी दिएका छन् । चीनमा उपभोक्ता मूल्य परिसूचकलाई राजनीतिक रूपमा अत्यन्तै संवेदनशील मानिन्छ । त्यसैले पनि सामाजिक अस्थिरता ननिम्तियोस् भनेर अक्टोबरपछि चारपटक मौज्दात र ऋणदर बढाइसकिएको छ । एएफपी/रासस
ब्याडमिण्टन खेलमा स्कर्ट अनिवार्य
वैशाख ४, मुम्बई (भारत) । भारतमा यसै महीना हुन लागेको ब्याडमिण्टन खेलको सुपर सिरिज प्रतियोगितामा भाग लिने महिला खेलाडीले आफ्ना स्कर्टमा पनि ध्यान दिनुपर्ने भएको छ । ब्याडमिण्टन वर्ल्ड फेडरेशनले मेबाट लागू हुने गरी नयाँ ड्रेस कोड जारी गरेको छ, जसअनुसार महिला खेलाडीहरूले आकर्षक अर्थात् ग्लेमरस देखिनका लागि स्कर्ट लगाउनुपर्नेछ । महिला खेलाडीले चाहेको खण्डमा हाफप्याण्टजस्तो कट्टु लगाउन पाउने तर त्यो स्कर्टको मुनि लाउनुपर्ने नियम बनाइएको छ ।त्यस्तो नियमबाट विश्ववरीयता क्रममा तेस्रो स्थानमा रहेकी भारतीय महिला ब्याडमिण्टन खेलाडी सैना नेहवालको पहिरनमा पनि परिवर्तन आउनेछ । तर, आफूलाई स्कर्ट लगाएर खेल्न कुनै आपत्ति नरहेको नेहवालले बताएकी छन् । ब्याडमिण्टनको सो प्रतियोगितालाई टेनिसको जत्तिकै आकर्षक बनाउन त्यस्तो नियम बनाइएको हो । त्यसबाट खेलप्रेमी, खेलाडीका प्रशंसक तथा प्रायोजकको सङ्ख्या पनि बढ्ने फेडरेशनले अपेक्षा गरेको छ ।
भारतीय ब्याडमिण्टनकी अर्की ग्लेमरस महिला खेलाडी ज्वाला गत्ताले पनि आफूलाई स्कर्ट लगाउनुमा कुनै आपत्ति नरहेको बताइन् । तर, नियामक निकायले नै स्कर्ट लगाउने बाध्यात्मक प्रावधान जारी गरेकोमा भने उनले असहमति जनाएकी छन् । कसैलाई जबर्जस्ती ग्लेमरस बन्नका लागि बाध्य गरिनु उचित नभएको गत्ताको धारणा छ । तर, प्रसिद्ध टेनिस खेलाडी मारिया सारापोभाको जस्तो ग्लेमरस पहिरन लागू गरिएमा आफूलगायत थुप्रै केटीले त्यस्तो पहिरन लगाउने गत्ताले सुझाव दिइन् । उता, इण्डोनेशियाकी लिलिआना नात्सिरले भने अरू बेला स्कर्ट लगाए पनि खेल्ने बेलामा स्कर्टले अप्ठेरो पार्ने गुनासो गरेकी छन् । रोयटर्स
चीन र भारतमा बढ्दो मूल्यवृद्धिजन्य दबाब
वैशाख ४, बेइजिङ (चीन) । चीन र भारतको मूल्यवृद्धिदर अपेक्षाभन्दा पनि बढी पुगेको शुक्रवार प्रकाशित तथ्याङ्कले देखाएको छ । त्यसबाट ती देशका केन्द्रीय बैङ्कर तथा लगानीकर्ताहरूमा झनै दबाब बढेको छ । यूरो क्षेत्रको उपभोक्ता मूल्य पनि अपेक्षा गरिएभन्दा पनि माथि पुगेको छ । अमेरिकाको तथ्याङ्क पनि त्यस्तै नै रहने अनुमान गरिएको छ । यसरी विश्वव्यापी रूपमा नै मूल्यवृद्धिजन्य दबाब बढ्दै गएको देखिन्छ ।चीन, भारत र अन्य उदीयमान देशहरूबाट तेल र अन्नको माग बढ्दै गएकाले पनि ती वस्तुको भाउ बढेको हो । चीनको उपभोक्ता मूल्यवृद्धि मार्चसम्मको १ वर्षमा ५ दशमलव ४ प्रतिशत पुगेको छ, जुन २००८ को जुलाईपछिकै तीव्र वृद्धिदर हो । त्यसैगरी भारतको थोक मूल्य परिसूचक पनि मार्चसम्मको १ वर्षमा ८ दशमलव ९८ प्रतिशतले बढेको छ । चीनमा खाद्य र इन्धन क्षेत्रबाहेकको मूल्यवृद्धि (कोर इन्फ्लेशन) दशककै उच्च हुन पुगेको छ । त्यसैगरी भारतको मूल्यवृद्धिजन्य दबाब पनि सोचेको भन्दा निकै ठूलो रहेको मुम्बईस्थित अर्थशास्त्री आशुतोष दातारले बताए ।
रोयटर्स
Admin 2011-04-18