खाद्यवस्तुको महँगीले गरीबी बढायोः विश्व बैङ्क
फागुन ४, वासिङ्टन (अमेरिका) । खाद्यवस्तुको बढ्दो मूल्यका कारण गत जुनदेखि ४ करोड ४० लाख मानिस गरीबीतर्फधकेलिएको विश्व बैङ्कले भनेको छ । खाद्यवस्तुको भाउ २००८ कै जस्तो उच्च बिन्दुमा पुग्न लागेको बैङ्कले मङ्गलवार बताएको छ । उसका अनुसार, खाद्यवस्तु र तेलमा हुने मूल्यवृद्धिबाट गरीबहरूलाई ठूलो मर्का पर्ने गरेको छ । यसै हप्ता हुन लागेको जी२० का अर्थमन्त्रीहरूको बैठकअघि त्यस्तो तथ्याङ्क प्रकाशित गरिएको बैङ्कले भनेको छ । 'विश्वव्यापी रूपमा सबै खाद्यवस्तुको भाउ खतरनाक बिन्दुसम्म पुगेका छन् । त्यसबाट संसारभरिका करोडौं गरीब जनतालाई ठूलो मर्का पुगेको छ,’ बैङ्कका प्रेजिडेण्ट रोबर्ट जोलिकले एक विज्ञप्तिमा भनेका छन् । खासगरी आफ्नो आम्दानीको आधाभन्दा बढी हिस्सा खानेकुराको जोहो गर्न खर्चिने निम्नवर्गले निकै अप्ठयरो अवस्थाको सामना गर्नुपरेको जोलिकको विचार छ ।बैङ्कको पछिल्लो खाद्यमूल्य निरीक्षण तालिका अनुसार २०१० को अक्टोबरदेखि २०११ को जनवरीसम्म खाद्यवस्तुको मूल्यमा १५ प्रतिशतले वृद्धि भइसकेको छ । जी२० समूहका अर्थमन्त्री र केन्द्रीय बैङ्कका गभर्नरहरूको शुक्रवार हुन लागेको बैठकअघि बैङ्कले त्यस्तो प्रतिवेदन सार्वजनिक गरेको हो । जी२० ले खाद्यवस्तुलाई पहिलो प्राथमिकता बनाउनुपर्ने तर्फ प्रतिवेदनले औंल्याएको जोलिकले बताए । एएफपी/रासस
बैङ्कहरूले जानेरै धोका पाएका मेडफको दाबी
फागुन ४, वासिङ्टन (अमेरिका) । वाल स्ट्रीटका धोकेबाज बर्नाड मेडफले उनको विशाल पोञ्जी स्किममा बैङ्क र वित्तीय संस्थाहरूको पनि संलग्नता रहेको एक अन्तरवार्तामा बताएका छन् । तिनीहरूले उनले गरिरहेको धोखधडीबारे थाहा पाउनुपर्ने मेडफको भनाइ छ । तर उनीहरू थाहा पाएर पनि थाहा नपाएको जस्तो गरेको मेडफले दाबी गरेका छन् । मेडफले आफूलाई न्यूयोर्कको सबैभन्दा सफल वित्तीय प्रबन्धक भन्दै आएका थिए । उनलाई २००८ मा पक्राउ गरिएको थियो भने २००९ मा १ सय ५० वर्षमा जेल सजाय सुनाइएको थियो । ठूला बैङ्क, चन्दाकोष, हलिउडका धनी कलाकार, र कुशल वित्तीय खेलाडीहरूसमेतले उनको पोञ्जी कार्यक्रमबाट आर्थिक धोका पाएका छन् । उनको त्यस धोखाधडीपूर्ण योजनाबाट भण्डै १६ हजार जना प्रत्यक्ष रूपमा पीडित भएका छन् । मेडफले उनीहरूबाट दुइ दशकभन्दा बढी समयमा अर्बौं डलर उठाएका थिए । मेडफसँगको हालको अन्तरवार्ता उनलाई राखिएको जेलको आगन्तुक कोठामा बसेर टाइम्सका पत्रकार डायना हेनरिक्सले लिएकी हुन् । मेडफसँगको अन्तरवार्ता र इमेल पत्राचारको आधारमा हेनरिक्सले एउटा पुस्तक लेखेकी छिन् । 'झूटको जादूगरः मेडफ र विश्वासको मृत्यु’ (द विजर्ड अफ लाइजः बेर्नी मेडफ एण्ड द डेथ अफ ट्रष्ट) भनिने उक्त पुस्तक आउँदो वसन्तयाममा प्रकाशन हुने भएको छ । एएफपी/रासस
टाटा स्टीलको त्रैमासिक नाफा दोब्बरभन्दा बढी
फागुन ४, मुम्बई (भारत) । भारतको सबैभन्दा ठूलो र विश्वकै सातौं ठूलो स्टील निर्माता कम्पनी टाटा स्टीलले उसको त्रैमासिक नाफामा दोब्बरभन्दा बढीले वृद्धि भएको बताएको छ । मागमा भएको वृद्धिले नाफा बढे पनि कच्चा पदार्थको मूल्यमा पनि वृद्धि भएकाले अपेक्षित नाफा भने हुन सकेको छैन । डिसेम्बरसम्मको तीन महीनामा खुद नाफामा वृद्धि भएर १० अर्ब ३ करोड भारू पुगेको छ । गत वर्षसोही अवधिको खुद नाफा ४ अर्ब ७२ करोड भारू मात्र रहेको थियो । यस वर्षनाफा बढेको भए पनि त्यसले ११ अर्बको अपेक्षित लक्ष्य भने पूरा नगरेको विश्लेषकहरूले बताएका छन् । उक्त अवधिको विक्री ११ प्रतिशतले बढेर ६ अर्ब ५० करोड डलर पुगेको कम्पनीले बताएको छ । टाटा स्टीलले २००७ मा १३ अर्ब ७० करोड डलरमा ब्रिटिश-डच कम्पनी 'कोरस' खरीद गरेको थियो । हालको तथ्याङ्कले कम्पनीको भारतीय, दक्षिण पूर्वी एशियाली र कोरसको कारोबारलाई समेत समेटेको छ । एएफपी/रासस
काबुल बैङ्क विक्री गर्न आईएमएफको सुझाव
फागुन ४, काबुल (अफगानिस्तान) । अन्तरराष्ट्रिय मुद्रा कोष (आईएमएफ)ले अफगानिस्तानको सङ्कटग्रस्त काबुल बैङ्कलाई रिसिभरशिपमा राखेर छिट्टै बेच्नुपर्ने सुझाव दिएको छ । कोषका अधिकारीहरूले बैङ्कको भ्रमण गरेपछि मङ्गलवार जारी गरिएको विज्ञप्तिमा त्यस्तो सुझाव दिइएको छ । अफगानी अधिकारीहरूले बैङ्कको समस्या सुल्झाउन पारदर्शी, विश्वसनीय र पूर्णरूपले व्यवस्थित योजना ल्याउनुपर्ने कोषको सुझाव छ । काबुल बैङ्क अफगानिस्तानको सबैभन्दा ठूलो बैङ्क हो । बैङ्कलाई रिसिभरशिप भनिने एक किसिमको टाट पल्टेको अवस्थामा राख्नु समस्या समाधानका लागि सबैभन्दा उपयुक्त प्रक्रिया हुने कोषको धारणा छ । काबुल बैङ्कमा व्यवस्थापकीय कमजोरी, कृपावाद र गलत ऋण प्रक्रियाजस्ता आरोप लाग्दै आएका छन् । उक्त बैङ्कलाई गत सेप्टेम्बरमा त्यहाँको केन्द्रीय बैङ्कले नियन्त्रणमा लिएको थियो । एपी/रासस
जापान र भारतबीच स्वतन्त्र व्यापार सम्झौता
फागुन ४, टोकियो (जापान) । जापान र भारतले बुधवार एउटा स्वतन्त्र व्यापार सम्झौतामा हस्ताक्षर गरेका छन् । सन्धिअनुसार, दुइ देशबीचको व्यापारमा ९४ प्रतिशत वस्तुहरूमाथि लाग्ने करलाई आगामी एक दशकभित्रै हटाइनेछ । त्यससम्बन्धी सहमतिमा जापानका विदेशमन्त्री सेइजी माएहारा र भारतीय वाणिज्यमन्त्री आनन्द शर्माले टोकियोमा हस्ताक्षर गरेका छन् । सन्धिबाट दुइ देशबीचको व्यापारमा अभिवृद्धि हुने अपेक्षा गरिएको छ । दुइ देशबीचको व्यापार २००९ मा १० अर्ब ७० करोड डलरमा रहेको थियो, जुन जापानको कुल वैदेशिक व्यापारको एक प्रतिशतभन्दा पनि कम हो । 'यस सन्धिबाट आर्थिक सम्बन्धमा नयाँ युगको शुरुआत भएको छ, जसबाट दुवै देशमा विकास, नवप्रवर्तन र उन्नति आउनेछ,’ शर्माले भने । जापानले पनि थप स्वतन्त्र व्यापार साझेदार खोजिरहेको छ । त्यसबाट ऊ दक्षिण कोरियाले निर्यात व्यापारमा दिइरहेको चुनौतीको सामना गर्न चाहन्छ । हालै विश्वको दोस्रो ठूलो अर्थतन्त्रका रूपमा चीनले जापानलाई उछिनेको थियो ।
भारतका प्रधानमन्त्री मनमोहन सिंहले जापानका प्रधानमन्त्री नाओतो कानसँग भेटवार्ता गरेका थिए । त्यतिखेर एशियाका दुइ सबैभन्दा ठूला लोकतन्त्रहरूबीच न्यानो सम्बन्ध रहनुपर्नेमा सिंहले जोड दिएका थिए । हालैका दिनहरूमा जापान र कम्युनिष्ट चीनबीचको कूटनीतिक सम्बन्धमा तनाव देखिएको छ । भारतसँगको सम्झौताबाट जापानले रेअर अर्थको क्षेत्रमा सहयोग विस्तार गर्न सक्ने विश्लेषकहरूले बताएका छन् । गत वर्ष बेइजिङ र टोकियोबीचको विवादले चीनबाट जापान तर्फ हुने रेअर अर्थ्सको निर्यातमा बाधा पुगेको थियो । त्यसपछि जापानले रेअर अर्थ्सको आपूर्तिमा विविधीकरण ल्याउन खोजेको छ । भारतले यसअघि नै दक्षिण कोरियासँग स्वतन्त्र व्यापार सम्झौता गरिसकेको छ । तर, चीनसँग भने भारतको त्यस्तो सम्झौता भएको छैन । भारतले स्वतन्त्र व्यापार सम्झौता गरेको देशहरूमा जापान १२औं हुनेछ । एएफपी/रासस
चीनको आकाशमा ट्राफिक जाम
फागुन ४, हङकङ (चीन) । दक्षिण चीनको पर्ल रिभर डेल्टाक्षेत्रको आकाशमा विमानहरूको भीड बढेकाले समस्या परेको अन्तरराष्ट्रिय हवाई यातायात सङ्गठन (आईएटीए)ले बताएको छ । उक्त क्षेत्रमा पाँचओटा विमानस्थल र हजारौं निर्माता रहेका छन् । विश्वकै कठिन हवाई ट्राफिक कण्ट्रोलमध्ये सो क्षेत्र पनि एक रहेको आईएटीएले बुधवार बताएको छ । आईएटीएका प्रमुख कार्यकारी जिओभान्नी बिसिग्नानीले उक्त क्षेत्रको साँघुरिँदै गएको आकाशमा ट्राफिक कण्ट्रोल गर्नु हम्मेहम्मे पर्ने गरेको गुनासो गरेका छन् । हाल केही मात्रामा सुधार भए पनि उडानहरू अझै नराम्रोसँग अवरुद्ध हुने गरेको उनले जानकारी दिएका छन् । सन् २००९ मा हङकङबाट उडने करीब २ हजार उडान अवरुद्ध भएका थिए । २००७ र २००८ मा अवरुद्ध भएका उडानको सङ्ख्या (फ्लाइट डिले) पनि त्यस्तै नै थियो । खासगरी मुख्यभूमि चीनतर्फका उडानहरूमा बढी समस्या देखिएको छ । गत वर्ष जनवरीदेखि जुनसम्ममा १ हजार ६ सय उडान अवरुद्ध भएका थिए । चीनको आकाशमा त्यहाँको सेनाको नियन्त्रण हुने भएकाले पनि समस्या जटिल भएको बिसिग्नानीले बताए । एपी/रासस
क्यासिनो सम्राट्ले फेरि मुद्दा हाले
फागुन ४, हङकङ (चीन) । एशियाली क्यासिनो उद्योगका सम्राट् स्टान्ली होले फेरि नयाँ मुद्दा हालेका छन् । मकाउस्थित आफ्नो जुवा साम्राज्यमा रहेको १ अर्ब ४५ करोड डलरको लगानी फिर्ता लिने प्रयासमा उनले मुद्दा हालेका हुन् । परिवारका केही सदस्यले उनको हिस्सामा कब्जा गरेको आरोप होले लगाएका छन् । जनवरीमा शुरू भएको पारिवारिक विवादमा यो फेरि अर्को मोड आएको छ ।विश्वकै सबैभन्दा ठूलो जुवा बजारमा रहेको होको लगानीमा कसले नियन्त्रण गर्नेछ भन्नेमा विवाद चलिरहेको छ । २००९ मा मस्तिष्कको शल्यक्रिया गरेपछि ८९ वर्षीय होलाई सात महीनासम्म अस्पतालमा राखिएको थियो । होले आफ्नो 'पत्नीहरू’ भन्दै आएका चार जना महिलाबाट १६ जना सन्तान छन् । जुवाको आकर्षक व्यापार नियन्त्रणका लागि भइरहेको पारिवारिक शक्ति संघर्षको नाटकीय घटनाहरूको पछिल्लो कडीअन्तर्गत होले मुद्दा हालेका छन् । एपी/रासस
चीनमा रेअर अर्थ्स उद्योगमा नियन्त्रण
फागुन ४, बेइजिङ -चीन) । चीनले उसको रेअर अर्थ्सका उत्पादकहरूमाथि कडाइ गर्नुका साथै त्यसको उत्पादनमा नियन्त्रण गर्ने भएको छ । पाँचवर्षको विकास रणनीतिअन्तर्गत त्यसो गर्न लागिएको चीनको मन्त्रिमण्डलले बुधवार बताएको छ । रेअर अर्थ्स खनिजलाई उच्च प्रविधिका सामानको निर्माणमा प्रयोग गरिन्छ । चीनले उक्त खनिजको निर्यात घटाउने चिन्ता कतिपय देशहरूले गरिरहेकै बेला चीनको यस्तो निर्णय आएको छ । १७ ओटा धातुहरूको समूह रेअर अर्थ्सको विश्वभरि हुने उत्पादनमा लगभग सम्पूर्ण उत्पादन चीनमै हुन्छ ।मन्त्रिमण्डलले रेअर अर्थ्सको उत्पादन र निर्यातका लागि युक्तिसङ्गत वार्षिक कोटा निर्धारण गरिने बताएको छ । साथै सरकारले वातावरणीय कडाइ गर्नुका साथै अनधिकृत उत्पादनमा रोक लगाउनेछ । त्यसैगरी रेअर अर्थ्सको विकसित प्रविधि विकासका लागि चिनियाँ कम्पनीहरूलाई एकआपसमा विलय हुन प्रोत्साहन गर्ने पनि मन्त्रिमण्डलले बताएको छ । एपी/रासस
Admin 2011-02-17