नोबेल विजेता युनुसमाथि मानहानिको मुद्दा
माघ ४, ढाका (बङ्गलादेश) । नोबेल पुरस्कार विजेता मोहम्मद युनुस २००७ मा उनीविरुद्ध दर्ता भएको मानहानिसम्बन्धी मुद्दाको सुनुवाइका लागि मङ्गलवार अदालत उपस्थित भएका छन् । युनुस तथा प्रधानमन्त्री शेख हसिनाबीचको मनमुटावको परिणामस्वरूप गत हप्ता सरकारले युनुसको ग्रामीण बैङ्कमा छानबिनको आदेश दिएको थियो । हसिनाले हालै लघुकर्जा दिने समूहहरूलाई 'गरीबको रगत चुसेको’ आरोप लगाएकी थिइन् ।सन् २००७ मा युनुसले आफ्नै राजनीतिक दल स्थापना गरेपछि हसिना र युनुसबीच मनमुटाव उत्पन्न भएको थियो । त्यतिखेरको एक अन्तरवार्तामा युनुसले बङ्गलादेशको राजनीति पैसा कमाउने उद्देश्यले सत्तामा जाने माध्यम मात्र रहेको भनेका थिए । उनको सो टिप्पणीलाई आधार बनाएर एक सानो दलका पदाधिकारीले युनुसमाथि मानहानिको मुद्दा दायर गरेका थिए । त्यतिखेरदेखि नै उक्त मुद्दामा खासै कारबाही चलेको थिएन । तर, हालै युनुसलाई ढाकाबाट १ सय किलोमिटर उत्तरतर्फरहेको मेमेनसिंह जिल्ला अदालतले मङ्गलवार उपस्थित हुन आदेश दिएको थियो । करीब १० मिनेट अदालतमा उपस्थित भएका युनुसलाई उनको अन्तरराष्ट्रिय छविका कारण जमानत दिन अदालतले स्वीकार गरेको छ । अब युनुसको साटो उनको प्रतिनिधि अदालती कारबाहीमा उपस्थित हुने भएका छन् । बङ्गलादेशको ग्रामीण भेगमा अत्यन्त लोकप्रिय रहेका युनुसलाई हेर्न अदालतपरिसरमा ५ सयभन्दा बढी मानिस भेला भएको त्यहाँको स्थानीय प्रहरीले बताएको छ । एएफपी/रासस
इयूमा फेरि बैङ्क स्ट्रेस टेष्ट
माघ ४, ब्रसेल्स (बेल्जियम) । यूरो क्षेत्रका बैङ्कहरूको सङ्कट झेल्ने क्षमता परीक्षण (बैङ्क स्ट्रेस टेष्ट) मा सुधार ल्याउने विषयमा यूरोपेली अधिकारी तथा अमेरिकी समकक्षीबीच छलफल चलिरहेको छ । गतवर्षरि नै यूरो मुद्रा क्षेत्रले ऋण सङ्कटका कारण समस्या झेल्नुपरेको थियो । त्यस्तो सङ्कट कसरी सामना गर्ने भन्ने विषयमा छलफल गरिएको बेल्जियमका अर्थमन्त्री डिडिएर रेर्ण्र्डसले मङ्गलवार बताएका छन् ।यूरोपले गत गृष्मयामको भन्दा अझ परिष्कृत तथा पारदर्शी स्ट्रेस टेष्ट गर्नुपर्ने रेर्ण्र्डसको विचार छ । जुलाईमा प्रकाशित उक्त टेष्टको परिणाममा आयरल्याण्डका साथै कतिपय अन्य समस्याग्रस्त बैङ्कहरूमा पनि कुनै समस्या नरहेको देखाइएको थियो । धेरै विश्लेषकले उक्त टेष्टले समस्याको ढाकछोपमात्र गरेको भन्ने आलोचना गरेका थिए । त्यसपछि ईयूले त्यस्तो टेष्ट एकपटक फेरि गर्नुपर्ने निर्णय २०१० को अन्त्यतिर गरेको थियो । अमेरिकाका १९ ओटा बैङ्कहरूमा २००९ मा गरिएको त्यस्तै टेष्टले भने वित्तीय सङ्कट कम गर्न सघाउनुका साथै मन्दीको अवधि र गहिराई पनि नियन्त्रण गरेको भनेर प्रशंसा भएको थियो । हाल ईयूका आन्तरिक बजार आयुक्त मिचेल बार्निअर तथा अमेरिकी अधिकारीहरूबीच स्ट्रेस टेष्टका बारेमा छलफल भइरहेको रेर्ण्र्डसले बताए । एपी/रासस
बोइङद्वारा डि्रमलाइनरको परीक्षण उडान
माघ ४, वाशिङटन (अमेरिका) । अमेरिकी विमान निर्माता बोइङ कम्पनीले उसको ७८७ डि्रमलाइनर विमानको परीक्षण उडान गरेको छ । शृङ्खलाबद्ध रूपमा नै प्राविधिक त्रुटि तथा विलम्बका घटनाहरू भएपछि अमेरिकी नियामकहरूको विश्वास जित्ने अपेक्षाका साथ बोइङले फेरि परीक्षण उडान थालेको हो । बोइङका अनुसार चारओटा डि्रमलाइनर उडानका लागि तयारी अवस्थामा छन् । साथै आगामी हप्ताभित्रै दुइओटा थप विमान पनि तयार हुने अपेक्षा गरिएको बोइङले बताएको छ । हालै एक परीक्षण उडानका बेला विद्युतीय प्रणालीको खराबीले आगलागी भएपछि डि्रमलाइनरलाई आपत्कालीन अवतरण गर्नुपरेको थियो । त्यसपछि पावर सिष्टम सञ्चालनका लागि परिष्कृत सफ्टवेयर जडान गर्नुका साथै उडान तयारीका बारे विस्तृत मूल्याङ्कन गरेको जानकारी कम्पनीले गत महिना दिएको थियो । हाल प्रचलनमा रहेका जेट विमानमध्ये विमानको दाजोमा डि्रमलाइनरले २० प्रतिशत कम इन्धन खपत गर्ने बोइङको दाबी छ । एएफपी/रासस
गोल्डम्यानको फेसबूक शेयर अमेरिकाबाहिर मात्र
माघ ४, न्युयोर्क (अमेरिका) । गोल्डम्यान साखले उसको फेसबूकमा रहेका प्राइभेट शेयरहरू अमेरिकाबाहिरका लगानीकर्तालाई मात्र बेचिने बताएको छ । सञ्चारमाध्यमले व्यापक प्रचार गरेकाले त्यस्तो निर्णय गरिएको उक्त कम्पनीले बताएको छ ।गोल्डम्यानले आफ्नो निर्णयका बारेमा आइतवारदेखि नै ग्राहकहरूलाई जानकारी गराउन थालिसकेको छ । अमेरिकी सेक्युरिटिज नियमअनुसार कुनै पनि कम्पनीको ५ सय जनाभन्दा बढी प्राइभेट शेयरहोल्डर भएमा उक्त कम्पनीलाई अमेरिकी शेयर बजारको नियामक निकाय यूएस सेक्युरिटिज एण्ड एक्सचेञ्ज कमिशन (एर्सइसी)मा दर्ता गर्नुका साथै कारोबारको विवरण पनि सार्वजनिक गर्नुपर्दछ । गोल्डम्यानले फेसबूकका लागि १ अर्ब ५० करोड डलर उठाउने अपेक्षा गरेको छ । फेसबूक पब्लिक कम्पनीका रूपमा सूचीकृत हुनुअघि नै त्यसको शेयर खरीद गर्न पाइने सम्भावनाका बारेमा व्यापक समाचार तथा टिप्पणी आएका छन् ।यस्ता चर्चाले फेसबूकलाई नियामक निकायको निरीक्षणमा पार्ने सम्भावना पनि बढेको छ । त्यसैले अमेरिकाबाहिरका लगानीकर्तालाई मात्र फेसबूकमा लगानीको अवसर दिने निर्णय गरिएको गोल्डम्यानको विज्ञप्तिमा उल्लेख छ । एर्सइसीले फेसबूकको शेयर दोस्रो बजारमा विक्री (सेकेण्डरी मार्केट ट्रेडिङ) भइरहेको छ कि भनेर छानबिन गरिरहेको छ । रोयटर्स