शान्ति र संविधानले निर्धारित समयमा नै पूर्णता पाउला ?
  

ईयूका बैङ्कमाथि पूँजी र तरलताबारे कडा प्रावधान

साउन ४ । यूरोपियन युनियनका बैङ्कहरूले पुँजी र तरलतासम्बन्धी कडा नियमको पालना नगरेमा तिनका आम्दानीको १० प्रतिशतसम्म जरीवाना भोग्नुपर्ने ईयूका आन्तरिक बजार आयुक्त मिचेल बार्नियरले चेतावनी दिएका छन् । 'बेसल थ्री' प्रावधानअनुसार निर्मित नयाँ कानूनको मस्यौदा ब्रसेल्समा प्रस्तुत गर्दै बार्नियरले त्यस्तो चेतावनी दिएका हुन् । प्रावधान लागू भएपछि बैङ्कहरूले २०१३ पछि अझ बढी र असल गुणस्तरको पूँजी मौज्दात राख्नुपर्नेछ ।
भविष्यमा आइपर्ने वित्तीय सङ्कटका बेला करदाताहरूलाई समस्या नपरोस् भन्ने उद्देश्यले त्यस्तो प्रावधान ल्याइएको हो ।

गत नोभेम्बरमा जी२० का प्रमुख अर्थतन्त्रहरूले बेसल थ्रीलाई अनुमोदन गरेको थियो । बैङ्कको जोखिम सम्पत्तिको ७ प्रतिशत बराबर न्युनतम कोर इक्विटी पूँजी अनुपात राख्नुपर्नेजस्ता प्रावधान बेसल थ्रीले तोकेको छ । त्यसका साथै, क्रेडिट रेटिङको प्रभाव कम गर्ने र कर्पोरेट सुशासनमा सुधार गर्नेलगायतका प्रावधानसमेत बेसल थ्रीमा छन् । कर्पोरेट सुशासनअन्तर्गत बैङ्कको सञ्चालक समितिमा महिला सदस्यको सङ्ख्या बढाउने र संस्थामा हुने अनुचित क्रियाकलापको पर्दाफाश गर्ने कार्यक्रम सञ्चालन गर्नेजस्ता उपाय छन् । त्यसैगरी, बैङ्कहरूले आफ्ना पूँजीको पर्याप्तता (क्यापिटल बफर) मापन गर्दा मूडी, स्टार्ण्र्डड एण्ड पुअर तथा फिचजस्ता बाहिरी रेटिङ एजेन्सीमाथिको निर्भरता घटाउन बार्नियरले सुझाव दिएका छन् । एजेन्सी

चीनद्वारा अमेरिकालाई ऋणसङ्कट समाधान गर्न आह्वान

साउन ४, बेइजिङ (चीन) । चीनले अमेरिकालाई आत्मविश्वासका साथ ऋणसङ्कट र कमजोर डलरको समस्या समाधान गर्न आह्वान गरेको छ । अमेरिकी सरकार टाट पल्टिने चिन्ताहरूबीच चीनले बुधवार यस्तो आह्वान गरेको हो ।उसले ऋणसङ्कट र डलरको मूल्य कमजोर हुँदा विश्वव्यापी वित्तीय क्षेत्र र बजार व्यवस्थामा नकारात्मक असर परिरहेको बताउँदै समस्याहरू छिटो समाधान हुने विश्वास पनि व्यक्त गरेको छ । बुधवार चीन सरकारको विदेशी मुद्रा विनिमय हेर्ने 'स्ट्रेट एडमिनिष्ट्रेशन अफ फरेन एक्सचेञ्ज’ले आफ्नो वेबसाइटमा एक विज्ञप्ति प्रकाशित गर्दै अमेरिकाले लगानीकर्ताका चिन्ताहरूलाई सम्बोधन गर्न सही निर्णय गर्ने आशा व्यक्त गरेको छ । एक्सचेञ्जको यो विज्ञप्ति क्रेडिट रेटिङ एजेन्सीहरूले अमेरिकी सरकारको रेटिङ घटाउने चेतावनी दिइरहँदा र चीनले अमेरिकी मुद्रा खरीद कम गर्ने आशङ्का बढिरहेका बेला आएको हो ।चीनको विदेशी मुद्रा सञ्चिति र विनिमय दर नियमन गर्ने उक्त संस्थाले चीनको ३० दशमलव २ खर्ब डलर बराबरको विदेशी मुद्रा कोषको व्यवस्थापन र सञ्चालन गर्ने गर्छ । चीन विश्वमा अमेरिकी डलरको सबैभन्दा ठूलो खरीदकर्ता हो । उसको मुद्रा सञ्चितिको दुई तिहाइ हिस्सा अमेरिकी डलरले ओगटेको छ । एजेन्सी

दोस्रो त्रैमासिकमा 'याहू’को आम्दानी घटयो

साउन ४, सान फ्रान्सिस्को (अमेरिका) । इण्टरनेट सच इञ्जिन र इमेल सेवाप्रदायक कम्पनी याहूले सन् २०११ को दोस्रो त्रैमासिकमा आम्दानी घटेको बताएको छ । मङ्गलवार दास्रो त्रैमासिक हिसाब प्रतिवेदन सार्वजनिक गर्दै याहूले १ दशमलव १ अर्ब डलर आम्दानी भएको उल्लेख गरेको छ । अघिल्लो वर्षको यही अवधिमा याहूको आम्दानी १ दशमलव १३ अर्ब डलर थियो ।विश्वको सबैभन्दा ठूलो सच इञ्जिन 'गूगल'सँग प्रतिस्पर्धा गरिरहेको याहूको सच इञ्जिन प्रयोग घट्दै गएकाले आम्दानी कम भएको बताइएको छ । याहू सच इञ्जिनको प्रयोगमा यस वर्ष४७ प्रतिशतले कमी आएको उसले बताएको छ । दोस्रो त्रैमासिकको प्रतिवेदन सार्वजनिक भएपछि याहूको शेयर मूल्यमा पनि कमी आएको छ । सन् २०११ मेमा १८ दशमलव ८४ डलर पुगेको प्रतिशेयर मूल्यमा २० प्रतिशतले कमी आई १४ दशमलव २६ डलर कायम भएको थियो ।दोस्रो त्रैमासिकको आम्दानी सार्वजनिक भएलगत्तै याहूले तेस्रो त्रैमासिकमा कुल आम्दानी १ दशमलव शून्य ५ अर्ब डलरदेखि १ दशमलव १ अर्ब डलरको बीचमा रहने पूर्वानुमान पनि गरेको छ । एजेन्सी

अदालतद्वारा सुर्ती कम्पनीले तिर्नुपर्ने ३ करोड डलर अनुमोदन

साउन ४, मायामी (अमेरिका) । अमेरिकाको फ्लोरिडा राज्यको सर्वोच्च अदालतले एक चुरोट कम्पनीले एक महिलालाई क्षतिपूर्तिबापत ३ करोड डलर तिर्नुपर्ने यसअघिको फैसला अनुमोदन गरेको छ । यसअनुसार चुरोट कम्पनी 'आरजे रेनल्डस् टोबाको’ले १५ वर्षअघि अत्यधिक चुरोट सेवनबाट क्यान्सरका कारण मृत्यु भएका एक व्यक्तिकी पत्नीलाई ३० करोड डलर क्षतिपूर्ति प्रदान गर्नुपर्ने भएको छ । अदालतले अब यसमा थप कुनै बहस नहुने भन्दै यो फैसला अन्तिम भएको समेत बताएको थियो ।

फोक्सो क्यान्सरको कारण सन् १९९५ मा मृत्यु भएका बेन्नी माटिनकी पत्नी माथिल्दा माटिनले सन् २००९ मा कम्पनीविरुद्ध फ्लोरिडा सङ्घीय अदालतमा मुद्दा दायर गरेकी थिइन् । त्यसबेला सङ्घीय अदालतले कम्पनीलाई क्षतिपूर्ति आदेश दिएको थियो । तर, कम्पनीले अदालतको फैसला न्यायसङ्गत नभएको र क्षतिपूर्तिको रकम अत्यधिक भएको भन्दै फ्लोरिडा राज्यको सर्वोच्च अदालतमा पुनरावेदन गरेको थियो ।मङ्गलवारको फैसलामा सर्वोच्च अदालतले सन् १९४० को दशकदेखि धूमपान शुरू गरेका माटिनको मृत्युमा ६६ प्रतिशत कम्पनी र ३४ प्रतिशत उनी आफै जिम्मेवार भएको उल्लेख गरिएको छ । सन् १९४० को दशकदेखि माटिनले रेनल्डस् कम्पनीको 'लक्की स्ट्राइक’ नामक चुरोट लामो समय सेवन गरेका थिए ।   एजेन्सी

सोमालियामा भोकमरी घोषणा

साउन ४, नैरोबी (केन्या) । संयुक्त राष्ट्रसङ्घले बुधवार दक्षिणी सोमालियाका दुई क्षेत्रलाई भोकमरीग्रस्त क्षेत्र घोषणा गरेको छ । साथै, चाँडै नै उपयुक्त कदम नचालिए अन्य क्षेत्रमा पनि भोकमरी फैलिने सङ्घको चेतावनी छ ।  दक्षिणी क्षेत्र बाकुल र तल्लो शाबेलेमा विगत २० वर्षै खराब भोकमरी देखिएको सोमालियाका लागि मानवीय सहायता समन्वयकर्ता मार्क बोडेनले बताए  । समस्या सम्बोधन गर्न राष्ट्रसङ्घले नगद प्रदान गर्नेलगायतका विशेष उपायको प्रस्तावना गरेको छ । साथै, खाद्यान्न र अन्य उद्धारका लागि आगामी २ महीनासम्ममा ३० करोड डलरको आवश्यकता पर्ने राष्ट्रसङ्घको भनाइ छ । 'हामीले तत्काल उद्धार गर्न सकेनौं भने दुई महीनाभित्र दक्षिणी सोमालियाका आठओटै क्षेत्रमा भोकमरी फैलिनेछ,’ बोडेनले भने ।राष्ट्रसङ्घका अनुसार, हर्न अफ अफ्रिकाअन्तर्गतको सोमालियाका झण्डै आधा अर्थात् ३७ लाख जनसङ्ख्या भोकमरीको खतरामा छन् । बालबालिकालगायत लाखौंको भोकमरी र रोगले मृत्यु भइसकेको हुन सक्ने बोडेनको अनुमान छ ।       एजेन्सी

युनुसको कारखानामा हडताल

साउन ४ । बङ्गलादेशका नोबेल पुरस्कार विजेता मुहम्म युनुसको तयारी पोशाक (गार्मेण्ट) कारखाना श्रमिकहरूको हडतालपछि बन्द गरिएको छ । ग्रामीण निटवेयर भनिने युनुसको उक्त कारखाना बङ्गलादेशकै प्रमुख गार्मेण्ट उद्योगमध्ये एक हो । कारखानामा कार्यरत २ हजारभन्दा बढी श्रमिकले मङ्गलवार २ करोड ३० लाख डलरको उक्त कारखानामा तोडफोड गरेका थिए । त्यसपछि व्यवस्थापनले बुधवारदेखि लागू हुनेगरी अनिश्चितकालसम्मका लागि कारखाना बन्द गरेको छ ।

कारखानाका कामदारहरूले खाना र यातायात खर्चका साथै कम्पनीको स्वामित्वमा कम्तीमा १० प्रतिशत हिस्साको माग गर्दै हडताल गरेका थिए । ग्रामीण किनवेयर कामदारलाई उचित पारिश्रमिक दिने राम्रो कम्पनीमध्ये एक मानिन्छ । युनुसले लघुवित्तको माध्यमबाट ग्रामीण महिलाको उत्थान गरेबापत २००६ मा नोबेल पुरस्कार पाएका थिए । युनुसको ३० ओटाभन्दा पनि बढी सङ्ख्यामा 'सामाजिक’ व्यवसाय पनि छन्, जसले कामदारलाई उचित पारिश्रमिक र रोजगार सुरक्षा दिने लक्ष्य लिएका छन् । ती व्यवसायबाट आएको नाफा मालिकहरूबीच वितरण गरिनुको साटो तिनलाई फेरि लगानी गरिन्छ ।

युनुसले फ्रान्सको डानोए र भेओलिआ तथा जर्मनीको एडिडासजस्ता ठूला अन्तरराष्ट्रिय कम्पनीसँगको संयुक्त लगानीमा ती 'सामाजिक’ व्यवसाय स्थापना गरेका हुन् । ग्रामीण निटवेयरका प्रमुख कार्यकारी अश्रफुल हसनले हडतालका पछाडि कुनै राजनीतिक उद्देश्य नरहेको स्वीकार गरेका छन् । तर, कम्पनीले धेरैजसो अन्य गार्मेण्टले भन्दा राम्रो पारिश्रमिक दिँदै आएको भन्दै हसनले आन्दोलनकारीको मागलाई भने अस्वीकार गरेका छन् । एएफपी/रासस

शौचालय बनाउन केन्यालाई बिल गेट्सको सहयोग

साउन ३, नैरोबी (केन्या) । माइक्रोसफ्टका संस्थापक एवम् पूर्वप्रमुख बिल गेट्सले केन्यामा नयाँ शौचालयहरू निर्माण गर्न ४ करोड २० लाख डलर प्रदान गर्ने घोषणा गरेका छन् । रुवाण्डाको राजधानी किगालीमा भइरहेको 'अफ्रिकासान' सम्मेलनमा बुधवार बोल्दै गेट्सले यस्तो घोषणा गरेका हुन् ।'बिल एण्ड मेलिण्डा फाउण्डेशन'मार्फत प्रदान गरिने उक्त सहयोगले मलमूत्र एवम् फोहोर व्यावस्थापनका साथै पुनर्प्रयोग र ऊर्जा निकाल्ने कार्यमा सहयोग पुग्नेछ । मलमूत्र एवम् फोहोरको उचित व्यवस्थापन हुन नसक्दा फैलने रोगको माहामारीलगायतका समस्या यस कार्यक्रमबाट समाधान हुने आशा व्यक्त गरिएको छ । कार्यक्रमका लागि सन् २०११ को अन्त्यसम्ममा ५० देखि ६० ओटा समूह बनाएर तीमार्फत नयाँ शौचालय बनाउने तथा मलमूत्र प्रशोधन र जैविक मल बनाउने योजना रहेको बताइएको छ । उक्त योजना पूरा हुन ५ वर्षलाग्ने सम्भावना रहेको छ । एपी/रासस

ताइवानमा भ्रष्टाचार विरोधी विशेष एकाइ

साउन ४ । ताइवानमा बुधवार भ्रष्टाचार विरोधी विशेष एकाइ स्थापना गरिएको छ । ताइवानका राष्ट्रपति मा यीङ-जेओउले भ्रष्टाचारविरूद्धको संस्था अर्थात् एजेन्सी अगेन्ष्ट करप्शन नाम राखिएको उक्त एकाइको उद्घाटन गरेका हुन् । ताइवानको भ्रष्टाचारविरूद्धको अभियानमा एकाइ महत्त्वपूर्ण उपलब्धि भएको न्याय मन्त्रालयका पदाधिकारीहरूको दाबी छ । हङकङको इण्डिपेण्डेण्ट कमिशन अगेन्ष्ट करप्शनको अवधारणमा त्यस्तो निकाय स्थापना गरिनुपर्नेबारे विगत १० वर्षदेखि माग गरिँदै आएको थियो । तर, कानून पालना गराउने अन्य निकायसँग कार्यक्षेत्र जुध्ने सम्भावनाले उक्त निकायको स्थापनामा ढिलाइ भएको थियो । गत वर्ष यताइवानको उच्च अदालतका न्यायधीशहरूसमेत भ्रष्टाचारमा मुछिएपछि निकायको स्थापना कार्यमा पनि तीव्रता आएको थियो । ताइवानको इतिहासमै सबैभन्दा खराब घूसकाण्ड मानिएको उक्त मुद्दामा आरोपित न्यायाधीशहरूलाई २४ वर्षसम्मको जेलसजाय र ५० हजार डलरसम्मको जरीवाना माग गरिएको छ । उक्त काण्डपछि गत वर्षको जुलाईमा ताइवान उच्च अदालतका प्रधान न्यायाधीशले राजीनामा दिएका थिए ।                   एएफपी/रासस

Admin 2011-07-21