शान्ति र संविधानले निर्धारित समयमा नै पूर्णता पाउला ?
  

आर्थिक वृद्धिका लागि सुशासन अत्यावश्यक : रजाक

असार ५, पुत्रजाया (मलेसिया) । मलेसियाली प्रधानमन्त्री नजिब रजाकले अफ्रिकाली नेताहरूलाई सम्बोधन गर्दै आर्थिक वृद्धिका लागि सुशासन अत्यन्त महत्त्वपूर्ण रहेकोमा जोड दिएका छन् । मलेसिया र अप्रिmकाबीचको आर्थिक सम्बन्ध प्रवर्द्धनका लागि आयोजित सम्मेलनमा रजाकले त्यस्तो विचार राखेका हुन् । सामाजिक सञ्जालको वृद्धिले विश्वभरिका सरकारलाई झनै बढी उत्तरदायी हुन बाध्य गरिरहेकोप्रति पनि नजिबले सचेत गराए । त्यसैले, परिवर्तनलाई आत्मसात् गर्न विश्वभरिका नेताहरू तयार रहनुपर्ने नजिबको सुझाव छ ।

जिम्बावेका ८७ वर्षीय रोबट मुगावेसमेतका १६ अफ्रिकाली नेताहरूलाई सम्बोधन गर्दै नजिबले त्यस्तो धारणा राखेका हुन् । मुगावेले सन् १९८० देखि नै जिम्बावेमा शासन गर्दै आएका छन् । उनको शासनकालमा मानव अधिकारसम्बन्धी खराब प्रदर्शन देखिएकाले उनलाई यूरोपियन युनियनले आप्नो क्षेत्रको भ्रमणमा प्रतिबन्ध लगाएको छ ।सुशासन र उत्तम प्रक्रिया आर्थिक वृद्धिका लागि अत्यन्त अपरिहार्य हुनुका साथै परिवर्तनका लागि पनि आवश्यक रहेको नजिबको टिप्पणी छ । 'कतिपय मानिस परिवर्तनसँग आउने अनिश्चितताबाट डराउँछन् । अर्काथरी, फरक ढङ्गले काम गर्नुपर्ला भनेर तसिन्छन् । एउटा सच्चा नेताले यस्ता चिन्ता र बाधालाई सम्बोधन गर्दै परिवर्तनविरूद्धको प्रवृत्तिलाई पहिल्याउनुपर्छ,’ नजिबले भने । विश्वव्यापीकरण बढ्दै गएको सन्दर्भमा धेरै देशका सामाजिक, राजनीतिक र आर्थिक अवस्थालाई लामो समयसम्म स्थिर रहन नसक्ने नजिबले स्पष्ट गरे ।  एएफपी/रासस   

भारतको व्यवसायजगत्मा लैङ्गिक नीतिको अभाव

असार ५, नयाँ दिल्ली (भारत) । भारतको व्यापार-व्यवसायजगत्मा धेरै महिला नेतृत्व देखापरेका छन् । तर, अझै पनि महिलाहरूले आफूलाई 'कमजोर’ मान्ने परम्परागत धारणालाई तोड्न सकेका छैनन् । नयाँ दिल्लीस्थित लैङ्गिक मामिला विद्वत् परिषद् सेण्टर फर सोसल रिसच (सीएसआर)को अनुसन्धानमा त्यस्तो देखिएको छ । सीएसआरका अनुसार व्यावसायिक र कामकाजी महिलाहरूले सामाजिक धारणाको प्रवृत्तिजनक चुनौतीका साथै आफूले काम गर्ने सङ्गठन वा कार्यालयमा समेत समस्या भोगिरहेका छन् । महिलाहरूले सामना गर्नुपर्ने घरायशी दबाबहरूलाई समाहित गर्ने खालका लैङ्गिक नीति संस्था र कार्यालयहरूले अँगाल्न नसकेको पाइएको छ ।

व्यवस्थापनको उच्चतहमा पुरुषको तुलनामा महिलाको उपस्थिति नगण्य देखिनुले पनि महिलाहरूको वृत्तिविकासका चुनौती प्रमाणित भएको सीएसआरकी निर्देशक रञ्जना कुमारीले बताइन् । त्यसैगरी, महिलाको सामाजिक भूमिका र दायित्वबारे व्यावसायिक संस्थाहरू संवेदनशील हुन नसक्दा महिला प्रशासकहरूको पदोन्नतिमा पनि अप्ठयाराहरू आइपर्ने रञ्जनाले बताइन् ।  नयाँ दिल्ली, कोलकाता र बैङ्गलोरका स्वास्थ्य, सञ्चार, आतिथ्य, बैङ्किङ र वित्तीय क्षेत्रमा कार्यरत २ सय ४० महिला प्रबन्धक र २४ मानव संसाधन प्रबन्धकमाथिको अध्ययनपछि उक्त प्रतिवेदन तयार पारिएको हो । कम्पनी तथा कर्पोरेटहरूले महिलालाई नेतृत्वकारी तहमा पुर्याउन विशेष लैङ्गिक नीति लागू गर्नुपर्नेमा अध्ययनले जोड दिएको छ ।            एजेन्सी

फेडररलाई भेट्टाउने कुरा सपना मात्र : नाडाल

असार ५, लण्डन (ब्रिटेन) । रोजर फेडररको जस्तै कीर्तिमान राफेल नाडालले बनाउलान् कि भन्ने अनुमानलाई नाडालले 'सपना’ जस्तै अस्वभाविक रहेको बताएका छन् ।फेडररले हालसम्म १६ ओटा ग्राण्डस्लाम जितेर कीर्तिमान बनाइसकेका छन् । नाडालले भने गत वर्षचारओटा ग्राण्डस्लाम जितेपछि कुल १० ओटा ग्राण्डस्लाम उपाधि हात पारेका छन् । आगामी दुई हप्तासम्म हुने विम्बल्डनमा स्पेनका २५ वर्षीय खेलाडी नाडाल ११औं ग्राण्ड स्लामका लागि प्रयास गर्नेछन् । उनीभन्दा धेरै ग्राण्डस्लाम जित्नेहरूमा १२ ओटा रोय ईमर्शन र १४ ओटा ग्राण्डस्लाम विजेता पिट साम्प्रास छन् । तर, १६ ओटा ग्राण्डस्लाम विजेता फेडेररलाई भेट्टाउनु निकै टाढाको कुरा हुने नाडालले स्वीकार गरे । एएफपी/रासस

नयाँ ७४७ विमानको पहिलो अन्तरराष्ट्रिय उडान 

असार ५, ले बुर्गेट (फ्रान्स) । बोइङ कम्पनीको नयाँ मोडेलको लाम्चो आकारको ७४७-८ इण्टरकण्टिनेण्टल यात्रुबाहक विमानले आइतवार पहिलो अन्तरराष्ट्रिय उडान गरेको छ । बोइङकै जम्बो जेटलाई सुधार गरेर हालको ७४७-८ इण्टरकण्टिनेण्टल विमान बनाइएको हो । जम्मा ४ सय ६७ ओटा सीट रहेको नयाँ विमानमा पूर्ववर्ती विमानको भन्दा ५१ ओटा बढी सीट छन् । तर, एयरबसको ए३८० को कुल ५ सय २५ भन्दा बोइङको नयाँ विमानमा  पनि ५८ ओटा सीट थोरै छ ।बोइङको उक्त नयाँ विमानले पहिलो अन्तरराष्ट्रिय उडानअन्तर्गत पेरिस विमानस्थलमा अवतरण गरेको छ । वाइड बडी विमान बजारमा रहेको उच्च प्रतिस्पर्धास्वरूप बोइङको नयाँ विमान आएको हो । बढ्दो एशियाली विमान बजारलाई आकर्षित गर्न बोइङले नयाँ विमानलाई रातो र सुन्तला रङ्गले आकर्षक बनाएको छ । बोइङको पहिलो ७४७ विमानले ४२ वर्षअघि उडान गरेको थियो । एजेन्सी

रूसलाई आईईएमा सामेल हुन आग्रह

असार ५, लण्डन (बेलायत) । उपभोक्ता राष्ट्रहरूलाई प्रतिनिधित्व गर्ने अन्तरराष्ट्रिय ऊर्जा एजेन्सी (आईईए)ले रूस र अन्य ऊर्जा उत्पादक प्रमुख राष्ट्रहरूलाई सङ्गठनमा सामेल हुन निमन्त्रणा गरेको छ । कार्यकारी निर्देशक नोबुओ तानाकाले अङ्ग्रेजी साप्ताहिक 'अर्ब्जर्भर’सँगको अन्तरवार्तामा उक्त कुरा उल्लेख गरेका छन् । 'अर्ब्जर्भर’ साप्ताहिकका अनुसार कच्चा तेलको भाउ बढिरहेका बेला खरीदकर्ता र विक्रेताहरूबीच मध्यस्तता गराउन यस्तो आह्वान आएको हो ।'हाम्रो सबैको समान उद्देश्य छ । तेललाई ग्यास, सुरक्षा, ऊर्जा क्षमता र नवीकरणीय ऊर्जाभन्दा बाहिर राख्न मिल्दैन’ तानाकाले भने ।  ऊर्जा सुरक्षा र वातावरण परिवर्तनजस्ता विषयमा सामूहिक रूपमा जुध्न रूस र अन्य प्रमुख उत्पादकहरूले आईईएसँग अनुभव लिन सक्ने उनले बताए ।

सन् १९७३-७४ को तेल सङ्कटपछि औद्योगिक राष्ट्रहरूतर्फभएको तेल आपूर्तिको रोकावटको प्रतिक्रियास्वरूप २८ सदस्यीय आईईए गठन भएको थियो । गत हप्ता तेल उत्पादक राष्ट्रहरूको सङ्गठन ओपेकको तेल 'कोटा’ नबढाउने निर्णय्रति आईईएले निराशा व्यक्त गरेको छ । आफ्नो सङ्गठनको सदस्य नभए तापनि आईईएले ऊर्जाशक्तिका रूपमा  रूसलाई चीन र भारतसँगै प्रमुख मान्दै आएको छ ।  मस्कोले सदस्यता लिएमा त्यो राम्रो कुरा हुने उसले बताएको छ । रसियाली उपप्रधानमन्त्री इगोट सेचिनसँगको शनिवार भएको कुराकानीमा पनि उनले यो कुरा उठाएको अखबारले उल्लेख गरेको छ । अक्टोबरमा हुने मन्त्रीस्तरीय बैठकमा सेचिनले आफू सहभागी हुन सक्ने सङ्केत गरेका छन् ।

सदस्यताका लागि समयसीमाबारे छलफल गर्दै तानकाले भने, 'मलाई थाहा छैन यो कहिले हुनेछ, यो एकैदिनमा त गर्न सकिँदैन, वर्षौं पनि लाग्न सक्छ तर रूसले हाम्रो अनुभवबाट फाइदा लिन सक्छ ।’ साथै उनले साउदी अरेबिया र मध्यपूर्वका अन्य तेल उत्पादक राष्ट्रहरूसँग  पनि आईईएमा भूमिकाका लागि प्रारम्भिक वार्ता गरेको अखबारले उल्लेख गरेको छ ।        एएफपी

इएडीएसको नयाँ यात्रुबाहक रकेट विमान योजना

असार ५, पेरिस (फ्रान्स) । यूरोपेली एरोस्पेस क्षेत्रको प्रमुख कम्पनी ईएडीएसले आइतवार शून्य उत्सर्जनयुक्त हाइपरसोनिक अर्थात् ध्वनिभन्दा पनि तीव्र गतिको रकेट विमानको प्रारूप सार्वजनिक गरेको छ । 'जेष्ट' भनिएको उक्त विमानले २०५० सम्ममा पेरिसदेखि टोकियोसम्मको यात्रा साढे दुई घण्टामा तय गर्ने ईएडीएसको अपेक्षा छ । न्यून उर्त्सजनको उक्त विमानले ५० देखि १ सयजना यात्रु बोक्न सक्नेछ भने बायोइन्धनबाट विमानका इञ्जिन सञ्चालित हुनेछन् । त्यस्तो बायोफयुल समुद्रमा पाइने झार अर्थात् सी वीडबाट बनाइएको हुनेछ ।हाइड्रोजन र अक्सिजनबाट चल्ने ती इञ्जिनले पानीको वाष्पमात्र उत्सर्जन गर्नेछन् । ती विमानहरू हालको यात्रुबाहक विमानभन्दा तीन गुणाभन्दा पनि माथि उड्नेछन् । २०२० सम्ममा त्यस्तो विमानको मोडेल तयार हुने र २०५० सम्ममा पूर्णरूपले सञ्चालनमा आउनेई एडीएसको अपेक्षा छ । एएफपी/रासस

Admin 2011-06-20