'भारतले यस वर्ष८ प्रतिशतको वृद्धिदर हासिल गर्ने'
असोज ५, न्यूयोर्क (अमेरिका) । विश्वव्यापी आर्थिक वातावरणमा समस्या देखिए तापनि भारतले यस वर्ष८ प्रतिशतको आर्थिक वृद्धि हासिल गर्ने त्यहाँका अर्थमन्त्री प्रणव मुखर्जीको विश्वास छ । 'पहिलो त्रैमासमा ७ दशमलव ७ प्रतिशतको वृद्धि हासिल भए तापनि यस वर्षपनि हामी ८ प्रतिशतको वृद्धिदर कायम गर्नेछौं,’ मुखर्जीले भने ।
राम्रो मनसुनी वर्षाले कृषिक्षेत्रको वृद्धिदर ४ प्रतिशतभन्दा बढी रहने तथा म्यानुफयाक्चरिङ र सेवाक्षेत्रमा पनि राम्रो वृद्धि हुने भएकाले यस वर्षवृद्धिदर ८ प्रतिशतको हाराहारीमा कायम गर्न सकिने उनले बताए । भारतले १२औं पञ्चवर्षीय योजना (२०१२(१७)मा ९ प्रतिशतको वृद्धिदर लक्ष्य राखेको पनि मुखर्जीले खुलाए । त्यसैगरी, केन्द्रीय बैङ्क रिजर्भ बैङ्क अफ इण्डियाले भारतीय मुद्रा 'रूपियाँ'लाई पनि हेरिरहेको उनले बताए । अवस्था आउनासाथ आरबीआईले मुद्रामाथि हस्तक्षेप गर्नेबारे बैङ्कका गभर्नरले स्पष्ट गरिसकेका तर त्यस्तो अवस्था तत्कालै आइनसकेको मुखर्जीको धारणा छ ।
यूरोजोनका देशहरूमा सरकारी ऋण र जीडीपीबीचको विशाल अनुपात र औद्योगिक देशहरूको सुस्त पुनर्बहाली दरले अन्तरराष्ट्रिय वातावरणप्रति भने मुखर्जीले चिन्ता व्यक्त गरे । मुखर्जीका अनुसार उदीयमान देशहरूमा देखिएको मुद्रास्फीतिजन्य दबाब र विदेशी मुद्रा विनिमयको अस्थिरताले गम्भीर चिन्ता गराएको छ । तर, सन् २००८ को जस्तै वर्तमान सङ्कटलाई पनि अन्तरराष्ट्रिय समुदायको सामूहिक नेतृत्वले समाधान गर्न सक्ने मुखर्जीको विश्वास छ । एजेन्सी
आर्थिक जोखिमबाट जोगिन फेडको नयाँ कदम
असोज ५, वाशिङटन (अमेरिका) । अमेरिकी केन्द्रीय बैङ्क फेडरल रिजर्भले पहिले नै कमजोर अवस्थामा रहेको अमेरिकी अर्थतन्त्रमा ठूलो जोखिमको चेतावनी दिएको छ । साथै, दीर्घकालीन ऋण खर्च घटाउन तथा समस्याग्रस्त घरजग्गा बजारलाई बलियो बनाउन फेडले नयाँ योजनाको घोषणा गरेको छ ।
फेडका अनुसार उसले ४ खर्ब डलरको अल्पकालीन ट्रेजरी बण्ड विक्री गरेर सोही मात्राको दीर्घकालीन अमेरिकी सरकारी ऋण खरीद गर्नेछ । वर्षको पूर्वार्द्धमा सुस्तिएको वृद्धिदरलाई फेरि ब्युँताउने प्रयासस्वरूप फेडको पछिल्लो कदम आएको छ । फेडले अर्थतन्त्रबारे निराशाजनक प्रक्षेपण गरेपछि अमेरिकी शेयरहरू तीव्र विक्री भएका छन् । स्ट्याण्डर्ड एण्ड पुअर्स-५०० परिसूचक झण्डै ३ प्रतिशतले ओर्लेको छ ।
दीर्घकालीन सरकारी ऋणको मूल्य बढेपछि प्रतिफल घटेको छ, जसलाई कतिपय लगानीकर्ताले अपेक्षा गरेभन्दा पनि आक्रामक सङ्केतका रूपमा हेरिएको छ । अमेरिकी सरकारको दशवर्षको ऋणको प्रतिफल ६० वर्षयताकै न्यून १ दशमलव ८५६ प्रतिशतमा झरेको छ । श्रम बजारको कमजोरी जारी नै रहेको र बेरोजगारी दर अझै उच्च नै रहेको पछिल्ला परिसूचकहरूबाट देखिएको फेडको विज्ञप्तिमा भनिएको छ । विज्ञप्तिका अनुसार विश्वव्यापी वित्तीय बजारमा तनावका साथै आर्थिक परिदृश्यमा बृहत् अधोगामी जोखिम देखिएको छ । एजेन्सी
तीन ठूला अमेरिकी बैङ्कको क्रेडिट रेटिङ घटयो
असोज ५, न्यूयोर्क (अमेरिका) । क्रेडिट रेटिङ एजेन्सी 'मुडिज इन्भेष्र्टस सर्भिस'ले तीन ठूला अमेरिकी बैङ्कको क्रेडिट रेटिङ घटाएको छ । बुधवार एक विज्ञप्ति जारी गर्दै 'मुडिज'ले बैङ्क अफ अमेरिका, सिटीग्रूप र वेल्स फार्गो बैङ्कको रेटिङ घटाइएको जानकारी दिएको छ । ती बैङ्कमा खराब ऋण थुप्रिँदै गएको र त्यसले ती संस्थाको वित्तीय स्वास्थ्यमा गम्भीर असर पुर्याइरहेको विज्ञप्तिमा बताइएको छ । सन् २००८ मा आर्थिक मन्दी शुरू हुँदाको समयमा जस्तो सङ्कटग्रस्त वित्तीय संस्थाहरूलाई उद्धार गर्न अमेरिकी सरकार अहिले भने अनिच्छुक देखिएको चेतावनी पनि विज्ञप्तिमा दिइएको छ । बैङ्क अफ अमेरिकाको खराब ऋण अत्यधिक भएको बताउँदै 'मुडिज'ले बैङ्कको दीर्घकालीन तथा अल्पकालीन अवधिका ऋण र मुख्य बैङ्किङ एकाइको रेटिङ घटाएको छ ।
सिटीग्रूपको भने अल्पकालीन अवधिको ऋण मात्रै घटाइएको छ । त्यसैगरी वेल्स फार्गोमा दीर्घकालीन अवधिको खराब ऋण थुप्रिएकाले क्रेडिट रेटिङ घटाइएको 'मुडिज'ले बताएको छ । सन् २०११ जुनमा विशाल ऋण अनुपात घटाउँदै ती बैङ्कले वित्तीय सुधार नगरे रेटिङ घटाउने 'मुडिज'ले चेतावनी दिएको थियो । 'मुडिज'ले बैङ्क अफ अमेरिकाकै आकारको कारोबार गरिरहेको जेपी मोर्गन चेजको भने क्रेडिट रेटिङ यथावतै राखेको छ । यसअघि विश्लेषकहरूले जेपी चेजको रेटिङ पनि घट्न सक्ने अनुमान गरेका थिए । एजेन्सी
'फेड एक्स’को आम्दानी बढयो
असोज ५, टेनेसी (अमेरिका) । विश्वको दोस्रो ठूलो पासल तथा लजिष्टिक सेवा 'फेड एक्स कर्पोरेशन'को सन् २०११ को अर्धवार्षिक आम्दानी बढेको छ । बिहीवार एक विज्ञप्ति जारी गर्दै कर्पोरेशनले अगष्टसम्म कम्पनीको कुल आम्दानी ११ प्रतिशतले वृद्धि भएर १० अर्ब ५२ करोड अमेरिकी डलर पुगेको बताएको छ । यसअघि कम्पनीको आम्दानी १० दशमलव ३२ अर्ब डलर रहने अनुमान गरिएको थियो । विज्ञप्तिमा यस अवधिमा कम्पनीको नाफा २२ प्रतिशतले वृद्धि भई ४६ करोड ४० लाख डलर पुगेको उल्लेख छ ।
गतवर्षयही अवधिमा 'फेड एक्स'ले ३८ करोड डलर नाफा आर्जन गरेको थियो । तर, विश्वको आर्थिक परिदृश्य नकारात्मक हुँदै गर्दा आम्दानी र नाफाको वृद्धि दर भने घट्दै गएको विज्ञप्तिमा बताइएको छ । एशियाबाट हुने 'डेलिभरी'मा उल्लेखनीय कमी आएको 'फेड एक्स'को विज्ञप्तिमा उल्लेख छ । कुल आम्दानीमा वृद्धि भए पनि कम्पनीको एक्सप्रेस एकाइबाट हुने आय १९ प्रतिशतले घटेको बताइएको छ । यिनै कारणले आगामी वर्षयसअघि गरिएको पूर्वानुमानभन्दा आम्दानी केही कम रहने कम्पनीले बताएको छ । एपी/रासस
Admin 2011-09-23