शान्ति र संविधानले निर्धारित समयमा नै पूर्णता पाउला ?
  

चीनको मूल्यवृद्धि घट्ने सम्भावना

वैशाख ५, वाशिङटन (अमेरिका) । यस वर्षको अन्त्यसम्ममा चीनको मूल्यवृद्धि करीब ४ प्रतिशतसम्म झर्ने अन्तरराष्ट्रिय मुद्रा कोषले पूवानुमान गरेको छ । बेइजिङले नीतिगत कडाइलाई दृढतापूवक लागू गरेकाले यस वर्षको मूल्यवृद्धि दर घट्ने अनुमान गरिएको हो । मार्च महीनामा चीनको उपभोक्ता मूल्य परिसूचक गतवर्षको भन्दा बढेर ५ दशमलव ४ प्रतिशत पुगेको सरकारी तथ्याङ्कले देखाएको छ । त्यस्तो वृद्धिदर २००८ को जुलाईपछिकै उच्च हो । त्यसबाट चीनको मूल्यवृद्धि दर नियन्त्रणबाट बाहिर जान थालेको भन्ने आशङ्कालाई थप बल पुगेको छ । अन्तरराष्ट्रिय बजारमा पनि खाद्य, इन्धन तथा अन्य वस्तुको मूल्य चर्किएकाले त्यसको प्रभाव घरेलु बजारमा पनि देखिएको हो । तर, चीन सरकारले मूल्यवृद्धि नियन्त्रणलाई प्राथमिकतामा राखेकाले त्यसले मूल्यवृद्धि दरलाई विस्तारै घटाउँदै लगेको आईएमएफले बताएको छ ।'चीनको मूल्यवृद्धि चाँडै नै उच्च बिन्दुमा पुग्नेछ, र त्यसपछि वर्षको उत्तरार्धमा वृद्धिदर घट्दै जानेछ,’ आईएमएफको एशिया प्यासिफिक निर्देशक अनुप सिंहले भने ।     एएफपी/रासस

टाटाको २७ अर्ब डलर लगानी योजना

वैशाख ५, नयाँ दिल्ली (भारत) । भारतको टाटा समूहले आगामी ५ वर्षमा  २७ अर्ब डलर लगानी गर्ने बताएको छ । खासगरी घरेलु बजारमा गरिने त्यस्तो लगानीबाट आफ्नो आम्दानी दोब्बर भएर १ खर्ब ५० अर्ब डलरसम्म पुग्ने अपेक्षा टाटाले गरेको छ । टाटा समूहअन्तर्गत झण्डै १ सयओटा कम्पनी छन् । ऊर्जा, स्टील, गाडी, दूरसञ्चार, केमिकललगायत क्षेत्रमा थप लगानी गर्न चाहेको टाटाले बताएको छ । 'हामीले आफू संलग्न रहेको क्षेत्रमा अन्तरराष्ट्रिय स्तरमै महत्त्वपूर्ण भूमिका खेलेका छौं,’ टाटा इण्डष्ट्रिजका प्रबन्ध निर्देशक किशोर ए चौकारले भने । गुजरात राज्यमा ३ अर्ब ७० करोड डलरबराबरको ऊर्जा केन्द्र र छत्तीसगढ राज्यमा ४ अर्ब ४० करोड डलरबराबरको स्टील कारखानामा लगानी गर्ने टाटाको योजना छ । एएफपी/रासस  

चिनियाँ केन्द्रीय बैङ्कको कदमबाट विश्वबजार प्रभावित

वैशाख ५, बैङ्कक (थाइल्याण्ड) । चीनको केन्द्रीय बैङ्कले मौज्दात सञ्चिति अनुपात बढाएको एक दिनपछि नै विश्वभरिका शेयरबजार तल ओर्लेका छन् । उपभोक्ता मूल्यमा भइरहेको तीव्र वृद्धिलाई नियन्त्रण गर्न चीनले त्यस्तो कदम चालेको हो । मौद्रिक नीतिमा गरिने कडाइले प्रायः लगानीकर्तालाई सशङ्कित बनाउने गर्छ ।सोमवार बजार खुलेपछि यूरोपेली शेयर बजारहरू तल ओर्लेका छन् । ब्रिटेनको एफटीर्एसइ१०० मा शून्य दशमलव ४ प्रतिशत, जर्मनीको डीएएक्समा शून्य दशमलव ७ प्रतिशत र फ्रान्सको सीएसी ४० मा शून्य दशमलव ९ प्रतिशतले कमी आएको छ । त्यसैगरी वालस्ट्रीट पनि तल ओर्लेको छ, दाओ जोन्सको फ्युचर्समा शून्य दशमलव ५ प्रतिशत र एस एण्ड पीको फ्युचर्समा शून्य दशमलव ६ प्रतिशतले कमी आएको छ । जापानको निक्केइ पनि शून्य दशमलव ४ प्रतिशतले झरेको छ । मार्चमा चीनको मूल्यवृद्धिदर ३२ महीनायताकै उच्च भएपछि पिपल्स बैङ्क अफ चाइनाले मौज्दात सञ्चिति अनुपात आइतवार फेरि बढाएको हो ।  त्यसैगरी हङकङको हाङ सेङमा शून्य दशमलव ७ प्रतिशत र दक्षिण कोरियाको कोस्पीमा पनि शून्य दशमलव १ प्रतिशतले कमी आएको छ । भारत, सिङ्गापुर, ताइवान र इण्डोनेशियाको शेयर बजार परिसूचक पनि तल ओर्लेका छन् । अष्ट्रेलियाको एस एण्ड पी/एएसएक्स२०० मा भने शून्य दशमलव २ प्रतिशतले बढेर सबैभन्दा विपरीत परिणाम देखाएको छ । एपी/रासस

आईएमएफ सदस्यद्वारा आर्थिक मुद्दामा छलफल

वैशाख ५, वाशिङटन (अमेरिका) । अन्तरराष्ट्रिय मुद्रा कोष (आइर्मएफ)का सदस्य देशहरूले विश्वव्यापी अर्थतन्त्रबारे देशहरूबीच रहेको तीव्र मतभिन्नतालाई कम गर्ने प्रयास गरेका छन् । आईएमएफको अर्ध वार्षिक सम्मेलनका अवसरमा वाशिङटनमा भेला भएका प्रतिनिधिहरूले विश्व्यापी बजारमा देखिएको जोखिमबारे छलफल गरेका छन् । त्यस सन्दर्भमा उदीयमान देशहरूको तीव्र मूल्यवृद्धिले धनी देशहरूलाई पनि जोखिममा पार्नेबारे उनीहरू सहमत भएका छन् । आईएमएफमा विश्वका १ सय ८७ देश आबद्ध छन् ।विकासशील देशतर्फठूलो मात्रा प्रवाह भइरहेको सट्टेबाजीपूर्ण लगानीले तिनका अर्थतन्त्रको विस्तारमा सहयोग पुर्‍याउनुका साथै मूल्यवृद्धि पनि गराइरहेकोबारे छलफल गरिएको छ । 'उदीयमान बजारमा मूल्यवृद्धि हुँदै जानु उनीहरूको मात्र नभई अन्तराष्ट्रिय समस्या हो । त्यसले ब्याजदरसम्बन्धी समस्या पनि निम्त्याउन सक्छ,’ सिङ्गापुरका अर्थमन्त्री तथा आईएमएफको वर्तमान सञ्चालन समितिका अध्यक्ष थार्मन शान्मुगारत्नमले भने । धनी देशहरूमा उच्च सरकारी ऋण र सुस्त अर्थतन्त्रमा अति न्यून ब्याजदरको जोखिम देखिएको छ ।विकासशील देशहरूमा भने अर्थतन्त्र अति तात्ने (ओभरहिटिङ) जोखिम देखिएको छ । 'यो नीतिगत रूपमा एकदमै गाह्रो अवस्थामध्ये हो । वास्तवमा मेरो जीवनकालमा मैले देखेकामध्येकै सबैभन्दा जटिल अवस्था छ,’ आर्थिक सहयोग तथा विकास संस्था(ओईसीडी)का प्रमुख एञ्जल गुरियाले भने । रोयटर्स

प्रविधि ईश्वरको विकल्प हुन सक्दैनः पोप

वैशाख ५, भ्याटीकन सिटी (भ्याटीकन सिटी) । रोमन क्याथोलिक इसाईहरूका धर्मगुरु पोप बेनेडिक्टले प्रविधिले ईश्वरीय शक्तिसँग कहिल्यै बराबरी गर्न नसक्ने दाबी गरेका छन् । साथै, प्रविधिमार्फत ईश्वरलाई चुनौती दिन खोजिएमा त्यस्तो घमण्डको लागि दण्डित हुनुपर्ने चेतावनी
दिएका छन् ।पाम सण्डेको अवसरमा लाखौं अनुयायीको सभालाई सम्मेलन गर्दै पोपले त्यस्तो चेतावनी दिएका हुन् । त्यस अवसरमा ८४ वर्षीय पोपले मानिसको ईश्वरसँगको सम्बन्ध प्रस्टयाउँदै  कहिलेकाहीँ प्रविधिले चुनौती दिन खोजेको गुनासो गरे ।

'मानव जाति धेरै थोक गर्न सफल भएको छ । हामी उड्न सक्छौं । पृथ्वीको एउटा कुनामा बोलेको अर्को कुनामा बसेर हेर्न  र सुन्न सक्छौं । तर ,ईश्वरीय शक्ति त्यो भन्दा पनि धेरै शक्तिशाली छ,’ पोपले भने ।प्रविधिको विकाससँगै मानव जीवनमा सुधार आए पनि त्यसबाट धेरै खराब परिणाम पनि आउन सक्नेप्रति पोपले सचेत गराए । रोमन क्याथोलिक धर्मगुरु पोपले कण्डमलगायत कतिपय आधुनिक प्रविधिले ईश्वरीय सृजनामा हस्तक्षेप गरेको बताउँदै आएका छन् । रोयटर्स

युआनलाई एसडीआरमा समावेश गर्न माग

वैशाख ५, वाशिङटन (अमेरिका) । चिनियाँ मुद्रा युआन चाँडै नै अन्तरराष्ट्रिय रूपमै प्रचलित मुद्रा बन्ने चीनको केन्द्रीय बैङ्कका सहायक गभर्नर यि गाङले बताएका छन् । अन्तरराष्ट्रिय मुद्रा कोष (आईएमएफ)को अर्धवार्षिक बैठकमा भाग लिन वाशिङटन आएका बेला यिले त्यस्तो विश्वास व्यक्त गरेका हुन् । उदीयमान बजारको सबैभन्दा प्रचलित मुद्रा युआनलाई आईएमएफको करेन्सी बास्केटमा समावेश गरिनुपर्ने यिको तर्क छ । त्यसका साथै यिले आर्इर्मएफको स्पेशल ड्रइङ राइट्स (एसडीआर)लाई विस्तार गर्नुपर्ने माग राखेका छन् । 'त्यसका लागि ब्रिक्सका सदस्य राष्ट्रहरू प्रमुख दावेदार हुन्,’ यिले भने । ब्रिक्स ब्राजिल, रूस, भारत, चीन र दक्षिण अफ्रिका सम्मिलित उदीयमान देशहरूको समूह हो ।एसडीआरमा हाल डलर, यूरो, येन र स्र्टर्लिङ समाविष्ट छन् । एसडीआरलाई आईएमएफको आन्तरिक सञ्चालनमा छद्म मुद्राका रूपमा प्रयोग गरिन्छ । कतिपय विशेषज्ञले अन्तरराष्ट्रिय मौज्दात मुद्राको रूपमा एसडीआरको भूमिका बढ्दै जाने विश्वास गरेका छन् । एसडीआरमा समाविष्ट हुनका लागि चीन र उसको मुद्रा युआनले सबै आधार पूरा गरेको यिको दाबी छ । रोयटर्स

Admin 2011-04-19