शान्ति र संविधानले निर्धारित समयमा नै पूर्णता पाउला ?
  

लिबियाली विद्रोही त्रिपोलीमा तेलको मूल्य घटयो
भदौ ५, सिङ्गापुर । लिबियाली विद्रोही र सरकारी सेनाबीच राजधानी त्रिपोलीमा भिडन्त भइरहँदा अन्तरराष्ट्रिय बजारमा कच्चा तेलको मूल्य घटेको छ । राजधानी त्रिपोलीको अवस्थाबारे विद्रोही र सरकारी पक्षबाट विरोधाभासपूर्ण समाचार आउँदा खरीदकर्ताहरू कच्चा तेलमा लगानी गर्न अनिच्छुक देखिएका छन् । खरीदकर्ताहरू तेल उत्पादक राष्ट्रहरूको संस्था 'ओपेक'ले कच्चा तेलको उत्पादन बढाउन सक्ने आशामा पनि हालको मूल्यमा तेल खरीद गर्न अनिच्छुक देखिएका बताइएको छ ।

सोमवार कारोबार शुरू भएपछि बे्रण्ट क्रुड प्रतिब्यारेल १ सय ६ अमेरिकी डलरमा झरेको थियो । लण्डनस्थित आईसीई फयुचस एक्सचेञ्जमा सन् २०११ अक्टोबरको ब्रेण्ट क्रुड डेलिभरी मूल्यमा २ दशमलव २७ डलरले कमी आई १ सय ६ दशमलव ३५ डलरमा कारोबार भएको थियो । त्यसैगरी, सिङ्गापुरको मध्य दिनको समयअनुसार न्यूयोर्क मर्कण्टायल एक्सचेञ्जमा सन् २०११ सेप्टेम्बर महीनाको बेञ्चमार्क क्रुडको डेलिभरी मूल्य २१ सेण्टले घट्दै ८२ दशमलव ५ डलर प्रतिब्यारेल पुगेको थियो । त्यस्तै, अन्तरराष्ट्रिय बजारमा नाइमेक्स क्रुडको आगामी अक्टोबर डेलिभरी मूल्यमा ५ दशमलव १ सेण्टले कमी आई प्रतिग्यालन २ दशमलव ६६ अमेरिकी डलरमा कारोबार भएको थियो । त्रिपोलीमा जारी संघर्षका कारण सोमवार प्राकृतिक ग्यास पनि ५ दशमलव ६ सेण्टले घट्दै प्रति १ हजार क्युबिक फिटको मूल्य ३ दशमलव ८८ अमेरिकी डलरमा कारोबार भयो ।

विगत ६ महीनादेखि कर्णोल मुअम्मर गद्दाफी शासनविरुद्ध भइरहेको व्रि्रोह अन्तिम चरणमा पुगेको समाचार आइरहँदा अन्तरराष्ट्रिय बजारमा कच्चा तेलको मूल्य अझै घट्न सक्ने बताइएको छ । गद्दाफी सरकारको पतन भएमा लिबियामा तेलको उत्पादन सुचारु हुने हुँदा खरीदकर्ता र बजार विश्लेषहरू परिस्थितिलाई नजिकबाट नियालिरहेका छन् । सिङ्गापुरस्थित ऊर्जा परामर्शदाता कम्पनी 'पुर्भिन एण्ड गजर्ट'का विश्लेषक भिक्टर शमले गद्दाफी शासनको पतनबाट यूरोपेली बजारहरूलाई पनि प्रत्यक्ष लाभ पुग्ने बताए । उनले विश्व अर्थतन्त्रमा सङ्कट आएको वर्तमान अवस्थामा तेल आपूर्ति बढ्नाले मूल्य घट्ने उल्लेख गरे ।

सन् २०११ फेब्रुअरीमा गद्दाफी शासनविरुद्ध संघर्ष शुरू भएपछि मे महीनामा कच्चा तेलको अन्तराष्ट्रिय बजार मूल्य १ सय १५ अमेरिकी डलर पुगेको थियो । तर, पछिल्ला महीनामा अमेरिका र यूरोजोनमा देखिएको ऋणसङ्कटले कच्चा तेलको मूल्यमा कमी आइरहेको थियो । लिबियामा उत्पादित तेलबाट विश्वभरिको २ प्रतिशत माग मात्र पूरा हुने भए पनि उच्च गुणस्तरका कारण अन्तराष्ट्रिय बजार मूल्यमा प्रत्यक्ष असर गर्ने गरेको छ । एपी/रासस

अष्ट्रेलियन डलरको मूल्य बढ्दा उत्पादनमा असर
भदौ ५, मेलबर्न (सिड्नी) । लगातार बढिरहेको अष्ट्रेलियन डलरको मूल्यका कारण अष्ट्रेलियाको उत्पादनमूलक क्षेत्रलाई असर गरिरहेको छ । अमेरिका र यूरोजोनको ऋणसङ्कटका कारण अमेरिकी डलर र यूरोको मूल्य घट्दा लगानीकर्ताहरू अन्य मुद्रातर्फआकर्षित भएपछि अष्ट्रेलियाको उत्पादन क्षेत्रमा गम्भीर असर पर्न थालेको हो । अष्ट्रेलियन डलरको मूल्यमा आएको वृद्धिले अष्ट्रेलियाको निर्यातमा कमी आउन थालेपछि उत्पादनमूलक क्षेत्र अप्ठयारोमा पर्न थालेको हो । सन् २००८ मा अमेरिकी डलरको तुलनामा सबैभन्दा कम बिन्दुमा ओर्लिएको अष्ट्रेलियन डलरको मूल्य त्यसयता भने ७० प्रतिशतले बढेको छ । उक्त वृद्धि २९ वर्षकै उच्च भएको बताइएको छ ।

निर्यात घट्न थालेपछि सोमवार अष्ट्रेलियाको सबैभन्दा ठूलो स्टील उत्पादक ब्लूस्कोप स्टीलले आफ्नो कम्पनीमा कार्यरत १ हजार कर्मचारी र कामदार हटाउने घोषणा गरेको छ । त्यसका साथै, कम्पनीले आफ्नो उत्पादन क्षमता आधामा झार्ने पनि जानकारी दिएको छ । कम्पनीले कच्चापर्दाथको मूल्यमा भएको वृद्धि र निर्यात घट्नुले आफूहरू यस्तो निर्णय लिन बाध्य भएको बताएको छ । कम्पनीका प्रबन्ध निर्देशक पल ओ' मेलीले अष्ट्रेलियन डलरको मूल्य घटेमा आफूहरूको व्यापार बढ्ने बताए । ब्लूस्कोप स्टीलले गत हप्ता मात्रै कम्पनीले यो वर्ष१ अर्ब १० करोड अमेरिकी डलर घाटा बेहोरेको जानकारी दिएको थियो ।

सोमवार नै अष्ट्रेलियाकी प्रधानमन्त्री जुलिया गिलार्डले एक पत्रकार सम्मेलनमा स्टील उत्पादकहरू अप्ठयारोमा परेको भन्दै अहिलेको समय जटिल रहेको बताइन् । सम्मेलनमा गिलार्डले ब्लूस्कोप स्टीललाई १० करोड अष्ट्रेलियन डलरबराबरको सहायता प्रदान गर्ने पनि घोषणा गरेकी थिइन् । आर्थिक विश्लेषक संस्था मेरिल लिञ्चले सन् २०११ जुन यतामात्रै अष्ट्रेलियाको उतपादनमूलक क्षेत्रमा ७ हजार रोजगारी कटौती भइसकेको बताएको छ । गत हप्ता मात्र कोण्टास एयरलाइन्सले १ हजार कर्मचारी हटाउने घोषणा गरेको थियो ।          एपी/रासस

जापानी मुद्राबजारमा फेरि हस्तक्षेपको तयारी
भदौ ५, टोकियो (जापान) । जापानले मुद्राबजारमा हुने कुनै पनि सट्टेबाजीविरूद्ध कडा कदम चाल्ने त्यहाँका अर्थमन्त्री योशिहिको नोदाले बताएका छन् । त्यसका लागि मुद्राबारेमा जी-७ समूहलगायत अन्य देशसँग पनि सम्पर्क गरिने नोदाले बताए । गत हप्ता जापानी मुद्रा येन हालसम्मकै उच्च बिन्दुमा पुगेपछि सरकारले हस्तक्षेपको तयारी गरिरहेको भन्ने खबरबीच नोदाको टिप्पणी आएको हो ।

नोदालगायत प्रधानमन्त्री र सरकारका उच्च प्रवक्ता युकिओ एडानोले पनि सोमवार दिनभरिजसो नै त्यस्तो धारणा बारम्बार व्यक्त गरेका छन् । त्यसबाट बजारमा सरकारी हस्तक्षेपबारे सरकारले गम्भीरतापूर्वक विचार गरिरहेको सङ्केत मिलेको छ । मुद्राबजारमा हस्तक्षेपको सम्भावनाले सोमवार डलरको मूल्य पछिल्लो साढे एक हप्ताभित्रकै उच्च अर्थात् एक डलरबराबर ७७ दशमलव २३ येन पुगेको छ । तर, मुद्राबजारमा हस्तक्षेपको सम्भावनाले पनि अमेरिकी अर्थतन्त्रको सुस्तीबारेको चिन्तालाई मत्थर पार्न सकेको छैन । सोमवार टोकियोको शेयरबजार निक्केइ ३ महीनायताकै न्यून २ सय २५ बिन्दुमा ओर्लिएको छ । एजेन्सी

पाइपलाइन निर्माणको विरोध
भदौ ५, वाशिङटन (अमेरिका) । अमेरिकी राष्ट्रिपति कार्यालय र प्रशासनिक केन्द्र ⋲वाइटहाउसअगाडि एक प्रस्तावित तेल आपूर्ति लाइनको विरोध गर्दै प्रदर्शन भएको छ । विरोध गरिरहेका ६५ जना प्रदर्शनकारीलाई प्रहरीले पक्राउ गरेको छ । क्यानडाबाट टेक्सासका प्रशोधनशालासम्म तेल ल्याउन निर्माण प्रस्ताव गरिएको किष्टोन एक्सएल पाइपलाइनको विरोधमा वातावरणवादी कार्यकर्ताहरू आइतवार ह्वाइटहाउसअगाडि प्रदर्शन गरिरहेका थिए ।

सात अर्ब डलर लाग्ने बताइएको उक्त पाइपलाइनले स्थानीय वातावरणमा क्षति पुर्याउने भन्दै उनीहरू विरोध प्रदशनमा उत्रिएका थिए । वाशिङटन प्रहरीले उनीहरूलाई आइतवार राति नै जमानतमा रिहा गरिसकेको बताएको छ । वातावरणवादी अभियानकर्ताहरूले आइतवारको प्रदर्शनबाट आफूहरूलाई गिरफ्तार गरिए पनि आगामी दुई हप्तासम्म प्रदर्शन जारी राख्ने बताएका छन् ।

ओबामा प्रशासनले उक्त पाइपलाइन निर्माणलाई सरकारको मुख्य योजनामा राखेको छ । निर्माण पूरा भएपछि उक्त पाइपलाइनबाट दैनिक ७ लाख ब्यारेल तेल टेक्सासको गल्फ कोष्ट रिफाइनरिजहरूसम्म आपूर्ति हुने बताइएको छ ।          एजेन्सी

काहनविरुद्धको मुद्दा खारेज हुने सम्भावना
भदौ ५, न्यूयोर्क (अमेरिका) । अन्तरराष्ट्रिय मुद्रा कोषका पूर्वप्रमुख डोमिनिक स्ट्राउस कहानविरुद्ध चलिरहेको बलात्कार र यौन दुराचारको मुद्दा खारेज हुन सक्ने देखिएको छ । एशोसिएटेड प्रेस (एपी)ले दिएको एक समाचारअनुसार काहनलाई बलात्कारको आरोप लागाउने होटल परिचारिकाले पर्याप्त प्रमाण पेश गर्न नसकेपछि न्यूयोर्कस्थित अदालतका अभियोक्ताहरूले उक्त मुद्दालाई खारेज गर्ने मनस्थिति बनाएको बताइएको छ ।

नाम नखुलाइएका एक अभियोक्ताले अदालतका अधिकारीहरूले सम्भवतः सोमवार नै ती महिलालाई उक्त मुद्दा अब अघि बढाउन नसक्ने जानकारी दिने एपीलाई बताए । नफिसाटोउ दिआल्लो नामकी ती महिलाले दिएका बयान र उनका पुराना रेकर्डहरू हेर्दा उनी सही नभएको पाइएकाले अदालतले यस्तो निर्णर्य गर्न लागेको उनको जिकिर थियो । अदालतले लिन लागेको निर्णयआधिकारिक रूपमा सार्वजनिक नभए तापनि मङ्गलवार हुने सुनुवाइ अन्तिम हुन सक्ने उनले बताए । मुद्दा खारेज हुन सक्ने समाचारहरू आइरहँदा स्ट्राउस काहनका वकिलहरूले भने त्यसबारे बोल्न अस्वीकार गरेका छन् ।

सन् २०११ मे १४ मा ३२ वर्षीया होटल परिचारिका नफिसाटोउ दिआल्लोले बलात्कारको आरोप लगाएपछि मे १८ मा काहन पक्राउ परेका थिए । जुलाई १ मा १० लाख अमेरिकी डलर र थप ५० लाख डलरको ऋणपत्र धरौटीमा राखेपछि काहनलाई न्यूयोर्क छाड्न नपाउने गरी रिहा गरिएको थियो । एपी/रासस

बङ्गलादेशका टेक्सटाइल कारखाना बन्द गर्ने चेतावनी
भदौ ५, ढाका (बङ्गलादेश) । बङ्गलादेशका टेक्सटाइल उत्पादकहरूले थप सरकारी सहुलियतका साथै भारतबाट आयातित धागो र कपडामाथि प्रतिबन्ध नलगाइए कारखाना बन्द गर्ने चेतावनी दिएका छन् । त्यस्तो कदम नचालिए आफूहरू बाच्नै नसक्ने बङ्गलादेश टेक्सटाइल मिल्स एशोसिएशनका प्रेजिडेण्ट जहाँगिर अलामिनले बताए ।

ग्यास र विद्युत्को कमीले गर्दा पनि ती म्यानुफयाक्चरिङ कम्पनीले पूर्ण क्षमतामा काम गर्न नसकिरहेको अलामिनले बताएका छन् । आधाभन्दा बढी कारखाना बन्द भइसकेको र अन्य पनि सेप्टेम्बरमा हुने मुश्लिम चाड इद अल फितरपछि बन्द हुने उनले जानकारी दिए ।  

सरकारले टेक्सटाइल उत्पादकलाई दिँदै आएको निर्यात सहुलियत हालको ५ प्रतिशतबाट बढाएर १५ प्रतिशतमा पुर्याउन नसके अहिलेको प्रतिस्पर्धात्मक अन्तरराष्ट्रिय बजारमा टिक्नै नसकिने जहाँगिरको भनाइ छ । बङ्गलादेशमा सुती निर्यात गर्दै आएको भारतले उसको व्यापार नीतिलाई मागअनुसार निरन्तर परिवर्तन गर्ने तर बङ्गलादेशले त्यस्तो कुनै उपाय नअपनाउने भएकाले पनि टेक्सटाइल क्षेत्रमा अस्वस्थ प्रतिस्पर्धा हुन पुगेको अलामिनको दाबी छ ।            एजेन्सी

भारत तेस्रो ठूलो अर्थतन्त्र हुन सक्नेः सिंह
भदौ ५, कोलकाता (भारत) । हालकै आर्थिक वृद्धिदर कायम रहेमा भारत सन् २०२५ सम्ममा विश्वकै तेस्रो ठूलो अर्थतन्त्र बन्ने प्रधानमन्त्री मनमोहन सिंहले दाबी गरेका छन् । कोलकोतामा इण्डियन इन्षिटच्युट अफ म्यानेजमेण्टको स्वर्णनयन्ती समारोहलाई सम्बोधन गर्दै सिंहले त्यस्तो दाबी गरेका हुन् । अघिल्लो ५ वर्षमा ८ दशमलव २ प्रतिशतको वृद्धि हासिल गरिसकिएकाले आगामी ५ वर्षमा ९ प्रतिशतको लक्ष्य त्यति अप्ठयारो नदेखिनु स्वाभाविक रहेको सिंहले बताए । तर, विश्व अर्थतन्त्रको वर्तमान अवस्थामा आगामी ५ वर्षका लागि ९ प्रतिशतको वृद्धिदर लक्ष्य राखिनु अति महत्त्वाकाङ्क्षी रहेको सिंहले स्वीकार गरेका छन् ।
    
मनमोहन सिंहलाई भारतको आर्थिक सुधार कार्यक्रमको प्रवर्तक मानिन्छ । सन् १९९१ देखि १९९६ सम्म उनले लागू गरेको सुधार कार्यक्रम शुरूमा विवादास्पद रहे पनि त्यसपछि अन्य सरकारले समेत उनको कार्यक्रमलाई पछयाएका छन् । क्रमबद्ध रूपले लागू गरिएकाले आर्थिक सुधार कार्यक्रमको असर देखिन समय लागेको सिंहले बताए । तर, अन्ततः ती कार्यक्रमले सकारात्मक प्रभाव पारेको स्पष्ट भइसकेको सिंहले दाबी गरे ।        एजेन्सी

चाइना कन्ष्ट्रक्शन बैङ्कको अर्धवार्षिक नाफा ३१ प्रतिशतले बढयो
भदौ ५, साङ्र्घाई (चीन) । चीनको चाइना कन्ष्ट्रक्शन बैङ्कले सन् २०११ को पहिलो ६ महीनामा ३१ प्रतिशत नाफा आर्जन गरेको छ । बैङ्कले आइतवार जारी गरेको सन् २०११ को अर्धवार्षिक प्रतिवेदनमा जनवरी-जुन अवधिमा ९२ अर्ब ८० करोड युआन (१४ अर्ब ५० करोड अमेरिकी डलर) खुद मुनाफा भएको बताइएको छ । सन् २०१० को यही अवधिमा बैङ्कले ७० अर्ब ८० करोड युआन (११ अर्ब ६० करोड अमेरिकी डलर) नाफा आर्जन गरेको थियो । प्रतिवेदनमा ब्याजबाट प्राप्त आम्दानीमा २४ प्रतिशतले वृद्धि भएको उल्लेख छ । त्यसैगरी, सेवा शुल्क र कमिशनबाट प्राप्त आम्दानी ४२ प्रतिशतले बढ्दै ४७ अर्ब ७० करोड युआन (७ अर्ब ५० करोड अमेरिकी डलर) पुगेको प्रतिवेदनमा बताइएको छ । जनवरी-जुन अवधिमा घरजग्गा र साना व्यापार कर्जा क्रमशः ४ दशमलव १ प्रतिशत र ९ दशमलव ५ प्रतिशतले बढेको पनि बैङ्कले बताएको छ । शुल्क र ब्याजदर बढ्नुका साथै स्रोतको विविधीकरणसमेत गरेकाले आम्दानी बढ्न पुगेको राज्यनियन्त्रित उक्त बैङ्कको भनाइ छ ।

कन्ष्ट्रक्शन बैङ्कले खासगरी पूर्वाधार र घरजग्गाको क्षेत्रमा लगानी गर्दछ । अर्धवार्षिक प्रतिवेदन सार्वजनिक भएपछि बैङ्कले ऋणग्रस्त रहेका स्थानीय सरकारको लगानी संस्थाहरूलाई दिँदै आएको ऋणमाथि पनि नियन्त्रण गरेको बताएको छ । साथै, फलाम, स्टील, कोइला र प्लेट ग्लासजस्ता सरकारले पहिचान गरेका ठूला उद्योगलाई दिँदै आएको ऋणमाथि कडा नियन्त्रण गरिएको बैङ्कले बताएको छ । तर, साना र मध्यमस्तरका कम्पनीहरूलाई भने ऋण बढाइएको बैङ्कले जानकारी दिएको छ । राज्य नियन्त्रित चाइना कन्ष्ट्रक्शन बैङ्क चीनको तस्रो ठूलो व्यावसायिक बैङ्क हो । एपी/रासस

थाई अर्थतन्त्र दोस्रो त्रैमासमा खुम्चियो
भाद्र ५, बैङ्कक (थाइल्याण्ड) । थाइल्याण्डको अर्थतन्त्र अप्रिलदेखि जुनसम्मको दोस्रो त्रैमासमा अघिल्लो त्रैमासको भन्दा शून्य दशमलव २ प्रतिशतले खुम्चिएको छ । साथै, उसले २०११ को आर्थिक वृद्धिबारेको ३ दशमलव ५ देखि ४ दशमलव ५ प्रतिशतको पहिलाको पूर्वानुमानलाई ३ दशमलव ५ देखि ४ प्रतिशतमा झारेको छ । गाडी उत्पादनमा कमी आएपछि दोस्रो त्रैमासको वृद्धिदर खुम्चिएको हो । थाइल्याण्ड टोयोटा मोटर कर्पोरेशन र जनरल मोटस कम्पनीजस्ता गाडी उत्पादन कम्पनीको दक्षिण एशियाली केन्द्र हो । ती कम्पनीका कार उत्पादन दोस्रो त्रैमासमा १ दशमलव ५ प्रतिशतले खुम्चिएको थियो । जापानमा गत मार्चमा आएको सुनामीपछि गाडीको पार्टपुर्जाको आपूर्ति खुम्चिएपछि थाइल्याण्डमा पनि गाडीको उत्पादन घटेको थियो । थाइल्याण्ड दक्षिणपूर्वी एशियाको दोस्रो ठूलो अर्थतन्त्र  हो ।              एपी/रासस

युरोपेली बैङ्कद्वारा सरकारी बण्ड खरीद
भदौ ५, फ्रान्कर्फट र्(जर्मनी) । यूरोपियन सेण्ट्रल बैङ्कले गत हप्ता ऋण सङ्कटग्रस्त यूरोपेली सरकारका १४ अर्ब ३० करोड यूरो (२० अर्ब ६० करोड डलर) बराबरको बण्ड खरीद गरेको छ । त्यसअघिको हप्तामा भने बैङ्कले २२ अर्ब यूरो बराबरको बण्ड खरीद गरेको थियो ।

वित्तीय बजारहरूमा इटालियन र स्पेनिश बण्ड खरीद गरेपछि तिनको ऋणदर ओर्लेको छ । यूरोपेली अधिकारीहरू बण्ड खरीदको साटो ऋणमोचन कोष स्थापना गर्न चाहन्छन् । तर, त्यसका लागि राष्ट्रिय संसद्हरूबाट अनुमतिका प्राप्त गर्न यस वर्षो शरदयामसम्म पर्खनुपर्नेछ ।

त्यसपछि बजारको सङ्कट सामना गर्ने जिम्मेवारी केन्द्रीय बैङ्कमाथि आइपरेको छ । २०१० को मे महीनामा कार्यक्रम शुरू भएपछि गत हप्तासम्म बैङ्कले यूरोजोन सरकारका १ खर्ब १० अर्ब ५० करोड यूरो खरीद गरिसकेको छ । एपी/रासस

विश्वका शेयरबजारको अवस्था मिश्रति
भदौ ५, लण्डन (बेलायत) । सोमवार विश्वका प्रमुख शेयर सूचकाङ्कमा मिश्रति प्रतिक्रिया देखिएको छ । जापानको निक्केइ, दक्षिण कोरियाको कोस्पी, चीनको साङ्र्घाई कम्पोजिट अघिल्लो दिनभन्दा घटेर क्रमशः ८ हजार ६ सय २८, १ हजार ७ सय १० र  २ हजार ५ सय १५ अङ्कमा बन्द भएका थिए । हङकङस्थित ⋲याङशेङ भने शून्य दशमलव ५ प्रतिशतले बढेको थियो ।

बेलायतको एफटीएसइ, जर्मनीको डीएएक्स र फ्रान्सको सीएसी क्रमशः १ दशमलव १, शून्य दशमलव ४ र १ दशमलव ५ प्रतिशतले बढेका थिए । अमेरिकी शेयर सूचकाङ्कहरूमा सोमवारको शुरुवाती कारोबारमा डाउ जोन्स, एस एण्ड पी ५०० र नाष्डाक कम्पोजिट क्रमशः १ दशमलव ६३, १ दशमलव ७७ र २ दशमलव शुन्य २ प्रतिशतले वृद्धि भयो ।  एजेन्सीहरू

Admin 2011-08-23