खाद्यवस्तुको महँगीबाट एशियामा सङ्कटको आशङ्का
खाद्यवस्तुको बढ्दो महँगीका कारण भारतीयहरूले मासु र तरकारी खान कटौती गरिरहेका छन् । इण्डोनेशियामा मासुभन्दा खुर्सानी महँगो भएपछि त्यहाँका राष्ट्रपतिले आफूलाई चाहिने खुर्सानी आफै उब्जाउन जनतालाई आह्वान गरे । त्यसैगरी चीनका रेष्टुराँ सञ्चालकहरू महँगीका कारण व्यवसाय नै चौपट भएको बताउँछन् । खाद्यवस्तुको भाउ चर्किंदा एशियाभरि नै महँगी बढिरहेको छ । त्यसबाट २००८ को विश्वव्यापी खाद्यसङ्कटकै जस्तो अवस्था आउने आशङ्का बढेको छ । अमेरिका र अन्य धनी पश्चिमा देशका जनतालाई खाद्यवस्तुको महँगीबाट खासै समस्याको अनुभव नहुन सक्छ । तर, एशियाका करोडौं मानिसलाई पर्याप्त खान पाउनु पनि ठूलो समस्या भएको छ । किनभने एशियाका गरीब परिवारले आफ्नो आम्दानीको आधाभन्दा बढी हिस्सा खानामा मात्रै खर्च गर्नुपर्छ ।महँगीका कारण सामाजिक अशान्ति आउने आशङ्काले सरकारहरू चिन्तित भएका छन् । खाद्यवस्तुको महँगी अर्थतन्त्रको अन्य हिस्सामा नफैलियोस् भन्नेतर्फ प्रयास भइरहेको छ । मुद्रास्फीति घटाउन ब्याजदर बढाउने विषयमा अधिकारीहरू अन्योलग्रस्त देखिन्छन् । किनभने छिटोछिटो ब्याजदर बढाउँदा आर्थिक वृद्धिलाई असर गर्छ । फेरि, थोरै पनि ढिला भयो भने महँगी नियन्त्रणबाहिर जान सक्छ । खाद्यवस्तुको महँगी किन बढयो भन्ने विषयमा चर्को बहस भइरहेका छन् । महँगीको कारणबारे देशैपिच्छे आ-आफ्नै व्याख्या आइरहेका छन् । तर, धेरै कारणमध्ये एउटा बारम्बार दोहोरिन थालेको मौसम खराबीमा सबै एकमत देखिन्छन् । अष्ट्रेलिया, पाकिस्तान र भारतमा बाढीले र अर्जेण्टिना, चीन र पूर्वी यूरोपमा खडेरीले खाद्यवस्तुको मूल्य चर्काउन मद्दत गरेका छन् ।
खाद्यवस्तुको विश्वव्यापी मूल्य खतरनाक बिन्दुमा पुगिसकेको विश्व बैङ्कले चेतावनी दिएको छ । गत १ वर्षभित्रैमा खाद्यवस्तुको महँगी २९ प्रतिशतले बढेपछि बैङ्कले त्यस्तो चेतावनी दिएको हो । साथै, मकै, गहुँ र तेलको महँगी बढ्नाले गत जुन महीनापछि मात्रै ४ करोड ४० लाख मानिसलाई अति गरीबीको अवस्थामा पुर्याएको बैङ्कले बताएको छ । कतिपय ठाउँमा राजनीतिक अस्थिरताले खाद्यवस्तुको भाउ बढाइरहेको छ । आईभोरी कोष्टको राजनीतिक अस्थिरताले जनवरीमा मात्रै चकलेटको मूल्यमा १२ प्रतिशत वृद्धि भएको छ । खाद्यवस्तुको भाउ चर्किनुमा एशियाको बढ्दो मध्यम वर्ग पनि हो । आम्दानी बढ्दै जाँदा उनीहरू धेरै र थरिथरिका भोजन खान खोज्छन् । खाद्यवस्तुको महँगी उच्च बिन्दुमा पुग्न अझै बाँकी नै रहेको तर्फ अर्थशास्त्रीहरूले चेतावनी दिएका छन् । एपी/रासस
द. कोरियामा दुइ बचत बैङ्क खारेज
फागुन ५, सियोल (दक्षिण कोरिया) । दक्षिण कोरियाको वित्तीय सेवा आयोग (एफएससी)ले त्यहाँको सबैभन्दा ठूलो बचत बैङ्क ६ महीनाका लागि खारेज गरेको छ । एफएससी दक्षिण कोरियाको वित्तीय नियामक निकाय हो । त्यसका साथै घरजग्गा ऋणले असर गरेका अन्यलाई टेवा दिनेतर्फ कदमहरू चालिने घोषणा पनि गरेको छ ।सम्पत्तिको आधारमा देशकै सबैभन्दा ठूलो बचत बैङ्क बुसन बचत बैङ्क र त्यससँग आबद्ध डेजन म्युचुअल सेभिङस बैङ्कको कारोबार खारेज गरिएको बिहीवार बताइएको हो । गत महीना पनि नियामकहरूले पूँजीसम्बन्धी नियमहरू पूरा गर्न नसकेको भन्दै साम्हवा म्युचुअल सेभिङस बैङ्कलाई तत्कालका लागि बन्द गरेका थिए ।देशका १ सय ५ मध्ये ९४ ओटा सेभिङस बैङ्कहरूले पूँजीसम्बन्धी मापदण्ड पूरा गरेकाले थप बैङ्कहरूलाई खारेज गर्नु नपर्ने एफएससीको अपेक्षा छ । बचतकर्ताहरूले ती बैङ्कमाथि विश्वास नगुमाउन्जेल यस वर्षको पूर्वाद्धसम्म थप बैङ्कलाई खारेजीमा राख्नु नपर्ने एफएससीको अनुमान छ । एएफपी/रासस
चीनमा विदेशी लगानी बढयो
फागुन ५, बेइजिङ (चीन) । चीनमा भएको प्रत्यक्ष विदेशी लगानी जनवरीमा गतवर्षको भन्दा २३ दशमलव ४ प्रतिशतले बढेको त्यहाँको सरकारले बिहीवार बताएको छ । जनवरीमा १० अर्ब ३ करोड डलरको विदेशी लगानी भित्रिएको चीनको वाणिज्य मन्त्रालयका प्रवक्ता याओ जिआनले बताएका छन् । तरलता घटाउन र मुद्रास्फीति नियन्त्रण गर्ने सरकारी अभियान यथावत् भए पनि विदेशी लगानीमा वृद्धि भएको हो ।गत अगस्तमा भने विदेशी लगानीमा तीव्र कमी आएको थियो । तर, त्यसपछि आर्थिक वृद्धिदर केही सुस्त बनाउने सरकारी प्रयासका भए पनि विदेशी लगानी बढिरहेको छ । गत हप्ता पनि चार महीनायता तेस्रोपटक ब्याजदर बढाइएको थियो । एएफपी/रासस
Admin 2011-02-18