जापानको अर्थतन्त्र पुन: मन्दीतर्फ
जेठ ५, टोकियो (जापान) । जापानको अर्थतन्त्र पहिलो त्रैमासमा अपेक्षाभन्दा पनि बढी खुम्चिएर मन्दीतर्फ लागेको छ । मार्चमा भूकम्प, सुनामी र आणविक सङ्कटको तेहरो मारले व्यवसाय र उपभोक्ता खर्च बढ्नुका साथै आपूर्ति सञ्जाल पनि भत्किएपछि अर्थतन्त्र मन्दीतर्फलागेको हो ।जापानको केन्द्रीय बैङ्क बैङ्क अफ जापानले वर्षको उत्तरार्द्धबाट अर्थतन्त्र फेरि वृद्धितर्फलाग्ने अपेक्षा गरेको छ । तर, पहिलो त्रैमासको कुल गार्हस्थ्य उत्पादन आर्श्चर्यजनक रूपले अन्त्यन्त कम देखिएकाले अर्थतन्त्रको पुनर्बहाली अपेक्षा गरेभन्दा पनि सुस्त रहने कतिपय अर्थशास्त्रीहरूको धारणा छ । उत्पादनकर्ताहरू आपूर्ति सञ्जालको मरम्मतका लागि प्रयासरत रहे तापनि गर्मीयामका बेला ऊर्जा सङ्कटको आशङ्का र जारी आणविक सङ्कटले जोखिम यथावत् नै देखिन्छ ।कारखानाहरूको उत्पादन घटनाले कच्चा पदार्थको मौज्दात खस्कनुका साथै आयातमा तीव्र वृद्धि भएको छ । त्यति हुँदाहुँदै पनि आज शुक्रवारदेखि शुरू हुने भएको केन्द्रीय बैङ्कको दुईदिने बैठकले मौद्रिक नीतिलाई स्थिर बनाइराख्नेबारे निर्णयगर्ने अर्थविद्हरूको अनुमान छ । त्यसका साथै भूकम्पको प्रभाव सोचेभन्दा पनि बढी समयसम्म रहेको खण्डमा भने बैङ्कले मौद्रिक नीतिलाई खुकुलो बनाउन तयार हुनुपर्ने पनि अर्थविद्हरूको अपेक्षा छ । एजेन्सी
विश्वकै ठूलो जलविद्युत् बाँधमा खडेरीको प्रभाव
जेठ ५, साङ्र्घाई (चीन) । विश्वकै ठूलो जलविद्युत् परियोजना थ्री गर्जेज डयाम प्रोजेक्टमा गम्भीर समस्या देखिएको चीनले स्वीकार गरेको छ । त्यसैले तत्काल प्रदूषण नियन्त्रणतर्फकदम चाल्नुका साथै पुन:स्थापना र प्रकोप व्यवस्थापनमा पनि सुधार गर्नुपर्ने चीनले बताएको छ ।चीन सरकारद्वारा बिहीवार प्रकाशित एक विज्ञप्तिमा थ्री गर्जेजलाई अझ बढी स्वच्छ, सुरक्षित र दिगो बनाउनेतर्फो मार्गचित्र प्रस्तुत गरेको छ । थ्री गर्जेज परियोजनाअन्तर्गत याङ्ग्जे नदीको एउटा सुन्दर क्षेत्रमा बाँध निर्माण गरेर ६ सय ६० किलोमिटर लामो जलाशय निर्माण गरिएको छ । हाल त्यस क्षेत्रमा परेको खडेरीले गर्दा नदीमा पानीको सतह कम हुन जाँदा जहाज आवागमन पनि ठप्प भएको छ । यस प्रकार २३ अर्ब डलरको उक्त परियोजनामा देखिएको समस्या समधानका लागि चिनियाँ अधिकारीहरू संघर्षरत देखिन्छन् । एपी/रासस
कानको आईएमएफ प्रमुखबाट राजीनामा
जेठ ५, वाशिङटन (अमेरिका) । अन्तरराष्ट्रिय मुद्राकोष (आईएमएफ) प्रमुख डोमिनिक स्ट्राउस कानले आफ्नो पदबाट राजीनामा गरेका छन् । आफूमाथि न्यूयोर्कमा चलिरहेको यौन दुर्व्यवहारको मुद्दामा ध्यानकेन्द्रित गर्ने उद्देश्यले राजीनामा दिएको उनले बताएका छन् ।आईएमएफको कार्यकारी बोर्डले बुधवार कानले बोर्डलाई पठाएको पत्र सार्वजनिक गरेको थियो । पत्रमा कानले आफूमाथि लागेको आरोपलाई अस्वीकार गर्दै राजीनामा गर्न बाध्य भएकोमा खिन्नता व्यक्त गरेका थिए । हाल आफूले आफ्नो परिवार, केटाकेटी, साथीभाइका साथै कोषस्थित आफ्नो सहकर्मीलाई समेत सम्भिmरहेको पत्रमा कानले लेखेका छन् । साथै, विगत ३ वर्षमा आफूहरूले निकै उपलब्धि हासिल गरेको भन्दै आफूले कोषलाई बचाउन पनि चाहेको कानको भनाइ छ ।
पत्रमा कानले आफूमाथि लागेको आरोपको कडा खण्डन गर्दै सम्पूर्ण शक्ति लगाएर आफ्नो निर्दोषिता प्रमाणित गर्ने बताए । राजीनामाका लागि बढ्दो अन्तरराष्ट्रिय दबाबबीच बिहीवार जमानतबारेको सुनुवाइ हुनुअघि नै कानले राजीनामा दिएका हुन् । न्यूयोर्कस्थित होटेलको महिला कर्मचारीलाई दुर्व्यवहार र बलात्कार प्रयासको आरोप कानमाथि लागेको छ । कान भाग्न सक्ने आशङ्कामा हाल उनलाई न्यूयोर्कको एउटा जेलमा राखिएको छ । एपी/रासस
एचएसबीसीको चीन र भारतस्थित कारोबार कायमै
जेठ ५, हङकङ (चीन) । यूरोपको सबैभन्दा ठूलो बैङ्क एचएसबीसी होल्डिङग्सले भारत र चीनमा रहेको आफ्नो खुद्रा बैङ्किङ सञ्चालनबाट रकम गुमाइरहेको बताएको छ । तर, आफूलाई चिनियाँ मुद्रा युआन र भारतीय मुद्रा रुपैयाँको निक्षेप आवश्यकता पर्ने भएकाले ती देशमा रहेको आफ्नो व्यवसाय कायमै राख्ने बैङ्कका कार्यकारीले बिहीवार बताएका छन् । एचएसबीसीका प्रमुख कार्यकारी स्टुआर्ट गुलिभरले हङकङमा भइरहेको बैङ्कको शेयरहोल्डर बैठकका बेला उक्त जानकारी दिएका हुन् ।यसै महीनाको शुरूमा बैङ्कले आफ्नो खुद्रा बैङ्किङ व्यवसायलाई हटाउनुका साथै अमेरिकी क्रेडिट कार्डको व्यवसाय गर्ने अङ्गलाई पनि विक्री गर्ने बताएको थियो । त्यसबाट आफ्नो सञ्चालन खर्चमा ३ अर्ब ५० करोड डलर बचत हुन गई घट्दै गइरहेको मुनाफामा सुधार हुने बैङ्कले बताएको थियो । एजेन्सी
चीनमा निर्मित खेलौनामा खतरनाक रसायन
जेठ ५, हङकङ (चीन) । वातावरण संस्था ग्रीनपीसले मुख्यभूमि चीन र हङकङमा विक्रीमा राखिएका केटाकेटीका कतिपय खेलौनामा खतरनाक रसायन भेटिएको बताएको छ । त्यस्ता रसायनले हर्मोन र प्रजनन प्रणालीमा नोक्सान पुर्याउने भएकाले तत्काल प्रतिबन्ध लगाउन ग्रीनपीसले सरकारी अधिकारीहरूलाई आग्रह गरेको छ ।चीनका चार शहरमा खरीद गरिएका ३० ओटा खेलौनाको स्वतन्त्र प्रयोगशालामा परीक्षण गर्दा २१ ओटा खेलौनामा फथालेट्स भनिने रसायन भेटिएको ग्रीनपीसको भनाइ छ । ती सबै खेलौना मुख्यभूमि चीनमा बनाइएका थिए ।
यूरोपियन युनियन र अमेरिकाले केटाकेटीको खेलौनामा ६ किसिमका फथालेट्स रसायनको प्रयोगमाथि प्रतिबन्ध लगाएका छन् । तर, चीन र हङकङका केटाकेटीहरू भने अझै पनि त्यस्ता खतरनाक रसायनको जोखिममा रहेको ग्रीनपीसले सचेत गराएको छ । कुनै पनि कुरालाई मुखमा हाल्ने केटाकेटीहरूको स्वभाव हुने भएको त्यस्ता खेलौनाले उनीहरूको प्रणालीगत विकासमा हानि पुर्याउने संस्थाले स्पष्ट गरेको छ ।विगत केही वर्षभित्र अमेरिका र अष्ट्रेलियाबाट लाखौं चिनियाँ खेलौनाहरू फिर्ता पठाइएको थियो । त्यसैगरी, बोस्नियाका अधिकारीहरूले पनि २००९ मा चीनमा निर्मित केटाकेटीहरूको खेलौना पुतलीमा हानिकारक रसायन रहेको भन्दै तिनलाई नष्ट गरेका थिए । एएफपी/रासस
Admin 2011-05-20