इण्डोनेसियाको चर्चित भ्रष्टाचार मुद्दामा फैसला
माघ ५, जकार्ता (इण्डोनेसिया) । इण्डोनेसियाको सबैभन्दा चर्चित भ्रष्टाचार काण्डको केन्द्रमा रहेका अभियुक्त गेयुस ताम्बुनानलाई बुधवार ७ वर्षको जेलसजाय सुनाइएको छ । ठूला कम्पनीहरूलाई कर छल्न सहयोग पुर्याउन कम्तीमा २७ लाख डलर घूस खाएको आरोप ताम्बुनानमाथि लागेको थियो । एक वर्षअघि पक्राउ परेका तम्बुनानले आफूलाई राखिएको जेलबाट घूस ख्वाएर कम्तीमा ६८ पटकबाहिर निस्कनसमेत सफल भएको अधिकारीहरूले बताएका छन् । उनीमाथि चलेको कारबाहीबारे फेसबूक र टि्वटरजस्ता सामाजिक सञ्जालमा महीनौंसम्म चर्चा भएको थियो । विश्वकै सबैभन्दा भ्रष्टाचार हुने देशमध्येको एक इण्डोनेसियामा ताम्बुनानले खाएको घूस तुलनात्मक रूपले सानो रकम नै हो । तर, सरकारी अधिवक्ता, प्रहरी र भन्सारका वरिष्ठ अधिकृतदेखि वन्यजन्तु आरक्षका प्रमुख तथा न्यायाधीशसम्म मुछिएकाले उक्त काण्ड चर्चित भएको हो । न्यायाधीशले तम्बुनानलाई ७ वर्षको जेलका साथै ३० हजार डलर जरीवाना घोषणा गरेका छन् । न्यायाधीशको घोषणालाई इण्डोनेसियाका प्रमुख टेलिभिजन तथा रेडियो स्टेशनहरूले प्रत्यक्ष प्रसारण गरेका थिए । मध्यमस्तरको कर अधिकृतका रूपमा १ हजार ३ सय डलर प्रतिमहीना तलब मात्र पाउने गरेका तम्बुनानलाई दिइएको सजाय अपुग हुने प्रतिक्रिया जनस्तरबाट आएको छ । उनलाई कम्तीमा २० वर्षको सजाय दिनुपर्ने माग गरिएको थियो । आफूले एक दर्जनभन्दा बढी कम्पनीबाट घूस खाएको तम्बुनानले स्वीकार गरेका छन् । तर, तम्बुनानले आफू 'सानो माछा’ भएकाले अन्यायमा परेको भन्ने जिकीर पनि गरेका छन् । तम्बुनानले सरकारी अधिवक्ता, उच्चतहका कर अधिकृतदेखि सेनाका जनरलसम्मको नामै किटेर उनीहरूलाई किन कारबाही नगरेको भन्ने प्रश्न अदालतमा उठाएका थिए । एपी/रासस
अमेरिकी चेम्बरको चीनसँग व्यापार गुनासो
माघ ५, साङ्र्घाई (चीन) । अमेरिकी कम्पनीहरूका लागि चीन प्रमुख बजार भए तापनि प्रतिलिपि चोरी, 'लालफिताशाही' जस्ता समस्याले गम्भीर बाधा पुर्याएको साङ्र्घाईस्थित अमेरिकन चेम्बर अफ कमर्शले बताएको छ । चिनियाँ राष्ट्रपति हु जिन्ताओको वाशिङटन भ्रमणसँगै चेम्बरले जारी गरेको वार्षिक सर्वेक्षण रिपोर्टमा त्यस्तो धारणा आएको छ । बुधवार जारी प्रतिवेदनको तथ्याङ्कले अमेरिकी कम्पनीहरूले द्रुतगतिमा वृद्धि भइरहेको चिनियाँ बजारबाट हालसम्मकै उच्च नाफा हासिल गरिरहेको देखाएको छ । तर, चीन अझै पनि चुनौतीपूर्ण व्यापार गन्तव्य रहेको र्सर्वेक्षणमा सहभागी कम्पनीहरूले गुनासो गरेका छन् । हुले चिनियाँ व्यापारिक नेताहरूसँगै अमेरिका भ्रमण गरिरहेका बेला चेम्बरले व्यापार वृद्धि तथा स्वच्छ प्रतिस्पर्धामा देखिएको समस्या समाधान गर्न आग्रह गरेको छ । उक्त सर्वेक्षणमा चीनमा व्यापार गरिरहेका ३ सय ४६ ओटा कम्पनी सहभागी भएका थिए । तीमध्ये ९० प्रतिशत कम्पनीले २०१० मा उनीहरूको आम्दानी बढेको र ८० प्रतिशत कम्पनीले उनीहरू नाफामा रहेको बताएका थिए । सहभागीमध्ये ५० प्रतिशतले भने गत वर्ष विश्वका अन्य भागमा भन्दा चीनमा धेरै नाफा भएको बताएका थिए । एपी/रासस