फेडको अधिकारमाथि हालसम्मकै कडा चुनौती
मङ्सिर ५, अमेरिका (वाशिङटन) । अमेरिकाको फेडरल रिजर्भले अमेरिकी अर्थतन्त्रको पुनरुत्थानमा सघाउन अर्बौं मूल्यको डलर छाप्दै छ । तर राजनीतिज्ञहरुले केही गर्न नसकेको वा गर्न नचाहेका बेलामा उसको अधिकारमाथि दशकौंपछि कडा चुनौती देखा परेको छ ।दृढतापूर्वक अमेरिकी अर्थतन्त्रमा ६ खर्ब डलर प्रवाह गर्न थालेको केही हप्तामै फेड आलोचनाको केन्दविन्दुमा रहेको छ । फेडका अध्यक्ष बेन बर्नान्कीलाई अमेरिकी निर्यात सस्तो बनाउन डलरको जथाभावी अवमूल्यन गरेर विश्व व्यापारलाई खल्बल्याएको र त्यस्तै कदमहरु चीनले चाल्दा आलोचना गरेर पाखण्ड देखाएको आरोप देशबाहिरबाट लागेको छ । देशभित्र पनि कङ्ग्रेसको चुनावमा भएको विजयबाट उत्साहित आलोचकहरुले फेडलाई दीर्घकालीन मुद्रास्फीति गराएको र सामान्य अमेरिकीहरुलाई मूल्य वृद्धिको मारमा पारेको आरोप लगाएका छन् ।पूर्वअध्यक्ष्य एलन ग्रीनस्पानको मातहतमा रहँदा केन्द्रीय बैङ्कको निकै आदर थियो । तर विशाल मन्दीलाई रोक्न नसकेको भन्ने आरोपले गर्दा त्यो आदर अब निकै पुरानो स्मृतिमा सीमित भएको छ ।
फेडका पूर्वअधिकारीहरु पनि उक्त आदरणीय संस्था १९८० पछि हालसम्मकै सबैभन्दा धेरै आलोचित भएको स्वीकार गर्दछन् । त्यतिखेर चाहिँ बढ्दो बेरोजगारीको साटो मुद्रास्फीतिमा केन्द्रित भएको भनेर फेडका अधिकारीहरुको आलोचना गरिन्थ्यो । अचेल भने रोजगारमा मात्र केन्द्रित भएको भनेर फेडको आलोचना हुने गर्दछ । गहिरिंदो नीतिगत विवादबाट दिक्क भएका बरनान्कीले बोल्न नचाहेको एउटा सत्य के हो भने बैङ्कले आर्थिक उत्प्रेरणाका लागि चाहिने रकमको लागि नीतिनिर्माताहरुको स्वीकृति बाटो पर्खिराखेको भए ठूलै सङ्कट आउन सक्ने थियो । तर स्वतन्त्र विश्लेषकहरुका अनुसार विवादको कारण नीतिगत हुनुका साथै राजनीतिक पनि छ । 'फेडको पछिल्लो कदम मौद्रिक नीतिको बाटो छोडेर वित्तीय नीतितर्फलागेको छ जुन संसद् र राष्ट्रपतिको कार्यक्षेत्र हो,’ फेडका एक पूर्व अर्थशास्त्री फिलिप स्वागेलले भने ।'कङ्ग्रेसले वित्तीय आर्थिक उत्प्रेरणाको विषयमा छलफल गरेर त्यसको स्वीकृति नदिने निर्णय गरेको अवस्थामा सदस्यहरुबाट फेडको उक्त कदमको आलोचना हुनु स्वाभाविक छ’, स्वागेलले भने । तर फेडका एक अर्का पूर्वअधिकारी भिन्सेण्ट रेइनहार्टका अनुसार, फेडको सीमा नघाईबाट एकातिर कङ्ग्रेस चिढिएको छ । अर्कोतिर यसले निर्वाचित प्रतिनिधिहरुलाई उनीहरुको अकर्मण्यता र उत्पन्न अप्ठेरोबाट जोगाइदिएको पनि छ । एएफपी रासस
न्यूज कर्पोरेशन 'आईप्याड’ का लागि अखबारको तयारीमा
मङ्सिर ५, अमेरिका (वाशिङटन) । महीनौंको गोप्य छलफलपछि रुपर्ट मुर्डोकको न्यूज कर्पोरेशनले आईप्याडको लागि 'द डेली’ भन्ने डिजिटल पत्रिका निकाल्ने अन्तिम तयारीमा पुगेको खुलासा भएको छ । अष्ट्रेलियामा जन्मेका मिडिया बादशाह मुर्डोकले उनकै आफ्नै फक्स बिजनेस नेटवर्कसँगको अन्तर्वार्तामा गत हप्ता पहिलोपटक उक्त कुराको खुलासा गरेका छन् । द्रुतविस्तार भइरहेको उनको सञ्चार र मनोरञ्जन कम्पनीले कुन चाहिं रोचक परियोजनामा काम गरिरहेको छ भन्ने प्रश्नको जवाफमा ७९ वर्षीय मुर्डोकले द डेली रहेको बताए, तर एप्पलको टचस्क्रीन ट्याब्लेट कम्प्यूटरका लागि निकालिने उक्त समाचारपत्रका बारेमा थप कुरा बताएनन् । उक्त परियोजनाका बारेमा अमेरिकी सञ्चारजगतमा हप्तौंदेखि निकै चर्चा चलिरहेका छन् ।समाचारपत्र, आईप्याड र अनलाइन सामग्री हेरेबापत पाठकहरुसँग शुल्क लिने मुर्डोकको तीन रुचिहरुको 'डेलीमा’ सम्मिश्रण हुने बताइन्छ ।
जन्मस्थान अष्ट्रेलियामा एउटा समाचारपत्रबाट शुरु भएको मुर्र्डोकको व्यवसाय टेलिभिजन, चलचित्र, र पुस्तक प्रकाशनमा फैलिसकेको छ । तर पनि मुर्डोक समाचारपत्र नै आफ्नो सबैभन्दा गहिरो रुचि भएको बताउँछन् । साथै, मुर्डोकलाई आईप्याड असाध्यै मन पर्छ जसलाई उनी संघर्षरत समाचारपत्र उद्योगको सम्भावित जीवनदाता भन्दछन् । यसले परम्परागत समाचारपत्रलाई विनाश गर्ने छैन, यो मात्र फरक बनोटमा आउनेछ, मुर्डोकले आईप्याडमा आउने द डेली का बारेमा भने । मुर्र्डोकको द डेली का पाठकहरुसँग ग्राहक शुल्क लिने योजना छ कि छैन भन्नेबारे अहिलेसम्म कुनै जानकारी छैन । तर अनलाइन समाचारबापत उपभोक्ताले शुल्क तिर्नुपर्छ भन्ने मुर्डोकको व्यक्तिगत धारणा छ । एएफपी रासस