शान्ति र संविधानले निर्धारित समयमा नै पूर्णता पाउला ?
  

बङ्गलादेशको निर्यात प्रवर्द्धन कोषमा ३३ प्रतिशत वृद्धि

पूरा आकारमा हेर्नुहोस्पुस ५, ढाका (बङ्गलादेश) । बङ्गलादेशको केन्द्रीय बैङ्कले उसको निर्यात प्रवर्द्धन कोषको रकम बढाएर ४० करोड डलरमा पुर्‍याएको छ । निर्यात अभिवृद्धि गर्न त्यसो गरिएको बैङ्कका एक उच्च अधिकृतले सोमवार बताएका छन् । 'हामीले बढ्दो मागलाई सम्बोधन गर्न तथा निर्यातबाट हुने आम्दानी अभिवृद्धि गर्न कोषको रकम ३० करोड डलरबाट ४० करोड डलरमा पुर्‍याएका छौं,' केन्द्रीय बैङ्कका डेपुटी गभर्नर मुर्शिद कुली खानले भने । बङ्गलादेशका पोशाक निर्यातकर्ताहरूले बैङ्कको उक्त निर्णयको स्वागत गरेका छन् । त्यस्तो कदमले विश्वबजारमा बङ्गलादेशको निर्यात व्यापारको स्थान कायम राख्न मद्दत गर्ने उनीहरूले बताएका छन् । बैङ्कको उक्त निर्णयबाट छोटो अवधिका लागि हुने तरलताको कठिनाइ सामना गर्न सहयोग पुग्ने पोशाक निर्माणकर्ताहरूको सङ्गठनका उपसभापति शफिउल इस्लाम मोहिउद्दिनले बताएका छन् । रोयटर्स



बोइङ ७७७ को थप उत्पादन

पुस ५, सियाटल (अमेरिका) । अमेरिकी जहाज निर्माता कम्पनी बोइङले 'बी ७७७' श्रेणीका विमानहरूको उत्पादन बढाउने भएको छ । आफ्ना ग्राहकहरूबाट यो विमानका लागि थप माग आएपछि बोइङ कम्पनीले यस्तो निर्णय गरेको हो ।
संयुक्त राज्य अमेरिकाको शिकागोस्थित यो कम्पनीले बी ७७७ विमानहरूको मासिक औसत उत्पादन सन् २०१३ को पहिलो त्रैमासिकसम्ममा प्रतिमहीना ८ दशमलव तीनओटा विमानबराबर बनाउने भएको छ । गत मार्च महीनामा कम्पनीले अर्को वर्षको मध्यतिर मासिक औसत पाँच ओटा विमान उत्पादन गर्न शुरू गरेर सन् २०१३ मा सात ओटा बनाउने घोषणा गरेको थियो । यो
कम्पनीको उत्पादन बी ७७७ लाई अमेरिकाकै युनाइटेड एअरलाइन्सले सन् १९९५ मा पहिलो पटक सेवामा ल्याएको थियो ।
अहिलेसम्म यो श्रेणीका ९ सय सात ओटा विमान वायुसेवा कम्पनीहरूलाई हस्तान्तरण गरिसकेको छ । यसका धेरै स्वरुपहरू छन् । जसमध्ये नरोकीकन लामो दूरीमा चल्ने मालवाहक जहाज पनि पर्छन् । बोइङसँग अहिले नै २ सय ५० वटा बी ७७७ को अर्डर छ र यसका सहायक पार्टपुर्जा आपूर्तिकर्ताहरूले कम्पनीको उत्पादन बढाउने योजनालाई साथ दिने बताएका छन् । एपी/रासस


यूरोजोनको व्यापार घाटा झन् खराब

पुस ५, फङ्कर्फट (जर्मनी) । यूरो मुद्रा अपनाएका १६ यूरोपेली राष्ट्रहरू(यूरोजोन)को भुक्तानी सन्तुलन केही खराब देखिएको छ । अक्टोबर महीनाका लागि यूरोजोनको भुक्तानी सन्तुलनमा ९ अर्ब ८० करोड यूरो घाटा भएको यूरोपियन सेण्ट्रल बैङ्कले सोमवार बताएको छ । भुक्तानी सन्तुलनमा वस्तु तथा सेवाको आयात तथा निर्यातको भुक्तानी समावेश भएको हुन्छ । भुक्तानी सन्तुलनमार्फ कुनै पनि देश तथा क्षेत्रको भुक्तानी गर्ने क्षमताको पहिचान हुने गर्दछ । लगानीकर्ता तथा व्यापारिक साझेदारको विश्वास जित्न भुक्तानी सन्तुलनको महत्वपूर्ण भूमिका रहेको हुन्छ ।

बैङ्कको पुनःसमीक्षा प्रतिवेदनअनुसार सेप्टेम्बर महीनामा यूरोजोनको भुक्तानी सन्तुलनमा ९ अर्ब ७० करोड यूरोको घाटा देखिएको थियो । तथ्याङ्कबाट १६ राष्ट्रहरूको उक्त ब्लककै प्रतिस्पर्धात्मक क्षमतामा कमी आएको देखिएको छ । भुक्तानी सन्तुलनमा यूरोजोनको घाटा जनवरीमा बाहेक वर्षरि नै देखिएको छ । जनवरीमा चाहिँ  १ अर्ब ६० अर्ब यूरो नाफा देखिएको थियो । यूरोजोन क्षेत्रभित्रका राष्ट्रहरूमा जर्मनी लगातार नाफामा रहेको देखिएको छ । जर्मनीको निर्यात राम्रो रहेकाले उसको प्रदर्शन राम्रो हुन गएको हो । जर्मनीबाहेक यूरोजोनका अन्य राष्ट्रको भुक्तानी सन्तुलनमा भने संरचनागत बाहय घाटा देखिएको छ । एएफपी/रासस


चिनियाँ रेयर अर्थ्स निर्यात दुई गुणाले बढयो

पुस ५, बेइजिङ (चीन) । नोभेम्बर महीनामा चीनबाट रेयर अर्थ्सको निर्यात दोब्बरभन्दा बढीले वृद्धि भएको छ । वृद्धिपछिको निर्यात २ हजार ९० टनमा पुगेको हङकङस्थित चाइना कष्टम्स स्टाटिष्टिक्स इन्फरमेशन सेण्टरको तथ्याङ्कले देखाएको छ । अक्टोबर महीनामा रेयर अर्थ्सको निर्यातमा तीन चौथाइले कमी आएको थियो ।
निर्यातको मासिक परिमाण जनवरीपछिकै दोस्रो सबैभन्दा कम भए पनि निर्यातको मूल्य भने बढिरहेको छ । नोभेम्बर महीनामा सो मूल्य १२ करोड १० लाख डलरमा पुगेको थियो । त्यसको अर्थ एफओबी बेसिसमा औसत निर्यात मूल्य प्रतिटन ५७ हजार ९ सय ३ डलर हुन आउँछ । उक्त रकम जुलाईको तुलनामा चार गुणाले बढी हो । अक्टोबरमा त्यस्तो रकम ४२ हजार २ सय ५५ डलर रहेको थियो । रेयर अर्थ्स मेटलमा १७ किसिमका धातुहरू पर्दछन् । उच्चप्रविधिको इलेक्ट्रोनिक्स, चुम्बक तथा ब्याट्री बनाउन रेयर अर्थ्स मेटलको प्रयोग हुने गर्दछ । त्यसका साथै हाइब्रिड कार, नवीकरणीय ऊर्जा, कम्प्युटर मनिटरका साथै हतियारको निर्माणमा समेत त्यस्ता धातुहरूको उपयोग हुने गर्दछ । विश्वभरिमा हुने ९७ प्रतिशत रेयर अर्थ्स मेटलको आपूर्तिमा चीनको नियन्त्रण छ । तर, चीनले कोटामार्फत सीमित परिमाणमा मात्र त्यस्ता धातुहरूको निर्यात गर्दछ । चीनको त्यस्तो कार्यले जापान, अमेरिका तथा यूरोपियन युनियनमा रहेका खरीदकर्ताहरूलाई चिन्तित बनाउने गरेको छ । यस वर्ष चीनले रेयर अर्थ्स मेटलको निर्यात कोटालाई ४० प्रतिशतले कम गरेको थियो भने त्यसलाई आगामी वर्षअझै घटाउने लक्ष्य राखेको छ । रोयटर्स


'यूरोपको आर्थिक सङ्कट यूरोको सङ्कट होइन’

पुस ५, पेरिस (फ्रान्स ) । यूरोपीय केन्द्रीय बैङ्कका प्रमुख जाँ क्लाउड त्रिखेले युरोपीय मुलुकका सरकारहरूलाई आफ्नो जिम्मेवारी बोध गरेर अनुशासनबाहिर गएर बजेट खर्च गर्नेमाथि कारबाही गर्न आग्रह गरेका छन् ।सप्ताहान्तपछि फ्रान्सको 'फ्रेञ्च यूरोप वान रेडियो'सँग कुरा गर्दै त्रिखेले अहिले यूरोप क्षेत्रमा देखिएको आर्थिक सङ्कट यूरो मुद्राको सङ्कट नभएको दाबी गरे । उनको यो भनाइ यूरोपियन युनियनका नेताहरू यूरोजोन सदस्य राष्ट्रहरूमा स्थायी प्रकृतिको राष्ट्रिय उद्धारकोष स्थापना गर्न सहमत भएलगत्तै आएको छ ।  तथापि यो कोषको स्वरूपबारे विस्तृत विवरण भने आउन बाँकी छ ।

'सरकार र अरूसम्बद्ध संस्थाहरूलाई आफ्नो जिम्मेवारी बहन गर्न हामी आग्रह गर्र्छौं', उनले भने । प्रत्येक सरकारले एकल रूपमै यस्ता जिम्मेवारी दिनुपर्ने कुरामा जोड दिए । 'त्यसो गर्दा मात्र आजको पुस्ताले गरेको खर्चको भार छोरा र नाति पुस्तासम्म जाँदैन', उनले भने ।यी मुलुकहरूले संयुक्त रूपमा पनि काम गर्नुपर्छ । यसका लागि अहिलेको भन्दा राम्रो सुशासन दिन सक्नुपर्छ त्यसका लागि प्रत्येक देशमा वित्तीय स्थायित्व कोषको स्थापना हुन जरुरी छ । उनले अहिले ग्रीस र आयरल्याण्डलाई दिएका आर्थिक सहयोगहरूले यी देशको राष्ट्रिय सार्वभौमसत्तामा आँच आएको कुरातर्फसङ्केत गर्दै प्रत्येक देशले आफ्नो जिम्मेवारी लिनुपर्ने कुरा दोहोर्‍याए ।

बहुपक्षीय नीति निर्माणले राष्ट्रिय जिम्मेवारीहरूमाथि कुन हदसम्म हस्तक्षेप गर्नुपर्छ र बलियो अर्थतन्त्रबाट कमजोर अर्थतन्त्रतर्फ हुने वित्तीय ट्रान्सफरहरूको सीमा वारपार ग्यारेण्टी कुन हदसम्म हुनुपर्छ भन्नेबारेमा युरोपीय मुलुकहरुबीच महिनौंदेखि कडा सौदाबाजी चलिरहेको छ । यस्तो प्रणाली अनियन्त्रित बजेट सञ्चालन गरेर असजिलोमा परेर मुलुकहरूलाई सजिलो समाधानको बाटो मात्र नहोस् भन्ने कुरामा मुख्य चासो रहेको छ । विगत १२ महीनादेखि निरन्तर चलिरहेको यूरोजोनको ऋण सङ्कटले त्यस क्षेत्रका नेताहरूलाई सिङ्गो यूरोपीय सङ्घकै संरचनामा आधारभूत परिवर्तन गर्न थप दबाब परेको छ ।अहिलेको समझदारीको आधार सम्बन्धित मुलुकहरूलाई आर्थिक नीति बनाउन दिने तर कृषि र मौद्रिक नीतिमा सङ्घका सदस्यहरूबीच समान अथवा साझा व्यवस्थापन गर्ने भन्ने रहेको छ । यसो गर्दा राष्ट्रिय आर्थिक नीतिहरू पनि यूरोपीय केन्द्रीय बैङ्कको मौद्रिक नीति र समग्र सार्वजनिक खर्चको अनुशासनका शर्तमा बाँधिने गरेको छ ।

अहिलेको सङ्कटमोचन अथवा उद्धारकोष ग्रीसको सङ्कटपछि गत मे महीनामा बनाइएको थियो । करीब १० खर्ब डलरको यो कोषलाई अन्तरराष्ट्रिय मुद्रा कोष र यूरोपीय सङ्घले संयुक्त रूपमा लगानी गरेका छन् ।केही वित्तीयविज्ञहरू यो कोषलाई अझ सबल बनाउने पक्षमा छन् । भर्खरै आयरल्याण्डलाई उद्धार गर्नुपरेको र पोर्चुगल तथा स्पेन पनि जोखिममा रहेको सन्दर्भमा उनीहरूको यस्तो सिफारिश आएको हो । त्रिखेले आफू पनि अहिलेको अस्थायी प्रणालीलाई थप सुदृढ गर्न इच्छुक रहेको सङ्केत पटकपटक दिएका छन् ।'अहिलेको सङ्कट यूरो मुद्राको सङ्कट नभएर वित्तीय स्थायित्वको सङ्कट हो', उनले भने । उनले अहिले गम्भीर ऋण सङ्कटमा परेका ग्रीसजस्ता मुलुकहरूले यूरोपीय सङ्घ छोड्नुपर्ने भनी दिएको सुझावलाई 'अर्थहीन कल्पना'को संज्ञा दिए । 'यूरो एक विश्वसनीय मुद्रा हो', त्रिखेले जोड दिँदै भने । एपी/रासस


क्याथे प्यासिफिकका  पाइलटहरूलाई थप तलब

पुस ५, हङ्कङ (चीन) । क्याथे प्यासिफिक तथा उसको पाइलट युनियनबीच तलबमानसम्बन्धी एउटा काम चलाउ सम्झौता भएको छ । हङकङस्थित उक्त विमानसेवा कम्पनीका प्रवक्ताले सोमवार सम्झौताबारे जानकारी दिएकी हुन् । सम्झौताबाट छुट्टीको व्यस्त समयमा हुन सक्ने श्रम आन्दोलनको सम्भावना टरेको छ । गत हप्ताको वार्तापछि युनियनका वार्ताकारहरूले सम्झौतालाई समर्थन गरेका थिए ।सम्झौतालाई उक्त विमानसेवाका पाइलटहरूले अनुमोदन गर्न बाँकी नै छ । अनुमोदन भएमा सङ्गठनका १ हजार ८ सय ५० जनासमेत विमानसेवाका सबै २ हजार ४ सय पाइलटहरूका लागि सम्झौता लागू हुनेछ ।  युनियनले ४ वर्षको अवधिमा ३० प्रतिशतले तलब बढनुपर्ने माग राख्दै आएको थियो । क्याथे प्यासिफिकका पाइलटहरूले ज्येष्ठताका आधारमा प्रतिमहीना ४ हजार २ सय डलरदेखि १८ हजार ५ सय डलरसम्म तलब पाउँदै आएका छन् । एएफपी/रासस