शान्ति र संविधानले निर्धारित समयमा नै पूर्णता पाउला ?
  

भोजभतेरमा खाना खेर फाल्नु अपराध : थोमस

साउन ५, नयाँ दिल्ली (भारत) । भारतमा विवाहजस्ता सामाजिक कार्यमा आवश्यकताभन्दा बढी भोजभतेर र तडकभडक हुने गरेको कतिपय आर्थिक-सामाजिक विश्लेषकले टिप्पणी गर्दै आएका छन् ।पछिल्लो समयमा तीव्र आर्थिक विकाससँगै धनीहरूको सङ्ख्या पनि बढ्दै गएकाले त्यस्ता प्रदर्शन पनि बढेको देखिन्छ । एकातिर खाद्यवस्तुको भाउ चर्केर गरीब झनै गरीबीतर्फ धकेलिँदै जानाले लाखौं बालबालिका कुपोषणग्रस्त छन् । अर्कोतर्फभोजभतेरमा ठूलो मात्रामा खाद्यवस्तु खेर फालिने विडम्बनातर्फ धेरैले औंल्याएका छन् ।  

भारतका खाद्यमन्त्री केभी थोमसले 'ठूलो मोटो भारतीय विवाह अर्थात् बिग फयाट इण्डियन वेडिङ' भनिने यस्तो प्रवृत्तिलाई नियन्त्रण गर्नुपर्ने बताएका छन् । विवाह र अन्य सामाजिक भेलाका बखत गरिने भोजभतेरमा झण्डै २० प्रतिशत खाद्यपदार्थ खेर फाल्ने गरिएको थोमसले बताए । करोडौं मानिसलाई आवश्यक भोजन नपुगिरहेका बेला करोडौं टन खाद्यवस्तु भोजभतेरमा खेर फाल्नु आपराधिक कार्य भएको थोमसको भनाइ छ । थोमसका अनुसार भारतमा प्रत्येक दिन १ लाखओटा विवाह र सामाजिक भेला हुने गरेका छन्, र मुम्बईका भोजभतेरमा मात्र खेर फालिने खानेकुराले त्यहाँको सम्पूर्ण सुकुम्बासी बस्तीलाई खान पुग्छ ।जुनमा मात्रै भारतमा खाद्य महँगी दर ८ दशमलव ४ प्रतिशत रहेको थियो । एशियाभरि नै खाद्यवस्तुको महँगी चर्किंदै गएकाले त्यसबाट विगत केही महीनाभित्रै झण्डै ६ करोड ४० लाख थप एशियालीहरू गरीबीतर्फधकेलिएका विशेषज्ञहरूको अनुमान छ । एपी/रासस

पाराग्वे र उरुग्वे कोपा अमेरिका फाइनलमा

साउन ५, ब्युनस आयस (अर्जेण्टिना) । अर्जेण्टिनामा भइरहेको कोपा अमेरिका फुटबल कपको फाइनलमा आइतवार पाराग्वे र उरुग्वे भिड्ने भएका छन् । बिहीवार मेण्डोजामा भएको खेलमा पाराग्वेले भेनेजुएलालाई पेनाल्टी शुटआउटमा ५-३ ले पराजित गरेको थियो । अत्यन्त रोमाञ्चक उक्त खेलमा ९० मिनेटको खेल अवधिमा कुनै गोल नभएपछि ३० मिनेटको समय थपिएको थियो ।

खेल अवधिभर पाराग्वे भेनेजुएलाको दबाबमा परेको थियो । खेलको पहिलो हाफमा भेनेजुएलाका रेन्नी भेगाले प्रहार गरेको बललाई पाराग्वेका डिफेण्डर डारिओ भेरोनले गोल हुनबाट बचाएका थिए । लगत्तै पाराग्वेका स्ट्राइकर नेल्सन हेइदोले लुका बारिओसले दिएको सुनौलो पासलाई गोलमा परिणत गर्न सकेनन् । खेलको ३१औं मिनेटमा भेनेजुएलाका ओस्वाल्डो भिज्काराण्डोले गरेको गोललाई रेफ्रीले अफसाइडको निर्णय सुनाएका थिए । त्यसैगरी ४५औं मिनेटमा भेनेजुएलाका सालोमोन रोण्डोनले प्रहार गरेको बललाई पाराग्वेका गोलरक्षक जष्टो भिल्लारले गोल हुनबाट जोगाएका थिए ।

थप समयमा पनि गोल हुन नसकेपछिको पेनाल्टी शुटआउटमा भनेजुएलाका फ्र्याङ्कलिन लुसिनोको प्रहार पराग्वेका गोलरक्षक भिल्लारले रोकेपछि पाराग्वेको स्थिति बलियो भएको थियो । पाराग्वेका डिफेण्डर भेरोनले पेनाल्टी शुटआउटको अन्तिम र निर्णायक गोल प्रहार गरेपछि पाराग्वे फाइनलमा प्रवेश गरेको हो । पाराग्वे सन् १९५३ र सन् १९७९ को कोपा अमेरिका फुटबल कप विजेता हो । फाइनल खेल नेपाली समयअनुसार सोमवार राति १२:४५ बजे हुनेछ । एजेन्सी

Admin 2011-07-22