शान्ति र संविधानले निर्धारित समयमा नै पूर्णता पाउला ?
  

अर्को मन्दी नआए पनि अमेरिकाको आर्थिक वृद्धि कमजोर रहने
भदौ ६, वाशिङटन (अमेरिका) । अमेरिकी समाचार संस्था एशोसिएटेड प्रेस (एपी)ले गरेको एक आर्थिक सर्वेक्षणमा हाल आर्थिक मन्दीको सम्भावना नरहे पनि अमेरिकाको आर्थिक वृद्धिदर भने कमजोर रहने देखिएको छ । एपीले गरेको सर्वेक्षणमा आगामी १२ महीनासम्म मन्दी र्फकने कुनै त्यस्तो सम्भावना नदेखिएको उल्लेख छ ।

उक्त सर्वेक्षणमा सहभागी भएका ४३ जना प्रमुख अर्थशास्त्रीले सन् २०१२ सम्म अमेरिकामा बेरोजगारी दर उच्च रहने र उपभोक्ताको क्रयशक्ति कम हुँदै जानाले अमेरिकी अर्थतन्त्रको वृद्धिदर सुस्त रहने बताएका थिए । साथै, यूरोजोनको ऋणसङ्कटले गर्दा यूरोपको आर्थिक वृद्धि पनि कमजोर रहने उनीहरूको धारणा थियो । अमेरिकाको विशाल बजेटघाटा र यूरोजोनको ऋणसङ्कटका कारण केही महीनायता विश्वका शेयरबजारहरूमा १५ प्रतिशतको कमी आएको छ ।

तर , अर्थशास्त्रीहरूले सन् २००८ मा अमेरिकाबाट शुरू भएको आर्थिक मन्दी सन् २००९ जुनमा अन्त्य भइसकेको बताए । स्ट्याण्डर्ड एण्ड पुअर्स (एस एण्ड पी)का वरिष्ठ अर्थशास्त्री बेथ एन बोभिनोको विचारमा शेयरबजारहरूमा प्रतिदिन आइरहेको कमी आर्थिक अवस्थामा सुधार ल्याउने बाटोमा आएको अवरोध हो । यसले आर्थिक अवस्थामा सुधारको गति झनै ढिलो भएको उनको कथन थियो । अर्थशास्त्रीहरूका अनुसार आगामी १२ महीनामा मन्दीले विश्व अर्थतन्त्रलाई २६ प्रतिशतले खुम्च्याउन सक्दछ । सन् २०११ जुनमा अर्थशास्त्रीहरूले विश्व अर्थतन्त्र सन् २०१२ मा १५ प्रतिशतले घट्ने बताएका थिए ।

अमेरिकी अर्थतन्त्र सन् २०११ को अक्टोबर(डिसेम्बरमा २ दशमलव २ प्रतिशतले बढ्ने तर उक्त वृद्धि रोजगारी बढाउन भने पर्याप्त नहुने धारणा पनि अर्थशास्त्रीहरूको थियो । सन् २०११ मा बेरोजगारी दर ९ प्रतिशत र २०१२ मा ८ दशमलव ५ प्रतिशत रहने अर्थशास्त्रीहरूको विचार थियो । त्यसैगरी, उपभोक्ताहरूको घट्दो क्रयशक्तिले अमेरिकी अर्थतन्त्रमा गम्भीर चुनौती थपिरहेको उनीहरूको भनाइ थियो । सन् २०११ जुन महीनामा अमेरिकीहरूको क्रयशक्ति विगत २ वर्षमा नै सबैभन्दा कम देखिएको थियो । अमेरिकी अर्थतन्त्रमा उपभोक्ताहरूले गर्ने खर्चको योगदान ७० प्रतिशत रहेको छ ।

अमेरिकी केन्द्रीय बैङ्क फेडरल रिजर्भले ब्याजदर न्यून राख्दा पनि आर्थिक वृद्धिदर बढाउन र बेरोजगारी दर घटाउन सहायक नहुनेमा अर्थशास्त्रीहरू एकमत देखिए । तर, त्यसले शेयरमूल्य भने बढ्न सक्ने उनीहरूको धारणा थियो । आगामी वर्ष बेरोजगारी दर केही घट्ने, उपभोक्ताहरूको क्रयशक्ति बढ्ने र घरजग्गा मूल्यमा सुधार आउने अवस्था रहे पनि ती वृद्धिदर आम  अमेरिकीहरूले महसूस गर्ने स्तरको नहुने उनीहरूले सर्वेक्षणमा बताए ।

आगामी शुक्रवार कान्सासमा हुने आर्थिक सम्मेलनमा फेडरल रिजर्भका अध्यक्ष बेन बर्नाङ्कीले गर्ने भनिएका घोषणाप्रति सबैको ध्यान तानिएको छ । तर, एपीको सर्वेक्षणमा सामेल अर्थशास्त्रीहरू त्यसबाट आर्थिक अवस्थामा सुधार र स्थायित्व हासिल हुनेमा शङ्का व्यक्त गर्छन् । एमएफआर इन्कका अर्थशास्त्री जोसुहा सापिरोका अनुसार फेडरल रिजर्भ यो जटिल अवस्थामा कुनै अर्थपूर्ण कार्य गर्न सक्ने अवस्थामा रहेको छैन ।   एपी/रासस

लिबियाली तेलका लागि पश्चिमा कम्पनीहरूको कसरत
भदौ ६, मिलान (इटाली) । विद्रोहीहरू राजधानी त्रिपोली पुगेको खबरसँगै पश्चिमा तेल कम्पनीहरू लिबियाली तेल ठेक्का पाउन अग्रसर भएका छन् । विगत ४२ वर्षदेखि लिबियामा शासन गरिरहेका कर्णोल मुअम्मर गद्दाफीको शासन अन्त्य हुने सङ्केत आइरहँदा लिबियाको तेल ठेक्का आफूले पाउनेमा विभिन्न कम्पनी आशावादी देखिएका छन् । इटालीको तेल कम्पनी इएनआई, अमेरिकी कम्पनीहरू सेभ्रोन र एक्सन मोबिल, बेलायती कम्पनी बीपी, फ्रान्सेली कम्पनी टोटल र एशियाली राष्ट्र कतारको नेशनल आयल कम्पनी ठेक्का हात पार्ने दौडमा अघि देखिएका हुन् ।

यीमध्ये अधिकांश कम्पनीको लिबियाली तेल उत्पादनमा पहिलेदेखि नै लगानी छ । सन् २०११ फेव्रुअरीमा गद्दाफी शासनविरुद्ध आनदोलन शुरू भएपछि अमेरिका, बेलायत, फ्रान्स, इटालीलगायतका पश्चिमा मुलुकले विद्रोहीहरूलाई सघाउँदै आएका थिए । गत अप्रिलदेखि यी मुलुकले 'नेटो'मार्फत विदोर्हीहरूलाई सहयोग गर्दै गद्दाफी शासनविरुद्ध हवाई हमला गरिरहेका छन् ।

विद्रोहीले पनि लिबियाको शासनसत्ता आफ्नो हातमा आएपछि आफूहरूलाई सहयोग गर्नेलाई मात्र तेल उत्पादनको अनुमति प्रदान गर्ने बताएका थिए । तर, गद्दाफी शासनलाई सहयोग गरेका चीन र रूसजस्ता देशले भने ठेक्का पाउने सम्भावना निकै कम देखिएको छ । अहिले गद्दाफी शासनलाई सहयोग गरिरहेका चीन र रूसका कम्पनीहरूले लिबियामा तेल उत्पादन गरिरहेका छन् । तर, विद्रोहीले ती कम्पनीको काम बन्द गर्ने चेतावनी दिएका छन् ।

यसैबीच चीनले मङ्गलवार लिबियामा आफ्ना कम्पनीहरूको लगानी सुरक्षित गर्न विद्रोहीहरूसँग अनुरोध गरेको छ । लिबियाबाट हुने तेलको आपूर्तिले चीनको ३ प्रतिशत माग पूरा गर्ने गर्दछ ।             एजेन्सी  

एयरएशिया नाफामा मलेसिया एयर घाटामा  
भदौ ६, क्वालालम्पुर (मलेसिया) । एशियाको सबैभन्दा ठूलो बजेट विमानसेवा एयरएशियाले तेलको मूल्य उच्च रहे पनि दोस्रो त्रैमासमा समेत खुद नाफा गर्न सफल भएको बताएको छ । तर, २०१० को सोही अवधिको भन्दा ४७ प्रतिशतले झरेर ३ करोड ५० लाख डलरको खुद नाफा भएको विमानसेवाले जानकारी दिएको छ ।

तैपनि, तेलको मूल्यको अस्थिरता, बढ्दो खर्च र विश्वव्यापी आर्थिक अनिश्चितताको अवस्थामा पनि त्यति खुद नाफा गर्न सक्नुलाई सन्तोषजनक मानेको छ । अप्रिलदेखि जुनसम्मको अवधिमा १५ प्रतिशतले आम्दानी बढेको कम्पनीले बताएको छ । उता, मलेसियाको ध्वजाबाहक मलेसिया एयरलाइन्सले भने उक्त त्रैमासमा १७ करोड ७० लाख डलरको खुद घाटा बेहोरेको छ ।

इन्धनको चर्को मूल्यले गर्दा घाटा भएको एयरलाइन्सको जिकिर छ । गतवर्षको दोस्रो त्रैमासमा एयरलाइन्सले यस वर्षको भन्दा पनि बढी घाटा बेहोरेको थियो । अगस्तको शुरूतिर ती दुवै विमानसेवाले व्यावसायिक एकताको घोषणा गरेका थिए । सोझो प्रतिस्पर्धा घटाएर आआफ्नो मुख्य बजारमा केन्द्रित गर्न एकता गरिएको दुवै विमानसेवाले बताएका थिए । एएफपी/रासस

भारत सरकारद्वारा भ्रष्टाचारबारे सर्वदलीय बैठक आह्वान
भदौ ६, नयाँ दिल्ली (भारत) । भारत सरकारले देशका राजनीतिक दलहरूलाई भ्रष्टाचारविरूद्धको विधेयकबारे सहमति बनाउन मङ्गलवार आह्वान गरेको छ ।

भ्रष्टाचारविरोधी आयोगको स्थापना गर्ने विषयमा छलफलका लागि सरकारले बुधवार सर्वदलीय बैठक बोलाएको छ । वयोवृद्ध सामाजिक अभियन्ता अन्ना हजारेले त्यस्तो आयोग स्थापना नगरिएमा आफ्नो भोकहडताललाई अनिश्चितकालसम्म लम्ब्याउने चेतावनी दिएका छन् ।

हजारेको समर्थनमा लाखौं मानिसले नारा लगाइरहेका छन् । सरकारी विधेयक अत्यन्त कमजोर भएको भन्दै हजारेले विधेयकको आफ्नो मस्यौदा दिएका छन् । अगस्त १६ बाट आन्दोलन शुरू गरिसकेपछि आफ्नो तौल साढे ५ किलो घटिसकेको हजारेले मङ्गलवार बताए ।

तर, डाक्टरहरूले आफूलाई मर्न नदिनेमा आफू विश्वस्त रहेको हजारेले ठट्टा गर्दै भने । हजारेको स्वास्थ्य गम्भीर अवस्थामा पुगेको खण्डमा अधिकारीहरूले हस्तक्षेप गर्नुपर्नेछ । किनभने भारतमा आत्महत्या गर्नु कानूनी रूपमा अवैध मानिएको छ । कतिपयले भने हजारेको भोकहडताललाई अलोकतान्त्रिक र झूटो प्रतिनिधित्वको दाबी भन्दै आलोचना गरेका छन् । एपी/रासस    

कर्मचारी कटौती गर्ने यूबीएसको घोषणा
भदौ ६, जुरिच (स्वीट्जरल्याण्ड) । युनाइटेड बैङ्क अफ स्वीट्जरल्याण्ड (यूबीएस)ले ३ हजार ५ सय कर्मचारी कटौती गर्ने घोषणा गरेको छ । मङ्गलवार एक प्रेस विज्ञप्ति जारी गर्दै बैङ्कले आगामी २०१३ को अन्त्यसम्म बैङ्क कर्मचारीको सङ्ख्या घटाउने बताएको हो ।

विज्ञप्तिमा उक्त कटौतीबाट वार्षिक २ अर्ब स्वीस फ्रान्क बचत हुने उल्लेख गरिएको छ । उक्त कटौतीको आधा सङ्ख्या बैङ्कका इन्भेष्टमेण्ट शाखाबाट हुने पनि बैङ्कले जानकारी दिएको छ । विज्ञप्तिमा बैङ्कले उठाएको कदमबाट सञ्चालन क्षमता सुदृढ हुने र बैङ्कलाई लगानी र आम्दानी वृद्धि गर्न सहयोग पुग्ने बताइएको छ । दोस्रो त्रैमासिक अवधिको नाफामा ठूलो कमी आएपछि बैङ्कले यस्तो कदम उठाएको हो ।                एपी/रासस

कहानविरुद्धको मुद्दा खारेज
भदौ ६, न्यूयोर्क (अमेरिका) । अमेरिकामा यौन दुराचार र बलात्कारको मुद्दा खेपिरहेका अन्तरराष्ट्रिय मुद्राकोषका पूर्वप्रमुख डोमिनिक स्ट्राउस कहानले उन्मुक्ति पाएका छन् । न्यूयोर्कस्थित अदालतका न्यायाधीशले मङ्गलवार फैसला सुनाउँदै कहानविरुद्ध पर्याप्त प्रमाण नजुटेकाले उक्त मुद्दा खारेज भएको बताएका थिए । तर, कहानलाई बलात्कारको आरोप लगाउने होटल परिचारिकाले पुन: अपील गर्न सक्ने भएकाले उक्त फैसलालाई अहिले नै कार्यान्वयन भने नगरिने फैसलामा उल्लेख गरिएको छ ।          एपी/रासस

हङकङको महँगी १६ वर्षयताकै उच्च
भदौ ६, हङकङ (चीन) । हङकङको मूल्यवृद्धि जुलाईमा १६ वर्षयताकै उच्च ७ दशमलव ९ प्रतिशत पुगेको छ । मूल्यवृद्धिको समस्या तत्कालै समाधान नहुने पनि हङकङ सरकारले चेतावनी दिएको छ । यसअघि सन् १९९५ नोभेम्बरमा ८ दशमलव ४ प्रतिशत हालसम्मकै उच्च मूल्यवृद्धि दर रहेको थियो ।  

सन् २०१० को जुलाईमा सार्वजनिक आवासमा बस्दै आएकाले तिरेको भाडा खारेज गरेपछि त्यस्तो तथ्याङ्क आएको सरकारले बताएको छ । त्यसैगरी, निजी घरको उच्च भाडा र सुँगुरको मासुको मूल्य बढेकाले पनि जुलाई महीनाको उपभोक्ता मूल्य बढेको हो । विश्वव्यापी रूपमै खाद्यवस्तुको मूल्य बढिरहेको र स्थानीय रूपमा घरभाडा बढिरहेकाले निकट भविष्यमा पनि महँगी यथावत् रहने सरकारको भनाइ छ ।

एशियाका सरकारहरूले यस वर्षब्याजदर बढाएर, मुद्रा बलियो बनाएर र बजेट खर्च घटाएर चर्को महँगीलाई नियन्त्रण गर्ने प्रयास गरिरहेका छन् । जुलाईको महँगी विगत ३७ महीनायताकै उच्च हुन पुगेको चीनले यस महीनाको शुरूतिरै बताएको थियो । खाद्यवस्तुमा १० प्रतिशतको मूल्यवृद्धिले थप ६ करोड ४० लाख मानिसलाई गरीबीको रेखामुनि धकेल्ने एशियाली विकास बैङ्कको चेतावनी छ ।          एपी/रासस

बाढीले कृषिभूमि डुबायो
भदौ ६, ढाका (बङ्गलादेश) । दक्षिणपश्चिमी बङ्गलादेशमा आएको बाढीले ठूलो क्षेत्रको कृषियोग्य भू(भाग डुबानमा पारेको छ । धेरैजसो मानिस तटबन्धमा घेरिएका छन् भने उनीहरूलाई खाना र आवासको समस्या देखिएको छ । पछिल्ला दिनहरूमा परेको पानीले कम्तीमा पनि पाँच ओटा नदीका तटबन्ध भत्किसकेका छन् भने सातखिरा जिल्लाको १ हजार वर्ग किलोमिटर कृषिक्षेत्रलाई बाढीले बगाएको छ ।  

सातखिरा जिल्लाका झण्डै १० लाख मानिस बाढीका कारण प्रभावित भएका र १ लाख २० हजार मानिस विस्थापित भएका जिल्ला प्रशासक एम अब्दुस समादले बताए । बाढीग्रस्त क्षेत्रमा सरकार र विश्व खाद्य कार्यक्रम (डब्ल्यूएफपी)ले उद्धार गरिरहेको छ । २ सयभन्दा बढी नदीको जालो रहेको बङ्गलादेशमा जुनदेखि सेप्टेम्बरसम्म बाढीले दु:ख दिने गरेको छ ।        एएफपी/रासस

एशियाली अर्थतन्त्र लचिलो : एडीबी
भदौ ६, सिङ्गापुर । अमेरिका र यूरोपको अर्थतन्त्रमा आएको सुस्तीले एशियाको आर्थिक वृद्धिलाई प्रभाव पार्ने भए पनि त्यसको असर न्यून रहने एशियाली विकास बैङ्क (एडीबी)ले मङ्गलवार बताएको छ ।

एडीबीका प्रमुख अर्थशास्त्री छाङयोङ रीका अनुसार बैङ्कले एशियाली अर्थतन्त्रबारे यस वर्षर आगामी वर्षको पूर्वानुमानलाई घटाउने भएको छ । एशियाली निर्यातमा केही सुस्ती देखापरिसके पनि हालको अवस्था सन् २००८ को सङ्कटजस्तो नरहेको रीले बताए । त्यसैले, विकसित अर्थतन्त्रहरूमा देखिएको सुस्तीको सामना गर्न वर्तमान एशियाली आर्थिक वृद्धि सक्षम र लचिलो रहेको रीको दाबी छ । विकासशील एशियाले यस वर्ष७ दशमलव ८ प्रतिशत र आगामी वर्ष७ दशमलव ७ प्रतिशतको वृद्धि हासिल गर्ने एडीबीले मार्चको पूर्वानुमानमा भनेको थियो । तर, सेप्टेम्बरमा निकालिने पछिल्लो पूर्वानुमानमा मार्चको प्रक्षेपणलाई केही घटाइने रीले बताए । साथै, २००८ को जस्तो पूर्णस्तरको अर्को विश्वव्यापी मन्दीको सम्भावना अत्यन्त कम रहेको रीको भनाइ छ । एएफपी/रासस

Admin 2011-08-24