अमेरिका र चीनबीच व्यापार सम्झौता
माघ ६, वासिङ्टन (अमेरिका) । अमेरिका तथा चीनले ४५ अर्ब डलरबराबरको व्यापार सम्झौताको घोषणा गरेका छन् । ती दुइ शक्ति राष्ट्रबीच आर्थिक मामिलामा रहेका आपसी विवाद सुल्झाउने क्रममा त्यस्तो घोषणा आएको हो । सम्झौताअन्तर्गत १२ ओटा अमेरिकी राज्यका निर्यातकर्तासँग ७० ओटा व्यापार सहमति भएको छ । अमेरिकी राष्ट्रपति बाराक ओबामा तथा चिनियाँ राष्ट्रपति हु जिन्ताओले परस्पर निर्भरतामा जोड दिँदै व्यापार सम्झौता भएकोमा प्रसन्नता व्यक्त गरेका छन् । हालैका महीनाहरूमा देखिएको आपसी तनावलाई मत्थर गर्ने प्रयास ती दुइ नेताहरूले गरेका छन् । ओबामाले आपसी सम्बन्धका 'पुराना नमूना’ त्यागेर सम्बन्धलाई पुनर्निर्माण गर्न सकिने आशा व्यक्त गरेका छन् । साथै चीनले आफ्नो तीव्र विकासबाट फाइदा उठाउन अमेरिकी व्यापार कम्पनीहरूलाई सजिलो पहुँच दिने ओबामाको अपेक्षा छ । चीनको शान्तिपूर्ण उदय अमेरिकालगायत विश्वकै लागि फाइदाजनक भएको ओबामाले बुधवार भनेका छन् । चीनले व्यापार नियमलाई कठिन बनाएर उसको घरेलु बजारमा आफूहरूको पहुँचलाई नियन्त्रण गरेको गुनासो अमेरिकी कम्पनीहरूले गर्दै आएका छन् । हाल भएको सम्झौताबाट अमेरिकी निर्यातकर्ताले ४५ अर्ब डलरको व्यापार पाउनुका साथै अमेरिकामा थप २ लाख ३५ हजारले रोजगार पाउने ओबामाले दाबी गरेका छन् ।
अमेरिकी कम्पनीहरूले चीनमा व्यापार गर्न समान अवसर पाउनुपर्नेमा पनि ओबामाले जोड दिएका छन् । त्यसका साथै चिनियाँ मुद्रालाई अमेरिकी डलरको तुलनामा बलियो बनाउने प्रक्रियालाई तीव्र बनाउन पनि ओबामाले आह्वान गरे । चीनले युआनलाई कृत्रिम रूपमा कमजोर बनाएर आफ्नो निर्यातलाई न्यून मूल्यमा राखेको गुनासो अमेरिकाले गर्दै आएको छ । तर, चीनले घरेलु खपतबाट हुने वृद्धिमा जोड दिने भन्दै हुले ओबामाको सो आह्वानलाई घुमाउरो तरीकाले अस्वीकार गरे ।उता अमेरिकी कम्पनीहरूका लागि चीन प्रमुख बजार भए तापनि प्रतिलिपि चोरी, लालफिताशाहीजस्ता समस्याले गम्भीर वाधा पुर्याएको साङ्घाइस्थित अमेरिकन चेम्बर अफ कमर्शले बुधवार जारी गरेको प्रतिवेदनमा उल्लेख गरेको छ । हुले चिनियाँ व्यापारिक नेताहरूसँगै अमेरिका भ्रमण गरिरहेको बेला चेम्बरले व्यापार बृद्धि तथा स्वच्छ प्रतिस्पर्धामा देखिएको समस्या हल गर्न आग्रह गरेको छ । चीनमा व्यापार गरिरहेका ३४६ ओटा अमेरिकी कम्पनीहरूमाथि गरिएको सर्वेक्षण प्रतिवेदन प्रकाशित गर्दै चेम्बरले त्यस्तो आग्रह गरेको हो । । सर्वेक्षणमा सहभागी मध्ये ९० प्रतिशत कम्पनीले २०१० मा उनीहरूको आम्दानी बढेको र ८० प्रतिशत कम्पनीले उनीहरू नाफामा रहेको बताएका थिए । एएफपी/रासस
भेनेजुएलाद्वारा विश्वकै ठुलो तेलस्रोत भएको दावी
माघ ६, कारकास (भेनेजुएला) । भेनुजुएलाले आफूसँग कच्चा तेलको विश्वकै सबैभन्दा ठूलो भण्डारण रहेको भन्दै साउदी अरेबियालाई उछिनेको दाबी गरेको छ । ओपेकका अनुसार लगभग २ सय ६६ अर्ब ब्यारेल कच्चा तेलको भण्डारण रहेको साउदी अरेबिया हालसम्मको सबैभन्दा ठूलो तेल उत्पादक तथा निर्यातकर्ता देश हो । तर, भेनेजुएलाले आफूसँग २९७ अर्ब ब्यारेल कच्चा तेलको भण्डार रहेको प्रमाण दिनसक्ने दाबी गरेको छ । 'सन् २०१० को अन्त्यमा हामीसँग २१७ अर्ब ब्यारेल तेलको भण्डार रहेको थियो भने यसवर्षको शुरूमा हामीसँग २९७ अर्ब ब्यारेल तेल रहेको प्रमाण दिन सक्छौं,’ भेनेजुएलाका तेल मन्त्री राफेल रामिरेजले बुधवार भने ।हालैका वर्षहरूमा कच्चा तेल भण्डार बढदै गएको दाबी गर्दै आएको भेनेजुएला ल्याटिन अमेरिका क्षेत्रमा रहेको कच्चा तेलको प्रमुख निर्यातकर्ता देश हो । गत वर्ष पनि उक्त देशले आफ्नो ओरिनाको बेल्ट क्षेत्रमा तेलको विशाल खानी फेला परेको दावी गरेको थियो । समाजवादी देश भेनेजुएलाका बहुसङ्ख्यक ऊर्जा उद्योगलाई २००७ मा राष्ट्रियकरण गरिएको थियो । राष्ट्रपति ह्युगो चाभेजले देशको दीर्घकालीन ऊर्जा आवश्यकता धान्न सुनिश्चित भएको भन्दै तथ्याङ्क प्रति प्रसन्नता व्यक्त गरेका छन् । 'अहिलेसम्मका भण्डारण परिमाण तथा हाम्रो सञ्चालनको गतिअनुसार भेनुजुएलासँग आगामी २ सय वर्षसम्मका लागि प्रशस्त तेल छ । यस ग्रहमा अरू कुनै पनि देशसँग २ सय वर्षसम्म पुग्ने तेल छैन,’ चाभेजले दाबी गरेका छन् ।
एएफपी/रासस
ब्राजिलमा ब्याजदर वृद्धि
माघ ६, ब्रासिलिया (ब्राजिल) । ब्राजिलको केन्द्रीय बैङ्कले उसको प्रमुख ब्याजदरलाई आधा प्रतिशतले बढाएर ११ दशमलव २५ प्रतिशतमा पुर्याएको बुधवार बताएको छ । मुद्रास्फीति नियन्त्रणभन्दा बाहिर जान लागेकामा चिन्ता बढ्दै गएपछि बैङ्कले त्यस्तो निर्णय गरेको हो । ब्राजीलको मुद्रा रियल डलरको तुलनामा बलियो हुँदै गएकोले समस्या परेको त्यहाँका निर्यातकर्ताले गुनासो गर्दै आएका छन् । नयाँ ब्याजदरबाट रियल झनै बलियो हुने सम्भावना बढेको छ । केन्द्रीय बैङ्कको मौद्रिक नीति समितिले ब्याजदर बढाउने बारे सर्वसम्मतिले निर्णय गरेको एक विज्ञप्तिमा उल्लेख छ । २०१० को जुलाई पछि ब्याजदर बृद्धि गरिएको थिएन । त्यसैले ब्याजदरमा त्यस्तो वृद्धिको सम्भावना बजार विश्लेषकहरुले व्यक्त गर्दैआएका थिए । गतवर्षको मुद्रास्फीति ४ दशमलव ५ प्रतिशतको सरकारी लक्ष्यभन्दा निकैमाथि ५ दशमलव ९१ प्रतिशतमा पुगेको थियो ।नवनिर्वाचित राष्ट्रपति डिल्मा रुसेफले ब्याजदर घटाउने वाचा गरेकी थिइन । तर, बढ्दो उपभोक्ता मूल्यका कारण उनी पनि समस्यामा परेकी छिन् । ब्याजदर बढाउनाले ऋण खरीदलाई अझ महँगो बनाउनेछ । तर, बढी ब्याजदरका कारण लगानीमा राम्रो प्रतिफल सुनिश्चित हुने भएकाले विदेशी लगानीकर्ताहरू विश्वका ठूला अर्थतन्त्रभन्दा ब्राजिलतर्फ आकर्षित हुनेछन् । त्यसले डलरको तुलनामा रियललाई झनै बलियो बनाउनेछ । एएफपी/रासस
बैङ्क गोपनीयता भङ्ग गरेवापत सजाय
माघ ६, ज्युरिक (स्वीट्जरल्याण्ड) । स्वीट्जरल्याण्डको एक अदालतले पूर्वबैङ्कर रुडोल्फ एल्मरलाई बैङ्कको गोपनीयता कानून उल्लङ्घन गरेकोमा दोषी पाइएको फैसला सुनाएको छ । एल्मर निजी बैङ्क समूह जुलियस बेयरको एक सहायक बैङ्कका पूर्वप्रमुख कार्यकारी अधिकृत हुन् । आफूसँग रहेको बैङ्कसँग सम्बन्धित गोप्य तथ्याङ्क विकिलीक्सलाई उपलब्ध गराएको अभियोगमा दोषी पाइएका एल्मरलाई जरीवाना गरिएको छ । न्यायाधीश सेबास्तियन एप्पलीले एल्मरलाई ७ हजार २ सय स्वीस फ्रान्क (५ हजार ५ सय यूरो) जरीवाना तोकेका थिए । वर्षौंसम्म बैङ्किङक्षेत्रको एक हिस्सा भएका एल्मरले उक्त क्षेत्रबाट फाइदा लिएको न्यायाधीशको फैसलामा भनिएको छ । विश्वभरिका ग्राहकहरूले कर छली गर्ने नियतले उक्त बैङ्कमा सम्पत्ति लुकाएको एल्मरले दाबी गरेका छन् । कर छलीको पर्दाफास गर्न गोप्य कागजात विकिलीक्सलाई उपलब्ध गराएको एल्मरले जिकीर गरेका थिए । तर, उनको नियत कर छलीविरुद्ध लड्नु नरहेको फैसलाको निर्णयमा छ । आफूलाई ५ वर्षअघि बैङ्कबाट बर्खास्त गरिएवापत बदला लिने भावनाले प्रेरित भएर एल्मरले त्यस्तो काम गरेको अदालतको फैसलामा छ । एल्मरले अदालतमा बैङ्कको गतिविधिलाई 'अनैतिक, आचारनीतिसँग मेल नखाने’ भन्दै बैङ्कले 'आपराधिक बाटो अपनाएको’ आरोप लगाएका थिए । उनीमाथि भने फिरौतीका लागि गोप्य कागजात सार्वजनिक गर्ने धम्की बैङ्कलाई दिएको आरोप थियो । एल्मरले अदालतमा उपस्थित हुनुभन्दा दुइ दिनअघि बैङ्कसँग सम्बन्धित तथ्याङ्क भएको दुइओटा सीडी विकिलीक्सका संस्थापक जुलियन एसाञ्जलाई दिएका थिए । एएफपी/रासस
चीनको अर्थतन्त्रमा दोहोरो अङ्कको वृद्धि
माघ ६, साङ्र्घाई (चीन) । चीनको अर्थतन्त्र २०१० मा १० दशमलव ३ प्रतिशतले बढेको छ । घरजग्गालगायतका क्षेत्रमा शृङ्खलाबद्ध रूपले लगानी बढेपछि अर्थतन्त्रमा पनि वृद्धि भएको हो । तर, त्यस्तो वृद्धिले राजनीतिक रूपमा संवेदनशील मुद्दा रहेको महँगीलाई पनि बढाएको छ ।राष्ट्रिय तथ्याङ्क ब्युरोले बिहीवार प्रकाशित गरेको तथ्याङ्कअनुसार डिसेम्बरमा महँगी केही घटेको छ । नोभेम्बरमा भने गत २८ महीनापछिकै उच्च महँगी रहेको थियो । मुद्रास्फीति दर नोभेम्बरको ५ दशमलव १ प्रतिशतबाट डिसेम्बरमा ४ दशमलव ६ प्रतिशतमा झरेको छ । तर, डिसेम्बरमा घटेको महँगी पनि अस्थायी मात्र भएको विश्लेषकहरूले चेतावनी दिएका छन् । उनीहरूले राज्यनियन्त्रित बैङ्कहरूले दिने गरेको ऋणमा नियन्त्रण गर्न अधिकारीहरूलाई आग्रह गरेका थिए । त्यस्तो ऋणको ठूलो हिस्सा घरजग्गाको सट्टेबाजी व्यापारमा प्रयोग भइरहेको अनुमान छ ।
निर्माण तथा अन्य अचल सम्पत्तिमा चीनको लगानी २०१० को शुरूमा २३ दशमलव ८ प्रतिशतले बढेको थियो । विश्वव्यापी सङ्कटको सामना गर्न २००९ मा गरिएको उत्प्रेरणा खर्चका कारण त्यस वर्षको त्यस्तो लगानी ३० दशमलव १ प्रतिशतले बढेको थियो । अझै पनि त्यस्तै लगानीमा बढी निर्भर रहेको अर्थतन्त्रमा वित्तीय फोका (फाइनान्सियल बबल)को निर्माण हुन सक्ने चिन्ता गरिएको छ । त्यस्तो वित्तीय फोकाले मूल्यवृद्धिको नियन्त्रण प्रयासमा बाधा पुर्याउनेछ । एपी/रासस