ह्यारी पोटरले साढे १२ करोड डलर कमायो
मङ्सिर ६, अमेरिका (लस एञ्जिलस) । ह्यारी पोटरले प्रदर्शनको पहिलो सप्ताहान्तमा १२ करोड ५१ लाख डलर कमाएर बक्स अफिसमा अहिलेसम्मकै सबैभन्दा ठूलो जादू देखाएको छ ।ह्यारी पोटर एण्ड डेथ्ली ह्यालोज भाग १’ ले घरेलु बजारमा सप्ताहान्तको पहिलो दिनमै ६ करोड १२ लाख डलर कमाएको थियो । अमेरिकाबाहिर यसले थप २० करोड ५० लाख डलर कमायो । यस शृङ्खलाअन्तर्गत सन् २००५ मा प्रदर्शित ह्यारी पोटर एण्ड द गोब्लेट अफ फायर’ ले पहिलो सप्ताहान्तमा १० करोड २७ लाख डलर कमाएको थियो ।सन् २००१ मा पहिलो फिल्म प्रदर्शन गरिएपछि उक्त शृङ्खलाले विश्वभरिको चलचित्रघरमा गरिएको प्रदर्शनबाट हालसम्म ५.५ अर्ब डलर आम्दानी गरिसकेको छ । जे के रोलिङले लेखेको सातौं तथा अन्तिम ह्यारी पोटर’ उपन्यासको पहिलो भागमा यो पछिल्लो फिल्म आधारित छ । उक्त शृङ्खलाको अन्तिम भाग 'डेथ्ली ह्यालोज भाग २’ जुलाईसम्ममा आउने सम्भावना छ । एपी /रासस
रोल्स रोयसले चीनबाट पौने २ अर्ब डलरको अर्डर पायो
मङ्सिर ६, लण्डन (ब्रिटेन) । ब्रिटेनको रोल्स रोयसले एयर चाइनालाई २० वटा लामो दूरीको एयरबस विमानको इञ्जिन आपूर्ति गर्न १ दशमलब ८ अर्ब डलरको अर्डर पाएको सोमवार घोषणा गरेको छ । रोल्स रोयसका अनुशार, उसले एयर चाइनाले हालसालै माग गरेको १० नयाँ एयरबस ए३५०एक्सडब्लूबी विमानका लागि टे्रण्ट एक्सडब्लूबी इञ्जिन र बाँकी दशवटा ए३३० जेटका लागि ट्रेण्ट७०० इञ्जिनहरु आपूर्ति गर्नेछ । रोल्स रोयसले भनेको छ, चिनीयाँ बजार द्रूत गतिले बढिरहेको हुँदा त्यहाँ थप विमानहरुको आवश्यकता छ । नागरिक उड्डयनमा प्रयोग हुने विमानहरुको ५६ प्रतिशत इञ्जिनहरु उसैको भएकाले चीनमा रोल्स रोयस राम्रोसँग स्थापित भएको उक्त कम्पनीले जनाएको छ । यसै महिनाको शुरुमा क्वाण्टास एयरबस ए३८० सुपरजम्बोमा जडित रोल्स रोयसको ट्रेण्ट९०० इञ्जिनहरुमा आएको खराबीले गर्दा उक्त विमानको आपतकालीन अवतरण गर्नुपरेको थियो ।ट्रेण्ट एक्सडब्लूबी विशेष रूपले एयरबस ए३५०एक्सडब्लूबीका लागि तयार गरिएको थियो भने ट्रेण्ट७००को प्रयोग ए३३०मा हुने गर्दछ । ती दुवै दर्इवटा इञ्जिनयुक्त जेट विमान हुन् । एफपी/रासस
थाइ अर्थतन्त्र प्राविधिक रूपले मन्दीमा
मङ्सिर ६, थाइल्याण्ड (ब्याङ्कक) । दोस्रो त्रैमासिकमा ० दशमलब ६ प्रतिशतले सङ्कुचन भएको थाइल्याण्डको अर्थतन्त्र तेस्रो त्रैमासिकमा आएर ० दशमलब २ प्रतिशतले खुम्चेको छ । यसले दक्षिण पूर्वी एसियाको दोस्रो ठूलो अर्थतन्त्र प्राविधिक रूपले मन्दीमा रहेको तथा वृद्धिदर बढ्ने सम्भावना कम रहेको देखाएको छ ।एसियाभरि नै अर्थिक वृद्धि सुस्त हुँदै गएको सङ्केतलाई उक्त तथ्याङकले पुष्टि गरेको छ । उत्तर एसियाली निर्यात शक्तिकेन्द्रहरू चीन, दक्षिण कोरिया र ताइवानदेखि पूर्वी एसियाली ँबाघहरु’ थाइल्याण्ड र सिङ्गापुरसम्म उत्पादन घटिरहेको तथा सरकारहरुको आर्थिक उत्प्रेरणात्मक खर्चको असर प्रभावहीन हुँदै गएको पनि यसबाट देखिएको छ । गत हप्ताको तथ्याङ्कहरुले सङ्केत गरेअनुसार ताइवानको आर्थिक वृद्धि तेस्रो त्रैमासमा घटदै जाने देखाएको छ भने व्यापारमा निर्भर सिङ्गापुरको अर्थतन्त्र १८ दशमलब ७ प्रतिशतले खुम्चेको छ । त्यस्तै इण्डोनेशियाको यसै महिनाको प्रतिवेदनअनुसार वार्षिक वृद्धि ५ वटा त्रैमासिक अवधिमध्ये पहिलोपटक १ दशमलब २५ प्रतिशतले घटेको छ ।
मलेशियाको वृद्धिदर दोस्रो त्रैमासको ८ दशमलब ९ प्रतिशतबाट तेस्रो ५ दशमलब ३ प्रतिशतमा र्झन पुगेको त्यहाँको केन्द्रीय बैङ्कले सोमवार जनाएको छ । मलेशियाको तेस्रो त्रैमासिक अवधिको तथ्याङ्क आएपछि उक्त क्षेत्रकै घट्दो वृद्धिदर बारेको चित्र थप प्रष्ट हुने अपेक्षा गरिएको छ । अमेरिकी डलरको अवमूल्यनले गर्दा एशियाली देशहरुको मुद्राको मूल्य बढ्न गई उनीहरूको निर्यातबाट हुने आम्दानी घटेर ती देशहरुको वृद्धिदर घटेको हो । २००८ मा भएको विश्वव्यापी वित्तीय सङ्कटको बेला घटाइएको ब्याजदरलाई फेरि सामान्य अवस्थामा पुर्याउने एशियाका केन्द्रीय बैङ्कहरुको योजनालाई घट्दो आर्थिक वृद्धिदरले कठिन बनाएको छ । रोयर्टस/रासस
चुरोटमा स्वाद मिसाउन बन्देज
मङ्सिर ६, उरुग्वे -मण्टेभिडिओ । सूर्तीजन्य उद्योगलाई ठूलो धक्का लगाउँदै संसारभरिका स्वास्थ्य अधिकारीहरु नयाँ धूमपानकर्ताहरुलाई आकषिर्त गर्न चुरोटमा स्वादवर्द्धक मिसाउने कार्यलाई नियन्त्रण वा प्रतिबन्ध लगाउन शनिवार सहमत भएका छन् । १७२ राष्ट्रका प्रतिनिधिमण्डलहरुले सूर्तीजन्य पदार्थको नियन्त्रणमा संरचनागत सम्मेलन नामक एक सन्धिमा हस्ताक्षर गरेका छन् । साथै सूर्तीजन्य पदार्थका उत्पादकहरुले आफ्ना उत्पादनमा प्रयोग गरिएका वस्तुहरु खुलाउनुपर्ने सिफारिशमा पनि सहमत भएका छन् । सूर्तीजन्य पदार्थ को उद्योगहरुले लाखौं व्यक्तिको रोजगार गुम्ने तथा अर्थतन्त्र तहसनहस हुने तर्क गर्दै उक्त मार्गनिर्देशनहरुका विरुद्ध व्यापक पहल गरेका थिए । पाँच वर्षअघि उक्त सन्धि लागू भएपछिको प्रमुख लक्ष्य कटु स्वाद हुने चुरोटलाई स्वादिलो बनाउन प्रयोग गरिने बास्ना र स्वादवर्द्धक तत्वलाई सरकारहरुले कसरी नियन्त्रण गर्न सक्छन् भन्नेबारे मार्गनिर्देशन तयार गर्नु थियो । अब उक्त सन्धिको धारा ९ र १० ले प्रत्येक देशले कसरी आफ्नै प्रावधानहरु ल्याउन सक्नेछन् भन्नेबारे मार्गचित्र प्रदान गरेको छ ।
श्रीलङ्काको बजेटमा धेरै कर छूट, थोरै बजेट
मङ्सिर ६, कोलम्बो । श्रीलङ्काली राष्ट्रपति महिन्द राजपाक्षेले शपथ ग्रहण गरेपछि सोमवार सन् २०११ को बजेट संसद्मा प्रस्तुत गरेका छन् । बजेटमा धेरै किसिमका करहरुमा छुट दिइएको छ भने बजेट घाटा विगत १९ वर्षै न्यूनतम विन्दुमा पुगेको छ । विद्रोही तमिल टाइगरहरुलाई २५ वर्षको संघर्षपछि २००९ मे मा परास्त गरेपछि श्रीलङ्काको यो पूरा एक वर्षको पहिलो बजेट हो । २०१० मा राष्ट्रपति र संसद्को निर्वाचनका कारण पुरा वर्षको बजेट ल्याइएको थिएन । सन् २०११ को बजेटमा युद्धपछिको पुनःनिर्माणलाई तीव्र बनाउन १ दशमलब ४२ टि्रलियन रुपैयाँ (१२ अर्ब ७० करोड डलर) खर्च गर्ने प्रस्ताव भए पनि बजेट घाटा कुल गार्हस्थ उत्पादनको ६ दशमलब ८ प्रतिशत मात्र हुने प्रक्षेपण गरिएको छ । यो घाटा १९९२ पछिको न्यूनतम हो ।
श्रीलङ्का सरकारले अन्तरराष्ट्रिय मुद्रा कोषसँग २ अर्ब ६० करोड डलरको ऋण लिन गरेको वाचाअनुरुप बजेट घाटा घटाइएको बताइएको छ । सोमवारको बजेटमा रक्षासम्बन्धी प्रस्तावित खर्च भने कति हुने हो, खुलाइएको छैन । राजपाक्षेले वित्तीय सेवा, बैङ्कको नाफा र पर्यटन उद्योगको नाफामा कर घटाएको छ । पर्यटन उद्योगबाट श्रीलङ्का सरकारले सन् २०१६ सम्ममा २ अर्ब डलर राजश्व उठाउने लक्ष्य लिएको छ । तर, दूरसञ्चार र चियाको निर्यातमा भने कर बढाइएको छ । श्रीलङ्काको हालसम्मको कर प्रणालीमा कार्पोरेट कर ६० प्रतिशत भन्दा बढी भएको भन्दै विश्व बैङ्कले त्यसलाई घटाउन दबाब दिँदै आएको छ । सोमवारको बजेटमा राजपाक्षेले सरकारी कर्मचारीको तलव पनि बढाएका छन् । उनले ५ वर्षघिदेखि तवब बढाउने वाचा गरेका थिए । श्रीलङ्काका सरकारी कर्मचारीहरुको युनियनको सरकार ढाल्न सक्ने क्षमता भएको मानिन्छ ।
मुद्रास्फीति नियन्त्रण हुने चीनको आश्वासन
मङ्सिर ६, चीन -साङ्र्घाई । बढ्दो मूल्यलाई नियन्त्रण गर्दै आर्थिक वृद्धिलाई सही बाटोमा राख्ने क्षमता बेइजिङसँग रहेको चीनको मुख्य योजना निकायले सोमवार भनेको छ । बढ्दो मुद्रास्फीतिका बारे जनतामा रहेको चिन्तालाई शान्त गर्ने पछिल्लो प्रयासस्वरूप उक्त भनाई आएको हो । खाद्यपदार्थको बढ्दो मूल्यले गर्दा चिन्ता बढे पनि मूल्य नियन्त्रणमा राख्न सकिने अवस्था छ, चीनको राष्ट्रिय विकास तथा पुनर्निर्माण आयोगले आप\mनो वेबसाइटमा सोमवार भनेको छ । ऋण नियन्त्रण गर्न तथा गत अक्टोबरमा भएको विगत २५ महीनाकै सबैभन्दा उच्च मुद्रास्फीति कम गर्न बेइजिङले दुइ हप्ताभित्रै दोस्रोपटक बैङ्कहरूको सञ्चित कोष बढाउने निर्णय शुक्रवार गरेको थियो । उक्त निर्णय छि जनतामा देखिएको चिन्तालाई कम गर्ने प्रयासस्वरूप आयोगको भनाई आएको छ ।
उक्त कदमपछि चीनमा धेरैले ब्याजदर बढ्ने सम्भावना व्यक्त गरेका छन् । ब्याजदर बढ्न सक्ने वा मुद्रास्फीति नियन्त्रण गर्न लगाइएको कडा आर्थिक नियन्त्रणले आर्थिक वृद्धिदर झन् घट्न सक्ने भन्ने लगानीकर्ताहरूको चिन्ताबीच चीनको स्टक बजार ओरालो लागेको छ । अर्थशास्त्रीहरूका अनुसार आर्थिक उत्प्रेरणाको कार्यक्रम तथा बैङ्कहरूले गरेको ऋणप्रवाहले गर्दा अर्थतन्त्रमा मुद्राको आपूर्ति बढेको हुनाले अक्टोबरमा मुद्रास्फीति पनि बढ्न पुगेको थियो ।