भारतमा प्याजको निर्यातमा प्रतिबन्ध, भाउ घटयो
पुस ६, नयाँ दिल्ली (भारत) । भारतमा प्याजको मूल्यमा ३० प्रतिशतभन्दा बढीले गिरावट आएको छ । भारत सरकारले मूल्य नियन्त्रण गर्ने उद्देश्यका साथ प्याजको निर्यातमा प्रतिबन्ध लगाएपछि प्याजको भाउ सस्तिएको हो । प्याजको भाउ महँगो हुँदा भारतीय जनताले प्रदर्शनसमेत गर्ने गरेका छन् ।गत हप्ता प्याजको मूल्यमा दोब्बरभन्दा बढीले वृद्धि भएको थियो । प्याज उब्जनी क्षेत्रमा ठूलो पानी परेपछि प्याजको उत्पादन तथा आपूर्तिमा कमी आएर गत हप्ता प्याजको मूल्य दोब्बरभन्दा बढीले वृद्धि भएको थियो ।
भ्रष्टाचारको आरोप तथा सशक्त विपक्षको सामना गरिरहेको गठबन्धन सरकारका लागि खाद्यपदार्थको मूल्यवृद्धिको समस्या थपिनपुगेको छ । कृषि मन्त्रालयले जनवरी १५ सम्मका लागि प्याजको निर्यात प्रतिबन्ध गरेको सोमवार घोषणा गरेको छ । साथै छिमेकी पाकिस्तानबाट प्याज आयात गर्ने निर्णय पनि भारत सरकारले गरेको छ । गत हप्ता प्याजको खुद्रा मूल्य भारू. ३५ बाट बढेर ८० सम्म पुगेको स्थानीय सञ्चारमाध्यमले जनाएका थिए । नासिक तथा प्याज उब्जनी हुने अन्य क्षेत्रमा पानी परेकाले भाउ बढेको कृषिमन्त्री शरद पवारले बताए । साथै दुइ तीन हप्ताभित्रै अवस्था सामान्य हुने पनि पवारले संवादाताहरूलाई बताए ।मङ्गलवार भने महाराष्ट्रस्थित भारतकै सबैभन्दा ठूलो प्याजको थोक बजार लासालगाउँमा प्याजको थोक मूल्य घटेर प्रतिसय केजी भारू. २ हजार ५ सयमा आइपुगेको छ । विगतमा प्याजको भाउमा वृद्धि हुँदा भारतका प्रान्तीय सरकारहरू ढलेका समेत छन् । त्यस्तैगरी खाद्यान्नको मूल्यमा हुने वृद्धिले प्रायः सडकमा आन्दोलन हुने गरेका छन् । मुद्रास्फीति देशका लागि गम्भीर चिन्ताको विषय भएको प्रधानमन्त्री मनमोहन सिंहले सोमवार बताएका छन् ।
रोयटर्स
थाइल्याण्डले अनुदानको समय बढायो
पुस ६, बैङ्कक (थाइल्याण्ड) । थाई मन्त्रिमण्डलले निम्न आय भएका थाईहरूका लागि दिइएको अनुदान थप दुइ महीना दिने भएको छ । यसअनुसार फेब्रुअरीसम्म अनुदान दिइनेछ । यस निर्णय सँगै अधिकांश उत्पादक उपभोग सामग्रीको मूल्य मार्चको अन्त्यसम्म अहिलेकै दरमा राख्न सहमत भएको मन्त्रीहरूले मङ्गलवार बताएका छन् । अनुदानको अवधि बढाएपछि सरकारलाई थप १० करोड ३० लाख डलरको भार पर्ने अर्थमन्त्री कोर्न छातिकाभानिजले बताए । थाइल्याण्डको पूर्ववर्ती सरकारले शुरू गरेको उक्त अनुदान वर्तमान प्रधानमन्त्री अभिजित भेज्जाजिवाको सरकारले पनि धेरै पटक लम्ब्याएको थियो । अनुदानअन्तर्गत सुलभ मूल्य वा सित्तैमा बिजुलीबत्ती तथा र्सार्वजनिक यातायातको सुविधा दिइएको छ । प्रधानमन्त्रीले आगामी जनवरीको शुरूमा थप नयाँ प्रावधानको घोषणा गर्ने कोर्नले गत हप्ता बताएका थिए । जीवन निर्वाह खर्च, कालो अर्थतन्त्र तथा जनता र सम्पत्तिको सुरक्षासँग सम्बन्धित समस्या पत्ता लगाउन एउटा कार्यदल गठन गरिएको छ । सोही कार्यदलको प्रतिवेदनको आधारमा त्यस्ता प्रावधान आउने कोर्नले बताएका थिए । थाई सरकारका ती प्रावधान धनी र गरीबबीच रहेको आम्दानीको ठूलो खाडललाई घटाउनेतर्फलक्षित रहेका छन् । रोयटर्स
ब्राजिल विश्वकै चौथो ठूलो कार बजार
पुस ६, साओ पाउलो (ब्राजिल) । विश्वकै सबैभन्दा चौथो ठूलो कार बजारका रूपमा यस वर्ष ब्राजिलले जर्मनीलाई उछिनेको छ । तीव्र रूपले विकास भइरहेको ब्राजिलको अर्थतन्त्रमा विदेशी लगानीकर्ताहरू आकर्षित भएका छन् । २०१० को अन्त्यसम्ममा ब्राजिलमा ३० लाख ४५ हजार गाडीहरू विक्री हुने अनुमान गरिएको छ । सो सङ्ख्या गतवर्षको भन्दा दश प्रतिशतले बढी भएको ब्राजिलको गाडी निर्माता कम्पनीहरूको सङ्गठन एन्फाभिआले जनाएको छ । त्यसको फलस्वरूप चीन, अमेरिका तथा जापानपछि कार तथा हलुका ट्रकको विक्रीमा ब्राजिल चौथो ठूलो राष्ट्र हुनेछ । ब्राजिलको जनसङ्ख्या १९ करोड २० लाख रहेको छ । हाल सातजना बासिन्दाका लागि एउटा मात्र गाडी रहेकाले ब्राजिलको गाडी बजारमा वृद्धिको प्रचुर सम्भावना रहेको एन्फिआका सभापतिले बताए । एएफपी/रासस
भारत-रूस आणविक ऊर्जा सम्झौता
पुस ६, नयाँ दिल्ली (भारत) । रूस तथा भारतले पाँचौं पुस्ताको लडाकू विमान विकास योजनामा बिहीवार सम्झौता गरेका छन् । उक्त योजनाको लागत मूल्य ३० अर्ब डलरसम्म हुन सक्नेछ । साथै भारतमा दुइ ओटा रसियाली आणविक रियाक्टरको निर्माण गर्ने विषयमा पनि उनीहरूबीच सहमति भएको छ । भारत भ्रमणमा रहेका रसियाली राष्ट्रपति दिमित्री मेद्भेदेभ तथा भारतीय प्रधानमन्त्री मनमोहन सिंहबीच नयाँ दिल्लीमा भइरहेको वार्ताको अवसरमा उक्त सम्झौता भएको हो । वार्ताका क्रममा द्विपक्षीय व्यापारलाई दोब्बर गर्दै २०१५ सम्ममा २० अर्ब पुर्याउने लक्ष्य दुवै पक्षले राखेका थिए । मेद्भेदेभ मङ्गलवार भारत आइपुगेका हुन् । कुनै समय मस्कोको वर्चस्व रहेको भारतीय सुरक्षा बजारमा बढ्दो अन्तरराष्ट्रिय प्रतिस्पर्धाको सामना गर्न मेद्भेदेभ भारत आएका हुन् । जुलाइमा बेलायती प्रधानमन्त्री डेभिड क्यामरोन आएका थिए भने गत ६ हप्ताभित्रै अमेरिकी राष्ट्रपति बाराक ओबामा, फ्रेञ्च राष्ट्रपति निकोलस सार्कोजी तथा चिनियाँ प्रधानमन्त्री वेन जिआवाओले भारतको भ्रमण गरिसकेका छन् । एएफपी/रासस