तेलको बढ्दो मूल्यले आर्थिक पुनर्बहालीमा चुनौती : बिरोल
असार ७, सिङ्गापुर । तेलको हालको उच्च मूल्य कायमै रहेमा त्यसले विश्वव्यापी आर्थिक पुनर्बहालीलाई समेत अप्ठयारोमा पार्ने अन्तरराष्ट्रिय ऊर्जा निकाय (आईईए)का प्रमुख अर्थशास्त्री फतिह बिरोलले चेतावनी दिएका छन् । तेलको उच्च मूल्य कायमै रहेमा हालको आर्थिक पुनर्बहालीलाई नै अस्थिर बनाउन सक्ने बिरोलको भनाइ छ । सिङ्गापुरमा भइरहेको एउटा सम्मेलनमा बोल्दै बिरोलले त्यस्तो चिन्ता प्रकट गरेका हुन् । बिरोलका अनुसार यस वर्षप्रतिब्यारेल तेलको मूल्य औसत १ सय १० डलर छ । यो मूल्य सन् २००८ को ९० डलर प्रतिब्यारेलभन्दा निकै बढी हो । विश्वव्यापी मन्दी शुरू हुनुअघि कच्चा तेलको मूल्य हालसम्मकै उच्च प्रतिब्यारेल १ सय ४७ डलर पुगेको थियो ।
२००९ सम्मै कायम रहेको मन्दीलाई उदीयमान एशियाली देशहरूले सजिलै पार गरे पनि अमेरिका र यूरोपलाई भने निकै समस्या परेको थियो । खासगरी पछिल्ला दिनहरूमा चीन, भारतलगायतका उदीयमान अर्थतन्त्रहरूबाट कच्चा तेलको माग झनै बढेकाले तेलको उच्च मूल्यवृद्धि भइरहेको बिरोलको धारणा छ । 'सजिलो गरी भन्ने हो भने पाँच देशले विश्वव्यापी ऊर्जा खपत र माग बढाइरहेका छन् । ती देशहरू क्रमश: चीन, चीन, चीन, भारत र मध्यपूर्व हुन्,’ बिरोलले ठटयौली पारामा भने । पेरिसस्थित आईईए आर्थिक साझेदारी र विकास सङ्गठन (ओईसीडी)को ऊर्जा नीति हेर्ने निकाय हो । एएफपी/रासस
जापानद्वारा यूरोजोनलाई सहयोगको प्रतिबद्धता
असार ७, टोकियो (जापान) । जापानले यूरोपलाई ऋणसङ्कट समाधानका लागि सहयोग जारी नै राख्ने अर्थमन्त्री योशिहिको नोदाले बताएका छन् । ग्रीसको ऋणसङ्कटलाई थप वित्तीय दुर्घटनातर्फ जानबाट कसरी रोक्न सकिन्छ भन्ने विषयमा यूरोजोनका अधिकारीहरूले छलफल गरिरहेका छन् । जापानले यसअघि पनि यूरोपियन फाइनान्सियल स्टेबिलिटी फयासिलिटी (इएफएसएफ)ले जारी गरेको बण्ड खरीद गर्ने आश्वासन दिएको थियो ।ग्रीसपछि हाल आएर पोर्चुगल र आयरल्याण्डको समस्याले पनि यूरोजोनलाई चिन्तित बनाएको छ । गतवर्ष अर्बौं डलरको ऋणमोचन सहयोग पाएको ग्रीस अझै पनि आफूले लिएको कर्जा तिरेर सभरेन डिफल्टबाट जोगिन संघर्षरत छ ।
यूरोपेली वित्तीय अवस्थामा स्थिरताका लागि जापानले आफ्नै प्रकारले सहयोग गरिरहेको नोदाले मङ्गलवार बताएका छन् । पोर्चुगलको ऋणमोचनका बेलामा उद्धार कोषद्वारा जारी बण्ड खरीद गरेको स्मरण गर्दै त्यस्ता प्रयास जारी नै रहने नोदाले प्रतिबद्धता व्यक्त गरे । जापान विश्वमा चीनपछि दोस्रो ठूलो विदेशी मुद्रा सञ्चिति रहेको देश हो । जापानले यूरोपलाई सहयोग गर्नु पछाडि उसको आफ्नै स्वार्थ पनि रहेको हुन सक्ने कतिपय विश्लेषकको अनुमान छ । यूरोजोनका देशहरूका सोभरेन ऋणमा समस्याका कारण यूरोपेली बजारमा जापानी वस्तुको मागमा कमी आउने अथवा यूरोको तुलनामा येन झनै बलियो हुन सक्छ । अन्तरराष्ट्रिय मुद्रा कोषले पनि ग्रीसलगायत देशको वित्तीय सङ्कट यूरोजोनका १७ ओटै देशका साथै अन्यत्र पनि विस्तार हुन सक्ने चेतावनी दिएको छ । एएफपी/रासस
बोइङ र एयरबसको विमान बेच्ने होडबाजी
असार ७, ले बोर्गेट (फ्रान्स) । फ्रान्समा भइरहेको उड्डयन उद्योगसम्बन्धी एक प्रमुख प्रदर्शनी पेरिस एयर शोमा अमेरिकाको बोइङ र यूरोपको एयरबसबीचको प्रतिस्पर्धा फेरि झाङ्गिएको छ । तर, यूरोपेली विमान निर्माता कम्पनी एयरबसले हालैका प्राविधिक त्रुटिका कारण अझै पनि विश्वसनीयताको समस्या भोग्नुपरेको देखिन्छ ।नर्वेको विमानसेवा नर्वेजियन एयर शटलले कुल १ अर्ब २० करोड डलर सूचीकृत मूल्यमा १५ ओटा बोइङ ७३७-८०० प्लेनका लागि अर्डर दिने घोषणा गरेको छ । त्यस्ता ठूला अर्डर गर्दा विमानसेवाहरूले छूटको माग पनि राखेका हुन्छन् । त्यसैगरी, रूसी विमानसेवा एरोफ्लोतले आठओटा लामो दूरीका बोइङ ७७७-३०० ईआर विमानका लागि सम्झौता गरेको छ ।
एयरबसले भने आफ्ना नयाँ मोडेलका ए३५०-१००० विमानका लागि नयाँ र अझ बढी शक्तिशाली इञ्जिन आपूर्ति गर्न रोल्स रोयससँग औपचारिक सम्झौता गरेको छ । केही महीनाअघि एयरबसका विमानमा रहेका रोल्स रोयस इञ्जिनमा प्राविधिक त्रुटि देखिएपछि एयरबसकै विश्वसनीयतामा सङ्कट देखापरेको थियो ।सोमवार उद्घाटन भएको हालको पेरिस एयर शोमा एयरबस र बोइङले गरी कुल २५ अर्ब डलरबराबरको माग प्राप्त गरेको बताएका छन् । एएफपी/रासस
अमेरिकामा चुरोटको प्याकेट परिवर्तन
असार ७, रिचमण्ड (अमेरिका) । अमेरिकी बजारमा आउने चुरोटको खोलमा २५ वर्षपछिकै सबैभन्दा महत्त्वपूर्ण परिवर्तन देखिने भएको छ । अमेरिकाको खाद्य तथा औषधि नियामक निकाय फुड एण्ड ड्रग एडमिनिष्ट्रेशनले मङ्गलवार नौ प्रकारका नयाँ लेबल सार्वजनिक गरेका छन् । चुरोटको प्याकेटमा राखिने त्यस्ता लेबलमा स्पष्ट रूपले धूमपानका खराब असरबारे चित्रण गरिएका छन् ।त्यस्ता चित्रमा कुहिँदै गरेका र रोग लागेका दाँत, गिजाका साथै घाँटीको शल्यक्रियापछि चुरोट खाँदै गरेको चित्र पनि रहनेछन् । त्यसैगरी मरेको मान्छेले चुरोट पिउँदै गरेको, रोगग्रस्त फोक्सोका साथै एउटी आमाले आफ्ना साना नानीलाई चुरोटको धूवाँमा रूमल्याएको चित्र पनि प्याकेटमा हुनेछन् । साथै 'चुरोटले तपाईंलाई मार्न पनि सक्छ’ र 'चुरोटले क्यान्सर निम्त्याउँछ’ जस्ता वाक्यांश पनि प्याकेटमा हुनेछन् । त्यसैगरी, प्रत्येक प्याकेटमा कसरी चुरोट छाड्ने भन्नेबारे सल्लाह दिने राष्ट्रिय फोन नम्बर पनि रहनेछ । अमेरिकामा मात्रै सुर्तीजन्य रोगबाट प्रत्येक वर्ष४ लाख ४३ हजार जनाको मृत्यु हुने गरेको छ । एपी/रासस
भेनस विलियम्स र डेट क्रम पहिलोपटक भिड्दै
असार ७, विम्बल्डन (बेलायत) । भेनस विलियम्स र किमिको डेट क्रम विम्बल्डन प्रतियोगितामा पहिलोपटक भिड्ने भएका छन् ।भेनस विलियम्स खेल जीवनको १५औं विम्बल्डन खेलिरहेकी छन् भने डेट क्रम १५ वर्षअगाडिको सेमिफाइनल र ३ वर्षको विश्रामपछि विम्बल्डनमा फर्केकी हुन् । उनले सन् १९९९ मा पहिलोपटक विम्बल्डन प्रतियोगितामा भाग लिएकी थिइन् । प्रतियोगिताको दोस्रो चरणमा प्रवेश गर्दा ४० वषिर्या डेट क्रमले ब्रिटिस खेलाडी केटी ओ वायनलाई ६-० र ७-५ को सोझो सेटमा हराएकी हुन् ।त्यसैगरी अघिल्लो हप्ता ३१ वर्षपुगेकी विलियम्स ५ महीनाको विश्रामपछि खेलमा फर्केकी हुन् । उनीहरू दुवैको संयुक्त उमेर ७१ वर्ष छ । 'मलाई पुनरागमन आर्श्चर्यजनक लागेको थियो, मैले खेलका नतीजा हेरेँ उनी अत्यन्त राम्रो खेलिरहेकी छन् । वास्तवमा म उनको समर्थक हुँ । तर, अहिले उनीविरुद्ध खेलिरहँदा मैले आफूलाई नै समर्थन गर्नुपर्ने हुन्छ’ भेनसले भनिन् । ४० वर्ष९ महिनाकी डेट क्रम विम्बल्डन एकलमा तेस्रो र मार्टिना नाभ्रातिलोमापछि दोस्रो सर्वाधिक उमेरकी खेलाडी हुन् ।
भेनस विलियम्सले उज्वेकिस्तानकी अक्गुल अमानमुरादोभालाई ६-३ र ६-१ को सोझो सेटमा हराएकी थिइन् । उनले खेल अवधिमा लगाएको सुनको बेल्ट र जिपर भएको सेतो पोशाक दर्शकको आकर्षणको केन्द्र बनेको थियो । ग्राण्डस्लामको सेण्टर कोर्टमा मङ्गलवार हुने खेलहरूमा विमिन्स सिङ्गल्सतर्फ सातपटककी विम्बल्डन विजेता सेरेना विलियम्स, पुरुषतर्फ६ पटकका विजेता रोजर फेडेरर र अष्ट्रेलियन ओपनका साविक विजेता नोभाक जोकोभिकजस्ता चर्चित खेलाडीहरू खेल्दै छन् । एपी/रासस
प्रसिद्धिसँगै आएको म्याक्इल्रोयका चुनौती
गोल्फ संसारमा उत्कृष्टताको शिखरमा रहेका रोरी म्याक्इल्रोय सतर्क भएनन् भने उनले हासिल गरेको 'उत्कृष्टताको शिखर’ फेरि गुम्न सक्छ । म्याक्इल्रोयका आफ्नो देशवासी जर्ज बेष्ट पनि एक विराट प्रतिभा थिए । तर, सन् ६० को दशकतिर मादक पदार्थको अत्यधिक सेवन र दुर्व्यसनका कारण म्याञ्चेष्टर युनाइटेडका ती प्रतिभाले आफ्नो पूर्ण क्षमता हासिल गर्न सकेनन् ।
बेष्टको २००५ मा ५९ वर्षको उमेरमा मृत्यु भएको थियो । बेष्टका साथै, म्याकइल्रोयले आफ्नै समकालीन टाइगर उड्सको जीवनीबाट पनि सिक्नु राम्रो हुन्छ । तर, २२ वर्षीय म्याक्इल्रोयमा हालसम्म त्यस्तै कुनै कमजोरी नदेखिएकाले उनका थुप्रै प्रशंसकले उनीबाट ठूलो अपेक्षा गरेका छन् । खेलमा प्रसिद्धि र सफलतासँगै आफ्नो विनम्रता र असल व्यवहारलाई जोगाइराख्नु म्याकइल्रोयका लागि अर्को चुनौती हुनेछ । एपी/रासस
Admin 2011-06-22