भारतको निर्यात हालसम्मकै उच्च
वैशाख ७, नयाँ दिल्ली (भारत) । भारतको निर्यात गत आर्थिक वर्ष२०१०/११ मा हालसम्मकै उच्च हुनपुगेको छ । तर, अन्तरराष्ट्रिय अर्थतन्त्रको अनिश्चितता र बढ्दो आयात खर्चका कारण व्यापारघाटाबारेको चिन्ता यथावत् रहने देखिएको छ । भारत विश्वकै तीव्र आर्थिक वृद्धि हासिल गरिरहेका देशहरूमध्ये एक हो ।भारतमा उत्पादित वस्तुको निर्यात गतवर्षमा वार्षिक ३७ दशमलव ५ प्रतिशत दरले वृद्धि भएर २ खर्ब ४६ अर्ब डलर पुगेको व्यापारमन्त्री आनन्द शर्माले बताए । खासगरी इञ्जिनीयरिङ वस्तु, तेलका उत्पादन र बहुमूल्य रत्नको माग बढेको छ । सरकारले भने २ खर्ब डलरको निर्यात लक्ष्य राखेको थियो ।अप्रिलदेखि शुरू भएको आर्थिक वर्ष२०११/१२ मा पनि २५ प्रतिशतले निर्यात वृद्धि लक्ष्य राखिएको शर्माले बताए । भारत सरकारले उत्पादित वस्तुको निर्यात ३ वर्षभित्र दोब्बरले वृद्धि हुने अपेक्षा गरेको छ ।'व्यापारघाटालाई १ खर्ब वा त्योभन्दा अलिकता बढीमा राख्न हामी सफल भएका छौं, शर्माले भने । तर, व्यापारघाटाका क्षेत्रमा ध्यान दिनुपर्ने कुराहरू अझै रहेको शर्माले बताएका छन् ।मार्चको निर्यात भने वार्षिक ४३ दशमलव ९ प्रतिशतले वृद्धि भएर २९ अर्ब १० करोड डलर पुगेको थियो । यस वर्षभारतको अर्थतन्त्र ९ प्रतिशतका दरले विस्तार हुने अपेक्षा गरिएको छ । रोयटर्स
गहुँ र चामलको निर्यात खुलाउन भारतीय कृषिमन्त्रीको सुझाव
वैशाख ७, नयाँ दिल्ली (भारत) । भारतले गहुँ र चामलको निर्यात फुकुवा गर्नुपर्ने त्यहाँका कृषिमन्त्री शरद पवारले बुधवार बताएका छन् । देशमा पर्याप्त अन्न भण्डारण रहेको र अन्तरराष्ट्रिय बजारमा ती खाद्यान्नको राम्रो मूल्य रहेकाले निर्यात फुकुवा गरिनुपर्ने पवारको तर्क छ । भारतमा यस वर्षको मनसुन राम्रो रहने पहिलो आधिकारिक पूवानुमान आएको भोलिपल्टै पवारको यस्तो विचार आएको छ । मनसुन राम्रो हुँदा उत्पादन वृद्धि भएर निर्यात प्रवर्द्धन हुने अपेक्षा गरिएको छ । तर, घरेलु बजारमै खाद्यवस्तुको भाउ चर्किरहेकाले निर्यात गर्ने निर्णयगर्नु सरकारका लागि अप्ठयारो हुनेछ । त्यसमाथि सत्तारूढ काङ्ग्रेस पार्टीी कतिपय राज्यमा चुनाव हारिरहेकाले खाद्यान्नको विषयमा सरकारले कुनै जोखिमपूर्ण निर्णयलिने सम्भावना अत्यन्तै कम छ । भारत गहुँ र चामलको विश्वमै दोस्रो ठूलो उत्पादक देश हो । खाद्यान्नको निर्यातमा २००७ देखि नै भारतले कडा नियन्त्रण गरेको छ । रोयटर्स
चीनको साइनोपेकद्वारा तेल निर्यात रोक्का
वैशाख ७, बेइजिङ (चीन) । चीनको अग्रणी तेल कम्पनी साइनोपेकले घरलु बजारको माग सम्बोधन गर्न तेलका उत्पादकहरूको निर्यात बन्द गरेको छ । मध्यपूवको अस्थिरता र जापानको भूकम्पबाट तेलको आपूर्ति प्रभावित हुन सक्ने आशङ्काबीच चीनमा पनि तेलको माग बढेको छ ।सिन्हवाका अनुसार, साइनोपेकले कहिलेसम्मका लागि तेलजन्य निर्यात रोक्का गरेको हो त्यसबारे खुलाएको छैन । तर, घरेलु बजारमा प्रशोधित तेलजन्य पदार्थको आपूर्ति कायम राख्न साइनोपेकले क्रमबद्ध रूपले उत्पादन बढाउने योजना बनाएको छ । खासगरी दक्षिणी चिनियाँ विशेष क्षेत्रका हङकङ र मकाउमा आपूर्तिलाई निरन्तर कायम राखिने साइनोपेकले बताएको छ । तर, त्यति हुँदाहुँदै पनि आपूर्तिमा कमी आउन सक्ने बारे पनि उक्त कम्पनीका एक अधिकारीले सिन्हवालाई बताएका छन् । एएफपी/रासस
प्रमुख पाँच अर्थतन्त्रमा रूस आउने पुटीनको दावी
वैशाख ७, मस्को (रूस) । रूस २०२० सम्ममा विश्वकै पाँच ठूला अर्थतन्त्रमध्ये एक हुन सक्ने प्रधानमन्त्री भ्लादिमिर पुटीनले बताएका छन् । त्यसका लागि रूसको अर्थतन्त्रले बाह्य चुनौती थेग्न सक्नुपर्ने पुटीनको विचार छ । रूसी संसद्को तल्लो सदनलाई सम्बोधन गर्ने क्रममा पुटीनले त्यस्तो धारणा राखेका हुन् ।२०११ का लागि रूसको मूल्यवृद्धि दर ६ दशमलव ५ देखि ७ दशमलव ५ प्रतिशतभन्दा ननाघ्ने पुटीनले दाबी गरेका छन् । साथै, यस वर्षको पहिलो त्रैमासमा कुल गार्हस्थ्य उत्पादन ४ दशमलव ४ प्रतिशतले बढेको पुटीनले जानकारी दिएका छन् ।
'कुल गार्हस्थ्य उत्पादनको आधारमा रूस विश्वको पाँच अग्रणी देशमा आउनुपर्छ,’ पुटीनले भने । पुटीनका अनुसार, त्यसका लागि रूसको प्रतिव्यक्ति कुल गार्हस्थ्य उत्पादन ३५ हजार डलर पुग्नुपर्ने हुन्छ । रूसले कस्ता बाह्य चुनौतीको सामना गर्नुपर्नेछ भन्नेबारे भने पुटीनले स्पष्ट खुलाएनन् । तर, आर्थिक कमजोरी र बाह्य उताचढाव प्रतिको संवेदनशीलताले राष्ट्रिय स्वाधीनतामै चुनौती आउने पुटीनको विचार छ । 'कुरा स्पष्ट छ । कमजोर भइयो भने बाह्य शक्तिले कुन दिशामा अघि बढने भनेर निर्देशन दिनेछन्,’ पुटीनले भने । रोयटर्स
ऊँटको मासु: अष्ट्रेलियाको नयाँ निर्यात
वैशाख ७, सिड्नी (अष्ट्रेलिया) । उँटको मासु अष्ट्रेलियाको पछिल्लो निर्यात हुने भएको छ । इजिप्टका एक व्यापारीले दक्षिणी अष्ट्रेलियाको एक ग्रामीण शहरमा वधशाला र मासु प्रशोधन केन्द्र खोल्ने भएका छन् । त्यसपछि अष्ट्रेलियाबाट उँटको मासु संसारभरि निर्यात गर्ने माग्दी अल अस्रमको योजना छ । उँटको मासु गाईगोरु वा बीफभन्दा पनि स्वस्थ्य हुने अस्रम बताउँछन् । त्यसबाट अष्ट्रेलियामा अनियन्त्रित रूपले बढ्दै गएको उँटको सङ्ख्या पनि नियन्त्रण हुने उनको विचार छ । साथै, बेरोजगारीले आक्रान्त क्षेत्रमा ३ सय ओटासम्म रोजगार सृजना हुने अस्रमले दाबी गरेका छन् ।
'उँटको मासु बीफको भन्दा धेरै स्वस्थ्य हुन्छ । उँटमा सबै जनावरको भन्दा थोरै बोसो हुन्छ’ अस्रमले भने । मध्यपूव, उत्तर अफ्रिका र यूरोपमा उँटको मासु लोकप्रिय छ । उता अष्ट्रेलियामा पनि पर्याप्त उँट रहेको अस्रमले बताए । सन् १८४० को दशकमा भारतबाट यातायात साधनका रूपमा अष्टेलियामा उँट ल्याइएका थिए । हाल अष्ट्रेलियाको निर्जन क्षेत्रमा १० लाखभन्दा बढी उँट घुमिरहेका छन् ।प्रत्येक ९ वर्षमा ती उँटको सङ्ख्या दोब्बर हुने गरेको छ । त्यसबाट पारिस्थितिक प्रणालीमै असर पुगेकाले ती उँटको व्यवस्थापन गर्नु अष्ट्रेलिया सरकारको पनि टाउको दुखाइ भएको छ । रोयटर्स
म्याकडोनल्डद्वारा एक दिनमा ५० हजारलाई रोजगार
वैशाख ७, न्यूयोर्क (अमेरिका) । म्याकडोनल्डले अमेरिका भरिबाट मङ्गलवार एकदिन भित्रै ५० हजार नयाँ कर्मचारी भर्ना गरेको छ । रोजगारका लागि हजारौं अमेरिकी युवा सामूहिक भर्नाको उक्त कार्यक्रमका लागि लाम लागेका थिए । म्याकडोनल्डको अमेरिकाभरि १४ हजार पसल छन् । प्रत्येक पसलमा तीनदेखि चार जना कर्मचारीको आवेदन मागिएको थियो । आर्थिक मन्दीपछिको समयमा अमेरिकी अर्थतन्त्र अझै राम्ररी तङ्ग्रिसकेको छैन । त्यसैले बजारको अवस्था कठिन रहेको बेला म्याकडोनल्डको भर्नामा बेरोजगारहरूको भीड लागेको हो ।
न्यूयोर्कवासी २४ वर्षीय टमस हिल त्यस्तै एक उम्मेदवार हुन् । उनले एक दिनभरिमा सक्दो धेरै ठाउँमा अन्तरवार्ता दिने प्रयास गरेका छन् । न्यूयोर्क क्षेत्रमा म्याकडोनल्डका ६ सय २० ओटा पसल छन् । मध्य बिहानीसम्ममा हिल र उनका एक साथीले पाँचओटा त्यस्ता पसलमा अन्तरवार्ता दिइसकेका थिए ।'म जुनसुकै पदमा पनि काम गर्न तयार छु । म जे पनि गर्छु, मलाई पैसाको अत्ति खाँचो परेको छ,’ एउटा अन्तरवार्तापछि हिलले भने । म्याकडोनल्डले कम तलब र कम सम्भावना भएका काम दिने सामान्य धारणा छ । त्यसैले कम्पनीका हाकीमहरू त्यस्तो धारणा हटाउने प्रयास गरिरहेका छन् । आवेदकहरूलाई दिइएको कागजमा पदहरूले 'रमाइलो र तीव्र विकासको वातावरण’ प्रदान गर्नेजस्ता आकर्षक शब्दावली प्रयोग गरिएको छ । एएफपी/रासस
अमेरिकामा ७० लाख मैनबत्ती फिर्ता
वैशाख ७, वाशिङटन (अमेरिका) । अमेरिकामा ७० लाखभन्दा बढी मैनबत्ती बजारबाट फिर्ता मगाइएका छन् । मैनबत्ती राखिने भाँडो पग्लेर वा जलेर आगलागी हुन सक्ने सम्भावना भएकाले ती मैनबत्ती फिर्ता मगाइएका हुन् । चेसापिके बे क्याण्डल र मोर्डन लाइट नाम भएका दुई ब्राण्डका मैनबत्ती फिर्ता हुने भएका छन् ।मैनवत्ती अडयाउने भाँडो प्लाष्टिकबाट बनेकाले त्यो पग्लेर वा जलेर आगलागी हुन सक्ने उपभोक्ता वस्तु सुरक्षा आयोगले भनेको छ । होम गुड्स, टार्गेट, वेगम्याञ्जलगायतका अमेरिकाभरिका पसलमा ती मैनबत्ती राखिएका थिए । मैनबत्ती प्रयोग गर्दा अडयाउने भाडो पग्लेको खबर आएपछि त्यस्तो कदम चालिएको हो । हालसम्म मैनबत्तीको प्रयोगबाट कुनै क्षति वा चोटपटकको घटना भने हुन पाएको छैन । एपी/रासस
काबुल बैङ्कको ५ प्रतिशत कर्जा मात्र असुली
वैशाख ७, काबुल (अफगानिस्तान) । काबुल बैङ्क खराब कर्जामध्ये हालसम्म ५ प्रतिशत मात्र उकास्न सफल भएको अफगानिस्तानका गभर्नरले बताएका छन् । तर, त्यसरी गुमेको लाखौं डलरको रकम असुली तर्फथप कदम चालिने पनि उनले जानकारी दिएका छन् । गभर्नर अब्दुल कदिर फितरतका अनुसार, काबुल बैङ्कले कुल ५७ करोड ९० लाख डलरबराबर ऋण दिएको अनुसन्धानबाट देखिएको छ । काबुल बैङ्कले बैङ्कका शेयर होल्डर तथा अन्यलाई अनुचित तवरले ठूलो मात्रामा ऋण दिइएको थियो । हालै, अफगानिस्तानका राष्ट्रपति हमिद कार्जाईले पनि काबुल बैङ्कका विदेशी सल्लाहकार पनि बैङ्कलाई डुबाउन जिम्मेवार रहेको आरोप लगाएका थिए ।काबुल बैङ्क अफगानिस्तानको निजीस्तरको सबैभन्दा ठूलो वित्तीय संस्था हो । अनुचित ऋण प्रक्रिया र खराब व्यवस्थापनका कारण गतवर्ष उक्त बैङ्क झण्डै धराशयी हुन पुगेको थियो । त्यसपछि उक्त बैङ्कलाई केन्द्रीय बैङ्कले आफ्नो नियन्त्रणमा लिएको थियो । केन्द्रीय बैङ्कले नेसर युसुफजाईको नेतृत्वमा नयाँ रिसिभरशिप आयोग गठन गरेको छ । आयोगअन्तर्गत बैङ्कलाई पहिले विघटन गरिने र त्यसपछि बेचिने योजना छ । एपी/रासस
Admin 2011-04-21