जापानको पनि क्रेडिट रेटिङ घटयो
भदौ ७, टोकियो (जापान) । संयुक्त राज्य अमेरिकाको क्रेडिट रेटिङ घटेको महीना दिन नबित्दै जापानको पनि रेटिङ घटेको छ । विश्वको दोस्रो ठूलो क्रेडिट रेटिङ एजेन्सी 'मुडिज इन्भेष्टर्स सर्भिस'ले बुधवार जापानको क्रेडिट रेटिङ एक तहले घटाउँदै 'डबल ए थ्री' कायम गरेको हो । क्रेडिट रेटिङ घटाउनुपर्ने कारण दिँदै 'मुडिज'ले सार्वजनिक गरेको प्रतिवेदनमा जापानको आन्तरिक र बाह्य ऋणस्तर सन् २००८ मा शुरू भएको आर्थिक मन्दीयता व्यापक बढेको र त्यसले गर्दा आर्थिक सुधार र पुनरोत्थानको मार्गमा गम्भीर असर परेको बताएको छ । साथै, जापानी राजनीतिज्ञहरूमा देखिएको अदूरदर्शिता रणनीतिक लक्ष्यहरू पहिल्याउँदै समस्या समाधान गर्न बाधक भएको प्रतिवेदनमा उल्लेख छ । विगत ५ वर्षमा भएका सरकार परिवर्तनले अस्थिरता मात्र बढाएको र जापानको दीर्घकालीन अवधि र रणनीतिक महत्त्वका आर्थिक तथा वित्तीय योजना एवम् नीति निर्माण गर्न रोकेको प्रतिवेदनमा औंल्याइएको छ ।
सन् २०११ मार्चमा भएको प्राकृतिक र आणविक दुर्घटनापछि अलोकप्रिय बनेका जापानी प्रधानमन्त्री नाओतो कानको उत्तराधिकारी छान्न अर्को हप्ता जापानी संसद्मा प्रधानमन्त्री छनोट हुने समाचारहरू आइरहँदा 'मुडिज'को निर्णयलाई अर्थपूर्ण रूपमा हेरिएको छ । सन् २०११ मेमा 'मुडिज'ले आर्थिक सुधार र पुनरोत्थानको गति सन्तोषजनक नभएको बताउँदै जापानको क्रेडिट रेटिङलाई 'डबल ए टु'मा झार्ने चेतावनी दिएको थियो । उक्त समयमा 'मुडिज'ले जापानको ५ ट्रिलियन अमेरिकी डलरबराबरको अर्थतन्त्रभन्दा ऋण अनुपात दुई गुणा रहेको बताएको थियो । प्रतिवेदन सार्वजनिक भएपछि 'मुडिज'का वरिष्ठ उपाध्यक्ष तथा क्षेत्रीय कर्जा अधिकृत टम बार्नेले बढ्दै गएको बजेट घाटा र ऋण अनुपात कम गर्न जापानले वार्षिक ३ प्रतिशतका दरले आर्थिक वृद्धि हासिल गर्नुपर्ने बताए । उनले अब आगामी १२ देखि १८ महीनासम्म जापानको रेटिङ परिवर्तन गर्ने 'मुडिज'को कुनै योजना नरहेको पनि उल्लेख गरे । सन् १९९७ सम्म 'ट्रिपल ए' रहेको जापानको क्रेडिट रेटिङ सन् १९९८ मा 'डबल एप्लस'मा झरेको थियो । एजेन्सी
जी-२० लाई वित्तीय असन्तुलन सच्याउन आग्रह
भदौ ७, मुम्बई (भारत) । जी-२० समूहका अग्रणी र उदीयमान देशहरूले विश्वव्यापी असन्तुलन सच्याउन पर्याप्त प्रयास नगरेकाले अझ बढी वित्तीय अस्थिरता निम्त्याउन सक्ने बैङ्क अफ क्यानडाका एक उच्च अधिकारी टिफ म्याक्लेमले बताएका छन् । म्याक्लेमका अनुसार जी-२० का केही देशले तिनको बजेटघाटा र ऋणसम्बन्धी समस्या पहिल्याउनेतर्फ गत वर्ष टोरण्टो बैठकमा गरेका वाचा पूरा गरेका छैनन् ।
'बृहत् अर्थशास्त्रीय असन्तुलन सम्बोधनका लागि कतिपय देशको सुस्त प्रगतिले विश्वव्यापी पुनर्बहालीमा कठिनाइ आउनुका साथै वित्तीय अस्थिरताको जोखिम बढेको छ,’ म्याक्लेमले भने । बलियो, दिगो र सन्तुलित वृद्धिको योजना विकासका लागि गठित कार्यसमूहको अध्यक्षता क्यानडा र भारतले गरिरहेका छन् ।
विकसित देशहरूमा भने वित्तीय सुदृढीकरणका लागि योजना बनिरहेको भए तापनि कतिपय त्यस्ता देशमा हालका योजनाले बजारको विश्वास जित्न नसकेको म्याक्लेमको धारणा छ । साथै, जी-२० का उदीयमान सदस्य देशहरूले बढ्दो गतिमा विदेशी मुद्रा सञ्चय गरिरहेका र २०१० मा त्यस्तो सञ्चय तिनको कुल गार्हस्थ्य उत्पादनको ३२ प्रतिशत पुगिसकेको पनि म्याक्लेमले जानकारी दिएका छन् । एजेन्सी
कच्चापदार्थको प्रतिबन्धबारे डब्ल्यूटीओमा अपील
भदौ ६, बेइजिङ (चीन) । चीन सरकारले आफ्नो देशका कच्चापदार्थ निर्यातमा लगाएको नियन्त्रण विश्व व्यापार सङ्गठन (डब्ल्यूटीओ)ले अमान्य घोषित गरेपछि चीनले त्यसविरुद्ध अपील गर्ने भएको छ । चीनको वाणिज्य मन्त्रालयका प्रवक्ताले बुधवार आफ्नो देशको निर्यातसम्बन्धी नियम डब्ल्यूटीओका नियमहरूसँग फरक पर्ने नभएकाले उक्त अपील गर्न लागेको बताएका छन् ।
सन् २०११ जुलाईमा डब्ल्यूटीओको एक प्यानलले स्टील, आल्मुनियम र रसायन उद्योगहरूमा प्रयोग हुने कच्चापर्दाथको निर्यातमा चीनले गरेको नियन्त्रण खुला बजार नियमविपरीत भएको निर्णयगरेको थियो । आर्थिक वृद्धिदर बढिरहँदा ती कच्चापदार्थको अनियन्त्रित निर्यातले चीनका उद्योगमा असर गर्ने बताउँदै चीन सरकारले निर्यातमा नियन्त्रण गर्ने नीति ल्याएको थियो । तर, डब्ल्यूटीओको उक्त निर्णया मोबाइल र अन्य उच्च प्रविधिका सामग्रीहरूमा प्रयोग हुने त्यस्तै कच्चापदार्थहरूको निर्यातमा चीन सरकारले गरेको नियन्त्रणबारे भने उल्लेख गरिएको छैन ।
एजेन्सी
कोण्टासको वार्षिक नाफा दोब्बर
भदौ ७, सिड्नी (अष्ट्रेलिया) । अष्ट्रेलियाको ध्वजाबाहक कोण्टास एयरवेजले उसको वार्षिक नाफा दोब्बरभन्दा बढेर २५ करोड अष्ट्रेलियन डलर (२६ करोड ३० लाख अमेरिकी डलर) पुगेको बताएको छ । अघिल्लो वर्षभने कोण्टासले ११ करोड २० लाख अष्ट्रेलियन डलर खुद नाफा गरेको थियो । कम्पनी र उद्योग दुवैले थुप्रै चुनौतीको सामना गर्नुपरिरहे तापनि त्यस्तो परिणाम हासिल गर्न सकिएको कोण्टासका प्रमुख कार्यकारी एलन जोयसले बताए ।
प्राकृतिक विपत्ति, तेलको औसत मूल्यवृद्धि र अन्तरराष्ट्रिय बजारमा कमजोर व्यापारजस्ता समस्या सामना गर्नुपरेको पनि जोयसले खुलाए । तर, व्यापारिक वातावरण अत्यन्त चुनौतीपूर्ण रहेकाले आगामी वर्षको नाफा पूर्वानुमान गर्न भने अत्यन्त अप्ठयारो रहेको कोण्टासको भनाइ छ ।
गत हप्ता कोण्टासले १ हजारको सङ्ख्यामा रोजगार कटौती गर्ने घोषणा गरेको थियो । अन्तरराष्ट्रिय उडानको क्षेत्रमा भइरहेको घाटा सम्बोधन गर्नुका साथै एशियामा आधारित नयाँ विमानसेवा सञ्चालन गर्ने क्रममा रोजगार कटौती गरेको हो । कोण्टासले जापान एयरलाइन्स र मित्सुबिशी कर्पोरेशनसँगको साझेदारीमा जापानमा जेटस्टार जापान नाम गरेको बजेट विमानसेवा सञ्चालन गर्ने भएको छ । एपी/रासस
विकासशील देशका लागि सस्तो 'आइफोन फोर’ ल्याइँदै
भदौ ७, ताइपेइ (ताइवान) । अमेरिकी कम्पनी एप्पल इन्कले विकासशील राष्ट्रका लागि सस्तो 'आईफोन फोर' ल्याउने भएको छ । रोयटर्सले दिएको समाचारअनुसार विश्वमा सर्वाधिक रुचाइएको स्मार्टफोन आइफोन फोर आगामी चार हप्तामै बजारमा ल्याइसक्ने बताइएको छ । बजारमा ल्याउन लागिएको आइफोन केही फेरबदलका साथ नयाँ भसनमा उपलब्ध हुने समाचारमा उल्लेख छ । उक्त स्मार्टफोनमा स्टोरेजका लागि हार्डडिक्सको सट्टा ८ गिगाबाइटको फ्ल्यास ड्राइभ हुने बताइएको छ ।
चीन, भारत, ब्राजिल, दक्षिण अफ्रिकाजस्ता उदीयमान अर्थतन्त्रका प्रयोगकर्तालाई लक्षित गर्दै नोकियाजस्ता मोबाइल फोन निर्माताहरूलाई चुनौती दिन एप्पल इन्कले नयाँ आइफोन बजारमा ल्याउन लागेको बताइएको छ । नयाँ आइफोन बजारमा आउन लागेको समाचारबारे भने एप्पल इङ्कले बोल्न अस्वीकार गरेको छ । आइफोन, आइपड, आइप्याड र म्याकबुक पीसीजस्ता उच्च प्रविधिका सामग्रीको निर्माता एप्पल इन्क दुई हप्ताअघि मात्र विश्वको सबैभन्दा मूल्यवान कम्पनी घोषित भएको थियो ।
एक अर्को समाचारअनुसार अमेरिकी दूरसञ्चार तथा इण्टरनेट कम्पनी स्प्रिण्ट नेक्सटेल कर्पले एप्पलको 'आइफोन फाइव' स्मार्टफोनको विक्री ठेक्का पाउने भएको छ । सन् २०११ अक्टोबरमा लञ्च हुने अपेक्षा गरिएको आइफोन फाइवको विक्रीका लागि प्रतिस्पर्धी कम्पनीहरू 'एटी एण्ड टी' र 'भेरिजोन वायरलेस'लाई पछि पार्दै स्प्रिण्टले उक्त ठेक्का पाएको हो । उक्त समाचार सार्वजनिक भएपछि स्प्रिण्टको शेयरमूल्य १० प्रतिशतले बढेको थियो । एजेन्सी
बीपीद्वारा पीडितहरूलाई ५ अर्ब डलर क्षतिपूर्ति
भदौ ७, न्यूयोर्क (अमेरिका) । बेलायती तेल कम्पनी ब्रिटिश पेट्रोलियम (बिपी)ले सन् २०१० मा मेक्सिको खाडीमा भएको तेल चुहावटका पीडितहरूलाई ५ करोड अमेरिकी क्षतिपूर्ति तिरिसकेको जानकारी दिएको छ । उक्त चुहावटपछि बीपीले क्षतिपूर्ति तिर्न गठन गरेको कोषका प्रबन्धकले मङ्गलवार अहिलेसम्म जम्मा २ लाख ४ हजार ४ सय ३४ जनालाई क्षतिपूर्ति रकम दिइसकिएको बताएका हुन् ।
उक्त क्षतिपूर्ति कम्पनीले गठन गरेको कोषमा जम्मा भएको २० अर्ब डलरको २५ प्रतिशत मात्र भएको प्रबन्धकले बताएका छन् । प्रबन्धकले गतवर्षको दुर्घटनापछि अवस्थामा सुधार भएको र राम्रो प्रगति भइरहेको उल्लेख गरे । टेलिकन्फरेन्समार्फत गरिएको पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै उनले अमेरिकी सरकार र कम्पनीले गर्न भनेका कार्य राम्रोसँग भइरहेको बताए ।
सन् २०१० अप्रिलमा मेक्सिको खाडीमा भएको दुर्घटना अहिलेसम्मकै सबैभन्दा ठूलो स्तरको तेल चुहावट हो । उक्त दुर्घटनापछि अहिलेसम्म अमेरिकाका सबै ५० ओटै राज्य र ३६ देशका नागरिकहरूबाट ९ लाख ४७ हजार ८ सय ९२ ओटा क्षतिपूर्तिको दाबी भएको बताइएको छ । छानबिनपश्चात् क्षतिपूर्ति पाउने अधिकांशमा फ्लोरिडा, लुइसियाना, अलबामा र मिसिसिपी राज्यका भएको बताइएको छ । एपी/रासस
अमेरिकी घरजग्गा बजारका लागि सन् २०११ सबैभन्दा खराब वर्ष
भदौ ७, वाशिङटन (अमेरिका) । सन् २०११ अमेरिकी घरजग्गा बजारका लागि विगत आधा शताब्दीकै सबैभन्दा खराब समय हुन सक्ने देखिएको छ । घरजग्गा कारोबारमा लगातार आइरहेको ठूलो कमीले गर्दा यस्तो देखिएको हो । सन् २०११ को जुलाईमा घरजग्गा कारोबार विगत ३ महीनाकै सबैभन्दा कम बिन्दुमा रह्यो ।
अमेरिकी वाणिज्य मन्त्रालयले मङ्गलवार जारी गरेको एक प्रतिवेदनमा गत जुलाईमा घरजग्गा कारोबार १ प्रतिशतले घटेको बताइएको छ । प्रतिवेदनमा उक्त अवधिमा मात्र २ लाख ९८ हजार घर वार्षिक दरले विक्री भएको उल्लेख छ । गतवर्षको यही अवधिमा ३ लाख २३ हजार घर विक्री भएका थिए । उक्त सङ्ख्या सन् १९६३ पछिकै सबैभन्दा कम भएको बताइएको थियो । अर्थशास्त्रीहरूले अमेरिकाको अर्थतन्त्र चुस्त रहनका लागि वार्षिक ७ लाख घर विक्री हुनपर्ने बताउँदै आएका छन् । अमेरिकाका भवन/घर निर्माताहरूको संस्था 'नेशनल एशोसिएशन अफ होम बिल्डर्स'का अनुसार एउटा घर निर्माण गरिँदा तीनजनाले रोजगारी पाउँछन् र सरकारले ९० हजार डलर कर उठाउने अवसर पाउँछ । तर, बेरोजगारी दर उच्च हुनु र आम्दानी घट्नुजस्ता कारणले घरजग्गाको किस्ता तिर्ने रकमको अभावले अमेरिकीहरू घरजग्गा खरीद गर्न सक्ने अवस्थामा छैनन् ।
त्यसैगरी शेयर कारोबारमा कमी आउनुले पनि मानिसहरू घरजग्गा खरीद गर्न अनिच्छुक देखिएका हुन् । वित्तीय परामर्शदाता कम्पनी वेल्स फार्गोका वरिष्ठ अर्थशास्त्री मार्क भिट्नरका अनुसार रोजगारी र आम्दानीको सुरक्षा नै कतिपय सम्भावित घरजग्गा खरीदकर्ताको मनमा त्रास उत्पन्न गराइदिने कारण रहेको छ । त्यसैगरी, क्यापिटल इकोनोमिक्सका विश्लेषक पल डेल्स अमेरिकी अर्थतन्त्रमा घरजग्गाको न्यून कारोबारले सबैभन्दा ठूलो असर गरिरहेको बताउँछन् । नयाँ घर खरीद गर्नु अब धेरै अमेरिकीहरूका लागि विलासिताको अवस्था बनेको उनको धारणा थियो । त्यसैगरी पहिले लिएको ऋण तिर्न मानिसहरूले घरजग्गा विक्री गर्न खोज्नु अर्को समस्या बनेको छ ।
गत हप्ता प्रकाशित एक प्रतिवेदनमा मानिसहरूले अन्तिम समयमा घरजग्गा कारोबार रद्द गर्ने गरेको पाइएको बताइएको थियो । गत जुलाईमा त्यसरी रद्द कारोबार १६ प्रतिशत पुगेको प्रतिवेदनमा उल्लेख छ । अमेरिकी अर्थतन्त्रबारेको चिन्ताहरूका कारण अन्तिम समयमा त्यसरी कारोबार रद्द भएका हुन् । सन् २००८ मा आर्थिक मन्दी शुरू हुनुभन्दा अघि अमेरिकाको अर्थतन्त्रमा घरजग्गा कारोबारको २० प्रतिशत योगदान थियो । तर, अहिले उक्त योगदान मात्र ४ प्रतिशत रहेको छ ।
घरजग्गा उद्योगका लागि परिस्थिति कतिसम्म खराब हुन सक्छ भन्ने एउटा उदाहरण हेर्न सकिन्छ । अमेरिकामा सन् १९३० को दशकको महामन्दी (द ग्रेट डिप्रेशन)भन्दा अहिलेको आर्थिक सङ्कट शुरू भएपछि घरजग्गा कारोबार एक प्रतिशतले घटेको छ । सन् १९३० को महामन्दीपछि घरजग्गाको मूल्यमा पूर्णरूपले सुधार आउन १९ वर्षलागेको थियो । एपी/रासस
ईयूद्वारा टयुनिशियालाई १ करोड १० लाख यूरो प्रदान
भदौ ७, टयुनिस (टयुनिसिया) । यूरोपियन युनियन (ईयू)ले उत्तर अफ्रिकी राष्ट्र टयुनिसियालाई १ करोड १० लाख यूरो सहायता प्रदान गर्ने घोषणा गरेको छ । मङ्गलवार एक विज्ञप्ति प्रकाशित गर्दै ईयूले टयुनिसियाको सङ्कटग्रस्त अर्थतन्त्रलाई सही बाटोमा ल्याउन उक्त सहयोग प्रदान गर्न लागिएको बताएको हो । मध्यपूर्वमा फैलिरहेका तानाशाही शासनविरुद्धका आन्दोलन र विद्रोहको शुरुवात भएको टयुनिसियालाई प्रदान गर्न लागिएको आर्थिक सहयोग त्यहाँका कम विकसित भित्री भू-भागको विकास, बेरोजगार शिक्षित युवाहरूको बेरोजगारी ,गरीब परिवारहरूको आयआर्जन र सेवाक्षेत्रमा खर्च गरिने विज्ञप्तिमा उल्लेख छ । विश्लेषकहरूले राजनितीक परिवर्तनपछिको अवस्थामाईयूको उक्त सहयोग राजनीतिक समर्थन भएको बताएका छन् । सन् २०११ फेब्रुअरीमा भएको आन्दोलनबाट पूर्वराष्ट्रपति बेन अलिको ३० वर्ष लामो तानाशाही शासन समाप्त भएपछि टयुनिसियामा आर्थिक सुधारको योजनाहरू बन्दै गरेका छन् । एजेन्सी
भारतको आउटसोसिङमा १८ प्रतिशतको वृद्धि अनुमान
भदौ ७ । अमेरिकी र यूरोपेली बजारमा फेरि सुस्तीको आशङ्का बढे पनि भारतको 'आउटसोसिङ क्षेत्र'को आम्दानी १६ देखि १८ प्रतिशतले वृद्धि हुने अपेक्षा गरिएको छ । अप्रिल १ बाट शुरू भएको यस आर्थिक वर्षमा वार्षिक निर्यात आम्दानी ६८ देखि ७० अर्ब डलर पुग्ने नेशनल एशोसिएशन अफ सफ्टवेयर सर्भिसेज कम्पनिज (नासकम)ले फेब्रुअरीमा बताएको थियो । आउसोसिङ कम्पनीहरूसँगको कुराकानीबाट आम्दानीमा १६ देखि १८ प्रतिशतसम्मको वृद्धि हुन सक्ने सम्भावना अझै रहेको नासकमका प्रेजिडेण्ट सोम मित्तलले बताए ।
अन्य प्रमुख आउटसोसिङ कम्पनीहरूले पनि वृद्धि कायमै रहनेमा आफूहरू विश्वस्त रहेको बताएका छन् । अमेरिका र यूरोपमा दोहोरो मन्दीको आशङ्काले पछिल्ला दिनहरूमा आउटसोसिङ कम्पनीका शेयरमाथि दबाब बढेको छ । तर, मङ्गलवार भने भारतको सबैभन्दा ठूलो आउटसोसिङ कम्पनी टीसीएसको शेयरमा ६ दशमलव ७ प्रतिशत र दोस्रो ठूलो कम्पनी इन्फोसिसको शेयरमा ४ प्रतिशतले वृद्धि भएको छ । अमेरिकामा बेरोजगारी बढेकाले त्यहाँ अन्य देशबाट गरिने आउटसोसिङको विरोध बढिरहेको छ । एएफपी/रासस
Admin 2011-08-25