गुगललाई १ लाख यूरो जरीवाना
चैत ७, पेरिस (फ्रान्स) । फ्रान्सको तथ्याङ्क गोप्यता नियामक निकायले गुगल कम्पनीलाई १ लाख यूरो जरीवाना गर्ने घोषणा सोमवार गरेको छ । गुगललाई तिराइएको यो अहिलेसम्मकै ठूलो जरीवाना रकम हो । गुगललाई 'पानोरमिक स्ट्रीट भ्यू सर्भिस'का लागि तथ्याङ्क सङ्कलन गर्ने क्रममा निजी सूचनाहरू बटुलेको आरोप लगाइएको छ ।गुगलले सन् २००७ देखि यो सेवा शुरू गरेको हो, जसले शहरका गल्लीहरूको सुन्दर दृश्य प्रस्तुत गर्दछ । तर, यूरोपमा यो सेवा शुरू भएपछि गोप्यताको विवाद पनि उठेको छ । यस्तो चासोका बीच गुगलले सन् २०१० मा नै आफूले तस्वीर लिनका लागि विशेष क्यामेराजडित कारहरूको प्रयोग गरेको र तिनमा वाइफाईसमेत जडित भएकाले कतिपय निजी तथ्याङ्कहरू रहेका कम्प्युटरका पासवर्ड र इमेलसमेत रहेको स्वीकार गरेको थियो ।फ्रान्सको नेशनल कमिशन फर इन्फर्मेशन फ्रिडमले भनेको छ, गुगलले सबै निजी तथ्याङ्कहरू मेटाउन गरेको प्रतिबद्धता पूरा नगरेको पाइएपछि यस्तो जरीवाना गर्नुपरेको हो । यस्तो जरीवाना लगाउनुपर्नाको कारणबारे कमिशनले आर्थिक लाभका लागि अनुचित तथ्याङ्क सङ्कलन भएको र त्यो फ्रान्सेली कानूनअनुसार दण्डनीय भएको बताएको छ । गुगलले फेरि एकपटक निजी तथ्याङ्कहरू सङ्कलन गरेकोमा माफी मागेको छ । एएफपी/रासस
लिबिया हवाई आक्रमणपछि तेलको मूल्य बढयो
चैत ७, लण्डन (ब्रिटेन) । फ्रान्सेली अमेरिकी र बेलायती सेनाले शनिवार लिबियामा हवाई आक्रमण गरेका छन् । संयुक्त राष्ट्रसङ्घ सुरक्षा परिषदले जुनसुकै उपायबाट भए पनि नागरिकको रक्षा गर्न र उडान निषेधित क्षेत्र निर्धारण गर्न अधिकार दिएपछि हवाई आक्रमण गरिएको हो । लिबियामा हवाई आक्रमणपछि तेलको मूल्यमा वृद्धि भएको छ । सोमवार न्यूयोर्कतर्फ अप्रिलमा डेलिभरी गरिने लाइट स्वीट क्रुडको मूल्य प्रतिब्यारेल २ दशमलव १० डलरले बढेर १ सय ३ दशमलव १७ डलर पुगेको छ । त्यसैगरी, लण्डनतफर्मेमा निर्यात गरिने ब्रेण्ट क्रुडको मूल्य प्रतिब्यारेल २ दशमलव २२ डलरले बढेर १ सय १६ दशमलव १५ डलर पुगेको छ ।'संयुक्त राष्ट्रसङ्घले लिबियामाथि गरेको हवाई आक्रमणपछि तेलको मूल्य बढेको छ,’ सिङ्गापुरस्थित अन्तरराष्ट्रिय ऊर्जा परामर्शदाता पर्भिन एण्ड गर्जसम्बद्ध भिक्टर शमले भने । एएफपी/रासस
जापानको विपत्ति, शेयर किन्ने अवसर
चैत ७, सोल, (कोरिया) । अमेरिकाका अर्बपति वारेन बफेटले हालै जापानमा भएको भयावह प्राकृतिक विपत्तिले जापानी अर्थतन्त्रको भविष्यलाई नकारात्मक प्रभाव नपार्ने बरु यसले शेयर खरीदको नयाँ उक्साहट ल्याउने उल्लेख गरेका छन् । 'म १० दिनदेखि जापानको आर्थिक भविष्यलाई कुनै फरक दृष्टिले हेरिरहेको छैन । यो असामान्य घटना शेयर खरीदको अवसर हो भन्ने मलाई लाग्छ', उनले संवाददाताहरूलाई भने ।बर्कशायर हाथावे नामक लगानीकर्ता कम्पनीका अध्यक्ष बफेट एउटा ऐतिहासिक समारोहमा भाग लिन दक्षिण कोरिया जाँदैछन् । यो समारोह उनको ८० प्रतिशत स्वामित्व रहेको इजरायली कम्पनी इस्कार मेटल वर्किङको कोरियास्थित एकाइले आयोजना गरेको हो ।जापानको निक्केइ परिसूचक गत मार्च ११ तारिख आएको भूकम्प र सुनामीका कारण १० प्रतिशतले तल झरेको छ । सोमवार टोकियोमा सार्वजनिक बिदा थियो । त्यसैले कुनै कारोबार भएन । विश्व बैङ्कले भर्खरैको एक अनुमानमा यो प्राकृतिक विपत्तिबाट जापानले २ खर्ब ३५ अर्ब डलर गुमाएको अनुमान गरेको छ । बफेटले सोमवार नै दक्षिण कोरियाली राष्ट्रपति ली म्युङ-बाकसँग पनि भेट गरेका छन् । एएफपी/रासस
चीनले जिमेल ब्लक गरेको गुगलको आरोप
चैत ७, बेइजिङ (चीन) । चीन सरकारले आफ्नो इमेल सेवा जिमेलमा अवरोध पुर्याएको गुगलको आरोप छ । मध्यपूर्वको अस्थिरतापछि चीन सरकारले इण्टरनेटमा नियन्त्रण गरेको छ । त्यसले गर्दा चीनका प्रयोगकर्तालाई जिमेल खोल्न गाह्रो भएको गुगलले बताएको छ । गुगलका इञ्जिनीयरहरूले इमेल सेवा र मुख्य वेबसाइटमा कुनै प्राविधिक समस्या नरहेको बताएका छन् ।'हाम्रोतर्फबाट कुनै प्राविधिक समस्या छैन । यो चीन सरकारले चलाखीपूर्वक जिमेलमा समस्या रहेकोजस्तो देखाएको मात्र हो,’ गुगलको विज्ञप्तिमा भनिएको छ । चीन विश्वमै इण्टरनेटमा कडा नियन्त्रण गर्ने देशमध्येको एक हो । उसले युटयुब, फेसबुक र ट्वीटरलगायतका सामाजिक सञ्जाललाई समेत ब्लक गरेको छ । मध्यपूर्वमा लोकतन्त्रको माग राख्दै आन्दोलन चलेपछि चीन सरकारले इण्टरनेटमा झनै नियन्त्रण
बढाएको छ । एएफपी/रासस
न्यूजिल्याण्डबाट जापानलाई ७३ लाख डलर राहत
चैत ७, बेलिङ्टन (न्यूजिल्याण्ड) । न्यूजिल्याण्ड सरकारबाट १० लाख न्यूजिल्याण्ड डलर अर्थात् ७३ लाख तीन हजार अमेरिकी डलर जापानका भूकम्पपीडितलाई राहतस्वरूप प्रदान गरिने भएको छ ।उक्त रकम जापानी रेडक्रसलाई प्रदान गरिने र रेडक्रसले सबभन्दा बढी आवश्यक क्षेत्रमा खर्च गर्ने विदेश मन्त्रीले जानकारी दिएका छन् । मार्च ११ मा आएको भूकम्प र सुनामीपछि जापानी जनताको जीवन कष्टप्रद हुन पुगेको छ । जापानका लागि अन्तरराष्ट्रिय समुदायले सहयोग गर्नुपर्ने न्यूजिल्याण्ड सरकारले अपेक्षा गरेको मन्त्रीले बताएका छन् । रासस/सिन्हवा
मिसाइल दोब्बर
चैत ७, मस्को (रूस) । रूसले २०१३ देखि मिसाइल प्रणालीलाई दोब्बर गर्ने प्रधानमन्त्री भ्लादीमिर पुटिनले बताएका छन् । '२०१३ बाट मिसाइल प्रणालीको उत्पादन लगभग दोब्बर हुनुपर्छ,’ पुटिनले भने । साथै, रूसी हवाई सेनाका लागि एस-४०० मिसाइल उपलब्ध गराइने पनि उनले बताएका छन् । एस-४०० जमीनबाट हावामा आक्रमण गर्ने अत्याधुनिक मिसाइल प्रणाली हो । एएफपी/रासस
विस्फोटमा २४ को मृत्यु
चैत ७, क्वेट्टा (पाकिस्तान) । पाकिस्तानको दक्षिणपश्चिम बहुचिस्तान प्रान्तको राजधानी क्वेट्टा सहरको एक कोइलाखानीमा शृङ्खलाबद्ध रूपमा विस्फोटन हुँदा मर्नेको सङ्ख्या २४ पुगेको छ । साथै, अन्य दुईदर्जन अझै बेपत्ता छन् । कसैलाई जीवितै उद्धार गर्न सकेमा चमत्कार नै हुने पनि बताइएको छ । आइतबार बिहान सबेरै भएको दुर्घटनापछि रातभर उद्धारकर्मीहरू खटेका थिए । सोमावरसम्ममा उद्धारकार्य सकिने अनुमान गरिएको छ । रासस/एएफपी
स्वीस रीको जापान क्षतिबारे बीमा मूल्याङ्कन
चैत ७, जेनेभा (स्वीट्जरल्याण्ड) । स्वीस री इन्स्योरेन्स कम्पनीले जापानको भूकम्पपछि १ अर्ब २० करोड डलरसम्मको क्षतिपूर्ति दाबी गरिने अनुमान गरेको छ । साथै, ठूलो विनाश भएकाले आवासीय र व्यापारिक सम्पत्तिमा भएको क्षतिको पूर्वानुमान गर्न गाह्रो पर्ने स्वीस रीको भनाइ छ ।स्वीस रीका प्रवक्ता रोल्फ टयान्नरका अनुसार, आणविक केन्द्रमा पुगेको क्षति र विकिरण प्रदूषणलाई भने बीमामा समेटिएको छैन् । फुकुशिमा आणविक केन्द्रका कामदारहरू विकिरणलाई नियन्त्रण गर्न संघर्षरत छन् । स्वीस रीले जापानको उद्धार र पुनर्निर्माण प्रयासका लागि ५ लाख डलरको सहायता प्रदान भएको छ । एएफपी/रासस
जापानलाई २ खर्ब ३५ अर्ब डलरसम्मको क्षतिः विश्व बैङ्क
चैत ७, सिङ्गापुर (सिङ्गापुर) । जापानमा आएको विशाल भूकम्प र सुनामीबाट उसलाई २ खर्ब ३५ अर्ब डलर वा उत्पादनको ४ प्रतिशतसम्मको क्षति हुन सक्ने विश्व बैङ्कले सोमवार चेतावनी दिएको छ । 'ऐतिहासिक प्रवृत्तिलाई हेर्दा वास्तविक कुल गार्हस्थ्य उत्पादनको वृद्धि मध्य २०११ सम्म नकारात्मक रहने देखिन्छ,’ बैङ्कले उसको पछिल्लो पूर्वीएशिया र प्रशान्त क्षेत्रीय आर्थिक समीक्षा प्रतिवेदनमा भनेको छ । तर, ५ वर्षसम्म लाग्न सक्ने पुनः संरचनाको प्रयासमा तीव्रता आउन सके आर्थिक वृद्धि उकालो लाग्न पनि सक्छ । जापान सरकार र निजीक्षेत्रको सर्वेक्षणलाई हेर्दा कम्तीमा पनि कुल गार्हस्थ्य उत्पादनको २ दशमलव ५ प्रतिशत वा १ खर्ब २२ अर्ब डलर क्षति पुगेको छ । त्यसैगरी, एक रेटिङ संस्था मुडीअनुसार, जापानको अर्थतन्त्र, सोभरेन क्रेडिट, बैङ्किङ, बीमा र गैरवित्तीय कर्पोरेट क्षेत्रको अधोगामी जोखिम गत हप्तामा बढेको छ । एएफपी/रासस
गेट्स र बफेटको भारतमा चन्दा अभियान
चैत ७, नयाँ दिल्ली (भारत) । विश्वका दुई सवाधिक धनाढय बिल गेट्स र वारेन बफेटले भारत भ्रमण गर्ने भएका छन् । उनीहरूले धनाढय भारतीयहरूलाई कल्याणकारी कार्यमा आफ्नो धनको केही हिस्सा खर्च गर्न आग्रह गर्ने भएका छन् । गतवर्ष ती दुईले आफ्नो धनको आधा हिस्सा असल काममा खर्च गर्ने प्रतिबद्धता गरेका थिए । साथै, संसारका अन्य अर्बपतिलाई पनि दान दिने कार्यमा खर्च गर्न मनाउने बताएका छन् । अमेरिकाजस्ता देशमा धनीहरूले दान दिने कार्य प्रचलित नै छ । तर, भारत र चीनजस्ता विकासशील देशमा भने धनीहरूले आफ्नो सम्पत्तिको हिस्सा कमै गुमाउन चाहन्छन् । त्यसैले गत सेप्टेम्बरमा पनि गेट्स र बफेट त्यस्तै अभियान बोकेर भारत र चीन गएका थिए । 'हामी यहाँ उपदेशकका रूपमा नभई उत्साहवर्द्धक रूपमा आएका हौं,’ गेट्सले भने । तीव्र गतिले वृद्धि भइरहेको भारतमा एशियाकै धनाढयमध्येका अर्बपतिहरू छन् ।
भारतको अर्थतन्त्रमा वार्षिक ९ प्रतिशतले वृद्धि भइरहेको छ । त्यहाँ ५५ जना अर्बपति छन्, जुन अमेरिका र चीनपछि विश्वकै तेस्रो धेरै अर्बपतिको सङ्ख्या हो । तर, उनीहरू हत्तपत्त आफ्नो सम्पति दान दिन चाँहदैनन् । कतिसम्म भने भारतको उच्च वर्गले दिने चन्दा मध्यमवर्गले दिने भन्दा पनि कम छ । केही महीनाअघि भने एक अर्बपति अजीम प्रेमजीले भारतको शिक्षाक्षेत्रमा २ अर्ब डलर चन्दा दिने घोषणा गरेका थिए । प्रेमजीले दिएको चन्दा नै भारतमा मानवकल्याणकारी कार्यका लागि दिइएको सबैभन्दा ठूलो चन्दा हो । एएफपी/रासस
बेइजिङमा विलासी विज्ञापनमाथि प्रतिबन्ध
चैत ७, बेइजिङ (चीन) । चीनको राजधानीमा बेइजिङमा विलासितापूर्ण जीवनशैली प्रोत्साहन गर्ने विज्ञापनमाथि प्रतिबन्ध लगाइएको छ । देशमा सम्पत्तिको विभेद बढ्दै गएको बारे जनगुनासो सम्बोधन गर्ने क्रममा सरकारले त्यस्तो नीति ल्याएको छ ।बेइजिङ उद्योग व्यापार प्रशासनले हालै एक विज्ञप्तिमा त्यस्ता विज्ञापनलगायत 'विदेशी’ वस्तुको अत्यधिक विज्ञापनलाई पनि अप्रिल १५ सम्ममा सच्याउने आदेश दिएको छ । तर, त्यस्ता 'विदेशी’ वस्तु के के हुन भन्नेबारे प्रशासनले खुलाएको छैन् । त्यस्ता विज्ञापनले राजनीति रूपमा अस्वस्थ वातावरण बनाउने प्रशासनको दाबी छ ।आदेशको उल्लङ्घन गरेमा ३० हजार युआन (४ हजार ६ सय डलर) सम्म जरीवाना गरिने सरकारी समाचारपत्र चाइना डेलीले बताएको छ । त्यसैगरी घर, गाडी र रक्सीको विज्ञापनमा विलासिता वा उच्च जीवनशैली जनाउने शब्दजस्तै 'सुप्रिम’, 'रोयल’, 'लक्जरी’, वा 'हाइ क्लास’जस्ता शब्दावलीसमेत प्रयोग गर्न निषेध गरिएको छ । एएफपी/रासस
Admin 2011-03-22