शान्ति र संविधानले निर्धारित समयमा नै पूर्णता पाउला ?
  

चीनद्वारा सञ्चितकोष बढाउन निर्देशन

फागुन ७, बेइजिङ (चीन) । चीनले बैङ्कहरूलाई सञ्चितिमा राखिने रकम बढाउन शुक्रवार निर्देशन दिएको छ । बैङ्कहरूको ऋण दिने कार्य र चर्को मुद्रास्फीतिलाई नियन्त्रण गर्न त्यस्तो निर्देशन दिइएको हो । चीनको केन्द्रीय बैङ्कको हालको निर्देशनअनुसार, बैङ्कहरूले आफ्नो सञ्चितिलाई निक्षेपको तुलनामा शून्य दशमलव ५ प्रतिशतले बढाउनु पर्नेछ । यस वर्षशुरू भएपछि केन्द्रीय बैङ्कले योसमेत गरी दुइपटक सञ्चिति बढाउन निर्देशन दिइसकेको छ । गतवर्ष २०१० मा पनि ६ पटक सञ्चिति रकम बढाइएको थियो । सञ्चितिको मात्रा संस्थैपिच्छे फरकफरक छ । चीनका ठूला सरकारी बैङ्कहरूका लागि भने सञ्चिति रकम लगभग २० प्रतिशत हुनुपर्छ ।   बेइजिङले लगातार र क्रमबद्ध रूपले ब्याजदर र सञ्चिति रकम बढाउँदै आएको छ । बैङ्कहरूको ऋण दिने कार्यमा तीव्र वृद्धि भएबाट चीनले विश्वव्यापी सङ्कटबाट चाँडै पार पाएको थियो । तर, अब त्यसले मूल्यवृद्धि गराउनेतर्फदबाब दिन थालेकाले चीनले नियन्त्रणको नीति लिएको हो । महँगी चीनका कम्युनिष्ट नेताहरूका लागि राजनीतिक रूपले खतरनाक कुरा हो । किनभने, महँगी बढिरहेमा उनीहरूले दाबी गर्दै आएको आर्थिक उपलब्धि ओझेलमा पर्छ, र सत्तामा टिकिरहन गाह्रो हुन्छ । एपी/रासस

मलेसिया-भारत स्वतन्त्र व्यापार सम्झौता

फागुन ७, क्वालालम्पुर (मलेसिया) । भारत र मलेसियाले शुक्रवार स्वतन्त्र व्यापार सम्झौतामा हस्ताक्षर गरेका छन् । यसरी भारतले एक हप्ताभित्रै दुइ देशहरूसँग स्वतन्त्र व्यापार सम्झौता गरेको छ । मलेसियासँग सम्झौता गरेको दुइ दिनअघि नै भारतले जापानसँग त्यस्तो सम्झौता गरेको थियो । मलेसियासँग गरेको स्वतन्त्र व्यापार सम्झौताबाट दुइ देशबीचको व्यापार सन् २०१५ सम्ममा १५ अर्ब डलर पुग्ने अपेक्षा गरिएको छ । सम्झौतामा भारतीय वाणिज्य मन्त्री आनन्द शर्मा र उनका मलेसियाली समकक्षी मुस्तफा मोहमदले हस्ताक्षर गरेका छन् । गतवर्षको  जनवरीमा भारत र १० दक्षिणपूर्वी एशियाली देशका सङ्गठन आसियानबीच एउटा व्यापार सम्झौता गरिएको थियो ।

मलेसिया र भारतबीचको सम्झौता अझ बढी विस्तारित भएको मुस्तफाले बताएका छन् । आसियानसँग गरिएको सम्झौतामा नरहेका सेवा, लगानीजस्ता क्षेत्रलाई पनि हालको सम्झौताले समेटेको छ । हालको सम्झौताबाट मलेसियाको पाम आयललगायत निर्यात वस्तुमा लाग्दै आएको करमा थप छूट पाइने मुस्तफाले जानकारी दिएका छन् । साथै, कर घटाउने वा कर उन्मूलनको समयसीमा तोक्ने विषयलाई पनि हालको सम्झौताले सम्बोधन गरेको मुस्तफाको विज्ञप्तिमा भनिएको छ । हालको सम्झौताअन्तर्गत, दुइ देशले स्वास्थ्यसेवा, दूरसञ्चार, खुद्रा व्यापार, वातावरणीय सेवालगायत ८० क्षेत्रमा शतप्रतिशतसम्म विदेशी शेयरहोल्डिङको अनुमति दिइनेछ । त्यसैगरी, भारतीय वाणिज्यमन्त्री शर्माका अनुसार सम्झौताबाट ९० प्रतिशत भारतीय वस्तुमा र ९२ प्रतिशत मलेसियाली उत्पादनमा लाग्दै आएको कर कटौती हुनेछ । एपी/रासस

चाँदीको मूल्य ३१ वर्षकै उच्च

चाँदीको मूल्य शुक्रवार झण्डै ३१ वर्षकै उच्च बिन्दुमा पुगेको छ । मागमा वृद्धिको अपेक्षा र अनिश्चितताका बेला सुरक्षित लगानीको आकर्षणले चाँदीको भाउ बढेको हो । चाँदीको मूल्य प्रतिऔंस ३२ दशमलव ८३५ डलरसम्म पुगेको थियो । यो १९८० को मार्चपछिकै उच्च बिन्दु हो । त्यतिखेर प्रतिऔंस ३२ दशमलव ९  शून्य डलरमा पुगेको थियो । एक औंसबराबर लगभग २८ दशमलव ३४९५२३१ ग्राम हुन्छ । विश्वव्यापी चिन्ताहरूले शुक्रवार धेरै वस्तुको मूल्य वृद्धि भएको छ । हाल बहराइन, लिबिया र यमनमा भइरहेको हिंसात्मक प्रदर्शन पनि त्यसको एउटा कारण हो । तेलको आपूर्तिमा बाधा उत्पन्न हुने चिन्ताले तेलको मूल्यमा पनि वृद्धि भएको छ । त्यसैगरी, चीनले महँगी नियन्त्रणका लागि बैङ्कहरूलाई सञ्चिति रकम बढाउन निर्देशन दिएको छ । आपूर्तिभन्दा माग बढी रहेकाले खाद्यवस्तुको महँगी अझै बढ्ने विश्लेषकहरूले चेतावनी दिएका छन् । त्यसले सुन र चाँदीको भाउमा सकारात्मक प्रभाव परेको छ, तर माग घट्ने आशङ्काले भटमासको भाउमा असर परेको छ । जनवरीको अन्त्यदेखि नै चाँदीको भाउलगातार बढिरहेको छ । एपी/रासस

चीन-ब्राजिल व्यापार असहमति

फागुन ७, पेरिस (फ्रान्स) । चीनले पेरिसमा भइरहेको जी-२० बैठकमा शनिवार आफ्नो असहमति राखेको छ । जी-२० का अर्थमन्त्री र केन्द्रीय बैङ्कका गभर्नरहरू विश्वव्यापी आर्थिक असन्तुलनको मापन र सम्बोधन गर्ने विषयमा पेरिसमा छलफल गर्दै छन् । विश्वव्यापी आर्थिक सङ्कटलाई रोकथाम गर्नका लागि सहमति बनाउने विषयमा उनीहरूको छलफल केन्द्रित रहेको छ । त्यस बैठकमा चीनले आफ्नो विदेशी मुद्राको सञ्चितिलाई एउटा परिसूचक बनाउने कुरालाई अस्वीकार गरेको छ । चीनले आर्थिक असन्तुलन मापन गर्न चल्ती खाताको रकमको साटो व्यापार तथ्याङ्कलाई आधार बनाउनुपर्नेमा जोड दिँदै आएको छ  । त्यसैगरी व्यापार असन्तुलन परिसूचकका लागि वास्तविक विनिमय दर र मुद्रा सञ्चितिलाई आधार बनाउने प्रयासको पनि चीनले विरोध गरेको छ ।  चीन र ब्राजिलले वास्तविक विनिमय दरलगायत विषयमा प्रतिरोध गरिरहेका इटलीका अर्थमन्त्री गिउलिओ ट्रेमोन्तीले बताएका छन् ।     रोयर्टस  

गणित र विज्ञान शिक्षामा ओबामाको जोड

फागुन ६, वासिङ्टन (अमेरिका) । विश्वव्यापी प्रतिस्पर्धामा अघि बढ्न गणित र विज्ञान विषयको शिक्षा राम्रो हुनुपर्नेमा ओबामाले जोड दिएका छन् । नवप्रवर्तन र रोजगारका लागि गणित र विज्ञान अपरिहार्य भएकाले अग्रसरता लिनका लागि ओबामाले निजी क्षेत्रलाई आह्वान पनि गरेका छन् । यसै हप्ता ओबामाले इण्टेल कर्पोरेशनको पोर्टल्याण्डस्थित कारखानामा भ्रमण गरेका थिए । त्यस अवसरमा उनले रेडियो र इण्टरनेटबाट प्रसारण गरिने आफ्नो साप्ताहिक सन्देश रेकर्ड गराएका थिए । णित र विज्ञान शिक्षा प्रवर्द्धनका लागि १० वर्षमा २० करोड डलरको प्रतिबद्धता गरेकोमा ओबामाले इण्टेलको प्रशंसा गरेका छन् । अमेरिकाका कर्पोरेटहरूले पैसा कमाउनुका साथै देश निर्माणमा कसरी योगदान गर्न सक्छन् भन्ने कुराको उदारहण इण्टेलले देखाएको उनको धारणा छ ।  हामी प्रतिस्पर्धा गर्न सक्षम छौं भन्ने इण्टेलजस्ता कम्पनीले प्रमाणित गरेका छन् । अमेरिका विदेशमा बनेको सामान किन्ने देश मात्र नभई आफूले बनाएको सामान पनि संसारभरि बेच्न सक्छ भन्ने कुराको प्रमाण इण्टेल हो’ ओबामाले भने ।विश्वव्यापी प्रतिस्पर्धामा अघि बढ्न निजी क्षेत्रको रचनात्मकताको प्रमुख भूमिका हुने ओबामाको विचार छ । एप्पल कम्पनीको स्टीभ जब्स र फेसबूकको मार्क जुकरवर्गसँग पनि क्यालिफोर्नियाको सिलिकन भ्यालीमा भेटेर ओबामाले सँगै डिनर खाने भएका छन् ।   ओबामाले हालै प्रस्तुत आफ्नो बजेटमा  शिक्षा, अनुसन्धान र विकास तथा उच्च गतिको इण्टरनेट विकासमा खर्च बढाएका छन् । त्यसैका लागि समर्थन जुटाउनका लागि उनी हाल देशको पश्चिम क्षेत्रको भ्रमणमा छन् । एपी/रासस

फेसबुक अब समलिङ्गी मैत्री

फागुन ६, वासिङ्टन (अमेरिका) । फेसबूकले आफ्ना सदस्यहरूको सम्बन्ध 'रिलेशन स्टाटस’ मा बिहीवारदेखि नयाँ कुरा थपेको छ । अब उक्त सामाजिक सञ्जाल समलिङ्गी मैत्री पनि हुन पुगेको छ । अमेरिकाको पुरूष र महिला समलिङ्गी अधिकार सङ्गठनहरूसँगको वार्ता पछि फेसबूकले यस्तो प्रावधान उपलब्ध गराएको हो । अमेरिकाका कतिपय राज्यहरूमा जोडीहरूले सँगै बस्न कानूनी रूपमा विबाह गरिराख्नुपर्दैन । 'डोमेष्टिक पार्टनरशीप’ भनिने त्यस्तो जोडी विपरित लिङ्गी वा समलिङ्गी दुवै हुन सक्छन् । यसअघि उनीहरूले पनि फेसबूकमा आफ्नो वैवाहिक अवस्था जनाउने 'इट्स कम्पिलकेटेड’ भन्ने स्टाटस प्रयोग गर्नुपर्ने हुन्थ्यो ।फेसबूकमा हाल गरिएको 'डोमेष्टिक पार्टनरशीप’को स्टाटसबाट समलिङ्गीहरूलाई आफ्नो  पहिचान कायम राख्न मद्दत पुग्ने उनीहरूको सङ्गठनले बताएको छ । हालको नयाँ स्टाटस फेसबूकका अमेरिका, क्यानाडा, ब्रिटेन, फ्रान्स र अष्ट्रेलियास्थित समलिङ्गीहरूप्रति लक्षित भएको बताएको छ । एपी/रासस

सोनीको भारतमा राम्रो व्यापार

फागुन ६, टोकियो (जापान) ।  सोनीले भारतमा राम्रो व्यापार गरिरहेको छ । खासगरी चेप्टो मनिटर भएको फ्लाट प्यानेल टीभी र डिजिटल क्यामेरामा राम्रो गरिरहेको सोनीका एक उच्च कार्यकारीले बताएका छन् । साथै आगामी दिनमा सोनीको व्यापार अझै बढ्ने उनको अपेक्षा छ । भारतमा मध्यमवर्गीयहरूको एउटा नयाँ वर्गको उदय भइरहेको छ । उनीहरूले विभिन्न इलेक्ट्रोनिक उपकरणहरू प्रयोग गर्न थालेका छन् । सोनीले त्यसलाई आफ्नो लागि एउटा अवसरको रूपमा हेरिरहेको छ । अमेरिकी कम्पनी एप्पल र दक्षिण कोरियाली सामसुङले सोनीलाई अन्यत्र उछिनिरहेकै बेला सोनी भारतको व्यापारप्रति आशावादी देखिएको छ ।   भारतमा विक्री हुने फ्लाट प्यानेल टीभीमा सोनी पहिलो स्थानमा आउँछ । त्यस्तो टीभीको कुल विक्रीको ३४ प्रतिशत र डिजिटल क्यामेराको विक्रीको ४० प्रतिशत बजार सोनीले ओगटेको बताइएको छ । त्यसैगरी होम थिएटर र क्यामकोर्डरमा पनि सोनी पहिलो स्थानमा रहेको छ । हामी पहिलो हुनको लागि कुनै जुक्ति वा झुटो आश्वासन दिँदैनौं । भारतमा हाम्रो सफलताले यस कुराको पुष्टि गरेको छ,’ सोनीका भारतीय एकाइका प्रबन्ध निर्देशक मासारू तामागावाले भने । एपी/रासस

Admin 2011-02-20