शान्ति र संविधानले निर्धारित समयमा नै पूर्णता पाउला ?
  

प्लेब्वाईका सबै अङ्क अनलाइन

जेठ ७, लसएञ्जल्स (अमेरिका) । वयस्कहरूमा केन्द्रित पत्रिका प्लेब्वाईले ५७ वर्षदेखिको आफ्नो प्रकाशन इतिहासभरिका सबै अङ्क अब इण्टरनेटमा अनलाइन राख्ने भएको छ ।प्लेब्वाईले आईप्याडमा समेत उपलब्ध हुने गरी इण्टरनेटमा आधारित ग्राहक सेवा आईप्लेब्वाई डटकममार्फत दिने भएको हो । त्यसपछि, प्लेब्वाईका पाठकले उक्त पत्रिकाका अङ्क अनलाइनमा खोज्न र पढ्न पाउने छन् । आईप्लेब्वाईमा पत्रिकाका हालसम्म प्रकाशित सम्पूर्ण पृष्ठ सङ्ख्या १ लाख ३० हजारभन्दा पनि बढी हुनेछन् ।जुनबाट उक्त वेबसाइटमा विशेष भिडियो र कलासामग्री पनि राखिनेछन् । तिनमा कला, डिजाइन, फेशन, मिडिया र प्रविधिका विशिष्ट व्यक्तिहरू सम्मिलित प्लेब्वाई कमिशनले सिफारिश गरेका सामग्री हुनेछन् । हाल आईप्लेब्वाईको ग्राहक शुल्क प्रतिमहिना ८ डलर वा प्रति वर्ष६० डलर राखिएको छ । एजेन्सी

अमेरिकामा पेट्रोलको चर्को मूल्यले जीवन कष्टकर

जेठ ७, वाशिङटन (अमेरिका) । अमेरिकाका १० मध्ये चार गाडी चालकलाई पेट्रोलको बढ्दो मूल्य पीडादायक हुन पुगेको छ । हाल अमेरिकामा पेट्रोलको मूल्य प्रतिग्यालेन (३ दशमलव ७९ लिटर)को झण्डै ४ डलर पुगेको छ  । पेट्रोलको चर्को मूल्यका कारण बिदा मनाउन गाडीमा घुम्नेजस्ता क्रियाकलापसमेत घटिरहेको छ । मानिसहरू पहिलाभन्दा कमै गाडी चलाउँछन् भने कार चलाउनै छाड्नेहरू समेत भेटिएका छन् । हालैको एउटा नयाँ सर्वेक्षणबाट पेट्रोललगायतको बढ्दो मूल्यबाट उच्च आम्दानी भएका अमेरिकीहरूसमेत प्रभावित भएका छन् । खासगरी, वरिष्ठ नागरिक अर्थात् पाका उमेरका अमेरिकीहरूले झनै बढी समस्या भोग्नुपरेको बताएका छन् ।

सर्वेक्षणमा सहभागी १० मध्ये चारले पेट्रोलको चर्को मूल्यबाट आगामी ६ महीनामा आफू र परिवारलाई गम्भीर वित्तीय समस्या आइपर्ने आशङ्का गरेका छन् । ७१ प्रतिशतले बढ्दो मूल्यबाट केही समस्या आउने बताए भने ४१ प्रतिशतले गम्भीर कठिनाइ आइपर्ने आशङ्का व्यक्त गरे । मूल्यवृद्धिबाट आफूहरूलाई केही पनि फरक नपरेको भन्नेहरूको सङ्ख्या मात्र २९ प्रतिशत छ । त्यसैगरी मूल्यवृद्धिबाट आर्थिक समस्या भोगिरहेको बताउनेहरूको सङ्ख्या मार्चमा गरिएको त्यस्तै सर्वेक्षणको भन्दा हालको सर्वेक्षणमा बढेको छ ।

वरिष्ठ नागरिकहरूको अवस्था झनै बढी चिन्ताजनक देखिन्छ । पेट्रोलको मूल्यबाट आर्थिक समस्या भोग्नुपरेको बताउने वरिष्ठ नागरिकको सङ्ख्या मार्चको ६८ प्रतिशतबाट बढेर ७६ प्रतिशत पुगेको छ । पैंसट्ठी वर्षीया नेट्टी क्यासले त गाडीको तेल खर्चका कारण  आफूले औषधि खर्चमा समेत कटौती गर्नुपरिरहेको बताइन् । आफूले मुटुरोगको औषधि अझै खाइरहे तापनि दम र अल्सरको औषधि खानै छाडिसकेको बताइन् । बाल्टिमोरकी एक आर्थिक विश्लेषक निकोल पोलाइट आफ्नो गाडी बेचेर हाल सार्वजनिक यातायातमा यात्रा गरिरहेकी छन् । उनी र उनका ब्वाईफ्रेण्डले आफूहरूसँग हाल एउटा मात्र गाडी राखेका छन् । 'पहिलेजस्तो हामी घुम्न पनि जाँदैनौं । सिनेमा हेर्न लाग्ने २० डलरले गाडीको तेल खर्च पुर्याउँछौं,’ पोलाइटले भनिन् ।
एपी/रासस

भारतमा फक्रिंदो फूलको व्यवसाय

जेठ ७, सतारा (भारत) । भारतमा फूलको व्यापार निकै फस्टाएको छ । केही वर्षअगाडि जोखिम मोलेर फूलको व्यवसायमा हात हालेका महाराष्ट्रका राहुल पवार अहिले निकै उत्साहित छन् । 'प्रत्येक वर्षहाम्रो फूलको माग बढिरहेको छ,’ फूलको व्यवसायमा ११ करोड भारू लगानी गरिसकेका राहुलले भने । विवाहलगायत अन्य अवसरमा फूलको प्रचलन बढ्दै गएकोले फूलको माग बढेको हो । नौला जातका फूलको माग बढी हुने राहुलको अनुभव छ ।

महाराष्ट्रको चर्को गर्मीबाट बचाउन राहुल आफ्नाफूललाई प्लाष्टिक र वातावरण नियन्त्रित अवस्थामा राख्छन् । कुनै जातका फूल त २० वर्षसम्म पनि फुलिरहने राहुल बताउँछन् । महाराष्ट्रमा मुख्यतया उखुको खेती हुने गर्छ । भारतबाट कुल उत्पादनमध्ये ४० प्रतिशत उखु महाराष्ट्रमा उत्पादन हुन्छ । तर, राहुलजस्ता किसानले भने फूलको खेतीमा हात हालेर नौलो प्रयोग गर्न खोजेका छन् । परम्परागत बालीभन्दा फूलबाट राम्रो आम्दानी हुने राहुल बताउँछन् । तर, त्यसका लागि शुरूमा ठूलो लगानी गर्नुपर्ने तथा लगानी उठाउन ४ देखि ५ वर्षसम्म लाग्ने राहुलको अनुभव छ । एजेन्सी

Admin 2011-05-22