शान्ति र संविधानले निर्धारित समयमा नै पूर्णता पाउला ?
  

महिन्द्रा-साङ्योङ सम्झौता

मङ्सिर ७, सोल (दक्षिण कोरिया) । भारतको महिन्द्रा एण्ड महिन्द्राले कोरियाको समस्याग्रस्त साङ्योङ मोटर कम्पनी शेयर र ऋण गरी ४६ करोड ३० लाख डलरमा खरीद गर्ने सम्झौता गरेको छ ।साङ्योङले धेरैजसो स्पोर्ट्स यूटिलिटी गाडी (एसयूभी) उत्पादन गर्दछ । साथै यसले द चेयरम्यान भनिने लक्जरी सेडान पनि निर्माण गर्दछ । गत वर्षो शुरूमा उक्त कम्पनी घट्दो विक्री, बढ्दो घाटा, तथा श्रमिक समस्याका कारण टाट पल्टिनबाट जोगिन अदालतबाट स्वीकृत सुरक्षा कार्यक्रमको शरण लिन बाध्य भएको थियो । कुनै समय उक्त दक्षिण कोरियाली कम्पनीको बहुमत शेयर चीनको एसएआईसी मोटर कर्पोरेशनको स्वामित्वमा थियो, तर टाट पल्टिने प्रक्रियामा उक्त चिनियाँ कम्पनीको हातबाट व्यवस्थापनमा नियन्त्रण गुमेको थियो ।

महिन्द्रा एण्ड महिन्द्रा लिमिटेडले पनि एसयूभी उत्पादन गर्दछ । महिन्द्रा तथा साङ्योङ मोटर कर्पोरेशनले मङ्गलवार एक विज्ञप्ति जारी गर्दै साङ्योङको ७० प्रतिशत हिस्सा उक्त भारतीय कम्पनीले खरीद गर्ने सहमतिमा हस्ताक्षर भएको बताएका छन् । साङ्योङ स्वतन्त्र कम्पनीकै रूपमा रहने र यसको व्यवस्थापनमा धेरैजसो कोरियालीहरू नै रहने पनि बताइएको छ । दुवै कम्पनीहरूले साङ्योङका श्रमिकहरूको यूनियनसँग रोजगारीको सुरक्षा, दीर्घकालीन दूरगामी लगानी तथा श्रमसम्बन्धी कुनै विवाद नगर्ने लगायतका बुदा सहितको सहमतिमा पनि हस्ताक्षर भएको बताइएको छ । एपी/रासस


ए-३८० को पुनः उडान

मङ्सिर ७, अष्ट्रेलिया (सिडनी) । अष्ट्रेलियाली वायुसेवा कोन्टासले ए-३८० एयरबसको उडान मङ्गलवारदेखि आंशिक रूपमा पुनः शुरु गरेको छ । तथापि उसका यी सुपरजम्बोहरूमध्ये अधिकांश विमान अहिले उड्ने छैनन् । लसएञ्जलसतर्फजाने प्रशान्तक्षेत्र वारपारको रुटलाई तत्काल प्रयोग नगरिने कोन्टासले बताएको छ ।एयर बस ए-३८० को शनिवार सिडनीबाट सिङ्गापुर हुंदै लण्डनतर्फ जाने उडानमा आफू पनि रहने कोन्टासका प्रमुख कार्यकारी एलन जोयसले बताए । उक्त उडान तीन हप्ताअघि सिडनीतर्फजान लागेको विमानमा भएको विस्फोटनपश्चात गरिएको आपतकालीन अवतरणपछिको पहिलो हुनेछ ।

सो विमानसेवाले दुइ साताअघि सिङ्गापुरबाट सिडनीतर्फजान लागेको विमान ए-३८० मा रहेको रोल्स रोयस इन्जिन पड्केपछि आफ्ना सबै सुपरजम्बोहरुलाई उडान भर्न स्थगित गरेको थियो । एपी/रासस


अष्ट्रेलिया-जापान स्वतन्त्र व्यापार वार्ता जनवरीमा

मङ्सिर ७, अष्ट्रेलिया (क्यानबेरा) । अष्ट्रेलिया र जापानले जनवरीमा स्वतन्त्र व्यापार सन्धिका बारे ताजा वार्ताहरू गर्ने भएका छन् । जापानका विदेशमन्त्रीसँगको छलफलपछि अष्टे्रलियाका व्यापारमन्त्री क्रेग ईमर्सनले मङ्गलवार यो जानकारी दिएका हुन् । अष्ट्रेलिया र जापानले २००७ को अप्रिलमै स्वतन्त्र व्यापारसम्बन्धी वार्ता शुरू गरेका थिए, जसबाट ती दुइ राष्ट्रबीचको ५८ अर्ब डलरको दुइतर्फी व्यापारसम्बन्धलाई विस्तार गर्ने अपेक्षा गरिएको थियो । तर कृषिजन्य बजारमा पहुँचसम्बन्धी विषयमा सो वार्ता अवरुद्ध भएको छ । 'हामीले स्वतन्त्र व्यापारसम्बन्धी वार्तालाई पुनः ऊर्जा दिने सहमतिमा पुगेका छौं, जसको आगामी बैठक जनवरीमा हुनेछ’, जापानी विदेशमन्त्री सेइजी माएहारासँग क्यानबेरामा भएको बैठकपछि ईमर्सनले अष्ट्रेलियाको संसद्मा बताए । जापानका प्रधानमन्त्री नाओतो कानको सरकारले देशमा वर्षौंदेखि विद्यमान आर्थिक जडता तथा बेरोजगारीलाई हटाउन जापानले स्वतन्त्र व्यापारका अवसरहरूलाई सदुपयोग गर्नुपर्ने भन्दै आएको छ । अमेरिका, अष्ट्रेलिया, सिङ्गापुर, ब्रुनेइ, न्यूजिल्याण्ड, चिली, भियतनाम, मलेशिया, र पेरू संलग्न एशिया प्रशान्त क्षेत्रका नौवटा देशहरूको प्रशान्तक्षेत्रीय साझेदारी (टीपीपी) व्यापार वार्तामा पनि भाग लिने कानको योजना छ । रोयर्टस


कोरियाली वित्त अधिकारीहरूको आपतकालीन बैठक

मङ्सिर ७, सोल (दक्षिण कोरिया) । दक्षिण कोरियाका वित्तीय अधिकारीहरूले बुधवार एउटा आपातकालीन बैठक गर्ने योजना बनाएका छन् । उक्त बैठकमा उत्तर र दक्षिण कोरियाबीच मङ्गलवार भएका शस्त्रास्त्रको आदानप्रदानले वित्तीय बजार तथा अर्थतन्त्रमा पार्न सक्ने असरको बारेमा छलफल गरिनेछ ।दक्षिण कोरियाका अर्थ उपमन्त्री, ज्ञान अर्थतन्त्र मन्त्रालयका उपमन्त्री, बैङ्क अफ कोरियाका वरिष्ठ डेपुटी गभर्नर, तथा वित्तीय सेवा आयोगका सहअध्यक्षका बीच मङ्गलवार बेलुकी नै छलफल हुने पनि अर्थ मन्त्रालयले मङ्गलवार बताएको छ । रोयटर्स