शान्ति र संविधानले निर्धारित समयमा नै पूर्णता पाउला ?
  

हिउँको आँधीमा फष्टायो नूनको व्यापार

पुस ७, फ्रान्कफर्ट (जर्मनी) । नून आपूर्तिमा विश्वकै अग्रणीमध्ये एक जर्मन व्यापारिक समूह के प्लस एसको शेयर मूल्यमा मङ्गलवार वृद्धि भएको छ । यूरोपेली मौसम अनपेक्षित रूपले खराब भएपछि उक्त समूहले ठूलो मात्रामा नून आपूर्तिको 'अर्डर' पाएको थियो । खराब मौसमपछि सडकमा जमेको हिउँ पगाल्न नूनको प्रयोग गरिन्छ । फ्रान्कफर्ट स्टक एक्सचेञ्जको मध्याह्नपछिको व्यापारमा के प्लस एसको शेयर मूल्य ५ दशमलव २६ प्रतिशतले वृद्धि भएर ५६ दशमलव ८४ यूरो पुगेको थियो । जर्मनीका अग्रणी शेयरहरूको स्टक एक्सचञ्ज परिसूचकाङ्क (डीएएक्स इण्डेक्स) भने के प्लस एसको भन्दा शून्य दशमलव ७१ प्रतिशतले माथि रहेको थियो । गत हप्ताभरि नै उक्त कम्पनीको शेयर मूल्यमा पाँच प्रतिशतभन्दा बढीले वृद्धि भएको थियो । के प्लस एसले सो अवधिमा गरेको प्रदर्शन डीएएक्समा सूचीकृत कम्पनीमध्ये नै सबैभन्दा राम्रो हो । हिउँ पगाल्न सडकमा प्रयोग गरिने नूनको मागमा गतवर्षको डिसेम्बरमा भन्दा यो वर्षको डिसेम्बरमा तीन गुणाले तथा अन्य सामान्य डिसेम्बरमा भन्दा ६ गुणाले बढेको के प्लस एसको प्रवक्ताले बताए । एएफपी/रासस


आईएमएफको सुन पूरै विक्री

पुस ७, वासिङ्टन (अमेरिका) । अन्तरराष्ट्रिय मुद्रा कोष (आईएमएफ)ले ४ सय ३ टन सुनको बिक्री कार्य पूरा भएको मङ्गलवार बताएको छ । कोषको वित्तीय अवस्था सुधार गर्न दुइवर्षको परियोजनाअन्तर्गत सो परिमाणको सुन विक्री गरिएको हो ।  अन्तिमपटकको विक्री परिमाणबारे विस्तृत जानकारी गराइएको छैन । तर, कोषले पहिले घोषणा गरेअनुसार २ सय टन भारत, १० टन मरिसस, १० टन श्रीलङ्का तथा १० टन बङ्गलादेशलाई विक्री गरिने भएको थियो । ती देशहरूलाई गरिने विक्रीबाट ७ अर्ब ६० करोड डलर आउने बताइएको थियो । कोषले आफूसँग भएका सुनजन्य सम्पतिमध्ये आठ भागको एक भाग बेच्न सक्नेमा कोषका सदस्यहरू २००८ मै सहमत भएका थिए । कोषको वित्तीय संरचनामा विविधीकरण गर्ने उद्देश्यबाट उक्त निर्णय प्रेरित रहेको थियो । अन्तरराष्ट्रिय मुद्रा कोष विश्वको सबैभन्दा ठूलो सुन जम्मा भएको संस्था हो । एएफपी/रासस


सरकारी ग्यारेण्टीको ऋणमा जहाज बेच्ने सहमति

पुस ७, पेरिस (फ्रान्स) । यात्रुवाहक जहाज निर्माता प्रमुख मुलुकहरूले निर्यात ऋण प्रक्रियामा सुधार ल्याएर विक्री बढाउने 'समान आधारको प्रतिस्पर्धा’ लागू गर्न सहमति गरेका छन् । जहाज उत्पादक मुख्य देशहरू पेरिसस्थित ओईसीडीको मुख्यालयमा महीनौंदेखि वार्तारत थिए । यो वार्ता जहाज किन्ने मुलुकका सरकारहरूले ग्यारेण्टी दिएको अवस्थामा जहाज आपूर्ति गर्न सहमति गर्ने विषयमा केन्द्रित थिए । 'यो वार्तामा रहेका देशहरूबीच भएको सैद्धान्तिक सहमति हो । यो सहमतिलाई अनुमोदनका लागि सम्बन्धित सरकारहरूसमक्ष पठाइएको छ,’ ओईसीडीका प्रवक्ता स्टेफन डिबियासोले भने । जनवरी २० भित्र यो अनुमोदनको प्रक्रिया पूरा हुने र फ्रेब्रुअरी १ देखि प्रभावकारी हुने अपेक्षा गरिएको पनि उनले बताए ।

'यो सहमतिको उद्देश्य बजार निर्माण र कायम गर्नु तथा जोखिममा आधारित शुल्क प्रणाली लागू गरेर जहाज उत्पादकहरू, वायुसेवा कम्पनी र सरकारहरूका बीच समान आधारको प्रतिस्पर्धाको वातावरण बनाउनु रहेको छ’ सो सहमतिमा उल्लेख छ ।  यूरोप र अमेरिकाका धेरैओटा ठूला वायुसेवा कम्पनीहरूले सन् २००७ देखि लागू गरिएको यस्तो निर्यात कर्जाको विरोध गरेका छन् । उनीहरूले यस्तो प्रावधानले मध्यपूर्वका आफ्ना प्रतिस्पर्धी वायुसेवा कम्पनीहरूलाई पक्षपातपूर्ण ढङ्गले सघाएको आरोप लगाएका छन् । यूरोप र अमेरिकामा जहाज किन्नका लागि सरकारहरू नै ग्यारेण्टी बस्ने प्रचलन छैन । तर, धेरैजसो मध्यपूर्वी देशहरूका राष्ट्रिय ध्वजावाहकहरूले यस्तो सुविधा लिँदै आएका छन् । सरकार ग्यारेण्टी बसेर दिइने कर्जाको ब्याजदर अरूभन्दा निकै कम हुने गर्छ ।

यूरोपस्थित ठूलो विमान निर्माता एअरबस र त्यसको अमेरिकी प्रतिस्पर्धी बोइङले यस्तो सम्झौताले विक्री बढाउने भन्दै त्यसको प्रतिरक्षा गरेका छन् । यो सहमतिले ठूला र क्षेत्रीयस्तरका जेट निर्माताहरूबीच विद्यमान दोहोरो लगानी शुल्कको प्रावधानलाई समान बनाएको दाबी सम्झौतापत्रले गरेको छ । अब यस्तो निर्यात कर्जालाई विमान कम्पनीहरूबीच भएको फरक-फरक लगानीका शर्तहरूलाई अन्त्य गरेर बजारमा आधारित बनाइँदै छ । तथापि यस्तो कर्जामा परिमाणात्मक बन्देज भने लगाइएको छैन । यो सम्झौताले एअरबस र बोइङबीच प्रवर्द्धनात्मक लगानीका आधारमा हुने बजार विस्तारलाई पनि समान बनाउनेछ । एएफपी/रासस


बैङ्क अफ मस्को ऋण घोटालामा छानबिन शुरू

पुस ७, मस्को (रूस) । रूसी अधिकारीहरूले मस्को सिटी सरकारको स्वामित्वमा रहेको बैङ्क अफ मस्कोमा फौजदारी अनुसन्धान शुरू गरेको आर्थिक दैनिक कोम्मरसाण्ट बिजनेशले बताएको छ । उक्त बैङ्कको बहुमत शेयर १९९५ देखि मस्को सिटी सरकारको स्वामित्वमा रहेको थियो । उक्त बैङ्कले २००९ मा एउटा कमै मात्र जानकारी भएको कम्पनीलाई १२ अर्ब ७६ करोड रुबल (४१ करोड ५० लाख डलर) ऋण दिएको विषयमा छानबिन हुन लागेको कोम्मरसाण्टले बताएको छ ।     त्यसपछि बैङ्कले मस्कोका तत्कालीन मेयरकी श्रीमती येलेना बतुरिनासँग कृत्रिम रूपले उच्च पारिएको मूल्यमा जग्गाको एउटा टुक्रा किनेको थियो । मेयर युरी लुझ्कोभ हाल पदमुक्त भइसकेका छन् । बतुरिनाले इण्टेको भन्ने आफ्नो निर्माण कम्पनीमार्फत मस्को शहरमा हुने घरजग्गासम्बन्धी ठेक्का पाउने गरेकी थिइन् । त्यसरी कमाएको सम्पत्तिबाट उनी रूसकै सबैभन्दा धनी महिला हुन पुगेकी फोर्ब्स पत्रिकाले बताएको थियो । तर, २००९ को वित्तीय सङ्कटपछि उक्त कम्पनी ऋण समस्याबाट ग्रस्त हुँदै आएको छ ।

बैङ्क अफ मस्कोलाई १५ अर्ब रुबल हस्तान्तरण गर्न मस्को सिटीको संसद्ले अनुमोदन गरेकै दिन बैङ्कमा घोटाला भएको 'फाइनान्सल टाइम्स'ले बताएको छ । बतुरिनाको ऋण तिर्न सो रकम प्रयोग गरिएको हो कि भन्ने सम्बन्धमा रूसको आन्तरिक मन्त्रालयले छानबिन गरिरहेको पनि उसले बताएको छ । जग्गा खरीदसम्बन्धी सम्झौता पूर्णरूपले कानूनसम्मत रहेको बतुरिनाको कम्पनीका प्रवक्ताले इण्टरफ्याक्स समाचार संस्थालाई बताए । तर, त्यसबारे थप विस्तृत जानकारी भने उनले गराएनन् । १९९२ मा मस्कोका मेयर भएपछि लुझ्कोभ रूसका शक्तिशाली क्षेत्रीय प्रमुखमध्ये एक बन्न सफल भएका थिए । तर, पछि उनी क्रेमलिनसँगको राजनीतिक संघर्षमा पराजित भएका थिए । राष्ट्रपति दिमित्री मेद्भेदेभले सेप्टेम्बरमा लुझ्कोभलाई पदमुक्त गरेका थिए । एएफपी/रासस


यूरोपको यात्रा अस्तव्यस्ततामा कमी

पुस ७, लण्डन (बेलायत) । अत्यधिक हिमपातका कारण अस्तव्यस्त भएको यूरोपको हवाई, रेल एवम् सडक यात्रा बुधवारदेखि केही सुलभ भएको छ । तर, पनि यूरोपको प्रमुखमध्येको एक लण्डनको हिथ्रो एअरपोर्टमा हिउँ हटाउने कार्य भइरहेकाले यात्रुहरूको भीडभाड कायमै छ । बुधवार करीब ७० प्रतिशत (९ सय ओटा) उडान हिथ्रोबाट उडे । जर्मनीको फ्राङ्कफर्ट एअरपोर्ट पनि विस्तारै सामान्यतर्फ फर्कदैं छ । बुधवार १३ सयमध्ये ७० ओटा उडानमात्र रद्द गरिएका थिए । मङ्गलवार यसरी रद्द हुने उडान सङ्ख्या ५ सय ५० थियो । पेरिस दे गल एअरपोर्टबाट उड्ने १५ प्रतिशत उडानमात्र बुधवार रद्द भए । त्यस्तै गरी इङल्याण्ड, फ्रान्स र बेजियमलाई जोड्ने यूरोस्टार रेलसेवा पनि सामान्य समयसारिणीमा नै चल्न थालेको छ । तथापि यसले टिकट भएका यात्रुलाई मात्र स्टेशन आउन आग्रह गरेको छ । गत साता हजारौंको सङ्ख्यामा मानिसहरू टिकट बेच्ने ठाउँमा ओइरिएपछि यस्तो आग्रह गरिएको हो । तर, अति जाडोले यूरोपको जनजीवनलाई प्रभावित पार्न भने छोडेको छैन । डेनमार्कमा विगत तीन दशकयताको सबभन्दा न्यून माइनस २२ दशमलव ५ डिग्री सेल्सियस तापक्रम यो साता रेकर्ड गरिएको छ । एएफपी/रासस


चीनको स्टेट ग्रीडले ब्राजिलको प्रसारण लाइन किन्यो

पुस ७, साङ्र्घाई (चीन) । चीनको सबैभन्दा ठूलो विद्युत् कम्पनी स्टेट ग्रीडले समुद्रपार व्यवसाय विस्तारका क्रममा ब्राजिलका सातओटा ऊर्जा कम्पनी तथा तिनको प्रसारण लाइन प्रयोग गरेबापत ९८ करोड ९० लाख डलर तिरेर किन्ने भएको छ । उक्त लगानीअन्तर्गत चिनियाँ कम्पनीले ३० वर्षसम्म ब्राजिलको प्रसारण लाइन सञ्चालन गर्ने छूट पाउनेछ । ३० वर्षको समयसीमा सकिएपछि फेरि थप २० वर्षमा लागि सम्झौताको नवीकरण गर्न सकिनेछ । सो कुरा सरकारी सम्पत्तिको व्यवस्थापन गर्ने चीनको एक सरकारी नियोगको वेबसाइटमा बुधवार जारी सूचनामा जनाइएको छ ।

स्टेट ग्रीडले फिलिपिन्सको प्रसारण लाइन २५ वर्षसम्म सञ्चालन गर्नका लागि ३ अर्ब ९० करोड डलरमा त्यस्तै एक सम्झौता गरिसकेको छ । त्यसपछि थप विस्तार गर्ने क्रममा स्टेट ग्रीडले ब्राजिलको प्रसारण लाइन किन्ने भएको हो । स्टेट ग्रीडको बारेमा चीनबाहिर धेरैलाई थाहा छैन । तर, 'फर्चुन' पत्रिकाले खुद आम्दानीको आधारमा वार्षिक रूपमा प्रकाशित गर्ने प्रमुख ५ सयओटा कम्पनी (फर्चुन ५००)मा स्टेट ग्रीडलाई आठौं स्थानमा राखेको सो कम्पनीले बताएको छ । ग्रीडले चीनका ३२ मध्ये २६ प्रान्त तथा क्षेत्रमा विद्युत् प्रसारण लाइन सञ्चालन गर्छ । चीन सरकारको 'बाहिर जाऊ' भन्ने नीतिलाई पछयाउने प्रमुख सरकारी कम्पनीहरूमा स्टेट ग्रीड पनि एक हो । विश्वको दोस्रो सबैभन्दा ठूलो जलविद्युत् बाँध 'इताइपु'बाट आपूर्ति हुने बिजुलीमा ब्राजिल धेरै निर्भर रहेको छ । विश्वको सबैभन्दा ठूलो जलविद्युत् बाँध भने चीनकै 'थ्री गोर्जेज' हो ।  एपी/रासस