बङ्गलादेशमा ग्यासमा आधारित विद्युत् केन्द्र
साउन ७, ढाका (बङ्गलादेश) । बङ्गलादेशले ग्यासमा आधारित ३ सयदेखि ४ सय ५० मेगावाट क्षमताको विद्युत् उत्पादन केन्दका लागि बोलपत्र आह्वान गर्ने भएको छ । देशमा विद्युत् सङ्कट बढ्दै गएकाले आर्थिक वृद्धि र लगानीसमेत प्रभावित भएको भन्दै बङ्गलादेश सरकारले त्यस्तो निर्णयगरेको हो । छानिएका ठेकेदारले विद्युत् केन्द्रको निर्माण गरेपछि सरकारी निकायलाई हस्तान्तरण गर्ने एक उच्च सरकारी अधिकारीले बताए ।देशको उत्तरपूर्वी क्षेत्र बिबियानामा निर्माण गरिने उक्त परियोजनाका लागि अक्टोबर १८ देखि बोलपत्र खुला गरिनेछ । हालको ऊर्जा उत्पादनलाई आगामी २०१६ सम्ममा तेब्बर बनाएर १५ हजार मेगावाट पुर्याउने बङ्गलादेश सरकारको लक्ष्य छ । त्यसका लागि कुल ८९ ओटासम्म ऊर्जा केन्द्र स्थापना गरिनेछ, जसमध्ये ३२ ओटा सार्वजनिक र ५७ ओटा निजीक्षेत्रमा रहनेछन् ।
त्यसैगरी, भारत, नेपाल र भुटानबाट १ हजार मेगावाट विद्युत् आयात गर्ने पनि योजनाको लक्ष्य छ । साथै, आणविक केन्द्र स्थापना गरी २ हजार मेगावाट आणविक ऊर्जा उत्पादन गर्ने पनि सरकारी योजना रहेको छ । हाल प्राकृतिक ग्यासको कमी देखिए तापनि २०१२ को अन्त्यसम्ममा प्रतिदिन १ अर्ब क्युबिक फिट प्राकृतिक ग्यास थपिनेछ । त्यसका लागि गत महीना अमेरिकी ऊर्जा कम्पनी कोनोकोफिलिप्ससँग बङ्गालको खाडीमा ग्यास र तेल उत्खनन सम्झौता गरिएको थियो । हाल, बङ्गलादेशमा ४५ प्रतिशत जनताको मात्र विद्युत्मा पहुँच रहेको छ । एजेन्सी
यूरोपमा आर्थिक सङ्कटका कारण आत्महत्या बढ्दो
साउन ७, लण्डन (बेलायत) । यूरोपमा हालै गरिएको एक अध्ययनले आर्थिक सङ्कटका कारण आत्महत्याको दर बढिरहेको देखाएको छ । अमेरिकी र बेलायती स्वास्थ्यकर्मीहरूको एक संयुक्त टोलीले १०ओटा यूरोपेली देशहरूका आत्महत्या दरका बारेमा गरेको अध्ययन रिपोटले यस्तो देखाएको हो । टोलीले १० मध्ये ९ ओटा देशका सन् २००७ देखि २००९ सम्म आत्महत्याका घटनाहरूको अध्ययनमा काम गर्ने उमेरसमूहका मानिसहरूले गर्ने आत्महत्या बढेको बताएको छ । रिपोटमा ६५ वर्षभन्दा कम उमेरका मनिसहरूको आत्महत्या दर घट्दा पनि ५ देखि १७ प्रतिशतसम्म वृद्धि भएको उल्लेख छ । रिपोटमा आर्थिक मन्दीबाट कम प्रभावित अष्ट्रियाबाहेक अन्य यूरोपेली राष्ट्रमा आत्महत्या दरमा वृद्धि भएको देखिएको छ । ऋणसङ्कट चुलिरहेको ग्रीसमा सबैभन्दा बढी र फिनल्याण्डमा सबैभन्दा कम दरमा आत्महत्या बढिरहेको रिपोटमा बताइएको छ ।
अध्ययन टोलीका डा. डेभिड स्टुक्लरले आर्थिक मन्दी शुरू हुनुअघि र पछिको अवस्थामा स्थिति उल्टिएको बताएका छन् । उनले आर्थिक मन्दी शुरू हुनुअघि ती देशमा आत्महत्याको दर घटेको तर पछिल्लो अवस्थामा चिन्ताजनक रूपमा बढिरहेको जानकारी दिएका छन् । आत्महत्या दरमा भइरहेको वृद्धिसँगै आर्थिक समस्याका कारण मुटु र क्यान्सरका रोगीका साथै मनोरोगीहरूको सङ्ख्यामा वृद्धि हुने अनुमान पनि स्वास्थ्यकर्मीहरूले गरेका छन् । रोजगारको र व्यापारको पुन:स्थापना एवम् सामाजिक सुरक्षामा सरकारहरूले ध्यान पुर्याएमा यो अवस्था केही सुधार हुने रिपोटमा सुझाव दिइएको छ । एजेन्सी
थाई युवराजद्वारा जरीवाना नतिर्न आग्रह
साउन ७, बैङ्कक (थाइल्याण्ड) । थाइल्याण्डका युवराज महा बाजिरालोङ्ग्कोर्ण आफनो निजी विमान बोइङ-७३७ जर्मनीबाट फिर्ता ल्याउने क्रममा कुनै रकम नतिर्न थाई सरकारलाई आग्रह गरेका छन् । जर्मनीका अधिकारीहरूले उनको विमान समातेपछि फिर्ता पाउन रकम धरौटी राख्नुपर्ने बताएका थिए । त्यसपछि, थाई जनताबाट आएको व्यापक चासोलाई सम्बोधन गर्दै युवराजले सरकारलाई त्यस्तो आग्रह गरेका हुन् ।उक्त विमानमा युवराजको निजी स्वामित्व भएको कागजात जर्मन अधिकारीहरूसमक्ष पठाइएको थाई महान्यायाधिवक्ता जुलासिङ वासान्तासिङले बताए । कागजात पेश गरेपछि विमानलाई म्युनिख एयरपोटमा समातिनु कानूनी रूपले गलत प्रमाणित हुने महान्यायाधिवक्ताको जिकीर छ ।युवराजले थाइल्याण्डबाट जर्मनीतर्फ गर्ने गरेको नियमित उडानबाट कुनै पनि उडान वा द्विपक्षीय प्रावधानको उल्लङ्घन नगरेको महान्यायाधिवक्ताको दाबी छ । जर्मनीका अधिकारीहरूले भने विमान फिर्ता पाउन २ करोड यूरो धरौटी राख्नुपर्ने माग गरेका थिए । एजेन्सी
अमेरिकामा बेरोजगारी बढ्यो
साउन ७, वाशिङटन (अमेरिका) । संयुक्त राज्य अमेरिकाका आधाजसो राज्यमा बेरोजगारी बढेको छ । अमरिकी श्रम विभागले शुक्रवार सार्वजनिक गरेको सन् २०११ जुन महीनाको प्रतिवेदनमा बेरोजगारी दर ९ दशमलव २ प्रतिशतले वृद्धि भएको बताइएको छ । अप्रिल महीनामा बेरोजगारी दर ९ प्रतिशत रहेको थियो । उक्त प्रतिवेदनमा जुन महीनामा वाशिङटन डिसीलगायत २८ ओटा राज्यमा बेरोजगारी बढेको उल्लेख छ ।बेरोजगारी दर उल्लेख्य रूपले बढेका राज्यहरूमा नेभाडा, क्यालिफोर्निया र रोड आइल्याण्ड रहेका छन् । नेभाडा राज्यमा १३ महीनासम्मको लगातारको वृद्धिपछि बेरोजगारी दर बढेर १२ दशमलव ४ प्रतिशत पुगेको छ । यो अमेरिकाका राज्यहरूमा सबैभन्दा बढी हो । पर्यटकहरूको आगमनमा कमी र घरजग्गाको मूल्य निरन्तर ओरालो लाग्नु बेरोजगारी बढ्नुको प्रमुख कारण भएको प्रतिवेदनमा बताइएको छ । नेभाडापछि क्यालिफोर्निया र रोड आइल्याण्ड राज्यहरूमा क्रमश: ११ दशमलव ८ र १० दशमलव ८ प्रतिशतले बेरोजगारी वृद्धि भएको छ ।
क्रेडिट रेटिङ एजेन्सी 'मुडिज' ले स्थितिमा सुधार नआएमा ती राज्यहरूका क्रेडिट रेटिङ घटाउने बताएको छ । विश्लेषकहरूका अनुसार अमेरिकामा बेरोजगारी दर बढ्न नदिन प्रतिमहीना १ लाख २५ हजार रोजगरीहरू सृजना गर्नुपर्ने हुन्छ । साथै, बेरोजगारी दर पूर्णरूपले हटाउन उक्त सङ्ख्याको दोब्बर रोजगारीहरू सृजना गरनुपर्ने हुन्छ । तर, जानकारहरूका अनुसार हाल प्राप्त तथ्याङ्कहरूबाट जुलाई महीनामा पनि अघिल्ला महीनाहरूजस्तै स्थितिमा सुधार हुने अवस्था देखिएको छैन ।सन् २०११ जनवरीदेखि मार्च महीनासम्म अमेरिकी अर्थतन्त्र १ दशमलव ९ प्रतिशतले मात्र बढेको अप्रिल-जुन को अवधिमा पनि सोही स्थिति कायम रहने धेरै विश्लेषकहरूले अनुमान गरेका छन् । एपी/रासस
भारतमा मल्टी-ब्राण्ड रिटेल स्टोर
साउन ७, नयाँ दिल्ली (भारत) । भारतले उसको खुद्रा विक्री बजारलाई विदेशी कम्पनीका लागि पनि खुला गर्ने भएको छ । खाद्य आपूर्तिको समस्या र उच्च महँगीलाई नियन्त्रण गर्ने उद्देश्यले भारतले यस्तो कदम चालेको हो । बहु-ब्राण्ड अर्थात् मल्टी ब्राण्ड रहने त्यस्ता स्टोरमा वाल माट, टेस्को, मेट्रो एजीलगायतका विभिन्न ठूला खुद्रा विक्रेताका स्टोर रहनेछन् । प्राय: पारिवारिक घरानाको वर्श्च्व रहेको भारतको खुद्रा विक्री क्षेत्रमा प्रवेश पाउन ती बहुराष्ट्रिय कम्पनीले लामो समयदेखि प्रयास गर्दै आएका थिए । नयाँ प्रावधानपछि विदेशी कम्पनीहरूले मल्टी ब्राण्डको क्षेत्रमा पनि ५१ प्रतिशत हिस्सा पाउन सक्नेछन् । हालसम्म भारतमा सिङ्गल-ब्राण्ड खुद्रा विक्री स्टोरमा मात्र ५१ प्रतिशत विदेशी लगानीको अनुमति छ । एजेन्सी
अल निप्पन र एयर एशियाको संयुक्त लगानी
साउन ७ । जापानको ध्वजावाहक अल निप्पन एयरवेज र एयर एशियाले संयुक्त लगानीको विमानसेवा स्थापना गर्ने भएका छन् । एयर एशिया दक्षिणपूर्वी एशियाली क्षेत्रमा द्रूत विस्तार गरिरहेको सुलभ मूल्यमा हवाई सेवा दिने कम्पनी अर्थात् बजेट एयरलाइनर हो । टोकियोको नारिता इण्टरनेशनल एयरपोटबाट सञ्चालनमा आउने एयर एशिया जापानको उक्त एयरपोटको पहिलो बजेट एयरलाइनर हुनेछ । आगामी २०१२ को अगष्टबाट सञ्चालनमा आउने भनिएको उक्त संयुक्त लगानीको ६७ प्रतिशत शेयर अल निप्पनको र बाँकी ३३ प्रतिशत शेयर एयर एशियाको हुनेछ । विमान सेवाले आन्तरिक र अन्तरराष्ट्रिय दुवै प्रकारको हवाई सेवा दिनेछ । एजेन्सी
घोडचढी प्रशिक्षकलाई भ्रष्टाचार आरोप
साउन ७ । हङकङका एक प्रसिद्ध घोडा प्रशिक्षक ब्रायन कानमाथि निर्वाचनमा मत अर्थात् भोट किन्न घुस खुवाएको आरोपमा भ्रष्टाचार मुद्दा चलाइने भएको छ । उनले शेउङ शुइ क्षेत्रमा निर्वाचनमा उठेका बेला एक गाउँ प्रतिनिधिलाई १ लाख ३० हजार हङकङ डलर (१७ हजार) डलर घुस खुवाएको आरोप छ । हङकङको भ्रष्टाचारविरोधी संस्था इण्डिपेडेण्ट कमिशन एगेन्ष्ट करप्सन ( आईसीएसी) ले शुक्रवार ७३ वर्षीय कानमाथि मुद्दा चलाएको हो ।हङकङमा पाँचपटक घोडा प्रशिक्षक च्याम्पियन भइसकेका कानलाई आफ्नो पुस्ताको सबैभन्दा प्रसिद्ध प्रशिक्षक मानिन्छ । साथै, उनी हङकङको न्यू टेरिटोरिज क्षेत्रका शक्तिशाली व्यक्तित्व पनि मानिन्छन् । घोडा प्रशिक्षकको २५ वर्षको करिअरमा ८ सय ४४ ओटा घोडालाई दौडमा विजयी बनाएर कानले कीर्तिमान राखेका छन् । भ्रष्टाचार प्रमाणित भएमा कानमाथि ५ लाख हङकङ डलर जरीवाना र ७ वर्षसम्म जेल सजाय हुन सक्नेछ । एएफपी/रासस
Admin 2011-07-24