भारत सरकारद्वारा २२ अर्ब डलरको खाद्यान्न अनुदान
असार ८, नयाँ दिल्ली (भारत) । भारत सरकारले खाद्यसुरक्षा कानूनअन्तर्गत गरीब जनताका लागि खाद्यान्नमा २२ अर्ब डलरको अनुदान कार्यक्रम लागू गर्ने भएको छ । सरकारले अगष्ट १ देखि शुरू हुने संसद्को वर्षको अधिवेशनमा यससम्बन्धी विधेयक ल्याउने तयारी गरिरहेको खाद्य मन्त्रालयका एक उच्च अधिकारीले आफ्नो नाम गोप्य राख्ने शर्तमा बताएका छन् । 'क्रिसमसअगाडि नै यो विधेयक पास गराउन सके सरकारका लागि यो राजनीतिक बुद्धिमानी हुनेछ’, उनले भने । खाद्यान्नको मूल्यवृद्धि भइरहेको समयमा हालको विधेयक पारित गराउन सके सरकारले गरीब जनताको दृढ समर्थन पाउने उनले बताए ।
भारतमा यसवर्षखाद्यान्नको मूल्यमा करीब १० प्रतिशतको वृद्धि भएको छ । अझ केही कतिपय महीनामा त मूल्यवृद्धि अघिल्लो वर्षभन्दा करीब २० प्रतिशतसम्मले बढेको थियो । गत डिसेम्बरमा भारतमा प्याजको मूल्यमा भएको नाटकीय वृद्धिले भान्सा प्रभावित हुनुका साथै प्रदर्शनसमेत भएका थिए । हाल मस्यौदा भइरहेको कानूनमा गरीबीका रेखामुनि रहेका भारतीयका लागि ७ किलोग्राम अनुदानप्राप्त खाद्यान्न दिने निश्चित गरिएको छ । अधिकारीहरूका अनुसार कुन बिन्दुबाट गरीबीको रेखा तय गर्ने भन्नेबारे सरकारले अध्ययन गरिरहेको छ ।
केही अर्थविद्हरूले भने प्रस्तावित अनुदानबारे सरकारलाई सचेत गराउँदै त्यसबाट यसका लागि आवश्यक आम्दानीको स्रोत पहिचान गर्न भनेका छन् । भारतीय अर्थमन्त्री प्रणव मुखर्जीले २०१२ मार्चसम्मको आर्थिक वर्षमा कुल गार्हस्थ्य उत्पादनको ४ दशमलव ६ प्रतिशतले बजेटघाटा हुने बताएका छन् । एएफपी/राससग्रीस संसद्मा मतदानपछि यूरो मुद्रा स्थिरतातर्फ असार ८, सिङ्गापुर (एजेन्सी) । ग्रीस संसद्मा त्यहाँको सरकारले विश्वासको मत प्राप्त गरेपछि यूरो मुद्रा स्थिर भएको छ भने एशियाली शेयरबजारहरू पनि उक्लिएका छन् । यसका साथै ऋणसङ्कटग्रस्त ग्रीसलाई दिने भनिएको १२ अर्ब यूरो प्याकेज सहयोगका लागि मार्ग प्रशस्त भएको छ ।
ग्रीसले आफ्नो सार्वजनिक ऋणसङ्कट समाधान गर्ने तत्परता देखाएमा त्यसले यूरो मुद्राप्रतिको विश्वास पुन:स्थापित गर्नेछ । अब अमेरिकी फेडरल रिजर्भ बैङ्कको मङ्गलवारदेखि शुरू भएको बैठकतफर्मानिसहरूको ध्यान आकर्षण भएको छ । बैठकमा फेडरल रिजर्भका अध्यक्ष बेन बर्नाङ्कीले अमेरिकी कुल गार्हस्थ्यबारेको त्रैमासिक पूर्वानुमानमा पुनरवलोकन गर्नेबारे संवोधन गर्नेछन् । ग्रीसको नतीजाले एशियाली बजारहरूमा सकारात्मक असर पारेको छ । जापानको निक्केइ शेयर इण्डेक्स तीन दिनको लगातारको वृद्धिसँगै १ दशमलव ४ प्रतिशत बढेर ९ हजार ५ सय ९५ अङ्क पुगेको छ । हङकङ र दक्षिण कोरियाका शेयरबजार पनि उक्लेका छन् । एजेन्सी
सोनी इरिक्सनका दुई नयाँ एण्ड्रोइड मोडेल
असार ८, सिङ्गापुर । मोबाइल फोन निर्माता सोनी इरिक्सनले एण्ड्रोइड प्रणालीमा आधारित दुईओटा नयाँ मोडेल सार्वजनिक गरेको छ । स्माट फोनको बढ्दो बजारबाट फाइदा उठाउने उद्देश्यले सोनी इरिक्सनको यस्तो निर्णय आएको छ । उक्त कम्पनीको प्रमुख बजार अधिकृत म्याथ्यु लाङका अनुसार, एक्सपेरिया रे र एक्सपेरिया एक्टिभ गरी दुईओटा नयाँ मोडेल बजारमा आउनेछन् ।त्यसपछि एण्ड्रोइड फोन बजारमा सोनी इरिक्सनको बजार हिस्सा हालको ११ प्रतिशतबाट बढ्ने उक्त कम्पनीले बताएको छ । त्यसका साथै, सोनी इरिक्सनले किशोरकिशारीलाई लक्षित गर्दै टेक्षिटङ सेवायुक्त कम मूल्यको फोनसमेत ल्याउने भएको लाङले बताए । एएफपी/रासस
एयरबसलाई भारत र कतारबाट विमान अर्डर
असार ८, पेरिस (फ्रान्स) । कतार एयरवेजले मध्यम दूरीका ५० ओटा एयरबस ए३२० र पाँचओटा ए३८० सुपरजम्बोका लागि अर्डर दिएको छ । उक्त विमानसेवाले 'पेरिस इण्टरनेशनल एयर शो'का बखत त्यस्तो अर्डर दिएको बुधवार एक उद्योग स्रोतले बताएका छन् । तर, स्रोतका अनुसार, त्यसबारे सम्बद्ध दुवै पक्षबीच अन्तिम सम्झौता भने भइसकेको छैन । त्यसैगरी, भारतको बजेट क्यारियर इण्डिगोबाट पनि एयरबसले १ सय ८० ओटा मध्यम दूरीको ए३२० विमानको अर्डर पाएको छ । उता, जापानको अल निप्पन एयरवेजले अगस्ट वा सेप्टेम्बरमा बोइङ ७८७ को पहिलो लट प्राप्त गर्ने अपेक्षा रहेको बताएको छ । आगामी मार्चसम्ममा कुल १४ ओटा जेट प्राप्त गरिसक्ने अल निप्पनको अपेक्षा छ । अल निप्पनले पनि ५५ ओटा विमान अर्डर दिएको छ । एएफपी/रासस
विम्बलण्डनको तेस्रो दिन भेनसको विजय
असार ८, लण्डन (बेलायत) । विम्बलण्डन प्रतियोगिताको तेस्रो दिन बुधवार पानी परेकाले पूर्वनिर्धारित खेल निकै ढिलो गरी शुरू भयो । त्यसैगरी लगातारको पानीले दिनभरि नै खेलमा व्यवधान आउने आशङ्का गरिएको थियो । टुर्नामेण्टका अधिकारीहरूले सेण्टर कोटमाथिको कृत्रिम छानोलाई बन्द गरेका थिए । स्थानीय समय दिउँसो एक बजेदेखि अमेरिकाकी भेनस विलियम्स र जापानकी किमिको डेटक्रमबीच प्रतिस्पर्धा हुने भएको थियो । तर, पानी परि नै रहेकाले स्थानीय समय ३ बजे अर्थात् जीएमटी समयअनुसार १४ बजेअघि खेल शुरू हुने सम्भावना नरहेको अधिकारीहरूले बताएका थिए । यसैबीच जीएमटी समयअनुसार १५:१५ अर्थात् नेपाली समयअनुसार राति ९ बजेतिर भेनसले डेटक्रमलाई ६-७ (६/८), ६-३, ८-६ को सेटले पराजित गर्दै तेस्रो राउण्डमा प्रवेश गरेकी छन् । एएफपी/रासस
मलेसियाली नेतामाथि भ्रष्टाचार आरोप
असार ८, क्वालालम्पुर (मलेसिया) । मलेसियाको सबैभन्दा ठूलो राज्यको लामो समयदेखिका एक नेताले काठको कारोबारबाट जम्मा गरेको ठूलो धनराशि स्वीस बैङ्क खातामा राखेको भन्ने आरोप बुधवार अस्वीकार गरेका छन् । मलेसियाको बोर्नियो द्विपको सारावाक राज्यका मुख्यमन्त्री अब्दुल तइब महमुदमाथि विगत तीन दशकदेखि जङ्गलले ढाकिएको उक्त राज्यबाट अर्बौंको सम्पत्ति लुटेको आरोप लागेको थियो ।
अब्दुल तइब सारावाक राज्यमा विगत ३० वर्षदेखि नेतृत्वमा रहेका थिए । राज्यको संसद्मा बयान दिँदै उनलेले स्वीस बैङ्क खातामा धनसम्पत्ति वा लगानीहरू राखेको भन्ने आरोपहरुको खण्डन गरेका थिए ।सारावाक जनजाति समुदायहरूको अधिकारका पक्षमा अभियान चलाउने ब्रुनो म्यानसेट कोषले त्यस्तो आरोप लगाएको थियो । उक्त कोषले अब्दुल तइबको स्वीट्जरल्याण्डमा रहेको सम्पत्ति रोक्का गर्न आग्रह गरेको छ ।आलोचकहरूले उनलाई लाभदायक काष्ठ र जग्गाजमीनका ठेक्काहरू आफ्ना आफन्त र सहयोगीहरूलाई दिएको आरोप लगाएका छन् । त्यसैगरी, विद्युत्, शिक्षा, स्वास्थ्यसेवा र अन्य सुविधामा थोरै पहुँच भएका, दूरदराजमा बस्ने जनजाति समुदायहरूलाई बेवास्ता गरेको आरोप उनीमाथि लागेको छ ।तर, ७४ वर्षीय अब्दुल तइबले भने बारम्बार आफूले कुनै गलत कार्य नगरेको र केही वर्षपछि राजनीतिबाट सन्न्यास लिने बताउँदै आएका छन् । एपी/रासस
चीनद्वारा युआनमा प्रत्यक्ष वैदेशिक लगानी खुला
असार ८, बेइजिङ (चीन) । चीनले विदेशी कम्पनीहरूलाई उनीहरूले समुद्रपार आर्जन गरेको युआन चीनमा लगानी गर्नसक्ने विषयमा औपचारिक निर्णयगरेको छ । त्यसरी चीनबाहिर आर्जन गरिएका युआनलाई कम्पनी स्थापना गर्न, नाफा आर्जन गर्न, सहायक कम्पनीहरूमा शेयर बढाउन र ऋण प्रदान गर्न अनुमति दिइएको केन्द्रीय बैङ्कलाई उद्धृत गर्दै चाइना बिजनेश न्यूजले जानकारी दिएको छ ।
तर, त्यसरी लगानी गर्दा पनि केही निश्चित उद्योगहरूमा लगानी गर्न भने प्रतिबन्ध लगाइएको छ । अहिले चिनियाँ मुद्राको सम्भाव्य लाभ उठाउन विदेशी कम्पनीहरूले ठूलो परिमाणमा युआन थुपारिरहेका छन् । हालैका वर्षहरूमा बेइजिङले आफ्नो मुद्रा युआनको व्यापक अन्तरराष्ट्रिय प्रयोगलाई प्रोत्साहन गर्न मुद्रा विनिमयलाई खुकुलो बनाएको छ । एएफपी/रासस
Admin 2011-06-23