शान्ति र संविधानले निर्धारित समयमा नै पूर्णता पाउला ?
  

निर्णायक कदम चाल्दै आईएमएफ
असोज ८, वाशिङटन (अमेरिका) । यूरोजोनको ऋणसङ्कट सुल्झाउन र विश्व अर्थतन्त्रलाई टेवा दिन अन्तरराष्ट्रिय मुद्रा कोष (आईएमएफ)ले निर्णायक कदम चाल्ने बताएको छ । आफूसँग उपलब्ध स्रोतलाई सङ्कट पहिल्याउने दिशामा उपयोग गर्ने आईएमएफद्वारा शनिवार जारी विज्ञप्तिमा भनिएको छ । विज्ञप्तिअनुसार यूरोजोनको ऋणसङ्कट सुल्झाउन यूरोपेली देशहरूले जस्तोसुकै आवश्यक कदम चाल्नेछन् ।

जी-२० का अर्थमन्त्री, आईएमएफ र विश्व बैङ्कका पदाधिकारीहरूको बैठकको अन्त्यमा उक्त विज्ञप्ति जारी गरिएको थियो । तर, विश्वव्यापी कोषका लागि कति रकम थपिनेछ भन्नेबारे विज्ञप्तिमा स्पष्ट खुलाइएको छैन ।

हाल झण्डै ४ खर्ब डलरमा रहेको ऋण क्षमता तत्कालका लागि पर्याप्त देखिए तापनि भविष्यमा जोखिम र सङ्कटमा पर्न सक्ने देशको वित्तीय आवश्यकताका अगाडि त्यो निकै कम रहने आईएमएफ प्रमुख क्रिष्टिन लागार्दले बताइन् । साथै, आफ्ना बैङ्किङ प्रणालीलाई टेवा दिनेतर्फ कदम चाल्न पनि आईएमएफको विज्ञप्तिमा भनिएको छ । बैङ्कहरूको पूँजीगत अवस्था बलियो बनाउनुका साथै उनीहरूलाई पर्याप्त रकम उपलब्ध गराउनुपर्ने विज्ञप्तिले सुझाव दिएको छ ।

आईएमएफका अनुसार अन्तरराष्ट्रिय रूपमा काम गरिरहेका समस्याग्रस्त वित्तीय संस्थाहरूलाई सहयोग पुर्याउन उसले आवश्यक संयन्त्रको विकास गर्नेछ । शुक्रवार जी२० का देशहरूले जारी गरेको विज्ञप्तिलगत्तै शनिवार आईएमएफको विज्ञप्ति आएको छ ।             एजेन्सी    

'आसियान’ आर्थिक एकीकरणतर्फ

असोज ८, क्वालालम्पुर (मलेशिया) । 'आसियान' राष्ट्रहरूले आर्थिक एकीकरणको दिशामा नयाँ कदम चाल्दै ५० करोड अमेरिकी डलरको कोष निर्माण गरेका छन् । दक्षिणपूर्वी एशियाली राष्ट्रहरूको समूह आसियानका अर्थमन्त्रीहरूको शनिवार भएको बैठकले सन् २०१५ सम्म आर्थिक एकीकरणको दिशामा कदम चाल्न तथा सो क्षेत्रको विकासका लागि उक्त कोषको निर्माण गरेको हो । सो क्षेत्रका धनी तथा विकासोन्मुख राष्ट्रबीचमा रहेको खाडल पुर्न र राजमार्ग, रेलसेवा र अन्य परियोजना विकास प्रत्यक्ष विदेशी सहायताविना गर्न कोष निर्माण गरेको बताइएको छ । अमेरिकाको वाशिङटनमा भएको 'आईएमएफ-विश्व बैङ्क' बैठकमा सहभागी भएका आसियान अर्थमन्त्रीहरूले एक सम्झौतामा हस्ताक्षर गरेपछि कोषको निर्माण भएको हो । 'द आसियान इन्फ्रास्ट्रक्चर फण्ड' नाम दिइएको उक्त कोषले प्रतिवर्ष४८ करोड ५० लाख डलर खर्च गर्दै ६ ओटा परियोजनाको निर्माण गर्ने बताइएको छ । सन् २०२० सम्म सो कोष १३ अर्ब डलरको हुने र त्यसबाट पूर्वाधार निर्माणका लागि ४ अर्ब डलरसम्म ऋण प्रदान गर्न सकिने आशा पनि आसियानले गरेको छ ।

अर्थमन्त्रीहरूको बैठकले उक्त कोषको कार्यालय मलेशियामा स्थापना गरिने निर्णयपनि गरेको छ । कोष स्थापना गर्न मलेशिया र इण्डोनेशियाले क्रमश: १५ करोड र  १२ करोड डलर दिइसकेका छन् । त्यसैगरी एशियाली विकास बैङ्कले १५ करोड डलर प्रदान गर्ने बताइएको छ । तर , आसियानका सदस्य म्यान्मार र थाइल्याण्डले भने यो सम्झौतामा हस्ताक्षर गरेका छैनन् । म्यान्मार यसबारे अनिश्चित रहेको र थाइल्याण्डमा भने कोषका लागि सरकारले निर्णय गर्नुपर्ने भएकाले ती राष्ट्र भविष्यमा सामेल हुने आशा आसियान अधिकारीहरूले गरेका छन् । आर्थिक एकीकरण तथा विकासका लागि स्थापना गरिएको 'द आसियान इन्फ्रास्ट्रक्चर फण्ड'मा लगानी गर्न जापान, चीन र दक्षिण कोरिया पनि इच्छुक देखिएका अधिकारीहरूले बताएका छन् ।
एएफपी/रासस

नाइकको नाफामा वृद्धि
असोज ८, सिङ्गापुर । अमेरिकी स्पोर्टस वेयर तथा खेल उपकरण निर्माता नाइक इन्कले नाफामा वृद्धि भएको बताएको छ । कम्पनीद्वारा शुक्रवार जारी प्रेस विज्ञप्तिमा सन् २०११ अगष्ट ३१ सम्म कुल नाफा ६४ करोड ५० लाख अमेरिकी डलर पुगेको उल्लेख छ । गतवर्षको यही अवधिभन्दा यो १५ प्रतिशतले बढी भएको विज्ञप्तिमा जानकारी दिइएको छ ।

त्यसैगरी, कम्पनीको कुल आम्दानी यो अवधिमा १८ प्रतिशतले बढेर ६ अर्ब १ करोड डलर पुगेको पनि विज्ञप्तिमा उल्लेख छ । विज्ञप्तिमा नाइकका उत्पादनको विश्वव्यापी माग बढेकाले आम्दानी र नाफामा वृद्धि भएको बताइएको छ । आम्दानीमा वृद्धि भए पनि नाफाको अंश भने ४७ प्रतिशतबाट घटेर ४४ दशमलव ३ प्रतिशत भएको जानकारी विज्ञप्तिमा दिइएको छ । कम्पनीका उत्पादनहरूका कच्चापदार्थमा केही समययता भइरहेको मूल्यवृद्धिका कारण नाफाको अंश कम भएको बताइएको छ । नाइकको आम्दानी र नाफा बढेको समाचार आएपछि शुक्रवार कम्पनीको शेयरमूल्यमा ५ प्रतिशतले वृद्धि भएको थियो ।           एजेन्सी  

ओबामाद्वारा आर्थिक पुनरुत्थानका लागि शिक्षामा जोड  
असोज ८, वाशिङटन (अमेरिका) । अमेरिकी राष्ट्रपति बाराक ओबामाले आर्थिक पुनरुत्थानका लागि शैक्षिक सुधार महत्त्वपूर्ण रहेको बताएका छन् । अन्तरराष्ट्रिय विद्यार्थीभन्दा अमेरिकी विद्यार्थीहरू गणित र विज्ञानमा कमजोर हुँदै गएको सन्दर्भमा ओबामाको यस्तो विचार आएको छ । झण्डै एक चौथाइ अमेरिकी विद्यार्थीले माध्यमिक तह पूरा नगर्ने र कलेज डिग्री  हासिल गर्नेहरूको सङ्ख्या एकदमै कम रहेको ओबामाले बताए  ।

शिक्षामा आज अघि बढेका देशहरूले भविष्यमा प्रतिस्पर्धामा समेत अमेरिकालाई उछिन्ने ओबामाले सचेत गराए । व्यापार व्यवसायले उच्च शिक्षित, उच्च तालीमप्राप्त कामदार रोज्ने हुनाले अमेरिकीहरूले पनि आफ्नो गुणस्तर बढाउनुपर्ने ओबामाको सुझाव छ । ओबामाको ४ खर्ब ४७ अर्ब डलरको रोजगार सृजना योजनामा शिक्षक थप्ने र स्कूल मर्मतको योजनासमेत छ । त्यसैगरी, एक दशक लामो 'नो चाइल्ड लेफ्ट' नीतिलाई पनि ओबामाले खुकुलो बनाउने भएका छन् । उक्त नीतिअन्तर्गत विद्यार्थीको प्रदर्शनका लागि स्कूललाई जिम्मेवार बनाइन्छ, जसलाई कतिपयले अव्यावहारिक भन्दै आलोचना गरेका छन् । एजेन्सी  

यूरोपेली बैङ्कबाट अमेरिकी डलर झिक्न शुरू
असोज ८, न्यूयोर्क (अमरिका) । ऋणसङ्कटको सङ्क्रमण फैलिरहँदा अमेरिकी मुद्रा बजारहरूले यूरोपेली बैङ्कहरूबाट रकम झिक्न थालेका छन् । क्रेडिट रेटिङ एजेन्सी फिचले गरेको एक अध्ययनमा सन् २०११ अगष्टसम्म यूरोपेली बैङ्कहरूमा जम्मा गरिएका अमेरिकी डलर ८ प्रतिशतले झिकिएको बताइएको छ । त्यसैगरी सन् २०११ मे र अगष्टको बीचमा यूरोपेली बैङ्कहरूले अमेरिकी डलरमा जम्मा गरिएका 'म्युचुअल फण्ड' २७ प्रतिशतले गुमाएको पनि अध्ययनमा देखिएको छ । यूरोपका बैङ्कहरूमध्ये फ्रान्सेली बैङ्कहरूबाट अमेरिकी डलरको बहिर्गमन सबैभन्दा धेरै भएको छ । अध्ययनअनुसार सन् २०११ मेदेखि अगष्टसम्म फ्रान्सेली बैङ्कको डलर सञ्चिति ३४ प्रतिशतले घटेको छ । त्यसैगरी जर्मन बैङ्कहरूमा राखिएका डलर पनि घट्दै गएको अध्ययनमा बताइएको छ ।   

जर्मन बैङ्कहरूमा राखिएको अमेरिकी डलर सन् २०११ जुलाईदेखि अगष्टको अन्त्यसम्म ८ प्रतिशतले कम भएको उल्लेख छ । यसका साथै फिचको अध्ययनमा अमेरिकाका प्रमुख १० मुद्रा बजारहरूमा २ सय ८५ अर्ब अमेरिकी डलर रहेको उल्लेख छ । सन् २००६ यता फिचले मुद्राबजारको अध्ययन गर्न शुरू गरेदेखि यो नै सबैभन्दा न्यून बिन्दु भएको बताइएको छ । यूरोजोनमा बढ्दै गएको ऋणसङ्कटले आत्तिएका मुद्रा व्यापारीहरूले जापान, क्यानडा र अष्ट्रेलियाली बैङ्कहरूमा डलर जम्मा गरिरहेको पाइएको पनि फिचले बताएको छ । फिचको प्रतिवेदन सार्वजनिक भएपछि अमेरिकी बैङ्क जेपी मोर्गन चेजका एलेक्स रोभरले जुन, जुलाई र अगष्टमा जस्तै सेप्टेम्बरमा पनि यूरोपेली बैङ्कहरूबाट डलर बाहिरिने सम्भावना रहेको बताए । बाहिरिएका मुद्रा फर्काउन यूरोपमा बृहत् राजनीतिक सहमति आवश्यक भएको उनको धारणा थियो ।          एजेन्सी   

१ करोड 'ग्यालेक्सी एस टु’ स्मार्टफोन विक्री
असोज ८, सोल (दक्षिण कोरिया) । विश्वको दोस्रो ठूलो मोबाइल निर्माता 'सामसुङ इलेक्ट्रोनिक्स'द्वारा उत्पादित 'ग्यालेक्सी एस टु' स्मार्टफोन १ करोडको सङ्ख्यामा विक्री भएका छन् । कम्पनीले आइतवार जारी गरेको प्रेस विज्ञप्तिमा सन् २०११ अप्रिलमा बजारमा ल्याइएको यो स्मार्टफोनको विक्री विश्वभरि उत्साहजनक ढङ्गले भइरहेको उल्लेख छ । विज्ञप्तिमा 'ग्यालेक्सी सिरिज' का स्मार्टफोनमा सबैभन्दा पछिल्लो सो मोबाइल जुलाईमै ५० लाखओटा विक्री भइसकेको  जानकारी दिइएको छ । साथै, जुलाईपछिका २ महीनामा 'ग्यालेक्सी एस टु'को विक्री दोब्बरले बढेको कम्पनीले बताएको छ । एशियाली र यूरोपेली बजारमा आइसकेको भए तापनि अमेरिकामा भने सन् २०११ सेप्टेम्बरमा मात्रै ल्याइएको विज्ञप्तिमा उल्लेख छ । दक्षिण कोरियामा मात्रै 'ग्यालेक्सी एस टु' ३६ लाखओटा विक्री भएको सामसुङले बतायो । त्यसैगरी, एशियाका अन्य देशमा र यूरोपमा क्रमश: २३ लाख र ३४ लाखओटा विक्री भएको पनि कम्पनीले जानकारी दिएको छ । सन् २०११ को शुरूमै सामसुङले यो वर्ष१ करोडको सङ्ख्यामा 'ग्यालेक्सी एस टु' स्मार्टफोन विक्री गर्ने लक्ष्य रहेको बताएको थियो । सन् २०१० मा पनि कम्पनीले बजारमा ल्याएको 'ग्यालेक्सी एस' स्मार्टफोन विश्वभरि १ करोड ४० लाख थान विक्री भएका थिए ।  एएफपी /रासस

12Next »Last »