फ्रान्सको आर्थिक वृद्धि शून्य, खर्च कटौतीको घोषणा
भदौ ८, पेरिस (फ्रान्स) । सन् २०११ को दोस्रो त्रैमासमा फ्रान्सको आर्थिक वृद्धिदर शून्य रहेपछि सरकारले यसअघि गरेको आर्थिक वृद्धिको लक्ष्य घटाएको छ । फ्रान्सको राष्ट्रिय तथ्याङ्क एजेन्सी (आईएनएसइई)ले बुधवार जारी गरेको प्रतिवेदनमा वृद्धिदर शून्य भएको र उपभोक्ताहरूको क्रयशक्ति शून्य दशमलव ७ प्रतिशतले घटेको बताइएको छ ।
सन् २०११ को पहिलो त्रैमासिक अवधिमा फ्रान्सको वृद्धिदर १ प्रतिशत रहेको थियो । यसअघि सरकारले दोस्रो त्रैमासको आर्थिक वृद्धि शून्य दशमलव २ प्रतिशत हुने पूर्वानुमान गरेको थियो । नयाँ तथ्याङ्कहरू सार्वजनिक भएपछि फ्रान्स सरकारले सन् २०११ मा आर्थिक वद्धिमात्र १ दशमलव ७५ प्रतिशत रहने पूर्वानुमान गरेको छ । त्यसैगरी, सन् २०१२ मा पनि वृद्धिदर सोही हाराहारीमा रहने प्रतिवेदनमा उल्लेख छ । यसअघि सन् २०१२ मा आर्थिक वृद्धि २ दशमलव २५ प्रतिशत रहने सरकारले बताएको थियो ।
आर्थिक वृद्धिदर शून्य भएपछि फ्रान्सको क्रेडिट रेटिङ घट्ने सम्भावना रहेको समाचारहरू आइरहँदा सरकारले सार्वजनिक खर्चमा कटौती गर्ने घोषणा गरेको छ । सरकारले ल्याएको योजनामा ११ अर्ब यूरोबराबरको सार्वजनिक खर्च कटौती गरिने उल्लेख छ । सरकारले घोषणा गरेको खर्च कटौती प्याकेजमा कर प्रक्रियामा रहेका छिद्राहरू बन्द गर्ने बताइएको छ । त्यसैगरी, ठूला कम्पनीलाई यसअघि दिइँदै आएका कतिपय सुविधा पनि घटाउने र ५ लाख यूरो वार्षिक आम्दानी गर्नेहरूले थप ३ प्रतिशत कर तिर्नुपर्ने प्याकेजमा राखिएको छ । त्यस्तै, चुरोट, मदिरा, परफयुम र हलुका पेयपदार्थमा ६ प्रतिशतले कर बढाउने बताइएको छ ।
फ्रान्सका प्रधानमन्त्री फ्रान्कोइस फिल्लोनले खर्च कटौतीबाट बजेटघाटा कम हुने र क्रेडिट रेटिङ घट्नबाट रोक्न सकिने हुनाले यो कदम परिस्थितिको उपज भएको बताएका छन् । सरकारले उठाएको नयाँ कदमले यूरोजोनका अन्य राष्ट्रलाई आश्वस्त गर्ने उनको धारणा थियो । साथै, फ्रान्सले बेहोरिरहेको १ दशमलव ६ ट्रिलियन ऋण सन् २०११ सम्म ५ दशमलव ७ प्रतिशतले कम गर्ने सरकारको प्रतिबद्धता पूरा हुने पनि उनले अपेक्षा गरे । आगामी वर्षहुने राष्ट्रपतीय निर्वाचनमा देशको अर्थतन्त्र एक प्रमुख विषय भएको र त्यसले निकोलास सारकोजीको पुन: राष्ट्रपति हुने चाहनालाई प्रभावित तुल्याउन सक्ने बताइएको छ । एजेन्सी
सन् २०११ मा अमेरिकी बजेटघाटा घट्ने अनुमान
भदौ ८, वाशिङटन (अमेरिका) । अमेरिकाको बजेटघाटा सन् २०११ मा १२ खर्ब ८० अर्ब डलरले घट्ने अनुमान गरिएको छ । सन् २०११ अगष्टमा अमेरिकी कङ्ग्रेसबाट पारित भएको ऋणसीमा प्रस्तावले गर्दा राष्ट्रिय बचत बढ्ने भएकाले बजेटघाटा यो वर्षघट्ने पूर्वानुमान गरिएको हो । अमेरिकी कङ्ग्रेसको बजेट कार्यालयले बुधवार गरेको पूर्वानुमानमा आगामी एक दशकको अवधिमा बजेटघाटा ३३ खर्ब डलरले घट्ने उल्लेख गरिएको छ । तर, राष्ट्रिय बचतमा केही वृद्धि भए पनि बुस प्रशासनले यसअघि दिएका कर छूटहरूको समयावधि सन् २०१२ मा थपिए वार्षिक बजेटघाटा आगामी दशकसम्म थप ३५ खर्बले बढ्न सक्ने पनि बताइएको छ । कार्यालयले दिएको जानकारीअनुसार अमेरिकाको बजेट घाटा हाल १ सय ४६ खर्ब डलर रहेको छ । एपी/रासस
यूएस ओपन वरीयतामा जोकोभिक प्रथम स्थानमा
भदौ ८, न्यूयोर्क (एपी) । विश्व टेनिस वरीयतामा प्रथम स्थानमा रहेका सर्बियाली खेलाडी नोभाक जोकोभिक अमेरिकामा जारी यूएस ओपन च्याम्पियनशिपमा पनि पहिलो स्थान पाउन सफल भएका छन् । जोकोभिकले यूएस च्याम्पियनशिपमा प्रथम स्थान पाएको यो पहिलोपटक हो । टेनिस खेलाडीहरूको वरीयताक्रम निर्धारण गर्ने संस्था एटीपीले बुधवार गरेको घोषणामा जोकोभिकलाई पछयाउँदै डिफेण्डिङ च्याम्पियन र विश्व नं २ स्पेनका राफेल नाडाल दास्रो स्थानमा रहेका छन् । त्यसैगरी, उक्त वरीयताक्रममा विगत पाँचपटकका यूएस ओपन विजेता विश्व नं ३ स्वीट्जरल्याण्डका रोजर फेडेरर तेस्रो स्थानमा आएका छन् । त्यस्तै, बेलायती खेलाडी एण्डी मुर्रे चौथो स्थानमा रहेका छन् । आठौं स्थानमा रहेका मार्डी फिस उक्त स्थानसम्म पुग्ने पहिलो अमेरिकी खेलाडी भएका छन् । एपी/रासस
जब्सले सीईओ छाडे, प्रतिस्पर्धी कम्पनीको शेयरमूल्य बढयो
भदौ ८, सान फ्रान्सिस्को (अमेरिका) । विश्वको सबैभन्दा मूल्यवान् कम्पनी घोषित एप्पल इङ्कका कार्यकारी प्रमुख स्टीभ जब्सले आफ्नो पदबाट राजीनामा दिएका छन् । अप्रत्याशित रूपमा बुधवार आएको जब्सको राजीनामाले प्रविधि बजार र विश्लेषकहरूलाई अचम्मित तुल्याएको छ । आफ्नो राजीनामापत्रमा जब्सले एप्पल कार्यकारी प्रमुखका रूपमा काम गर्न नसक्ने समय आएमा सबैभन्दा पहिले आफूले नै सार्वजनिक गर्ने भन्दै आएको र त्यो दुर्भाग्यपूर्ण दिन अहिले आएको उल्लेख गरेका छन् ।
कार्यकारी प्रमुख पदबाट राजीनामा दिए पनि जब्सलाई एप्पल इङ्कको नयाँ अध्यक्षमा भने नियुक्त गरिएको कम्पनीले जानकारी दिएको छ । साथै, जब्सको राजीनामापछि रिक्त पदमा कम्पनीका प्रमुख सञ्चालन अधिकृत टीम कुक नियुक्त भएको पनि बताइएको छ । कार्यकारी प्रमुखको राजीनामा आएपछि एप्पल इङ्कका सहनिर्देशक आर्ट लेबिन्सनले कम्पनीको बोर्डका तर्फबाट एक विज्ञप्ति जारी गर्दै जब्सले अहिलेसम्म गरेका कार्यको प्रशंसा गरेका छन् । विज्ञप्तिमा जब्स एक अद्वितीय र अभूतपूर्व दृष्टि र नेतृत्व क्षमताका व्यक्ति भएको र कम्पनीको सफलतामा उनको उल्लेख्य योगदान रहेको बताइएको छ ।
राजीनामाको कारणबारे आधिकारिक रूपमा केही नबताइए पनि स्टीभ जब्सको स्वास्थ्य बिग्रिँदै गएको थप सङ्केतका रूपमा हेरिएको छ । विगत केही वर्षदेखि पेटको क्यान्सरको उपचार गराइरहेका ५६ वर्षीय जब्स सन् २०११ जनवरी १७ देखि उपचार बिदामा थिए । जब्सको अनुपस्थितिमा उनका विश्वासपात्र कुकले नै कम्पनीको प्रमुख कार्यकारी पद सम्हाल्दै आइरहेका थिए । राजीनामा दिएपछि जब्सले बुधवार नै कुपर्टिनो, क्यालिफोर्नियास्थित एप्पल इङ्कको मुख्यालयमा सबै बोर्ड सदस्य र प्रबन्धकहरूसँग बैठक गरेको एक स्रोतले रोयर्टसलाई बताएको छ । उक्त बैठकमा जब्सले अध्यक्षका रूपमा निर्वाह गर्नुपर्ने भूमिकाबारे छलफल भएको बुझिएको छ । बैठकमा उनी मनोरञ्जन कम्पनी 'वाल्ट डिज्ने'को बोर्ड सदस्यका रूपमा पनि रहिरहने निर्णयभएको उक्त स्रोतले जानकारी दिएको छ । सन् १९७६ मा साथी स्टीभ वुज्नियाकसँग मिलेर कम्प्युटर निर्माण कम्पनी एप्पल इङ्क स्थापना गरेका जब्स सूचनाप्रविधि बजारमा उच्च प्रविधियुक्त नवीन यन्त्र ल्याउने व्यक्तिका रूपमा चिनिन्छन् ।
जब्सले प्रमुख कार्यकारी पदबाट राजीनामा दिएको समाचार आएपछि बुधवार एप्पल इङ्कको शेयर मूल्यमा ७ प्रतिशतले कमी आएको छ । लगानीकर्ताहरू उनको राजीनामापछि कम्पनीको भविष्यप्रति सशङ्कित हुँदा शेयरमूल्य घटेको बताइएको छ । तर, जब्सको राजीनामापछि सामसुङलगायतका प्रतिस्पर्धी कम्पनीको शेयरमूल्य बढेको छ । बिहीवारको शेयर कारोबारमा एशियाली शेयर बजारहरूमा सामसुङ, एलजी, एचटीसी र लेनोभोको शेयरमूल्य बढेको थियो । एजेन्सीहरू
थाइल्याण्डमा जुलाईको निर्यात उच्च
भदौ ८, सिड्नी (अष्ट्रेलिया) । थाइल्याण्डको व्यापार नाफा जुलाईमा अघिल्लो महीनाभन्दा दोब्बर बढेको छ र निर्यात मूल्यले नयाँ कीर्तिमान कायम गरेको छ । निर्यात १ वर्षअघिको भन्दा ३८ दशमलव ३ प्रतिशतले बढेर २१ अर्ब ५२ करोड डलर पुगेको छ । त्यसैगरी, आयातमा १३ दशमलव ५ प्रतिशतले वृद्धि भएर १८ अर्ब ७२ करोड डलर पुगेको छ । फलस्वरूप, व्यापार नाफा जुनको १ अर्ब २७ करोड डलर नाघेर जुलाईमा २ अर्ब ८० करोड डलर पुगेको छ ।
यस वर्षमा पहिला ३ महीनाहरूमा थाइल्याण्डको अर्थतन्त्र २७ दशमलव ४ प्रतिशतले बढेको थियो । मार्च ११ मा जापानमा आएको भूकम्प र सुनामीपछि थाइल्याण्डको दोस्रो त्रैमासको निर्यात पनि ओर्लेर १९ दशमलव २ प्रतिशतमा आइपुगेको थियो । थाइल्याण्डको अर्थतन्त्रमा निर्यातको महत्त्वपूर्ण स्थान छ, र यस हप्ताको सरकारी तथ्याङ्कअनुसार कुल गार्हस्थ्य उत्पादन अप्रिल-जुनको त्रैमासमा शून्य दशमलव २ प्रतिशतले खुम्चेको थियो । एएफपी/रासस
Admin 2011-08-26