केयर्न इण्डिया विक्री स्वीकृत हुने अपेक्षा
चैत ८, लण्डन (ब्रिटेन) । बेलायती कम्पनी केयर्न इनर्जीले केयर्न इण्डियामा रहेको आफ्नो शेयर विक्री गर्न अब भारत सरकारले छिटो अनुमति दिने अपेक्षा गरेको छ । केयर्नलाई २०१० मा मुनाफा हासिल भएपछि त्यस्तो अपेक्षा बढेको हो । केयर्न इण्डियाको ५१ प्रतिशतसम्म हिस्सा ९ अर्ब ६० करोड डलरसम्ममा वेदान्त रिसोर्सेसलाई विक्री गर्ने विषयमा गत अगष्टमा सम्झौता भएको थियो । निकै चासोका साथ हेरिएको उक्त सम्झौतालाई भारत सरकारले भने अनुमोदन गर्न बाँकी नै छ । मुनाफाको खबरपछि जीएमटी समय १० बजेर १५ मिनेटमा केयर्नको शेयर १ प्रतिशतले उक्लेको थियो । केयर्नले २०१० को वर्षमा ५७ करोड ७० लाख डलर टयाक्सअघिको मुनाफा गरेको छ । २००९ मा भने उसलाई २ करोड ७० लाख डलर घाटा भएको थियो । रोयटर्स
भेनेजुएला र चिनियाँ कम्पनीबीच तेल सम्झौता
चैत ८, काराकास (भेनेजुएला) । भेनेजुएलाले चिनियाँ कम्पनीहरूसँग आर्थिक सम्बन्ध बढाउँदै लगेको छ । भेनेजुएलाका राष्ट्रपति ह्युगो चावेजले चिनियाँ कम्पनीहरूसँग साझेदारी बढाएर वाशिङटनमाथिको निर्भरता घटाउन चाहेका छन् । भेनेजुएलाको राज्यनियन्त्रित तेल कम्पनी पीडीभीएसए र चिनियाँ वित्तीय कम्पनी सीआईटीआईसीबीच पनि सम्झौता गरिएको छ । सम्झौताअनुसार, खानी र ड्रिलिङसम्बन्धी परियोजना सञ्चालन गरिनेछ । काराकासको घर निर्माण क्षेत्रमा गरिएको लगानीबारे पनि सहमति भएको छ । हालैका वर्षमा दुई देशबीच व्यापार सम्बन्धमा ठूलो विस्तार भएको छ । भेनेजुएलाको तेल उद्योगमा बेइजिङको रुचि बढ्दै गएको देखिन्छ । चाइना पेट्रोलियम एण्ड केमिकल कर्पोरेशनले भेनेजुएलाको केही डि्रलिङ ब्लकमा तेल उत्खननका लागि लगानी गरिरहेको छ । त्यसैगरी चाइना नेशनल आयल अफशोरले पनि भेनेजुएलाको पूर्वी तटमा ग्यास उत्खनन गरिरहेको छ । हाल भेनेजुएलाले प्रतिदिन ३० लाख ब्यारेल कच्चा तेल उत्पादन गर्छ । त्यसमध्ये प्रतिदिन ४ लाख ब्यारेल तेल चीनतर्फजाने गरेको छ । एएफपी/रासस
भारतीय युवामा आइप्याड२ को चाहना
चैत ८, नयाँ दिल्ली (भारत) । भारतमा एप्पलको आइप्याड, आइपड र आइफोनको माग ठूलो देखिएको छ । यहाँ तीव्र आर्थिक वृद्धिका साथै युवाहरूमा सूचना, मनोरञ्जन र उपभोक्ता संस्कृतिको विकास भइरहेको छ । नयाँ पुस्ताका कतिपय युवाले एप्पलले भर्खरै बजारमा ल्याएको आइप्याड२ को चाहना राखेका छन् । तर, आइप्याडको पहिलो संस्करण अमेरिकामा उपलब्ध भएको ९ महीनापछि मात्रै भारतीय बजारमा आएको थियो । अमेरिकामा मार्च ११ देखि उपलब्ध गराइएको आइप्याड२ भारतमा कहिले उपलब्ध हुन्छ ठेगान छैन । ब्रिटेन, अष्ट्रेलियालगायत अन्य दर्जनौं देशमा भने मार्च २५ देखि उपलब्ध हुनेछ । भारतका एकजना ब्लगर सौम्यदीप चौधरीले एप्पलको पुरानो प्रविधिमात्रै भारतीय बजारमा ल्याइने गरेको गुनासो गरे । आइप्याड२ को उद्घाटन हुनु ३० दिनअघि मात्रै पहिलो संस्करणको आइप्याड बजारमा आएको उनले बताए । एएफपी/रासस
चीनद्वारा गूगलको आरोप अस्वीकार
चैत ८, बेइजिङ (चीन) । चीनको विदेश मन्त्रालयले जीमेल सेवामा अवरोध पुर्याएको भन्ने गूगलको आरोपको मङ्गलवार खण्डन गरेको छ । 'यो स्वीकार गर्नै नसकिने आरोप हो,’ विदेश मन्त्रालयका प्रवक्ता जियाङ युले भनिन् । एकदिन अघि सोमवार गूगलकी प्रवक्ताले चीन सरकारको नियन्त्रणका कारण त्यहाँ जीमेल सेवामा बाधा उत्पन्न भएको आरोप लगाएकी थिइन् ।चीनमा रहेका जीमेल प्रयोगकर्ताले आफ्नो जीमेल एकाउण्टमा लग इन गर्न सकिने तर इमेल पठाउनेलगायतका कार्य गर्न नसकिएको बताएका छन् । सोमवार गूगलको शेयर २ दशमलव ८ प्रतिशतले माथि चढेको थियो, जबकी चिनियाँ प्रतिस्पर्धी सिना कर्पोरेशनको शेयरमा ५ दशमलव ५ प्रतिशतले वृद्धि भएको थियो । उता चिनियाँ र्सच इञ्जिन सञ्चालक बाइडु इङ्क भने २ दशमलव ९ प्रतिशतले माथि उक्लेको थियो । कतिपय शब्द र्सच इञ्जिनमा खोजी गर्दा पाइँदैन, किनकी यस्ता शब्दलाई चीन सरकारले संवेदनशील ठानी नियन्त्रण गर्ने गर्दछ । रोयर्टस
उदीयमान अर्थतन्त्रहरूद्वारा आक्रमणको आलोचना
चैत ८, बेइजिङ/नयाँ दिल्ली । पश्चिमा देशहरूले लिबियामा गरेको हवाई आक्रमणबाट 'मानवीय सङ्कट’ निम्तिन सक्ने भन्दै चीनले आलोचना गरेको छ । यसरी संयुक्त राष्ट्रसङ्घबाट अधिकारप्राप्त आक्रमणको विरोध गर्ने देशमा चीन पछिल्लो राष्ट्र हुन पुगेको छ । चीनका साथै रूस, भारत र ब्राजिलजस्ता उदीयमान अर्थतन्त्र भएका देशहरूले हवाई आक्रमणको आलोचना गरेका छन् । अमेरिकाको नेतृत्वमा पश्चिमा देशहरूको लिबियाका शासक मुआम्मर गद्दाफी लक्षित हवाई आक्रमणलाई ती उदीयमान देशहरूले जोखिमपूर्ण र अनावश्यक भनेका छन् ।
लिबियामाथि हवाई आक्रमणको विरोधमा 'ब्रिक्स’ देशहरूको साझा धारणा बन्ने देखिएको छ । ब्रिक्समा प्रमुख उदीयमान अर्थतन्त्रहरू ब्राजिल, रूस, भारत, चीन, र दक्षिण अफ्रिका रहेका छन् । ती देशको नामको पहिलो अक्षरबाट ब्रिक्स समूह बनेको हो । आगामी महीना दक्षिणी चीनमा उक्त समूहको शिखर बैठक हुने भएको छ । तर, ब्रिक्स समूहका देशहरू आफै भिन्नाभिन्नै चरित्रका भएकाले उनीहरूको एकमत निर्णयआउने सम्भावना भने नरहेको बेइजिङस्थित एक प्राध्यापक शि यिङ होङको धारणा छ ।'अवश्य पनि धेरै विकासशील देशहरूले लिबियामाथिको पश्चिमा आक्रमणले खतरनाक प्रवृत्ति निम्त्याउने ठान्छन् । लिबियाको गृहयुद्धमा हस्तक्षेप गरिएको भन्ने विकासशील देशहरूको धारणा छ,’ शिले भने । रोयटर्स
जापानी खाद्यवस्तुको विकिरण गम्भीर : डब्ल्यूएचओ
चैत ८, बेइजिङ (चीन) । चीन र दक्षिण कोरियाले जापानबाट आयातित खाद्यवस्तुमा विकिरणबारे कडाइ गरिने बताएका छन् । विश्व खाद्य सङ्गठन (डब्ल्यूएचओ)ले जापानबाट आयातित केही खाद्यवस्तुमा पाइएको विकिरण अपेक्षा गरिएभन्दा गम्भीर रहेको बताएपछि ती देशले कडाइ गर्ने भएका हुन् ।चीनले जापानबाट आयातित खाद्यमा विकिरण परीक्षण गर्ने त्यहाँको सरकारी समाचार संस्था सिन्ह्वाले बताएको छ । दक्षिण कोरियाले भने सुकाइएको कृषि तथा प्रशोधित खाद्यमा परीक्षण गर्ने भएको छ ।'जापानको आणविक चुहावटले अन्तरराष्ट्रिय समुदायलाई आणविक ऊर्जाको सुरक्षाबारे सचेत गराएको छ,’ चिनियाँ विदेशमन्त्री याङ जीएचीले बताए । विश्व स्वास्थ्य सङ्गठनले खाद्यवस्तुमा अन्तरराष्ट्रिय रूपले नै विकिरण प्रदूषणबारे कुनै प्रमाण फेला नपारिएको बताएको छ । तर, भूकम्पले क्षेतिग्रस्त दाइची आणविक केन्द्रनजिकका पानी र पालुङ्गो सागमा सोचेभन्दा बढी आयोडिन विकिरण पाइएको डब्ल्यूएचओले बताएको छ । रोयटर्स
कोण्टासका कर्मचारी हडतालमा
चैत ८, सिड्नी (अष्ट्रेलिया) । कोण्टासका हजारौं कर्मचारीले मङ्गलवार हडतालको धम्की दिएका छन् । करारमा सस्ता कामदार राख्न छाड्नुका साथै तलब पनि बढाउनुपर्ने उनीहरूको माग छ । श्रमिक सङ्गठनका अनुसार, पाइलट, इञ्जिनीयर, कर्मचारीलगायत लगभग ९ हजार कामदार हडतालमा उत्रिन सक्छन् । तर, कोण्टासले कर्मचारीको रोजगार सुरक्षाका साथै अष्ट्रेलियाली जनताको सुरक्षामा पनि चासो नदिएको सङ्गठनका सचिव टोनी शेल्डनको आरोप छ ।कोण्टासका कर्मचारीले तलबमा ४ प्रतिशतको वृद्धि, थप निवृत्तिभरण सुविधा र रोजगार सुरक्षासम्बन्धी प्रावधानको माग गरेका छन् । तेलको बढ्दो मूल्य र जापान, न्यूजिल्याण्ड र अष्ट्रेलियाको प्राकृतिक विपत्तिबाट आम्दानी घटिरहेकै बेला कोण्टासलाई हडतालको चुनौती थपिएको छ । वार्ता हुन बाँकी नै रहेका बेला हडतालको चेतावनी दिनु दु:खद रहेको कोण्टासको भनाइ छ । एएफपी/रासस
Admin 2011-03-23