भ्रष्टाचारको नमूनाः काबुल बैङ्क
फागुन ८, काबुल (अफगानिस्तान) । अफगानिस्तानको काबुल बैङ्क काण्ड कुनै जासुसी कथानककै जस्तो छ । विश्वस्तरका पोकर खेलाडी र राष्ट्रपतिका भाइको संलग्नता त थियो नै, बैङ्कबाट ९० करोड डलर हराएको काण्ड पनि थपिएको छ । त्यसबाट काबुलको सम्भ्रान्त वर्गमा रहेको भ्रष्टाचार पनि स्पष्ट भएको छ । काबुल बैङ्क अहिले धराशयी हुने अवस्थामा पुगिसकेको छ । साथै, राष्ट्रपति हमीद कारजाइको सरकार र पश्चिमा अधिकारीहरू एकआपसमा आरोपप्रत्यारोप गरिरहँदा दुवै पक्षबीचको अप्ठयारो सम्बन्ध पनि यसबाट उजागर भएको छ ।
अफगानिस्तानको एक विद्वत् समूह अफगानिस्तान एनालिष्ट नेटवर्कका सहनिर्देशक थोमस रटिङका अनुसार यस काण्डबाट समस्याको टुप्पो मात्र देखिएको छ । अफगानिस्तानमा भ्रष्टाचारले निकै गहिरो जरो गाडेको रटिगको मूल्याङ्कन छ । अफगानिस्तान विश्वकै अतिकम विकसित र भ्रष्टतम देशहरूमध्ये एक हो । 'अफगानिस्तानजस्तो अति गरीब देशमा यसलाई अत्यन्त ठूलोस्तरको भ्रष्टाचार मान्नुपर्छ । यसबाट कारजाइको सरकार अन्तर्गत त्यहाँ गरीब र धनीबीचको खाडल साँघुरिनुको साटो झन्झन् बढ्दै गइरहेको देखिन्छ,’ रटिगले बैङ्कबाट हराएको रकमबारे उल्लेख गर्दै भने । हाल काबुल बैङ्क टाट पल्टिने अवस्थामा पुगेर त्यहाँको केन्द्रीय बैङ्कको मातहतमा छ । अन्तरराष्ट्रिय मुद्रा कोषले गत हप्ता काबुल बैङ्कलाई कि त बेच्नुपर्ने वा बन्द नै गर्नुपर्ने सुझाव दिएको थियो । एएफपी/रासस
विश्व बैङ्क प्रमुखद्वारा जी-२० लाई पुनः चेतावनी
फागुन ८, पेरिस (फ्रान्स) । विश्व बैङ्कका प्रेजिडेण्ट रोबर्ट जोलिकले शनिवार विश्वका प्रमुख अर्थतन्त्रहरूलाई खाद्यवस्तुको चर्को मूल्यभार उत्पन्न हुनसक्ने परिणामबारे चेतावनी दिएका छन् । खाद्यवस्तुको मूल्य खतरनाक बिन्दुमा पुगिसकेकाले त्यसले थप राजनीतिक अस्थिरता निम्त्याउने जोलिकको चेतावनी छ । जी-२०का अर्थमन्त्री र केन्द्रीय बैङ्कका गभर्नरको वैठकलाई पेरिसमा सम्बोधन गर्दै जोलिकले त्यस्तो चेतावनी दिएका हुन् । खाद्यवस्तुको सुलभतालाई यस वर्ष२०११ का लागि प्रमुख मुद्दा बनाउन जोलिकले सुझाव पनि दिएका छन् । शुरूका केही वर्षा त्यसले अत्यन्तै अस्थिरता सृजना गर्न सक्छ, जसका कारण सरकार ढल्नुका साथै समाजमा पनि अस्तव्यस्तता आउन सक्नेतर्फ पनि जोलिकले औँल्याएका छन् । पेरिसमा भइरहेको हालको वैठक अघि पनि विश्व बैङ्कले खाद्यवस्तुको महँगीका दुष्परिणामबारे सोच्न जी२० लाई सचेत गराएको थियो । एएफपी/रासस
नोबेल विजेता युनुसद्वारा 'ऋण शार्क’को आलोचना
फागुन ८, नयाँ दिल्ली (भारत)। बङ्गलादेशका नोबेल पुरस्कार विजेता मुहम्मद युनुसले नाफा गर्ने उद्देश्यबाट प्रेरित लघुकर्जा कम्पनीहरूलाई 'ऋण शार्क’ अर्थात् नाफाखोर भएको आरोप लगाएका छन् । त्यस्ता कम्पनीहरूले आफूले गरीबी निवारणका लागि सूत्रपात गरेको योजनाको दुरुपयोग गरेको भन्ने उनको आरोप छ । युनुसले गरीब उद्यमीका लागि ऋण कार्यक्रम उपलब्ध गराएर २००६ मा नोबेल पुरस्कार जितेका थिए । त्यसैले मुनाफाको मात्रै लक्ष्य राखेका व्यापारिक लघुवित्त कम्पनीहरूमाथि युनुसले प्रहार गरेका हुन् । जब तिनीहरू मुनाफा खोज्न थाल्छन् तब तिनीहरू ऋण शार्क हुन पुग्छन्,’ मुर्म्बईमा एउटा सम्मेलनमा भाग लिन आएका बेला युनुसले भने ।
'लघु वित्तप्रदायकका वास्तविक लक्ष्य आर्थिक समावेशीकरणको प्रत्याभूति गर्नु हो, नाफा कमाउनु होइन’ युनुसको जोड छ । 'व्यापारीकरण नै गर्ने हो भने कृपया अर्को नाम राख्नुहोस् । वास्तविक लघु वित्तप्रदायकहरू व्यापारिक उद्देश्यबाट प्रेरित हुँदैनन्,’ युनुसले व्यापारिक लघुवित्त कम्पनीहरूलाई सुझाव दिँदै भने । केही समय अघिसम्म लघुवित्त क्षेत्रलाई दक्षिण एशियाका गरीबहरूको उद्धारकर्ता मानिन्थ्यो । किनभने त्यस्ता कार्यक्रमबाट करोडौं मानिसलाई औसत २ सय ५० डलरबराबरको ऋण पाउने गर्दथे । त्यसमध्ये धेरैजसो मूलधारका बैङ्कबाट ऋण लिन नसकेका विपन्न महिलाहरू थिए ।तर, लघुकर्जा कम्पनीहरूको बढ्दो नाफासँगै तिनले अति चर्को ब्याज लिएको आरोप लागेको छ । चर्को ब्याजदर र ऋण उठाउन तिनीहरूले राखेका ऋण सङ्कलकको क्रूर व्यवहारले गर्दा थुप्रै ऋणीले आत्महत्यासमेत गरेका छन् । त्यसबाट लघुवित्त क्षेत्र नै विवादास्पद हुन पुगेको छ ।गत महीना भारतको केन्द्रीय बैङ्कले लघुवित्त क्षेत्रलाई राष्ट्रव्यापी रूपमा नियमन गर्ने प्रस्ताव ल्याएको थियो । त्यस अनुसार, लघुवित्त कम्पनीहरूले दिने ऋणको परिमाण र ब्याजदरमा अधिकतम सीमा तोक्नेलगायतका प्रावधान छन् । एएफपी/रासस
रोल्स रोयसको विद्युतीय कार
फागुन ८, लण्डन (ब्रिटेन) । मार्च १ मा जेनेभामा हुन गइरहेको गाडीहरूको प्रदर्शन (मोटर शो) मा रोल्स रोयसले पनि आफ्नो पहिलो विद्युतीय कार अनावरण गर्दै छ । फयाण्टम १०२ ईएक्स भनिने उक्त कार पूर्णरूपले विद्युत्बाट सञ्चालन हुनेछ । अनावरणपछि उक्त कारलाई यूरोप, मध्यपूर्व, एशिया र उत्तर अमेरिकालगायतका क्षेत्रमा विश्व भ्रमणसमेत गराइनेछ ।'अल्ट्रा लक्जरी अर्थात् सुविधासम्पन्न कार निर्माणको क्षेत्रमा हामीले विश्वमै पहिलोपटक ब्याट्रीबाट सञ्चालित कारको निर्माण गरेका छौं,’ रोल्स रोयसका प्रमुख कार्यकारी टोर्सटेन म्युलर ओट्भोसले भने । त्यस कारको निर्माणबाट वैकल्पिक इञ्जिन प्रणालीको क्षेत्रमा नयाँ खोजी शुरू गरिएको पनि उनले बताए । तर, परीक्षणका रूपमा मात्र उक्त कारको निर्माण गरिएको र तत्कालै बजारको खपतका लागि उत्पादन नगरिने पनि कम्पनीले बताएको छ । रोयर्टस
जी-२० बैठकमा आर्थिक परिसूचकबारे सहमति
फागुन ८, पेरिस (ब्रिटेन) । जी-२० समूहका देशहरू चीनको प्रारम्भिक विरोधलाई सामना गर्दै आर्थिक परिसूचकबारेको सहमतिमा पुग्न शनिवार सफल भएका छन् । विश्वव्यापी सङ्कटको केन्द्रमा रहेको आर्थिक असन्तुलनको मूल्याङ्कन र सम्बोधन कसरी गर्ने भन्नेबारे छलफल भएको थियो । त्यसका लागि अपनाइने आर्थिक परिसूचकका बारेमा चीनले अन्य देशका प्रस्तावहरूको विरोध गर्दै आएको थियो । तर, हाल भएको सहमतिबाट समस्याको समाधान गर्ने दिशामा पहिलो पाइला चालिएको सम्मेलनको अध्यक्ष्यता गरिरहेकी फ्रान्सकी अर्थमन्त्री क्रिष्टिन लागार्डेले बताइन् ।आफ्नो मुद्रानीति र व्यापार सन्तुलनबारे चिनियाँ संवेदनशीलताका कारण परिसूचकको बारेमा लामो बहस भएको लागार्डेले जानकारी दिइन् । देशहरूभित्रै र देशहरूमाझ प्रयोग गर्नको लागि केही परिसूचकहरूको बारेमा छलफल गरिएको थियो । २००८ को जस्तो आर्थिक सङ्कट आउनु अघि नै रोकथाम लागि दिइने सुझावहरूमा ती परिसूचकलाई आधार बनाइनेछ । देशभित्रैको सार्वजनिक घाटा र ऋणका आन्तरिक परिसूचकका बारेमा भने सजिलै सहमति भएको थियो । तर, देशहरूबीचको बाह्य परिसूचकका बारेमा भने लामो विवाद भएको हो । छलफलको अन्तिम प्रतिवेदन अनुसार, विनिमय दरका साथै वित्तीय, मौद्रिक र अन्य नीतिहरूलाई ध्यानमा राख्दै व्यापार सन्तुलन र लगानी प्रवाहको सुपरिवेक्षण गर्ने भनिएको छ । एएफपी/रासस
Admin 2011-02-21