जापानलाई चीन र दक्षिण कोरियाद्वारा सहयोगको प्रतिबद्धता
जेठ ८, टोकियो (जापान) । चीन र दक्षिण कोरियाले जापानलाई मार्च ११ को भूकम्प र सुनामीबाट पुनर्बहालीका लागि सहयोग गर्ने बताएका छन् । यसैक्रममा जापानको हालैको आणविक सङ्कटपछि चीनले जापानबाट आयातित कतिपय खाद्यवस्तुमा लगाउँदै आएको प्रतिबन्ध फुकुवा गरेको छ । आणविक सङ्कटपछि जापानले चालेको कदमका बारेमा छलफल गर्न तीनै देशका नेताहरू टोकियोमा भेला भएका छन् । २५ वर्षअघि युक्रेनमा भएको चेर्नोबिल आणविक सङ्कटपछि कै खराब आणविक सङ्कट हालैको भूकम्पपछि जापानले बेहोरिरहेको छ । तीन देशबीच खुला व्यापार सम्झौतालाई अन्तिम रूप दिन पनि उनीहरू सहमत भएका छन् ।
त्यसैक्रममा तीनै देशका नेताहरूले क्षतिग्रस्त फुकुशिमा आणविक केन्द्र नजिकै फलाइएका चेरीका फल र काँक्रा पनि खाएका थिए । त्यसको एक दिन पछि नै चिनियाँ प्रधानमन्त्री वेन जिआबाओले जापानबाट आयातित केही खाद्यवस्तुमा लागाइएको प्रतिबन्ध हटाइएको घोषणा गरेका छन् । 'यी तीन देशहरू अत्यन्त घनिष्ट छिमेकी हुन् । हामी आपसी सहयोगबाट आइपर्ने अप्ठयारा सामना गर्नसक्छौं,’ वेनले भने । पहिलोपटक २००८ मा त्यस्तो त्रिदेशीय बैठक बसेको थियो । एएफपी/रासस
नयाँ आईएमएफ प्रमुख छनोटको आधार योग्यता: जी२०
जेठ ८, सिड्नी (अष्ट्रेलिया) । अन्तरराष्ट्रिय मुद्रा कोष (आईएमएफ)का प्रमुख डोमिनिक स्ट्रस कानले राजीनामा दिएपछि उनको उत्तराधिकारी खोजीकार्य तीव्र भएको छ । त्यसैक्रममा नयाँ प्रमुखको छनोट राष्ट्रियताका आधारमा नभई योग्यताका आधारमा गरिनुपर्ने अष्ट्रेलिया र दक्षिण अफ्रिकाका अर्थमन्त्रीहरूले जोड दिएका छन् । अष्ट्रेलियाली अर्थमन्त्री वायेन स्वान र दक्षिण अफ्रिकाली अर्थमन्त्री प्रवीण गोर्धनले आइतवार एक संयुक्त विज्ञप्तिमार्फत त्यस्तो विचार प्रकट गरेका छन् । ती दुई देशले आईएमएफको सुधारबारे गठित जी२० समितिको संयुक्त अध्यक्षता गरिरहेका छन् । आईएमएफको प्रमुख यूरोपेली नागरिक नै रहनुपर्ने धारणा पुरानो भइसकेको उनीहरूले औंल्याएका छन् ।
साथै, आईएमएफ प्रमुखको छनोट खुला प्रक्रियाबाट गरिनुपर्ने भन्ने जी२० को २००९ मा भएको पिटसवर्ग सम्मेलनको निर्णय पनि उनीहरूले स्मरण गराएका छन् । 'विश्वलाई बलियो आईएमएफ र बलियो प्रमुख चाहिन्छ भन्ने कुरा अन्तरराष्ट्रिय वित्तीय सङ्कटबाट प्रस्ट भएको छ,’ विज्ञप्तिमा भनिएको छ । तर, लामो समयदेखि नै राष्ट्रियताको आधारमा उच्च पदको छनोट गर्ने प्रचलनले आईमएफकै वैधतामाथि प्रश्न खडा गरेको तर्फउनीहरूले जोड दिएका छन् । त्यसैले आईएमएफले सम्बन्धित सबैको विश्वास, विश्वनीयता र वैधता हासिल गर्न त्यसको प्रमुख छनोट प्रक्रियालाई खुला र पारदर्शी बनाउन विज्ञप्तिले आह्वान गरेको छ । एजेन्सी
बङ्गलादेशी निजीक्षेत्रलाई विश्व बैङ्कको सहयोग
जेठ ८, ढाका (बङ्गलादेश) । विश्व बैङ्कले बङ्गलादेशको निजीक्षेत्र विकास सहायता आयोजनाका लागि १२ करोड डलरको ऋण सहयोग दिने भएको छ । ब्रिटेनको अन्तरराष्ट्रिय विकास विभागसँगको साझेदारी सञ्चालन हुने उक्त आयोजनाले बङ्गलादेशको उदीयमान म्यानुफयाक्चरिङ र सेवाक्षेत्रको स्थापनामा सहयोग पुर्याउनेछ । १९८० को दशकमै शुरू गरिएका निर्यात प्रशोधन क्षेत्रलाई नयाँ आर्थिक क्षेत्रका रूपमा विकास गर्ने बङ्गलादेश सरकारको योजना छ । ती क्षेत्रमा हाल झण्डै ३ लाख मानिसले रोजगार पाएका छन् । आर्थिक क्षेत्रको विस्तारले बङ्गलादेशको वृद्धिलाई प्रवर्द्धन गर्नुका साथै गरीबी पनि घटाउने अपेक्षा गरिएको छ । साथै, आर्थिक क्षेत्रले निर्यातकर्ता र घरेलु आपूर्तिकर्तालाई साझा मञ्च प्रदान गर्ने बताइएको छ । एजेन्सी
स्पेनमा लाखौं बेरोजगारद्वारा प्रदर्शन
जेठ ८, म्याडि्रड (स्पेन) । स्पेनका लाखौं जनताले सरकारले प्रदर्शनमाथि लगाएको प्रतिबन्धको अवज्ञा गरेका छन् । देशमा बढदै गएको बेरोजगारीको विरोध गर्दै चोकचोकमा भेला भएका प्रदर्शनकारीहरू रातभर जाग्राम बस्ने गरेका छन् । सरकारको आर्थिक नीतिहरूको विरोध गर्दै एक सातादेखि नै प्रदर्शनकारीले आफ्ना माग र ठाउँ छाडेका छैनन् । आइतवार हुने भएको स्थानीय चुनावअघि नै प्रदर्शन रोक्न स्पेनको चुनाव आयोगले आदेश दिएको थियो । तर, आदेशको अवज्ञा गर्दै स्वस्फूर्त रूपमा प्रदर्शन जारी नै रहेको छ ।
स्पेनका जनता देशमा रहेको उच्च बेरोजगारी दरबाट क्रुद्ध भएका छन् । गहिरिँदै गएको आर्थिक सङ्कटलाई सम्बोधन गर्न देशका राष्ट्रिय दलहरू असफल रहेको जनताको आरोप छ । देशभरि नै 'वास्तविक लोकतन्त्र’को माग गर्दै प्रदर्शन भइरहेका छन् । उत्तर अफ्रिका र मध्यपूर्वमा हालै भएको आन्दोलनबाट आफूहरू प्रभावित भएको कतिपय प्रदर्शनकारीले बताए ।सरकारले आर्थिक सङ्कट सुल्झाउन नसकेको व्यापक जनगुनासो रहेकाले निर्वाचनमा सत्तारूढ सोसलिष्ट पार्टीमा आफ्नो परम्परागत पकड क्षेत्रबाट पनि पराजय भोग्ने विश्लेषकहरूले अनुमान गरेका छन् । सार्वजनिक स्वास्थ्य र शिक्षामा सरकारले ध्यान दिएको छैन, युवाहरूको आधा जनसङ्ख्या बेरोजगार छ । उता सरकारले भने सेवानिवृत्ति उमेर बढाएको छ,’ एक प्रदर्शनकारीले आक्रोश पोख्दै भने । स्पेनको बेरोजगारी दर हाल २१ दशमलव ३ प्रतिशतमा रहेको छ, जुन यूरोजोन मै सबैभन्दा उच्च बेरोजगारी हो । एएफपी/रासस
गाडी चलाएकोमा सउदी महिला पक्राउ
जेठ ८, रियाद (सउदी अरेबिया) । महिलामाथि गाडी चलाउन लगाइएको प्रतिबन्धको विरोध गरिरहेकी एक महिलालाई सउदी अधिकारीहरूले पक्राउ गरेका छन् । ती महिलाले आफूले गाडी चलाइरहेको भिडियो फेसबूक र युटयुबमार्फत सार्वजनिक गरेकी थिइन् । अरू महिलाले पनि आफूजस्तै निडर भएर गाडी चलाऊन् भन्ने उद्देश्यले उनले त्यस्तो भिडियो सार्वजनिक गरेकी हुन् ।मनल अल शरिफ नाम गरेकी ती महिलाले अन्य केही साथीसँग मिलेर फेसबूकमा 'टिच मि हाउ टु ड्राइभ सो आई क्यान प्रोटेक्ट माइसेल्फ’ भन्ने पेज शुरू गरेकी थिइन् । उक्त पेजमा महिलालाई ड्राइभिङ गर्न लगाइएको प्रतिबन्ध हटाउन आग्रह गरिएको छ । तर, आग्रहविपरीत सउदी अधिकारीहरूले ती महिलालाई नै पक्राउ गरेका छन् । कट्टर मुस्लिम कानून भएको देश सउदी अरेबियाले महिलामाथि गाडी चलाउन प्रतिबन्धलगायत थुप्रै बन्देज लगाएको छ । एपी/रासस
Admin 2011-05-23