शान्ति र संविधानले निर्धारित समयमा नै पूर्णता पाउला ?
  

चीनद्वारा अमेरिकामा रोजगार आश्वासन

माघ ८, शिकागो (अमेरिका) । चिनियाँ राष्ट्रपति हु जिन्ताओले अमेरिकामा आवश्यक रोजगार सृजना गर्न सहयोग गर्ने आश्वासन दिएका छन् । आफ्नो अमेरिका भ्रमणको अन्त्यमा शिकागोमा न्यानो स्वागतग्रहण गर्दै हुले त्यस्तो आश्वासन दिएका हुन् ।  वाशिङ्टनमा एक दिनअघि मात्रै सांसदहरूसँगको चर्को बहसपछि शिकागो भ्रमणमा आएका हुले एशियाको उदीयमान शक्तिको नरम रूप देखाएका छन् । शिकागोमा हुले व्यापारिक नेता, विद्यार्थी तथा स्थानीय गण्यमान्यसँग भेट  गरेका छन् ।शिकागो शहरमा सञ्चालित चीनका १० ओटा कम्पनीले आयोजना गरेको प्रदर्शनीको हुले अवलोकन गरेका छन् । ती चिनियाँ कम्पनीले अमेरिकी अर्थतन्त्रमा ताजा गति दिनुका साथै रोजगारको सृजना गरेको हुले बताएका छन् । 'चीन सरकारले चिनियाँ कम्पनीहरूलाई अमेरिकामा व्यापार तथा लगानी गर्न प्रोत्साहन गर्नेछ ।

मलाई आशा छ, 'अमेरिकी सरकारले चिनियाँ कम्पनीहरूका लागि उपयुक्त वातावरण बनाउनेछ,’ हुले आफ्ना अनुवादकमार्फत भने ।चीनले उसको आर्थिक नीतिबारे अमेरिकी तथा अन्य ठूला अर्थतन्त्रहरूबाट तीव्र दबाबको सामना गरिरहेको छ । गत वर्ष भएको अमेरिकी प्रतिनिधिसभाको चुनावमा पनि धेरै  उम्मेदवारहरूले चीनको आलोचना गरेका थिए । धेरै अमेरिकी सांसद् चीनले आफ्नो मुद्रालाई कृत्रिम रूपले न्यून मूल्यमा राखेर सस्तो चिनियाँ उत्पादन विश्वभरि बेचिरहेको आरोप लगाउँछन् । हुले भने त्यस्तो आरोपको खण्डन गरेका छन् । गुणस्तरीय तर सस्तो चिनियाँ उत्पादनका कारण अमेरिकी उपभोक्तहरूले गएको दशकमा ६ खर्ब डलर बचत गरेको भन्ने हुले एउटा वाशिङ्टन भाषणमा  भनेका छन् । एएफपी/रासस


बङ्गलादेशमा ६ शेयर कम्पनी निलम्बित

माघ ८, ढाका (बङ्गलादेश) ।  बङ्गलादेशले उसको मुख्य शेयर बजारमा आबद्ध ६ ओटा ब्रोकरेज हाउसलाई निलम्बन गरेको छ । शेयर बजार दुइ हप्ताभित्रै निकै तल झरेपछि हजारौं लगानीकर्ताले प्रदर्शन गरेका थिए । प्रदर्शनकारीले गाडीहरू तोडफोड गरेपछि प्रहरीसँग भिडन्तसमेत भएको थियो ।  बङ्गलादेशको सेक्युरिटिज एण्ड एक्सचेञ्ज कमिशनले ६ ओटा कम्पनीलाई १ महीनासम्म कारोबार गर्न प्रतिबन्ध लगाएको छ । शेयर बजारमा अवाञ्छित प्रभाव पारेको आरोपमा ती कम्पनीलाई निलम्बन गरिएको कमिशनका सदस्य मुहम्मद यासिन अलीले बताए । ढाका स्टक एक्सचेञ्जको परिसूचकाङ्क बिहीवार बजार खुल्नेबित्तिकै ९ प्रतिशतले तल झरेको थियो । ती ब्रोकरेज कम्पनीले बजार खुल्नेबित्तिकै ठूलो मात्राको शेयर अति न्यून मूल्यमा बेचेको अलीले बताए । अलीका अनुसार त्यसरी गरिएको अस्वच्छ कारोबारका कारण परिसूचकाङ्क धेरै तल र्झन पुगेको हो । बिहीवार बजार तल झरेपछि अधिकारीहरूले आइतवारसम्मका लागि कारोबार स्थगित गरेका छन् । हालैका महीनाहरूमा बङ्गलादेशको शेयर कारोबारमा नाटकीय परिवर्तन देखिएको छ । सन् २०१० मा बजार परिसूचकाङ्क ८० प्रतिशतले उक्लेको भए पनि गत हप्ताहरूमा धेरैपटक तीव्ररूपले झरेको छ । कतिपय विशेषज्ञ  भने थोरै शेयर तथा धेरै कारोबारी भएकाले बजारमा समस्या आएको धारणा राख्छन् । शेयर बजारका बारेमा सामान्य जानकारी पनि नभएका अनुभवहीन लगानीकर्ता बजारमा आएका कारण समस्या भएको अर्थमन्त्री अबुल मल मुहिथको विचार छ । एपी/रासस


रिलायन्सको हालसम्मकै उच्च नाफा

माघ ८, मुम्बई (भारत) । भारतको सबैभन्दा ठूलो निजीक्षेत्रको कम्पनी रिलायन्स इण्डष्ट्रिजले उसको त्रैमासिक खुद नाफा २८ प्रतिशतले बढेको शुक्रवार बताएको छ । उसको तेल प्रशोधन व्यापारमा सुधार भए पनि अनुमान गरेभन्दा कम खुद नाफा भएको छ । रिलायन्सका अनुसार डिसेम्बरसम्मको पहिलो त्रैमासमा ५१ अर्ब ३६ करोड भारू (१ अर्ब १४ करोड डलर) खुद नाफा भएको छ । विश्लेषकहरूले भने रिलायन्सले ५३ अर्बको खुद नाफा गर्ने अनुमान गरेका थिए । गतवर्षो सोही अवधिमा ४० अर्ब ८ करोड मात्र खुद नाफा भएको थियो । त्यसैगरी कुल आम्दानी ५ प्रतिशतले बढेर ५ खर्ब ९७ अर्ब ८९ करोड भारू पुगेको छ । नाफाको घोषणा हुनुअघि मुम्बई स्टक एक्सचेञ्जमा रिलायन्सको शेयरमूल्य १ दशमलव ७३ प्रतिशतले बढेर ९ सय ८६ दशमलव ५० भारू पुगेको थियो ।स्थानीय बजारको मागमा भइरहेको वृद्धि तथा प्रशोधन तथा पेट्रोकेमिकल क्षेत्रको मार्जिनमा सुधार भएकाले हालसम्मकै उच्च त्रैमासिक नाफा गर्न सकेको रिलायन्स उद्योग समूहका अध्यक्ष मुकेश अम्बानीले एक विज्ञप्तिमा भनेका छन् । एएफपी/रासस

फेसबूकले गैरअमेरिकीबाट १ अर्ब डलर उठायो

माघ ८, न्युयोर्क (अमेरिका) ।  फेसबूकले गैरअमेरिकी लगानीकर्ताहरूबाट १ अर्ब डलर उठाएको शुक्रवार बताएको छ । गोल्डम्यान साख तथा रूसको डिजिटल स्काई टेक्नोलोजिजलगायत पछिल्लो लगानीसमेत गरी अब फेसबूकमा भएको कुल लगानी १ अर्ब ५० करोड डलर पुगेको छ ।ती लगानीहरूले फेसबूकको मूल्य ५० अर्ब डलरमा मापन गरेको छ । त्यसबाट फेसबूकको मूल्य याहू इङ्क तथा इबे इङ्कका वर्तमान बजार मूल्य भन्दा पनि बढी हुन पुगेको छ । तर, अझै पनि त्यो अमेजन डट् कम इङ्क तथा गुगल इङ्कभन्दा कमै हो । फेसबूकले लगानी भएको १ अर्ब ५० करोड डलर कसरी खर्च गर्ने भन्नेबारे शुक्रवार केही बताएको छैन । एपी/रासस


उडिसाका २३ फलाम खानी बन्द

माघ ८, भुवनेश्वर (भारत) । भारतको फलाम उत्पादन गर्ने प्रमुख राज्य उडिसाले २३ ओटा फलाम खानी बन्द गरिएको घोषणा गरेको छ । ती खानी उद्योगले सञ्चालनका लागि आवश्यक अनुमतिका प्रमाणहरू पेश नगरेकाले बन्द गर्नुपरेको जानकारी दिइएको छ । राज्यको केओन्झार जिल्लास्थित खानी उद्योगका सञ्चालन अनुमति शुक्रवारदेखि रोकिएको खानी विभागका उपनिर्देशक यू सी जेनाले बताए । 'जङ्गल फडानी, खानीक्षेत्रबारेको सरकारी सम्झौता र भूमिअधिकारजस्ता आवश्यक कागजात ७ दिनभित्र पेश गरेमा तिनलाई सञ्चालन अनुमति दिइनेछ,’ जेनाले भने । भारत विश्वकै तेस्रो ठूलो फलाम धाउ आपूर्ति गर्ने देश हो । भारतमा हुने कुल फलाम धाउको लगभग आधाजति चीनतर्फजान्छ । चीन विश्वको सबैभन्दा ठूलो स्टील उद्योग भएको देश हो ।

उडिसामा लगभग ६ सय ओटा खानी छन् । राज्य सरकारले लिएको कडा नीतिका कारण आधाभन्दा बढी खानी उद्योग एक वर्षभन्दा बढी समयदेखि बन्द छन् । उडिसाले वार्षिक ७ करोड ५० लाख टन फलाम धाउ उत्पादन गर्दछ । कतिपय खानी उद्योग विनाअनुमति सञ्चालन भएका भन्ने आरोप लागेपछि २००९ को जुलाईदेखि खानी उद्योगहरूमा कडाइ शुरू गरिएको हो ।उडिसा राज्य सरकारले स्टील बनाउने वस्तुको निर्यातमा प्रतिबन्ध लगाउन चाहेको छ । उडिसाले अवैध खानी उद्योग रोक्न तथा स्थानीय आपूर्ति बढाउने सम्बन्धमा आफ्नो प्रस्ताव फेब्रुअरीको शुरूमा केन्द्र सरकारसमक्ष राख्नुभएको छ । उडिसा सरकारको प्रस्ताव लागू भएमा भारतको फलाम धाउको निर्यात झनै खुम्चिनेछ । यसअघि नै अर्को एक दक्षिणी भारतीय राज्य कर्नाटकाले प्रतिबन्ध लगाएपछि भारतबाट हुने फलाम धाउको निर्यात निकै तल पुगिसकेको छ । रोयटर्स


पण्डितको तलब १७ लाख ५० हजार डलर

माघ ८, न्युयोर्क (अमेरिका) । सिटीग्रूप इङ्कका प्रमुख कार्यकारी विक्रम पण्डितको तलबमा शुक्रवार १७ लाख ४९ हजार ९९९ डलरले वृद्धि भएको छ । पण्डितले समस्याग्रस्त सीटीग्रूपलाई फेरि दिगो नाफाको अवस्थामा नल्याउञ्जेल वार्षिक रूपमा १ डलर मात्र तलब लिने घोषणा २००९ मा गरेका थिए । यसै महीना २००७ पछि पहिलोपटक वार्षिक नाफा भएको बैङ्कले बताएको थियो । त्यसको तीन दिनपछि नै बैङ्कको बोर्डले पण्डितको तलब वार्षिक १७ लाख ५० हजार डलर पुर्याएको हो । तर, वाल स्ट्रीटका अन्य उच्च कार्यकारीहरू जेम्स गोर्म्यान तथा जन थेनलाई  शुक्रवार दिइएको तलब तथा प्रोत्साहन भत्ताको तुलनामा पण्डितको तलब अझै पनि निकै कम छ । गोर्म्यान मोर्गन स्टान्लिका तथा थेन सीआईटी ग्रूप इङ्कका प्रमुख कार्यकारी अधिकृतहरू हुन् । सीटी ग्रूपले भने पण्डितले पाउने थप बोनस तथा भत्ताका बारेमा केही भनेको छैन । पण्डितको तलब २०११ मा बढ्ने कुरा सीटीग्रूपले गतवर्षको सेप्टेम्बरमै भनेको थियो । आर्थिक सङ्कटका बेला ठूलो घाटा भएपछि सीटीग्रूपले अमेरिकी सरकारको ऋणमोचन कोषबाट ४५ अर्ब डलरको सहायता लिनुपरेको थियो । सन् २००७ को अन्त्यतिर पण्डित बैङ्कका कार्यकारी भएका थिए । त्यसपछिको लगातार घाटाको दुइवर्षको अवधिमा पण्डितले बैङ्कको नेतृत्व गरेका थिए । गत मङ्गलवार भने बैङ्कले लगातार चौथो त्रैमासिकसम्म नाफा भएको बताएको थियो । अमेरिकी सरकारले पनि उसको सिटीग्रूपमा रहेको शेयरको अन्तिम किस्ता डिसेम्बरमा बेचेपछि सरकारी संरक्षणको अवस्थाबाट बैङ्कले पार पाएको थियो । रोयटर्स