शान्ति र संविधानले निर्धारित समयमा नै पूर्णता पाउला ?
  

श्रीलङ्काको पर्यटन आम्दानीमा नयाँ रेकर्ड

मङ्सिर ८, -कोलम्बो श्रीलङ्का । श्रीलङ्कामा २०१० को पहिलो १० महीनामा पर्यटनबाट हुने आम्दानीमा नयाँ कीर्तिमान कायम भएको छ । श्रीलङ्काको पर्यटन बोर्डले बुधवार प्रस्तुत गरेको तथ्याङ्कअनुसार  युद्धको समाप्तिपछि बढिरहेको पर्यटकहरुको आगमनमा गत अक्टोबरमा ३९ प्रतिशतले वृद्धि भएको थियो केन्दीय बैङ्कको पछिल्लो तथ्याङ्कले देखाएअनुसार यस वर्षको पहिलो दश महीनामा पर्यटनबाट हुने आम्दानी ६१ दशमलब ८ प्रतिशतले बढेर अहिलेसम्मकै कीर्तिमान ४३ करोड ७९ लाख डलरमा पुगेको छ । यसभन्दा पहिले सरकार र पृथकतावादी तमिल टाइगरबीच २००४ मा भएको शान्ति सम्झौताका बेला ४१ करोड ६८ लाख डलरको कीर्तिमान थियो । श्रीलङ्का सरकारले २००९ को मेमा तमिल टाइगरहरुलाई पराजित गरेपछि पर्यटक आगमनको सङ्ख्या प्रत्येक महीना बढिरहेको छ । ४२ अर्ब डलरको अर्थतन्त्र रहेको श्रीलङ्काको विदेशी मुद्रा आर्जन गर्ने प्रमुख उद्योगमा विप्रेषण , तयारी पोशाक तथा चियासँगै पर्यटन पनि हो । रोयर्टस


इक्वेडरका पाँच तेल कम्पनीसँग सम्झौता

मङ्सिर ८, -क्वीटो इक्वेडर । इक्वेडरमा सञ्चालनमा रहेका पाँच तेल कम्पनीहरू सरकारसँग सेवासम्बन्धी नयाँ सम्झौता गर्न मङ्गलवार सहमत भएका छन् । पेट्रोलियम पदार्थबाट राज्यलाई हुने आम्दानी बढाउन लागू गरिएको नयाँ ठेक्का अस्वीकार गर्ने ब्राजिलको पेट्रोब्रास एक मात्र ठूलो तेल कम्पनी हुन पुगेको छ । दुइ वर्षलगाएर गरिएका सम्झौता/वार्ताहरूबाट आफ्नो खनिजजन्य पदार्थसम्बन्धी राष्ट्रियताको नीति विजयी भएको राफेल कोरिआको बामपन्थी सरकारले घोषणा गर्नेछ । तर, केही विश्लेषकहरूका अनुसार उक्त घटनाक्रमले अति आवश्यक ठानिएको विदेशी लगानीलाई निरुत्साहित गर्न सक्नेछ ।

सम्झौतामा सहमत हुने यी पाँच कम्पनीमा चिली सरकार नियन्त्रित कम्पनी इनाप, स्पेनको रेप्सोल, इटलीको एनी तथा चिनीयाँ कम्पनीहरू एण्डीज पेट्रोलियम र पेट्रोओरिएण्टल छन् । यी सबैले सरकारलाई निश्चित शुल्क तिर्नुपर्ने छ । उक्त सहमतिले यस अघिको नाफा बाँड्ने सम्झौतालाई विस्थापन गर्नेछ ।नयाँ सम्झौता नमान्ने ब्राजिल सरकार नियन्त्रित तेल कम्पनी पेट्रोब्रासलाई इक्वेडरमा रहेको उसको सम्पतिको बजार मूल्य भुक्तान गरिनेछ र १ सय २० दिनभित्र उक्त कम्पनीले आफ्नो सञ्चालन इक्वेडर सरकारलाई हस्तान्तरण गर्नुपर्नेछ, इक्वेडरको तेल नीतिसम्बन्धी मन्त्री विल्सन पाष्टरले बताए । रोयर्टस


मलेशियाली पाम आयलको मूल्य बढ्यो

मङ्सिर ८, (क्वालालम्पुर) मलेशिया । यस महिनाको उत्पादन कम भएकाले मलेशियाली कच्चा पाम आयल फ्यूचर्सको मूल्य सोमवार तीन प्रतिशतले बढेको छ । मलेशियाबाहिर भटमासको बजार राम्रो भएकाले पनि यस्तो भएको विश्लेषण छ ।

फेब्रुअरी २०११ मा डेलिभरी हुने पाम आयल फ्यूचर्सको मूल्य बुर्सा मलेशिया डेरिभेटिभ्समा ३ प्रतिशतसम्म बढेर केही घट्दै ग्रीनविच समय ०८:४० तिर १ हजार २२ डलर प्रतिटन भएको थियो ।  'मलेशियाली पाम आयल खासगरी विदेशी भटमास र भटमासको तेल बजारबाट प्रभावित थियो । मनसुनी वर्षाको कारण यस महीना पाम आयलको उत्पादन कम हुनेछ,’ क्वालालम्पुरका एकजना व्यापारीले बताए । नोभेम्बर १ देखि २५ सम्म पाम आयलको निर्यात बढ्ने आशा लगानीकर्ताहरुले गरेको पनि उनले बताए ।नोभेम्बर १ देखि २५ सम्ममा भएको पाम आयल निर्यातको तथ्याङ्ककार्गो सर्वेक्षणकर्ताहरुले बिहीवार सार्वजनिक गर्ने कार्यक्रम छ । रोयटर्स


बेलायतमा आप्रवास कानून थप कडा

मङ्सिर ८, (लण्डन) ब्रिटेन । बेलायतले आफ्नो देशमा काम गर्ने यूरोपबाहिरका मान्छेहरूको सङ्ख्यामा कडा वार्षिक सीमा लागू गर्ने भएको छ । साथै समुद्रपारबाट आउने विद्यार्थीहरूलाई दिइने भिसा सङ्ख्यामा पनि कटौती गरिने मङ्गलवार घोषणा गरिएको छ । गृहमन्त्री थेरेसा मेले बेलायतको संसद् हाउस अफ कमन्समा जानकारी दिएअनुसार, बेलायतमा काम गर्न अनुमति दिइने गैरयूरोपेली नागरिकहरूको सङ्ख्या २०११ को अप्रिलदेखि लगभग २२ हजारमा झारिनेछ, जुन २००९ को भन्दा २० प्रतिशतले कम हुनेछ । तर, कम्पनीहरूबीच हुने सरुवाअन्तर्गत काम गर्ने व्यक्तिहरूको हकमा भने उक्त नियन्त्रण लगाइने छैन । यस्ता व्यक्ति हजारौं हुने बताइन्छ ।


विद्यार्थी तथा भिसा होल्डरका परिवारसमेत गरेर गत वर्ष१ लाख ९६ हजार रहेको आप्रबासीहरूको खुद सङ्ख्यालाई २०१५ सम्ममा १ लाखभन्दा कममा झारिने डेभिड क्यामरोनको सरकारले प्रतिबद्धता गरेको छ । व्यापार क्षेत्रका प्रतिनिधिहरूले भने क्यामरोनको सरकारलाई खास गरी स्वास्थ्य सेवा र उर्जा पूर्वाधार आयोजनालगायत महत्वपूर्ण क्षेत्रमा जनशक्तिको अभाव हुने तर्क गर्दै गैर यूरोपेली कामदारमाथि कडा नियन्त्रण लागू नगर्न अनुरोध गरेका थिए । भारतीय अधिकारीहरूले पनि आफ्ना नागरिकहरूलाई ब्रिटेनमा अध्ययन तथा काम गर्ने अधिकारमा कुनै नियन्त्रण नगर्न क्यामरोनले गत जुलाइमा गरेको भारत भ्रमणको बेला चेतावनी दिएका थिए । प्रतिभावान् वैज्ञानिक, विद्वान तथा कलाकारका लागि १ हजार भिसा छुट्टयाइने मेले बताइन् । एपी/रासस


चिनिया रेअर अर्थ्स निर्यात सुचारु

मङ्सिर ८, टोकियो (जापान) । चीनले हाइटेक वस्तुहरूको उत्पादनमा प्रयोग हुने 'रेअर अर्थ्स मिनरल्स’ जापानमा निकासी शुरु गरेको छ । गत सेप्टेम्बरमा यी दुइ देशबीच कूटनीतिक झगडापछि यी वस्तुहरूको निर्यातमा चीनले अघोषित रोक लागाएको थियो । जापानका उद्योग तथा व्यापार मन्त्री अकिहिरो ओहाटाले बुधवार दिएको जानकारीअनुसार चीनबाट दुइवटा जहाजहरू 'रेअर अर्थ्स' बोकेर जापानका लागि प्रस्थान गरिसकेका छन् । जापानका लायाकर्ताले जनाएअनुसार सेप्टेम्बरदेखि वस्तुहरू आयातमा अवरोध भएको थियो । चीनका बन्दरगाहहरूमा यी वस्तुहरू बढ्दो चेकजाच र थप कागजी प्रक्रियाका कारण रोकिएका थिए ।



चीनको माछा मार्ने जहाजका क्याप्टेनलाई जापानले हिरासतमा लिएपछि चीनले 'रेअर अर्थ्स'को निर्यातमा अवरोध गरेको थियो । चीनले विश्वभरि ९७ प्रतिशत रेयर अर्थ मेटलको सामग्रीहरू आपूर्ति गर्दै आएको छ । 'रेअर अर्थ्स मेटल' विभिन्न हाईटेक सामग्रीहरू जस्तै सेल फोन, कम्प्युटर ड्राइभ र ठिमाहा कारआदि निर्माणका लागि महत्वपूर्ण हुन्छ । 'रेअर अर्थ्स’को आयातमा अवरोध आएपछि तर्सिएको जापान रेअर अर्थ्सको पुनः प्रशोधन गर्ने केन्द्रको र अस्टे्रलिया भियतनाम र मङ्गोलियाजस्ता राष्टे्रसगँ मिलेर यस्ता खनिजको उत्खनन उद्योग विकाश गर्ने सोचमा रहेको छ । जापानले हिरासतमा लिएका जहाजका क्याप्टेनलाई हाल मुक्त गरिसकेको छ । एपी/रासस