दक्षिण कोरियामा 'फुट एण्ड माउथ’ डिजिजको सङ्क्रमण
पुस ८, सोल (दक्षिण कोरिया) । दक्षिण कोरियाले लगभग ३ लाख सुँगुर, भेडा, तथा गाईबस्तु मार्नुका साथै १ लाख ३३ हजार गाईबस्तुलाई खोप दिन थालेको छ । तीव्ररूपमा फैलिरहेको जनावरमा लाग्ने 'फुट एण्ड माउथ डिजिज' नियन्त्रण गर्न उक्त कदम चालिएको हो । अधिकारीहरूले देशभरिका करीब १ सयओटा गाईबस्तु बजार बन्द गरिसकेका छन् । त्यसपछि गाई तथा सुँगुरको मासुको मूल्य बढ्नुका साथै अमेरिका तथा अष्ट्रेलियाबाट हुने आयातसमेत बढ्ने सम्भावना बढेको छ ।
पहिलोपटक नोभेम्बरमा उक्त रोग देखिएको थियो । त्यसपछि रोगग्रस्त जनावरको सङ्ख्या तीव्ररूपले बढ्न पुगेको खाद्य, कृषि, वन तथा माछापालन मन्त्रालयले जनाएको छ । शुरूमा उक्त रोग उत्तरी गेनसाङ प्रान्तको दक्षिणपूर्वी शहर आन्दोङ्गका सुँगुरमा देखिएको थियो । उत्तरी गेन्साङ प्रान्त तथा चार अन्य क्षेत्रका गाईबस्तु, सुँगुर, बाख्रा, भेडा तथा हरिणलगायत ६९ ओटा जनावरमा उक्त रोगबारे पुष्टि भएको थियो । एक किसिमको तीव्र सङ्क्रामक भाइरसले फाटिएको खुर भएका जनावरमा आक्रमण गरेपछि उक्त रोग फैलिने गर्दछ । तर, यो रोग तथा यस रोगबाट ग्रस्त जनावरको मासुले भने मानिसलाई हानि गर्दैन । अप्रिल तथा जनवरीमा भएको सङ्क्रमणपछि यो पछिल्लो सङ्क्रमण देखिएको हो । रोगको दक्षिण कोरियाले नियन्त्रण गरिरहेको तथा विश्वव्यापी रूपमा उक्त रोगबाट कुनै खतरा नरहेको जनावरको स्वास्थ्यसम्बन्धी विश्व संस्थाले जनाएको छ । रोयटर्स
चीनको अफ्रिकासँगको व्यापार साढे ४३ प्रतिशतले वृद्धि
पुस ८, बेइजिङ (चीन) । चीनले अफ्रिकासँगको पहिलेदेखि नै विस्तार भइरहेको आर्थिक सम्बन्धलाई थप विस्तार गर्ने भएको छ । चीन तथा अफ्रिकाबीच दुइतर्फी व्यापार यस वर्ष हालसम्मकै उच्च १ सय अर्ब डलर पुगेको चीन सरकारले जनाएको छ । तीव्ररूपले वृद्धि भइरहेको चिनियाँ अर्थतन्त्रमा खनिज तेल, ग्यास, फलामको धाउ तथा अन्य कच्चा पदार्थको मागले गर्दा अफ्रिकामा व्यापार तथा लगानी बढेको छ ।
चीन तथा अफ्रिकाबीचको व्यापार आयतन यस वर्षको ११ महीनामा १ खर्ब १४ अर्ब ८१ करोड डलर पुगेको छ । उक्त परिमाण गतवर्षको सोही अवधिको भन्दा ४३ दशमलव ५ प्रतिशतले बढी हो । चीनको केन्द्रीय सरकारले बिहीवार प्रकाशित गरेको एउटा प्रतिवेदनले उक्त वृद्धि देखाएको छ । २००९ मा भने विश्वव्यापी वित्तीय सङ्कटका कारण द्विपक्षीय व्यापार परिमाण तल झरेको थियो । द्विपक्षीय व्यापारमा भइरहेको वृद्धि आगामी वर्षरूमा झनै बढ्ने चीन-अफ्रिका आर्थिक तथा व्यापार सहयोगसम्बन्धी प्रतिवेदनले बताएको छ । २००९ मा अफ्रिकामा चीनको प्रत्यक्ष लगानी ९ अर्ब ३३ करोड पुगेको थियो, जसमध्ये धेरैजसो खानी उद्योग तथा निर्माण उद्योगतर्फलक्षित रहेको थियो । जब कि २००३ मा त्यस्तो लगानी ४९ करोड डलर मात्र रहेको थियो । रोयटर्स
बङ्गलादेशमा फर्नेस आयलको कर हटयो
पुस ८, ढाका (बङ्गलादेश) । बङ्गलादेशले आयातित फर्नेस आयलमा लाग्ने कर हटाउने भएको छ । फर्नेस आयलबाट उत्पादित विद्युत् प्रयोग गर्ने निजीक्षेत्रका उत्पादकमाथि परेको बोझ कम गर्न कर घटाइने एक उच्च अधिकारीले बिहीवार बताएका छन् । प्रधानमन्त्री शेख हसिनाले उक्त प्रस्तावलाई अनुमोदन गरेकी छन् । हसिना विद्युत्, ऊर्जा तथा खनिज स्रोत मन्त्रालयसमेत हेर्ने गर्दछिन् । बङ्गलादेशले ठूलो मात्रामा फर्नेस आयलको आयात गर्नुपर्ने भएको राज्य नियन्त्रित ऊर्जा विकास बोर्ड (बीपीडीबी)का निर्देशक मोहम्मद सैफुल इस्लामले बताएका छन् । विश्व बजारमा कच्चा तेलको फयुचर्सको मूल्य बिहीवार प्रतिब्यारेल ९१ डलर पुगेको छ । यो विगत २ वर्षयताकै उच्चतम बिन्दुनजिक हो । अमेरिकामा कच्चा तेलको भण्डारणमा कमी हुनुका साथै यूरोप तथा उत्तरपूर्वी अमेरिकामा चीसो बढेर पनि कच्चा तेलको मूल्य बढेको हो । फर्नेस आयलको आयात कर घटाउँदा विद्युत् उत्पादनको मूल्य पनि घट्ने भएकाले त्यसको फाइदा अन्ततः उपभोक्तासम्म पुग्ने सैफालले बताए । रोयटर्स
भियतनाममा विदेशी लगानी बढयो
पुस ८, हनोई (भियतनाम) । यस वर्ष भियतनाममा प्रत्यक्ष विदेशी लगानी १० प्रतिशतले बढेर ११ अर्ब डलर पुगेको योजना तथा लगानी मन्त्रालयको विदेशी लगानी निकायले बिहीवार बताएको छ । लगानीका नयाँ योजना तथा विद्यमान परियोजनामा बढाइएको लगानी भने २००९ को भन्दा १७ दशमलव ८ प्रतिशतले घटेर १८ अर्ब ६० करोड डलरमा पुगेको पनि उक्त निकायको प्रतिवेदनमा भनिएको छ । दर्ता पूजीका हिसाबले सबैभन्दा धेरै घरजग्गासम्बन्धी परियोजनामा (६ अर्ब ८४ करोड डलर) र त्यसपछि उत्पादन परियोजनामा (५ अर्ब ८ करोड डलर) लगानी भएको छ । यस वर्ष१० देखि ११ अर्ब डलरसम्मको विदेशी लगानी भित्रिने अनुमान मन्त्रालयले गरेको थियो । वास्तविक विदेशी लगानी मन्त्रालयले अनुमान गरेकै हाराहारीमा छ । रोयटर्स