शान्ति र संविधानले निर्धारित समयमा नै पूर्णता पाउला ?
  

'ह्यारी पोट्टर'को आम्दानी ७ अर्ब अमेरिकी डलर

साउन ८, लण्डन (बेलायत) । हलिउडको सर्वाधिक लोकप्रिय फिल्म शृङ्खला 'ह्यारी पोट्टर'को कुल आम्दानी ७ अर्ब अमेरिकी डलर पुगेको छ । उक्त शृङ्खलाको निर्माता तथा वितरक 'वार्नर बदस'ले 'ह्यारी पोट्टर' आफूहरूले बनाएका फिल्ममध्ये सबैभन्दा धेरै आम्दानी गर्ने भएको बताएको छ । 'वार्नर ब्रदस'का फिल्म वितरण प्रबन्धक डान फेल्मानले शनिवार एक विज्ञप्ति प्रकाशित गर्दै ह्यारी पोट्टर शृङ्खला आफूहरूको चामत्कारिक उपलब्धि भएको उल्लेख गरेका छन् । विज्ञप्तिमा उनले आफ्नो कम्पनीले उत्तरी अमेरिकामा लगातार एघारौं वर्षसम्म वार्षिक १ अर्ब डलरभन्दा बढीको व्यापार गरेको पनि बताएका छन् ।बेलायती लेखिका जेके रोलिङका सातओटा उपन्यासमा आधारित उक्त शृङ्खलाको अन्तिम फिल्म 'ह्यारी पोट्टर एण्ड द डेथली हेलोज : २'  जुलाई १५ मा रिलिज भएको थियो । रिलिज भएको एक हप्तामै नयाँ कीर्तिमान बनाउँदै उक्त फिल्मले ६० करोड ४० लाख डलर आम्दानी गरेको बताइएको छ । एजेन्सी

युद्धहरूमा अमेरिकाको ३४ अर्ब डलर दुरुपयोग : अध्ययन

साउन ८, वाशिङटन (अमेरिका) । अफगानिस्तान र इराकमा जारी युद्धहरूमा अमेरिकाको ३४ अर्ब अमेरिकी डलर दुरुपयोग भएको एक अध्ययनले देखाएको छ । अमेरिकी कङ्ग्रेसमा प्रस्तुत गर्न लागिएको युद्ध खर्चसम्बन्धी प्रतिवेदनले निजी ठेकेदारहरूसँग गरिएका ठेक्कापट्टा सम्झौतामा उक्त रकम दुरुपयोग भएको बताइएको हो ।अमेरिकी कङ्ग्रेसको एक समितिले तयार गरेको उक्त प्रतिवेदनमा युद्धको एक दशकको अवधिमा निजीक्षेत्रका ठेकेदारहरूलाई २ सय अर्ब डलरको ठेक्कापट्टा दिइएको बताइएको छ । रोयटस समाचार संस्थाले एक कङ्ग्रेस सूत्रबाट पाएको जानकारीअनुसार इराक र अफगानिस्तानमा गरी २ लाख ठेकेदारहरू रहेका छन् । उक्त सङ्ख्या ती देशहरूमा तैनाथ अमेरिकी सेनाको कुल सङ्ख्याभन्दा बढी भएको स्रोतले जानकारी दिएको छ । हाल इराकमा ४६ हजार र अफगानिस्तानमा १ लाख सैनिक तैनाथ छन् ।

प्रतिवेदनमा अमेरिकी ठेकेदारहरूले अस्थायी रूपमा अन्य ठेकेदार पनि लिने गरेकाले सङ्ख्या यकिन गर्न गार्हो भएको बताइएको छ । अमेरिकी रक्षा मन्त्रालय, सेना र मातहतका निकायहरूले ठेकेदार नियुक्ति गर्दा पारदर्शिता नअपनाएको र प्रक्रियागत त्रुटिले रकमको दुरुपयोग भइरहेको प्रतिवेदनमा उल्लेख छ । साथै ती देशहरूबाट अमेरिकी सेना फर्केमा रकमको दुरुपयोग अझै बढ्न सक्नेतर्फ पनि सचेत गराइएको छ । अमेरिकाले सन् २०११ को अन्त्यसम्म इराकमा तैनाथ सबै सैनिक फर्काउने तयारी गरिरहेको छ । त्यसैगरी, अफगानिस्तानमा आगामी महीनादेखि क्रमिक रूपमा सेना फर्काउने पनि अमेरिकाले बताइसकेको छ ।

मोजाम्बिकद्वारा जर्मन वायुसेवालाई जैविक इन्धन विक्री

साउन ८, मापुतो (मोजाम्बिक) । दक्षिणपूर्वी अफ्रिकी राष्ट्र मोजाम्बिकले जर्मन वायुसेवा 'लुफ्थान्सा'लाई पहिलोपटकको जैविक इन्धन निर्यात गरेको छ । सजिवन (जेट्रोपा)को बीउबाट उत्पादित उक्त जैविक इन्धन 'लुफ्थान्सा'ले आफ्ना आन्तरिक उडानहरूमा प्रयोग गर्ने बताइएको छ । मध्य मोजाम्बिकको मानिका प्रान्तस्थित बेलायती कम्पनी 'सन् बायोफयुल्स'बाट पहिलोपटक उत्पादित जैविक इन्धन ३० टन रहेको कम्पनीले बताएको छ । कम्पनीका व्यापार निर्देशक सर्जिओ गोभिएले विश्वमा जैविक इन्धनको माग बढ्दै गएको र 'लुफ्थान्सा'ले मात्रै वार्षिक ४० करोड लिटर खोजिरहेको बताए ।

जर्मनी निर्यात गरिएको जैविक इन्धनको उक्त पहिलोपटकको मूल्यबारे केही नबताइए पनि प्रतिटन ९ सयदेखि ९ सय ५० अमेरिकी डलर भएको विश्वास गरिएको छ । सन् २०१० मा वायुसेवाले आफ्ना आन्तरिक उडानहरू आंशिक रूपले जैविक इन्धनले गर्ने बताएको थियो । साथै सन् २०२० सम्म आफ्ना विमानहरूमा प्रयोग हुने इन्धनको ५ देखि १० प्रतिशत हिस्सा जैविक इन्धनले लिने पनि जानकारी दिएको थियो । पानी कम भएका सुक्खा स्थानमा पनि छिटो उम्रने विषालु बिरुवा सजिवनबाट हाल सफा एवम् नवीकरणीय इन्धन उत्पादन गर्ने क्रम विश्वभरि बढेको छ । एएफपी/रासस

जापान १ सय २८ अर्ब डलरको पुनर्निर्माण ऋणपत्र जारी गर्दै

साउन ८, टोकियो (जापान) । प्राकृतिक र आणविक दुर्घटनाले शिथिल भएको देशको पुनर्निर्माण र अर्थतन्त्रलाई गति प्रदान गर्न जापान सरकारले १ सय २८ अर्ब अमेरिकी डलरको पुनर्निर्माण ऋणपत्र जारी गर्न लागेको छ । उक्त ऋणपत्र मुख्यत: भूकम्प र सुनामीले ध्वस्त उत्तरपूर्वी जापानको पुनर्निर्माणका लागि प्रयोग गरिने जापानको 'निक्केइ बिजनेश डेली' पत्रिकाले बताएको छ । त्यस्तै, सरकारले खर्च कटौती योजना ल्याएर ३८ दशमलव २४ अर्ब डलर जम्मा गर्ने पनि पत्रिकाले बताएको छ । ऋणपत्र र खर्च कटौती योजनासँगै सरकारले पुनर्निर्माण कार्यका लागि १ सय ६५ अर्ब डलर विनियोजन गर्ने तयारी गरिरहेको पनि बताइएको छ । पुनर्निर्माणका लागि जापान सरकारले यसअघि नै ७६ दशमलव ४९ अर्ब अमेरिकी डलर छुट्टयाइसकेको छ । रोयटसले दिएको जानकारीअनुसार पुनर्निर्माण योजनाहरू सञ्चालन गर्न सरकारी र सार्वजनिक सम्पत्तिहरू बेच्ने योजना पनि सरकारको छ । त्यसका साथै जापानको अर्थ मन्त्रालयले करको दरमा वृद्धि गर्नेबारे छलफल गरिरहेको पनि बुझिएको छ । 'निक्केइ बिजनेश डेली'का अनुसार सरकारले खर्च गर्न लागेको १ सय ६५ अर्ब डलरमध्ये १ सय १४ अर्ब आधारभूत संरचनाहरू निर्माण गर्न र ५१ अर्ब डलर रोजगारीको सृजना एवम् शिक्षा क्षेत्रमा खर्च गरिनेछ । ऋणपत्र र खर्च कटौती योजनाको मस्यौदा जुलाई महीनाको अन्त्यसम्म तयार हुने पनि समाचारमा बताइएको छ । एजेन्सी

कोपा अमेरिकामा पेरु तेस्रो, गुरेरोको ह्याट्रिक

साउन ८, ब्युनस आयस (अर्जेण्टिना) । स्ट्राइकर पाओलो गुरेरोको ह्याटि्रकसँगै पेरु कोपा अमेरिका च्याम्पियनशिपमा तेस्रो भएको छ । शनिवार भएको भेनेजुएलाविरुद्धको प्रतिस्पर्धामा पेरु ४-१ ले विजयी भएको हो । पहिलो हाफमा भेनेजुएलाका गाब्रिएल चिचेरोले पहिलो गोल गरेका थिए । दोस्रो हाफको १९औं मिनेटमा भने पेरुका स्ट्राइकर गुरेरोले गोल गर्दै खेललाई बराबरीमा ल्याएका थिए । त्यसपछि ४४ औं मिनेटमा गुरेरोले भेनेजुएलाविरुद्धको प्रत्याक्रमणमा दास्रो गोल गरे । त्यसैगरी दोस्रो हाफको ४८औं मिनेटमा तेस्रो गोल गर्दै गुरेरोले ह्याट्रिक पूरा गरेका थिए । भेनेजुएलाका खेलाडीहरूले गोल गर्ने केही सुन्दर अवसर गुमाएका थिए । ह्याट्रिकसँगै पाओलो गुरेरो 'म्यन अफ द म्याच' घोषणा भएका थिए । कोपा अमेरिका च्याम्पियनशिप अवधिभरि उनले कुल ५ गोल गरे । पेरुसँगको प्रतिस्पर्धामा हार बेहोरेपछि भेनेजुएलाले भने चौथो स्थानमै चित्त बुझाउनु परेको छ । एजेन्सी

Admin 2011-07-25