एशियाले यूरोपलाई करोडपतिको सङ्ख्यामा उछिन्यो
असार ९, हङकङ (चीन) । गतवर्ष एशियाली करोडपतिको सङ्ख्याले यूरोपेली करोडपतिको सङ्ख्यालाई उछिन्नको छ । यससँगै अब एशियाका करोडपतिको सङ्ख्या उत्तर अमेरिकाको बराबर हुन लागेको एक प्रतिवेदनले देखाएको छ । एशियाली प्रशान्त क्षेत्रमा २०१० मा ३३ लाखभन्दा बढी मानिससँग १० लाख डलर वा त्यसभन्दा बढी सम्पत्ति थियो, जुन अघिल्लो वर्षको भन्दा झण्डै १० प्रतिशतको वृद्धि हो । मेरिल लिङ्कको सम्पत्ति व्यवस्थापन र परामर्श शाखा क्यापजेमिनीको १५औं वार्षिक विश्व सम्पत्ति प्रतिवेदन अर्थात् वर्ल्ड वेल्थ रिपोर्टले त्यस्तो तथ्याङ्क देखाएको छ ।
एशियाली क्षेत्रमा उच्च सम्पत्ति अर्थात् 'हाई नेट वर्थ'भएका व्यक्तिको सङ्ख्या ६ प्रतिशतले बढेर ३१ लाख पुगेको छ भने उत्तर अमेरिकामा ८ दशमलव ६ प्रतिशतले बढेर ३४ लाख पुगेको छ । खासगरी ९ देखि १० प्रतिशतको आर्थिक वृद्धिदर रहेका चीन र भारतको अर्थतन्त्रमा भइरहेको विस्तारले एशियाली क्षेत्रको वृद्धिलाई धानेको छ । यूरोपेली र उत्तर अमेरिकी क्षेत्रमा भने एशियाली क्षेत्रको भन्दा निकै न्यून वृद्धिदर छ ।एशियाले निकट भविष्यमा उत्तर अमेरिकालाई जित्ने निश्चितप्राय: रहेको मेरिल लिङ्कका प्रबन्ध निर्देशक विल्सन सोले बताएका छन् । विश्वभरिका झण्डै १ करोड ९ लाख करोडपतिमध्ये अमेरिका, जापान र जर्मनीमा मात्रै आधाभन्दा धेरै छन् । चौथो स्थानमा रहेको चीनमा भने त्यस्ता करोडपतिको सङ्ख्या २००९ को भन्दा ५८ हजारले बढेर ५ लाख ३५ हजार पुगेको छ । भारत पनि करोडपतिको सङ्ख्याका आधारमा पहिलोपटक प्रमुख १२ देशको सूचीमा परेको छ । एपी/रासस
Admin 2011-06-24