यूरोजोन उद्धारका योजना बन्दै
असोज ९, वाशिङटन (अमेरिका) । वाशिङटनमा जारी अन्तरराष्ट्रिय मुद्राकोष (आईएमएफ)को बैठकमा ऋणसङ्कटको सङ्क्रमण फैलिन नदिन योजनाहरू बन्दै गरेको बताइएको छ । सोमवार भएको आईएमएफ-ग्रीस वार्ताका क्रममा यूरोजोन र ग्रीसका समस्या समाधान गर्न विभिन्न विकल्पमा छलफल भएको छ । बैठकमा ग्रीसको विशाल ऋणको मूल्य ५० प्रतिशतले घटाउने विकल्पबारे छलफल भएको बुझिएको छ । त्यसैगरी यूरोजोन उद्धार कोषलाई बढाएर २० खर्ब यूरो पुर्याउने प्रस्ताव पनि सो बैठकमा ल्याइएको बताइएको छ । बैठकमा सहभागी यूरोजोन राष्ट्रका प्रतिनिधिहरूले यी दुवै योजना पारित भई आगामी ५-६ हप्तासम्ममा लागू हुने आशा गरेको बताइएको छ । यूरोजोनमा जारी ऋणसङ्कटले भयावह रूप लिँदै गएको र त्यसले विश्वले अहिलेसम्मै नदेखेको आर्थिक सङ्कट निम्त्याउन सक्ने भएपछि आईएमएफले यूरोजोन राष्ट्रहरूलाई चेतावनी दिएको थियो ।
त्यस्तै, ग्रीसलाई व्यवस्थित रूपले टाट पल्टिन दिएर त्यहाँको केही प्रतिशत ऋण यूरोमै रहन दिने अर्को एक विकल्पबारे पनि छलफल भएको बुझिएको छ । यस्तो कदम अत्यन्त नियन्त्रित र अन्य यूरोजोन राष्ट्रहरूमा असर नगर्ने हुनुपर्नेमा यूरोजोन राष्ट्रहरू सहमत हुन सक्ने पनि बताइएको छ । साथै, यूरोजोनका ठूला बैङ्कहरूलाई आर्थिक सहायता दिएर बलियो बनाउने र पूँजी वृद्धिले ती बैङ्कलाई घाटाको असर कम पर्ने बनाउन सकिनेतर्फ पनि यूरोजोन र आईएमएफका अधिकारीहरू सहमति नजिक पुगेको अनुमान गरिएको छ । आइतवार आईएमएफसँगको बैठकपछि ग्रीसका अर्थमन्त्री इभाञ्जेलोस भेनिजेलोसले आफूहरूले कुल गार्हस्थ्य उत्पादनको १ सय ६० प्रतिशत रहेको ऋण अनुपात घटाउन सक्दो प्रयास गर्ने बताएका थिए । एजेन्सी
एप्पलसँगको विवादले सामसुङलाई असर
असोज ९, सोल (दक्षिण कोरिया) । एप्पलसँगको लडाइँले तीव्र गतिले विकास भइरहेको सामसुङको 'टयाब्लेट-चीप' उद्योगमा असर गर्ने देखिएको छ । स्मार्टफोन र टयाब्लेट कम्प्युटरको बजारका लागि प्रतिस्पर्धा गरिरहेका यी दुई कम्पनी पेटेण्ट विवादमा झनै अल्झिँदै गइरहेका छन् । सन् २०११ अप्रिलमा शुरू भएको विवादपछि एप्पलले जर्मनी र नेदरल्याण्ड्समा सामसुङका स्मार्टफोन तथा टयाब्लेट कम्प्युटर विक्रीमा सफलतापूर्वक रोक लगाइसकेको छ । त्यसैगरी, अष्ट्रेलियामा पनि एप्पल इन्कले दायर गरेको मुद्दाका कारण सामसुङले आफ्ना नयाँ उत्पादनहरूको विक्री पछि सारेको छ ।
सामसुङ र एप्पलको लडाइँको अर्को प्रत्यक्ष असर सामसुङले स्मार्टफोन र टयाब्लेटहरूमा प्रयोग गर्दै आएको 'माइक्रो चीप'को उत्पादनमा पनि पर्ने विश्लेषकहरूले बताएका छन् । यहाँ रमाइलो कुरा के छ भने यी दुई कम्पनी पेटेण्टका लागि झगडा गरिरहेका भए पनि एप्पललाई विक्री गरिने 'माइक्रो चीप'को सबैभन्दा ठूलो आपूर्तिकर्ता सामसुङ हो । सामसुङ इलेक्ट्रोनिक्सले सन् २०१० मा माइक्रो चीपको विक्रीबाट सबैभन्दा धेरै आम्दानी गरेको थियो । गतवर्षकम्पनीले एप्पललाई ५ अर्ब ७ करोड अमेरिकी डलरको माइक्रो चीप विक्री गरेको थियो ।
तर, हाल सृजित विवादका कारण एप्पल इन्क सामसुङले उत्पादन गरेको माइक्रो चीपको प्रयोग गर्न अनिच्छुक हुँदै गएको विश्लेषकहरूले बताएका छन् । कोरियाली परामर्शदाता एचएमसी इन्भेष्टमेण्ट सेक्युरिटिजका विश्लेषक नोहो गुएन-चाङले एप्पल सामसुङको माइक्रो चीप प्रयोग गर्न छाडेर जापानी कम्पनी तोसिबातर्फ आकर्षित हुँदै गएको उल्लेख गरे । टयाब्लेट कम्प्युटर बजारमा एप्पलको आइप्याड नै अहिले सर्वाधिक लोकप्रिय छ । सन् २०११ को अर्धवार्षिक अवधिमा एप्पलको आइप्याड विश्वभरि १ करोड ४० लाख थान विक्री भएको थियो । तर, सामसुङको ग्यालेक्सी भने सन् २०११ को पूरा अवधिमा नै ७० लाख ७५ हजार थान मात्र विक्री हुने अनुमान विश्लेषकहरूले गरेका छन् ।
सूचनाप्रविधि विश्लेषकहरूले एप्पलले सामसुङविरुद्ध विश्वका विभिन्न देशमा दायर गरेका मुद्दा उसका उत्पादनको विक्री घट्न नदिने रणनीति भएको बताएका छन् । हाल एप्पल र सामसुङले एकअर्काविरुद्ध ९ देशका अदालतमा मुद्दा दायर गरेका छन् । तर, एचबीएससीका विश्लेषक डेनियल किमले भने लम्बिँदै जाने अदालती लडाइँमा पनि नसुल्झिने यो विषयमा लामो समयपछि दुवै कम्पनीबीच कुनै खालको सहमति हुन सक्ने बताए । केही वर्षअघि एप्पल र नोकियाबीचको लामो कानूनी लडाइँ सहमतिमै टुङ्गिएको थियो । एजेन्सी
भारतद्वारा चिनियाँ आर्थिक सुधारको प्रशंसा
असोज ९, बेइजिङ (चीन) । भारतले चीनको आर्थिक सुधार कार्यक्रमको प्रशंसा गर्दै त्यसबाट आफूले पनि धेरै कुरा सिक्न सक्ने बताएको छ । भारतको भन्दा एक दशकअघि शुरू भएको चिनियाँ आर्थिक सुधार कार्यक्रमलाई विश्वभरिबाटै मान्यता दिइएको भारतका योजना आयोग उपाध्यक्ष मण्टेक सिंह आह्लुवालियाले बताए । भारत-चीन रणनीतिक आर्थिक वार्ताको पहिलो बैठकलाई सम्बोधन गर्दै आह्लुवालियाले त्यस्तो विचार राखेका हुन् । दुवै देशले पञ्चवर्षीय योजनामार्फत विकास रणनीति लागू गरेका आह्लुवालियाको टिप्पणी छ ।
त्यसैगरी, दुवै देशबीच ऊर्जा कुशलता, शहरीकरणको व्यवस्थापन र पूर्वाधारको तीव्र आधुनिकीकरणजस्ता साझा रणनीति रहेको आह्लुवालियाको मूल्याङ्कन छ । त्यसैगरी, चीनको राष्ट्रिय विकास तथा सुधार आयोगका निर्देशक झाङ पिङले चीन र भारतका सामु विकासका लागि ऐतिहासिक अवसर रहेको टिप्पणी गरे । रणनीतिक आर्थिक वार्ताले भारत र चीनबीच आपसी समझदारी बढाउने र आर्थिक विकासका क्षेत्रमा एकअर्काका अनुभव बाँड्न मद्दत पुग्ने झाङले बताए । भारतीय र चिनियाँ अर्थतन्त्रको स्वस्थ्य विकासले एशियाली र विश्व अर्थतन्त्रकै पुनर्बहाली र वृद्धिमा योगदान पुग्ने झाङको दाबी छ । एजेन्सी
'विकसित देशले मात्रै विश्व अर्थतन्त्र सम्हाल्न नसक्ने’
असोज ९, रियो दे जेनेरो (ब्राजिल) । विकसित देशहरूले अब आफैले मात्र विश्वव्यापी आर्थिक स्थिरताको व्यवस्थापन गर्न नसक्ने ब्राजिलका अर्थमन्त्री गुइडो माण्टेगाले अन्तरराष्ट्रिय मुद्रा कोषलाई बताएका छन् । मण्टेगाका अनुसार हालको अवस्था सन् २००८ को वित्तीय सङ्कटसँग मिल्दोजुल्दो छ । अमेरिका र यूरोजोनका नीतिनिर्माताहरूले कुनै दरिलो कदम नचालुन्जेल आर्थिक सुस्ती र उच्च बेरोजगारीको अवस्था कायमै रहने मण्टेगाको निष्कर्षछ । तर, यसपटक विश्वको आर्थिक वृद्धिका लागि उदीयमान र विकासशील देशहरूको जिम्मेवारी बढी रहेको पनि उनले औंल्याए । त्यसैगरी, उनले विकसित अर्थतन्त्रहरूमा खुकुलिँदै गएको मौद्रिक नीतिहरूको पनि आलोचना गरेका छन् । एएफपी/रासस
भारतमा बाढीको प्रकोप
असोज ९, नयाँ दिल्ली (भारत) । भारतको उडिसा, उत्तर प्रदेश र बिहार राज्यहरूमा आएको बाढीले २० लाखभन्दा बढी प्रभावित भएका छन् । गएको दुई सातादेखि भारतका विभिन्न भागमा ठूलो पानी परिरहेको छ । बाढीका कारण हालसम्म ८० भन्दा बढीको मृत्यु भइसकेको छ भने डुबानका कारण कतिपय क्षेत्र सम्पर्कविहीन भएका छन् ।
ठूलो पानीले उत्तर प्रदेशका घर र पर्खाल ढलेका छन् भने बिहारका आठओटा जिल्लामा बाढीको चेतावनी जारी गरिएको छ । सबैभन्दा प्रभावित उडिसा राज्यको १० जिल्लाका ठूलो भूभाग बाढीले डुबानमा परेका छन् । उत्तर प्रदेशका प्रमुख नदीहरू गङ्गा र गोम्तीमा पानीको सतह झनै बढिरहेको छ । त्यसैगरी बिहारमा गङ्गा र सोने नदीमा आएको बाढीका कारण राजधानी पटनालगायत क्षेत्रमा बाढीको चेतावनी जारी गरिएको छ । एजेन्सी
खुद्रा व्यापार घटेकोमा कारोबारीहरू चिन्तित
असोज ९, बर्लिन (जर्मनी) । विश्वका प्रमुख खुद्रा व्यापारीहरूले विश्वको आर्थिक वृद्धि खुम्चिरहँदा खुद्रा कारोबार घटेको बताएका छन् । जर्मनीको बर्लिनमा आयोजित विश्वका खुद्रा व्यापारीहरूको सम्मेलन 'वर्ल्ड रिटेल कङ्ग्रेस'का सहभागीहरूले यस्तो बताएका हुन् । सम्मेलनका सहभागीहरूले यूरोजोन र अमेरिकामा जारी ऋणसङ्कटले व्यापारमा ठूलो असर गरिरहेको उल्लेख गरेका थिए ।
अमेरिका र यूरोपमा ऐतिहासिक रूपमै उपभोक्ताहरूको क्रयशक्ति घटेकाले विकासशील राष्ट्रको निर्यात व्यापारमा असर गरिरहेको उनीहरूले बताए । विश्वका प्रमुख खुद्रा व्यापारिक कम्पनीहरू फ्रान्सको कार्रेफोर, बेलायतको किङफिसर, अमेरिकी कम्पनी निम्यान मार्कश र भारतको रिलायन्स इण्डष्ट्रिज लगायत सहभागी उक्त सम्मेलनमा आर्थिक मन्दीको समयमा व्यापार बढाउने उपायका बारे छलफल गरिएको थियो । ऋणसङ्कट समाधान र आर्थिक वृद्धिका लागि अफ्रिकालगायतका क्षेत्रमा व्यापार बढाउने निर्णयगरिएको सो सम्मेलनमा सहभागी 'प्लानेट रिटेल'का निर्देशक रोबर्ट ग्रेगोरीले बताए । त्यसैगरी इण्टरनेटमार्फत अनलाइन कारोबार बढाउने निर्णय गरिएको पनि उनले जानकरी दिए । तर, वर्ल्ड रिटेल कङ्ग्रेसमा सहभागी भारत र ब्राजिलका प्रतिनिधिहरूले भने अमेरिका र यूरोपको तुलनामा आफ्नो देशको स्थिति राम्रो रहेको बताएका थिए । गत हप्ता मात्रै भारतीय रिटेल व्यापार कम्पनी रिलायन्सले चालू आर्थिक वर्षमा भारतमा खुद्रा विक्री स्टोरहरू २० प्रतिशतले वृद्धि हुने अनुमान गरेको थियो । एजेन्सी
यूरोपेली ऋणसङ्कटले शेयरबजार अस्थिर
असोज ९, लण्डन (बेलायत) । ऋणसङ्कटको सामना गर्न यूरोपेली केन्द्रीय बैङ्कले ब्याजदर घटाउन सक्ने पूर्वानुमानले विश्वभरिका शेयरबजार सोमवार पनि अस्थिर नै देखिएका छन् । साथै, जापानी मुद्रा येनको अनुपातमा १० वर्षकै न्यून बिन्दुमा रहेको यूरो पनि सोमवार बलियो भएको छ । विश्वव्यापी आर्थिक सुस्तीको आशङ्काले सुनको भाउ घटेको छ भने तामाको मूल्य सन् २००८ को वित्तीय सङ्कटपछि एक दिनभरिको सबैभन्दा ठूलो अन्तरले ओर्लेको छ । तेलको मूल्य प्रतिब्यारेल ७९ डलरभन्दा मुनि पुगेको छ भने डलर यूरोभन्दा बलियो तर येनभन्दा कमजोर हुन पुगेको छ ।
ब्याजदर कटौतीको सम्भावना नकार्न नमिल्ने ईसीबी गभर्निङ काउन्सिलका सदस्य एवाल्ड नोवोट्नीलाई उद्धृत गर्दै भनिएको छ । जर्मनीका अर्थशास्त्री क्लाउस अब्बर्जरले पनिईसीबीले ब्याजदरमा १ प्रतिशतले कटौती गर्न सक्ने बताएका छन् । नीतिनिर्माताहरूले ऋणसङ्कटलाई समाधान गर्नेतर्फ दीर्घकालीन समाधान नखोजेसम्म तामा र शेयरको मूल्य घट्ने क्रम जारी नै रहने फिलिप्स फयुचसका विश्लेषक ओङ यिलिङको विचार छ ।
बेलायतको एफटीएसइ १०० शून्य दशमलव ५ प्रतिशतले घटेर ५ हजार ४० दशमलव ६१ मा झरेको छ । तर, जर्मनीको डीएक्स १ दशमलव ६ प्रतिशतले बढेर ५ हजार २ सय ८० दशमलव ९३ र पेरिसस्थित सीएसी-४० शून्य दशमलव ९ प्रतिशतको वृद्धिपश्चात् २ हजार ८ सय ३६ दशमलव ७० रहेको छ । वालस्ट्रीटमा भने डाउ जोन्स इण्डष्ट्रियल फयुचस शून्य दशमलव २ प्रतिशतले बढेर १० हजार ७ सय १६ तथा एस एण्ड पी फयुचस शून्य दशमलव ४ प्रतिशतले बढेर १ हजार १ सय ३४ पुगेको छ । एजेन्सी
चीनका सर्वाधिक धनाढय पार्टीको केन्द्रीय समितिमा
असोज ९, बेइजिङ (चीन) । चीनका सर्वाधिक धनाढय लियाङ वेङ्गेन चिनियाँ कम्युनिष्ट पार्टीको केन्द्रीय समितिमा पुग्ने पहिलो व्यवसायी हुने भएका छन् । चीनका सर्वाधिक धनी व्यक्तिहरूबारे फोर्ब्सको सूचीमा लियाङ सन् २०१० को तेस्रो स्थानबाट उक्लेर यस वर्षपहिलो स्थानमा रहेका थिए ।
आगामी वर्षको अक्टोबरमा चिनियाँ कम्युनिष्ट पार्टीले लियाङलाई केन्द्रीय समितिमा स्थान दिएमा उनी त्यस्तो स्थान प्राप्त गर्ने निजीक्षेत्रका पहिलो व्यवसायी हुनेछन् । चीनका पूर्व राष्ट्रपति जिआङ जेमिनले पहिलोपटक सन् २००१ मा निजी व्यवसायीहरूलाई पनि पार्टीमा स्थान दिइने घोषणा गरेका थिए ।
विश्वकै दोस्रो ठूलो अर्थतन्त्र बनिसकेको चिनियाँ अर्थतन्त्रमा तीव्र विस्तार भइरहेको छ । तर, अझै पनि चीनका ठूला कम्पनीहरू राज्य नियन्त्रित अथवा कम्युनिष्ट पार्टीद्वारा नियुक्त प्रमुखद्वारा सञ्चालित छन् । त्यसैले पनि लियाङलाई पार्टीको केन्द्रीय समितिमा स्थान दिइएमा निजीक्षेत्रलाई प्रोत्साहन दिन खोजिएको सन्देश जाने चाइनिज युनिभसिटी अफ हङकङका विश्लेषक विली लामले बताए । एएफपी/रासस
Admin 2011-09-27