चीन २०३० सम्ममा सबैभन्दा ठूलो अर्थतन्त्र
चैत ९, हङकङ (चीन) । चीनको आर्थिक वृद्धि हालकै ८ प्रतिशतमा रहिरहेमा आगामी २० वर्षमा ऊ विश्वकै सबैभन्दा ठूलो अर्थतन्त्र हुने देखिएको छ । गतवर्षचीनले विश्वको दोस्रो ठूलो अर्थतन्त्रका रूपमा जापानलाई उछिनेको थियो । सन् २०११ को वर्षमा पनि ८ प्रतिशत वृद्धिदर कायम रहने देखिएको छ । त्यसैगरी २०११ देखि २०१५ सम्म ७ प्रतिशतको वृद्धिदर रहनेछ ।'चीन २०३० सम्ममा विश्वको सबैभन्दा ठूलो अर्थतन्त्र हुन सक्छ,’ जष्टिन लिनले एक आर्थिक सम्मेलनमा भने । त्यतिखेर चीनको आर्थिक आकार अमेरिकाको भन्दा दोब्बर हुन सक्ने उनको धारणा छ ।गत दुई दशकदेखि चीन निरन्तर विश्वकै सबैभन्दा तीव्र आर्थिक वृद्धि कायम राख्न सफल भएको छ । १९९० देखि २०१० सम्मको अवधिमा वार्षिक १० दशमलव ४ प्रतिशतको वार्षिक वृद्धि हासिल गरेको छ । सङ्क्रमणमा रहेका अन्य अर्थतन्त्रभन्दा चीनले 'चामत्कारिक’ प्रदर्शन गरेको लिनले बताए । तर, वित्तीय सङ्कटबाट विश्व अर्थतन्त्रको कमजोर पुनर्बहालीले चीनको आर्थिक वृद्धिलाई पनि असर गर्नेछ । साथै, आम्दानीको बढ्दो असमानताजस्ता घरेलु चुनौतीतर्फ पनि चीनले ध्यान दिनुपर्ने लिनको धारणा छ । एएफपी/रासस
जापानको विपत्ति अहिलेसम्मकै सबैभन्दा क्षतिपूर्ण
चैत ६, टोकियो (जापान) । जापान सरकारले हालै आएको विनाशकारी भूकम्प र सुनामीबाट भएको क्षति ३ खर्ब ९ अर्ब डलरसम्म पुग्न सक्ने बताएको छ । त्यसबाट यो विश्वमै सबैभन्दा महँगो प्राकृतिक विपत्ति हुन पुगेको छ ।घर, सडक, अत्यावश्यक सेवा र व्यापारमा भएको क्षतिबाट १ खर्ब ९८ अर्ब डलरदेखि ३ खर्ब ९ अर्ब डलरसम्मको घाटा भएको मन्त्रीमण्डल कार्यालयको अनुमान छ । क्षतिबाट यस वर्षको आर्थिक वृद्धि शून्य दशमलव ५ प्रतिशतले घट्ने देखिएको छ ।क्षतिबारेको पछिल्लो तथ्याङ्क अन्य अनुमानभन्दा निकै बढी छ । विश्व बैङ्कले २ खर्ब ३५ अर्ब डलरसम्मको क्षति भएको हुन सक्ने सोमवार बताएको थियो । त्यसैगरी, गोल्डम्यान साखले भूकम्पबाट २ खर्ब डलरसम्मको क्षति अनुमान गरेको थियो । एपी/रासस